Search

धर्म भनेको सत्य कर्मको अनुशरण गरेर धारण गर्ने मानवीय आचरण हो ।

धर्म भनेको सत्य कर्मको अनुशरण गरेर धारण गर्ने मानवीय आचरण हो ।
पण्डीत शिव हरि तिवारी

काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं ५ को सुवेदी टोलमा अवस्थित सिद्धेवर मन्दिर चर्चाको पर्खाइमा रहेको छ । काठमाडौंबाट चाबहिल, बौद्ध हुँदै जोरपाटी पुगेपछि सुन्दरीजल र साँखु जाने दोबाटोबाट पूर्व दक्षिणी भागमा रहेको छ । विगत २०६२ सालमा सुवेदी दाजुभाइ तथा स्थानीय स्तरबाट मन्दिर निर्माण गरि स्थापना भएको यो मन्दिर त्यत्ति चर्चा नभएकोमा यस मन्दिर परिसरमा बस्ने छिमेकीहरु दुखित देखिन्छन् । यो मन्दिरमा चतुर्मुखी शिवको मूर्ति स्थापित गरिएको छ । स्वर्णवर्ण पित्तलबाट त्यहाँ राखिएको सो मूर्तिलाई नै सिद्धेश्वर महादेवको रुपमा पुजिन्छ ।
परापूर्वकालदेखि नै त्यहाँ एउटा खाली जग्गा थियो सोही जग्गामा एउटा बसाहाको पत्थर मूर्ति थियो, मन्दिरको अवशेष केही नदेखिए पनि पूर्व शताब्दीमा मन्दिर नै भएको हुनुपर्छ भन्ने सोच राखेर स्थानीय केदार बहादुरका बुबा बाजेको भनाई अनुसार सो ठाउँमा शिवको मन्दिर निर्माण गर्ने लक्ष र उद्देश्य लिएर अगाडि बढ्न केदार बहादुर अग्रसर भएपछि स्थानीय अन्य सुवेदीहरुले पनि निकै उत्सुकता देखाएको हुँदा सो मन्दिर निर्माण सम्पन्न गरेको थाहा हुन आएको छ ।
सो मन्दिर निर्माण सम्पन्न भएपछि सुवेदी खलकहरुले स्वामी महाराज प्रपन्नाचार्य गुरुलाई आमन्त्रण गरेर उनको हातबाट नै मन्दिर निर्माणका लागि शिलान्यास स्थापित गरिएको र सो शिव भगवानको दर्शन गर्न आउने भक्तजनको हरेक काम सिद्ध हुने भएकोले नै स्वामी प्रपन्नाचार्य गुरुले सो शिवको रुपलाई “सिद्धेश्वर” महादेवको नामाकरण गरिएको हो भन्ने कुरा वर्तमान पुजारी एवम् पंडित शिव हरि तिवारीज्यूले बताउनु भएको छ । यसै सन्दर्भमा यस बाँपीझ्याला डटकम अनलाइनका सम्वाददाता बालकृष्ण पासाले पंडित शिवहरि तिवारी ज्यूसंग गर्नु भएको कुराकानीकंो सारांश यहाँ प्रस्तुत गरिएको छ ।

नमस्कार पंडित ज्यू, यहाँलाई हाम्रो बाँपीझ्याला अनलाइन डटकम पत्रिकामा स्वागत छ ।
नमस्कार, धन्यवाद । दोलखाको यो बाँपीझ्याला अनलाइन पत्रिकामार्फत मलाई केही बोल्ने मौका दिनु भएकोमा आभारी छु । मलाई एकदमै खुशी लागेको छ ।

यो शिव मन्दिर स्थापना भएको कति वर्ष भयो होला ?
यो मन्दिर विक्रम सम्वत् २०६२ सालमा भएको हो ।

यो मन्दिर पहिलेदेखि नै थियोे वा पछि पूनः बनाईएको हो ?
यो मन्दिर बनाईएको ठाउँमा खाली जग्गा थियोे । त्यस जग्गाको बिचमा एउटा बसाहाको मूर्ति थियोे भन्ने हाम्रो पूर्वजहरुको भनाई रहेको छ । यसै गरी स्थानीय सुवेदी परिवारका पूर्खाहरुले सो बसाहालाई (शिवजीको वाहन) रुपमा त्यही ठाउँमा स्थापना गरिएको हो । त्यसैले कालान्तरमा हामी र हाम्रा सुवेदी परिवारले नै उक्त ठाउँमा मन्दिर निर्माण गर्न पहल गरेका हुन् ।

यो मन्दिरमा कस्तो प्रकारको पूजाआजा चलाउने गरिन्छ त ?
यहाँ हरेक बिहान दूध, दहि, मह, घिउ र सख्खरद्वारा पञ्चस्नान गरिन्छ, बेलुकी संध्याकालीन आरती गरिन्छ, भक्तजनहरुको स्वईच्छामा भाकलसिद्ध रुद्रि होम पनि गरिन्छ । विशेष चाडपर्वमा विशेष पूजापाठ हुन्छ ।

यो मन्दिर निर्माणका लागि सरकारी तवरले र स्थानीयले के कति सहयोग गरेका होलान् त ? कस्को प्रमुख भूमिका होला भन्न मिल्ला कि ?
यो मन्दिर बनाउनमा प्रमुख भूमिका स्थानीय केदार बहादुर सुवेदीजीको छ । साथमा उहाँकै तीन भाइको देन रहेको छ । यो मन्दिर निर्माणका क्रममा अहोरात्र खटेर लाग्नेमा सुधिर कुमार देव र श्रीकृष्ण रिजालको पनि छ । तत्कालीन स्थानीय सरकारले पनि सहयोग गरेको हो, हाल देखिएको भजन पाटी बद्री ब. सुवेदी, केदार ब. सुवेदी र शिव. ब. सुवेदीले बनाएका हुन्, त्यसपछि यो मन्दिर प्राङ्गणमा ढुंगा छाप्ने काम चाहिँ हालको गोकर्णेश्वर नपा वडा नं. ५ का वडाध्यक्ष नारायण बहादुर. सुवेदीको विशेष पहलमा सिद्धेश्वर महिला समुह सक्रियतामा भएको हो । यसमा स्थानीय बराल परिवारले पनि साथ दिएका छन् ।

यो मन्दिरको नाम सिद्धेश्वर नै भनेर भन्नुको तात्पर्य चाहिँ के होला ? यस बारे केहि बताई दिनु हुन्छ की ?
स्वामी प्रपन्नाचार्य ज्यूले यस शिव भगवानको प्रत्यक्ष दर्शन गर्न आए पनि नआएर मनमा मात्रै यहींको शिवलाई मनमा मात्रै राखेपछि सोचेका अधुरा कामहरु सिद्ध हुने मनोकामना पूरा हुने भएकोले यश भगवानलाई सिद्धेश्वर महादेव भनेर पुजौं भन्नू भएकोले यही नाम चर्चामा ल्याईएको हो ।

यस शिव भगवानको नाममा कुनै जात्रा पर्व चलाउने गरिछ कि ?
छैन, अहिलेसम्म कसैले कुनै जात्रामात्रा चलाउने गरिएको छैन ।

पंडितज्यू, धार्मिक स्थलमा पूजारीको भूमिकामा कर्म गरेर पुण्यको काममा लाग्नुभएको छ, धर्म दर्शनबारे यहाँको अवधारणा के छ ?
धर्म भनेको सत्य कर्मको अनुसरण गरेर धारण गर्ने मानवीय आचरण हो । परोपकार नै पुण्यको काम हो, सत्मार्गमा लागेर सबैमा सद्भावना जगाउनु र एकले अर्कोलाई सहयोगी भाव राख्नु नै धर्म हो । अब अन्तमा भगवानहरुको नाम जपेर महिमा गाएर आफ्नो धर्मको पहिचानका लागि हिंडेर भगवानको प्रसादको रुपमा केही वस्तुलाई ग्रहण गरिन्छ ।


शिवजीले सेवन गर्नुभएको गाँजा, भाङ, धतुरोलाई नशाको रुपमा प्रयोग गर्नेहरु प्रति यहाँ के भन्नुहुन्छ ?

भगवान शिवजीले संसारमा प्रलय हुन थाल्यो भनेर समुद्र मन्थनबाट निस्किएको हलाहल विषलाई निलेर संसार बचाउनु भयो भन्ने हामीले धर्मशास्त्रमा हामीले पढेका छौं । अब ती नशाधारी कोही कोही व्यक्तिहरुले त्यो विष पिउने हिम्मत गर्न सक्नुपर्ने हो त, विष, अजिङ्गर र रक्तपिपासु जनावर देखि डराउने मानिसहरूले भगवानले गाँजा भाङ खाएको भनेर लतमा फस्नु चाहिँ मूर्खता हो ।

बाँपीझ्याला अनलाईन डटकम पत्रिका पढ्नु भएको छ ? अन्तमा केही भन्नु हुन्छ की ?
छैन । अव पढ्छु । यहाँलाई धेरै धेरै धन्यवाद, दोलखाको अनलाइन पत्रिकामा यहाँसम्म आउनु भएर मलाई केही शब्द राखिदिने अवसर दिनुभएकोमा आभारी छु । जुन उद्देश्य र लक्ष्य लिएर यस पत्रिका संचालनमा आएको छ त्यो पूर्तीको कामना गर्दछु । साथै यहाँहरुको यो पत्रिकाले विश्वमाझमा सद्भावना फैलाउन सफल होस् भन्ने शुुभकामना दिन चाहन्छु ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment