०२ चैत, बाँपीझ्याला, काठमाण्डौं । नेकपा माओवादी केन्द्रले नेकपा खारेज भएर पूर्ववत पार्टीमा फर्किँदा संगठनमा भएको क्षतिबारे प्रारम्भिक रिपोर्ट तयार पारेको छ ।
आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा नेताहरुले गरेको रिपोर्टिङअनुसार लुम्बिनी र प्रदेश २ मा बढी क्षति भएको देखिएको छ । बैठकमा नेताहरुले नेता बलियो हुने, तर संस्थागत संरचना लथालिंग हुने हालको अवस्था सुधार गर्नुपर्ने बताएका छन् । साथै विचार र नीतिमा स्पष्ट हुँदै माओवादीको के हो भन्ने स्थापित गर्नुपर्नेमा धेरैले जोड दिएका छन् ।
‘हिजो जनयुद्ध थियो, आज छैन । त्यसो भए माओवादी के हो भन्नुपर्छ’ एक केन्द्रीय सदस्य भन्छन्, ‘पार्टी एकता गरेर नेकपा भएपछि हामीले समाजवादतर्फ जाने भन्यौं ।
साविकको एकीकृत नेकपा माओवादीको हेटौंडा महाधिवेशनको निष्कर्षलाई आजको सन्दर्भमा थप व्याख्या गरेर अगाडि बढ्नुपर्ने र संगठन निर्माणमा ध्यान दिनुपर्ने धेरैको जोड छ ।
प्रदेश १ को अवस्था के छ ?
प्रदेश १ का सहइन्चार्ज सावित्रीकुमार काफ्लेका अनुसार दुई जना केन्द्रीय सदस्य पासाङ शेर्पा र टंक आङबुहाङ एमालेतिर लागेका छन् । आङबुहाङ प्रदेशसभा सदस्य पनि हुन् ।
‘प्रदेश कमिटीका दुई जना (धनकुटा र सोलुखुम्बु), जिल्लाका १०/१२ जना यता लाग्नु भएको छ’ उनले केन्द्रीय कमिटी बैठकमा भनेका छन्, ‘जिल्ला कमिटीमा हाम्रोतिरबाट जो जो अध्यक्ष र सचिव हुनुहुन्थ्यो, उहाँहरु हामीसँगै हुनुहुन्छ ।’
पार्टी विभाजनले कम्युनिस्ट आन्दोलनलाई धक्का लागेको भन्दै उनले साविकको नेकपामा ओली प्रवृत्तिलाई रुपान्तरण गरेर अगाडि बढ्न सकेको भए राम्रो हुन्थ्यो भन्ने धारणा राखेका थिए ।
प्रदेश २ मा केही गए, केही फर्किए
प्रदेश २ का सहइन्चार्ज विश्वनाथ साहका अनुसार साविकको नेकपामा प्रदेश २ बाट केन्द्रीय सदस्य भएकामध्ये तीन जना एमालेतिर गएका छन् । प्रभु साह, ज्वालाकुमारी साह र टेकबहादुर बलमपाकी एमालेतिर गएका हुन् ।
२१५ सदस्यीय प्रदेश कमिटीका माओवादीका १०७ जना थिए । उनीहरुमध्ये १७ जना एमालेमा गएका छन् । यद्यपि ४/५ जना अलमलकै अवस्थामा रहेको साहले बताए । प्रदेशसभा सदस्यमध्ये तीन जना कुन्दन कुशवाह, रामचन्द्र मण्डल र मोहम्मद समिर एमालेमा गएका थिए । रामचन्द्र मण्डल माओवादी केन्द्रमा फर्किन तयार छन् भने समिर अलमलमा छन् । अर्का प्रदेशसभा सदस्य दिलिप साह एमाले नगएको तर माओवादी केन्द्रमा सक्रिय नभएको साहको रिपोर्टिङ थियो ।
रौतहटका दुई र धनुषाका एक मेयर एमालेमा गएको रिपोर्टिङ साहले बैठकमा गरेका छन् । ‘कार्यकर्ता तहमा धेरै यताउता भएको छैन’ साहले भने, ‘यद्यपि नेकपा विभाजनले आमरुपमा निराशा छ, केहीलाई पहिल्यै एकता ठीक लागेको थिएन, उनीहरु खुसी छन् ।’ माओवादी केन्द्रलाई पुनर्गठित गर्न सहज नभएको उनले बताए । यद्यपि पार्टी नेतृत्व र नीति ठीक हो भने माओवादीले आफ्नो जनमतलाई कायमै राख्नसक्ने उनको दाबी छ ।