बाँपीझ्याला, काठमाण्डौं । बैंक तथा वित्तीयसंस्थाहरूले चैत महिनादेखि निक्षेपको ब्याजदर बढाउन सक्ने चर्चा गरिए पनि अधिकांश वाणिज्य बैंकले ब्याजदर यथावत् राखेका छन् । कोभिड १९ को प्रभाव न्यून हुँदै जाँदा लगानीको वातावरण बन्दै गएपछि बैंकहरूको कर्जाप्रवाह पनि बढ्दै गएको छ ।
यसले महामारीका कारण सिर्जित अधिक तरलता विस्तारै न्यून हुँदै गएपछि ब्याजदर बढ्ने चर्चा सुनिँदै आएको थियो । यद्यपि, अझै पनि अधिक तरलताकै अवस्था रहेको र सरकारले पठाएको विकास खर्च बैंकिङ प्रणालीमा भित्रिएकाले तत्कालै तरलता अभावको अवस्था सिर्जना नहुने विश्लेषकहरूले बताउँदै आएका छन् । वाणिज्य बैंकहरूले चैत महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरमा अधिकांश बैंकले पुरानै ब्याजदर कायम गरेका छन् । बैंकहरूले साधारण ब्याजदर परिवर्तन गरेका छैनन् भने मार्जिनप्रतिको कर्जालाई सहयोग गर्ने गरी ब्याजदर कायम गरेका छन् ।
केही बैंकले मुद्दती खाताको ब्याजदर घटाएका छन् । निक्षेपको ब्याजदर घट्नुले अझै तत्कालै तरलता अभावको समस्या नआउने संकेत गर्दछ । यद्यपि, पछिल्लो २ महिनामा मात्र बैंकहरूको कर्जाप्रवाह करिब डेढ खर्ब रुपैयाँले बढ्दा निक्षेप भने ४४ अर्बले मात्र बढ्नुले अधिक तरलताको समस्या हट्नेक्रममा रहेको देखाउँछ । हाल बैंकिङ प्रणालीमा करिब ४० अर्ब मात्र तरलता रहेको छ । कर्जाप्रवाहमा आएको तीव्रताले तरलता खुम्चिनुका साथै अन्तरबैंक कारोबार बढेसँगै अन्तरबैंक कारोबारको ब्याजदर भने तीव्र गतिमा बढेको छ । केही महिनाअघि मात्र पनि १ प्रतिशतभन्दा कम रहेको अन्तरबैंक कारोबारको ब्याजदर अहिले करिब ४ प्रतिशतको सेरोफेरोमा घुमिरहेको छ । यसरी अन्तरबैंक कारोबारको ब्याजदर बढ्नुलाई भने भविष्यमा कर्जाको ब्याजदर बढ्ने संकेतका रूपमा समेत बुझिने गरेको छ, यद्यपि यसलाई मात्र निकट भविष्यमै ब्याजदर बढ्नुको कारक भने मान्न सकिँदैन ।
ब्याजदरमा उतारचढावले सेयरबजारलगायत महत्त्वपूर्ण वित्तीय क्षेत्रमा सोझो प्रभाव पार्दछ । पछिल्लो समय सेयरबजारले गति लिनुको प्रमुख कारकका रूपमा अधिक तरलताका कारण घटेको ब्याजदर र सेयर कर्जाको सीमा वृद्धि गरिनुलाई मानिँदै आएको छ । तर, केही साताअघि देखि ब्याजदर बढ्ने हल्ला चुलिएपछि बजार पुनः प्रभावित बन्दै आएको छ, यद्यपि बजारको यो गिरावटलाई राजनीतिक बदलावको उपजको रूपमा समेत हेरिएको छ । यसर्थ, यतिवेला ब्याजदर द्वितीय बजारका लगानीकर्ता, अन्य व्यवसायी र सर्वसाधारणको समेत चासोको केन्द्र बनेको छ ।
