Search

अविस्मरणीय सिक्किम यात्राको त्यो क्षण ! –१

अविस्मरणीय सिक्किम यात्राको त्यो क्षण ! –१
बालकृष्ण श्रेष्ठ “पासा”

विक्रम सम्वत् २०६७ सालको फागुन महिनामा मेरो एउटा यात्राको शुरुआत भएको थियो, जीवनमा दोस्रोपटक स्वदेश छाडेर विदेश छिमेकी राष्ट्र भारतको पश्चिम बंगालको दार्जिलिङ, आसाम, कर्साङ र सिक्किम यात्राको अवसर मिलेको थियोे, त्यो मेरो नितान्त व्यक्तिगत र वाध्यात्मक यात्रा थियोे । पहिले पहिलेका मान्छेहरू मुग्लान पस्थे रे भन्ने सुनेको थिएँ, यो मुग्लान पस्नु भनेको के होला ? मुग्लान् कस्तो होला भन्नेबारे निकै उत्सुकता जाग्थ्यो, तर जब आफू त्यही स्थिति र अवस्थालाई दाँजिन पुग्दा निकै कठिन महशुस हुँदोरहेछ ।

काठमाडौंबाट रात्री बस चढेर काँकडभिट्टा तिर लागियो । खासै जानैपर्ने मूल उद्देश्य त थिएन, तर व्यवहारिक चाँजोपाँजो नमिलेपछि सिलगुडीको एकजना साथीसँग टेलिफोन वार्ता गरेर केही राहत मिल्ने आश्वासन पाएपछि लागियो । बिहान करीब दश बजे गाडी काँकडभिट्टा बसपार्कमा पुगेपछि सिमाना पारिको यात्रा गर्नुथियो, नजिकै टाटासुमोका चालकहरु “दार्जिलिङ दार्जिलिङ ग्यान्टोक ग्यान्टोक. सिलगुडी” भनेर यात्रुहरू बोलाईरहेका थिए, म अन्योलमा थिएँ, गाडी त चढौंला, तर आफूसँग भारतीय सिम कार्ड थिएन, आफूलाई बोलाउने साथीलाई भेट्ने कसरी ? त्यही पिरलो बोकेर गाडीमा चढें जे होला होला भन्ने हिसाबले ।


सडक चौडा फराकिलो एकदमै सफा देख्दा मन रमाइरहेको थियोे, मेची पुल पार गरेर पानीट्यांकीबाट पश्चिम बंगालतिर गाडी हुँइकिदै थियोे, चिन्ता र त्रासले भोक पनि हराएको थियोे । जाँदाजाँदै संगै रहेको यात्रु मित्रसंग छोटो परिचय गरें… एकजना साथीको बोलावटमा आएको, दार्जिलिङ मोडमा भेट्न भन्ने खबर पाएको र उक्त स्थानबारे आफू अनभिज्ञ भएको कुरा सुनाएँ, मेरो कुरा सुनेपछि त्यो मित्रले सभ्य र भलाद्मीपन देखाएर आफूपनि सोही स्थानमा उत्रिने हो, ढुक्कसँग बस्नु भनेपछि मलाई एक आनन्दीको अनुभूति भयो, म संगै मंगोलियन् वर्णकी एक युवती थिईन्, उनी बारम्बार मलाई फर्केर हेर्दै केही सोचेको जस्तो भाव मैले पाएको थिएँ, ती नव परिचित मित्र र मेरो कुरा सुनेर आधा बाटो कटेपछि मुख खोलिन् ।


“दाजु पहिलोबार सिलगुडी आउनु भएको हो कि के हो ?” मैले स्वीकारोक्ति शिर हल्लाउँदै हो बहिनी पहिलोपटक नै हो” भनें । फेरि तिनले “केही फरक पर्दैन हाउ दाजु, यताको मान्छेले हेल्प गर्छ, केही दिकद मान्नु पर्दैन, दाजुको दोस्तको फोन नम्वर होला नि “मैले छ भनें यसरी कुरा गर्दागर्दै सिलगुडीको स्टेसन पुगिसकेको रहेछ, हामी चढेको टाटा सुमो पार्कको छेवैमा रोकिएपछि सबैजना उत्रिन थाले, केही यात्रु गाडीमा नै थिए, म संगैको नवमित्रलाई..“अब उत्रिने होइन त.. ?

“मैले भने.. जवाफमा उनले भन्यो.. “होइन मेन स्टेसन त यही हो… तर यताको सिस्टम जो जहाँ पुग्ने हो त्यहीँ पु¥याउने गर्छ, हामी पुग्ने ठाउँ अलि टाढा छ… मतलब यो गाडी अर्कोतिरबाट ल्याएकाले त्यो जग्गा जान बाँकी नै छ…“त्यै बेला संगै बस्ने मंगोलियन् बहिनीले भनिन्…“बिचरा.. यो नेपालको दाजुलाई सुर्ता लागेछ नि हाउ…दोस्त नमिल्ने भनेर होला नि हाउ.. केही सुर्ता नमान्नु हाउ दाजु.. हजुरको दोस्त (साथी) नभेटेपनि सुर्ता नमान्नु हाउ दाजु… बहिनीको घर यतै छ, नभेटे सम्म हाम्रैमा बस्नु… फिकर केही नलिनु…“तिनको लगातारको बोली सुनेर म केहीबेर वाक्क भएँ, संगैको मित्रले पनि सकारात्मक कुरा हो भनेर संकेत सूचक दियो ।

तर मेरा लागि असहज लागेको थियो । सुनेको थिएँ उताका केटीको हाउभाउ चलन अलि खतरा हुन्छ, बोलीले मख्ख पारेर लुटपाट गर्छन् भनेर । तर बिल्कुलै फरक नतिजाको संकेतले ममाथि केही आशा पलायो । उनीहरुले जसोजसो भने त्यही अनुरुप पछि लागें, चालकले “ल दाजु तपाईंको गन्तव्य यही हो…” भनेर गाडी साईड लगायो । मतलब दार्जिलिङ मोडमा हामी पुगिसकेका रहेछौं । सबैजना उत्रिन थाले, म पनि सानो झोला भिरेर उत्रें । यताउता हेरें, वातावरण नौलो पनि गर्मि पनि उत्तिकै थियो, सडकका दुवै छेउमा रहेका पंक्तिबद्ध घरहरुले शहरको उपमा दिएको त्यो ठाउँबाट दुईवटा बाटो छुट्टाछुट्टै रहेछ, दायाँबाट दार्जिलिङ जाने सडक बायाँबाट सिलगुडी शहर हुँदै सिक्किम जाने रहेछ । त्यसैले पनि त्यो ठाउँको नाम दार्जिलिङ मोड राखेको रहेछ ।

हामी उत्रि सकेपछि चालकले मेरो छेवैमा आएर.. “ल दाजु.. तपाईंको साथीलाई कल गर्नुस्, कता रहेछ, नजिकै कता कुन ठाउँमा रहेछ, सोध्नुस् यदि अलि टाढा छ भने म पु¥याउनेछु चिन्ता नलिनु..” भनेपछि मेरो मन अलि प्रफुल्ल भयो र सशंकित पनि । अपरिचित शहरका मान्छेले दयाको भावना जगाएर कतै बिल्लीबाँठ बनाउने त होइन ?

भन्ने शंकाले डेरा जमाएको थियो । तर जुन मान्छेले पुर्ण भरोसा दिएर बोलाएको थियो, त्यही मान्छे संपर्कविहिन थियोे, ती बहिनी, चालक, नवमित्र र लोकलकलबाट सम्पर्क गर्दा पनि सम्पर्क भएन अर्थात् फोन रिसिभ नै गरेन केहीबेर पछि त स्वीचअफ नै भयो । त्यसपछि म अलि अत्तालिन थालें, नवमित्रले मेरो मुखाकृतिमा केही उदासीनता देखेर होला…” लौ मित्र, सुर्ताउनु पर्दैन.. म त अलि टाढै जानुपर्छ.. केही बन्दोबस्ती नगरीकन त पक्कै नआउनु भएको होला… कुनै कारण पनि हुनसक्छ फोन रिसिभ नहुनुमा…“फेरि त्यही बहिनीले बोलिन्…“अन्त दाजु हो त… केही सुर्ता नमान्नु मेरो पूर्खा नि नेपालको दोलखाको हो.. आफ्नै बहिनी ठान्नु… आउनु भोक पनि लाग्यो होला नास्ता खाउँ..“ भनेपछि म निरीह बनेर पछि लागें ।

मसंग अर्को विकल्प पनि थियो, यदि त्यो साथी नभेटिए केही दिन सिलगुडीमै मामाकोमा बस्ने अनि खोजबिन गर्ने भनेरै उहाँको फोन नम्बर लिएर गएको थिएँ । खाजा खाने काम सकेपछि नवमित्रले केही कुराको जानकारी दिएर आफ्नो बाटो लाग्यो । उ गै सकेपछि मैले सोचें मान्छे सकारात्मक र नकारात्मक केलाउन म पछि परेछु जस्तो लाग्यो । जो मान्छेले काठमाडौंमा छँदा पूर्ण भरोसा दिएर १÷२ महिना निर्धक्क बस्ने र कामधन्दा गर्ने भनेर ढाडस दिएको थियोे त्यही मान्छेले फोन नै नउठाइकन बन्द भयो, जो बाटोमा भेटिएको अन्जान अपरिचित व्यक्ति हो उनीहरूले पूर्ण भरोसा दिएर साथै लाने र बस्ने कुरा गरे, यही कुराले मलाई निकैबेर उथलपुथल बनायो ।

निकैबेर सोचाइमा गहिरिएर बसेको देखेर ती बहिनीले भनिन् “दाजु..अन्त त्यो मान्छे जानपहिचान नै हो के…? “यो प्रश्नले मलाई झन् अप्ठ्यारोमा पार्यो । कसरी जवाफ दिने जस्तो लाग्यो । तैपनि सम्हालिएर भनें… “होइन बहिनी… नेपालमा मेरो साथी छ, उ उसको साथी हो, फोनमा कुरा गरेको मात्रै हो, फोनमा बोलेको कुरा अनुसार उ निकै भलाद्मी र असल जस्तो लागेको थियो, उसले मलाई भूपु आर्मीको क्यान्टिनमा किचनमा काम छ नेपाली र नेवारी खाना बनाउने काममा लगाई दिन्छु ढुक्कसँग आउनु भनेर भनेकोले नै आएको म..“मैले यति भनेपछि त्यो बहिनीको साथीहरू हाँस्न थाले, अनि ती बहिनीले साथीहरू तिर हेरेर…. “किन हाँसेका तँहरु.. बिचरा दाजुलाई कति सूर्ता लागेछ… कस्तो धोका पाएछ हाउ दाजु…“अनि मैले भने… “मलाई चिन्ता छैन बहिनी म मामाकोमा जान्छु..बरु एकपटक कल गरेर सोधुम् न…. मामालाई..”

“ हुन्छ नि दाजु नम्बर दिनु न त… “भनेपछि मैले नम्बर दिएर उनैको मोबाइलबाट मामालाई कल गरें… सम्पर्क भयो, मामाले सालुगाढा भन्ने ठाउँमा आएर प्रधान स्टोर लेखिएको पसलमा आएर सोध भन्नुभयो, त्यसपछि म मा खुशीको सीमा रहेन, मेरो प्रफुल्लता देखेर ती बहिनीले… “बिचरा… दाजुको मुहारमा बल्ल घाम लागेको देखियो…. कति माया लाग्दो गरि सिरियस भएको अगि त…“उनले यति भन्दा मेरो मुटुमा अव्यक्त पीडाको आभास हुनथाल्यो ।…


केहीबेर त्यहाँ भलाकुसारी गर्यौं ती बहिनीको नाम बिमला तामाङ रहेछ, उनको हजुरबा युवावस्थामै मुग्लान पसेको रहेछ । दोलखाको मेलुङबाट गएको र उतै कामधाम गरेर उतै घरजम गरेर बसेका रहेछन् । संगै आउने तिनका साथीहरू पनि कोही दोलखा बाबरे कोही सुनखानीबाट आएका रहेछन् सबैसँग परिचय गरेर म छुट्टिने बिचार गरे… “ल बहिनीहरु भेटघाट भयो चिनजान भयो खुशी लाग्यो… अब म मामाकहाँ जान्छु… “सबैले स्वीकारोक्ति टाउको हल्लाउँदै.. “हवस् दाजु…“भने । त्यसपछि तिनै बिमला बहिनीले एउटा रिक्सा लिएर मलाई बिदावारी गरिन् ।

प्रचण्ड घामले शिथिल बनाएको अनुहार कस्तो भएको थियोे अनुमान लगाउन कठिन थियो । रिक्सामा जाँदाजाँदै चालक भैयाले… “सर जी.. हमे ऐसा लगता है कि आँप पहेलीबार इण्डिया आये हो…“मैले हो भनेर आफ्नो कुरा संक्षेपमा टुंग्याउने काम गरें । कुरा गर्दै म दायाँबायाँ हेर्दै पनि थिएँ, सालुगाढा भन्ने नाम साइनबोर्डमा नदेखिएसम्म मनमा अनेकौं तर्कना उब्जिएको थियोे, त्यो अन्जान शहरमा अन्त कतै लगेर केही गर्ने पो हुन् कि भन्ने त्रासले विचलित थिएँ करीब ४० मिनेट कटेपछि एउटा दोबाटोमा देखिएको संकेतबोर्डले मेरो शंकालाई हटाईदियो । दायाँ सालुगाडा बाया पंचायत बस्ती जाने रहेछ । रिक्सा दायाँ लागेपछि अलि उत्सुकता जागेर आयो र डर पनि । हावाको भरमा हिंड्ने भनेर मामाले गाली गर्ने पो हुन् कि ? भन्ने चिन्ता पनि थियोे । लगत्तै प्रधान स्टोरको छेवैमा रिक्सा रोकेर..“ आगया सर जी सालुगाढा आपका मामाजीका दुकान…“भनेर रोकिदियो ।


यताउता हेरेर त्यही पसलमा सोध्न पुगें । नभन्दै त्यो पसलको साहुखलक पनि बनेपाबाट गएका रहेछन्, तर भारतीय नागरिक भैसकेको रहेछ । मैले सोध्नु भन्दा पहिले नै भद्र पुरुषले…“बाबू डिएन प्रधानको भान्जो हो ? “म अचम्मित भएँ एकैपटकमा कसरी अनुमान लगायो भनेर । हामी धन नारायण मामा भन्ने गरेको उता डियन् भनेर लोकप्रिय बन्नु भएको रहेछ । अनि हो भनेपछि.. उहाँले… “मलाई पनि मामा नै भन्दा फरक पर्दैन, तिम्रो मामा भरखरै घर फिरे, पर्खिरहेको थियो, म कल गरिदिन्छु । “भनेर कल गर्नुभयो । त्यसपछि यताउताका कुरा गर्दै गर्दा मामाको छोरा शंकर मलाई लिन आईपुग्यो । त्यसपछि म मा खुशीको सीमा रहेन ।

महानन्द नदि जुन मेची नदि हो भारतीय क्षेत्रमा पुगेर बगेपछि..महानन्द नदिको नामले चिनिदो रहेछ । त्यसै नदिको बायाँ पट्टि रहेको सालुगाडा बजारको तल्लो भागमा मामाको घर रहेछ । घरमा पुगेर मामा माइजुलाई देखेपछि म यति उत्साहित भएँ कि बयान गर्न नै सक्दिन । ढोगभेट भयो । नुहाएर आराम गरेर निकैबेर भलाकुसारी गरियो । आफू त्यहाँ पुग्नु कारण बताएपछि मामाले मान्छेहरुको सोच र व्यवहारबारे धेरै कुरा बताउनु भयो । “यो कलियुग हो भान्जो, मुख नदेखिएको अवस्थामा संसारै उचालेर ल्याईदिने कुरा गर्छन् सामुन्ने आईपरे पछि मुसो लुकेसरी लुक्छन् । त्यस्ता व्यक्तिबाट अलग हुने कुरा बुझ्नुपर्छ ।”

मैले पनि सबै बेलिबिस्तार लगाएँ । घर परिवार सबैलाई समेटेर कुराकानी भयो । गर्मि अति नै थियोे, माइजुको स्नेह, ममताले मलाई शीतल आभास भएको थियो । भाइ बहिनीहरुसंग पनि कुराकानी भयो । माइजू पहिले पहिले सिधै हिंड्न सक्नुहुन्थ्यो तर त्यतिबेला कुप्रेर हिंड्डुल गर्नुहुँदो रहेछ । भोलिपल्ट बिहानै मामाले प्रभात हिंडाई (मर्निङ वाक) गर्न उठाउनु भयो । घरबाट सबै मन्दिर चोक बस्ती पुरै घुमाउनु भयो । अनि दिउँसो माईला मामाकहाँ, आासाम, प्रधान नगर, पंचायत नगर सबै घुमियो । यसैगरी कालमजोर, कदमताल, जलपाईगुडी, देवग्राम, पाउल भण्डार, विधान बजार, गुरुद्वार, कृष्ण प्रणामी, चाँदमनि मन्दिर, चम्पासरी आदि ईत्यादि ठाउँमा मामाले घुमाउनु भयो ।


सिलगुडीमा पनि भाषा अनेकौं भएतापनि नेपाली भाषीहरुको (गोर्खाली) कमि कतै देखिएन, स्थानीय स्तरका बंगालीहरुले समेत गोर्खालीहरुको खुलेर प्रशंसा गरेको पाउँदा खुशी नै लाग्थ्यो, तर विविध कार्यक्रममा राष्ट्रिय गान बजाउँदा जुन शब्दहरु सुनिन्थ्यो ती शब्दले नेपाली मुटुमा चस्स चस्किनु अस्वाभाविक थिएन, यो वाध्यतालाई गोर्खाली मुटु बोकेर चित्त दुखाउन विवश छौं जस्तो लाग्यो । आवाजमा नेपालीपन सुनेरै भएपनि गर्व गर्ने एउटा पाटो सम्झेर बसियो ।

अब केही दिन सिलगुडीमा अल्झनुको विकल्प थिएन जुन सोच र योजना थियोे त्यो पूरा नभएको अवस्थामा मामा माईजुलाई दुख दिएर बस्नु उचित थिएन, यसै क्रममा बजारमा घुम्न निस्केका थियौँ मामा र म । त्यही प्रधान स्टोरमा कुरा गर्दागर्दै सिक्किमको रंगपो भन्ने ठाउँमा एउटा कम्पनीको क्यान्टिनमा खाना बनाउने मान्छे जरुरी रहेको सूचना प्राप्त भयो । सोही पसलेकै छोराको साथीको बहिनीको कम्पनी हो । उनीहरु प्रधान हुन् भन्ने जानकारी पाईयो । कुराकानी चल्यो । मैले जाने नै निधो गरें । त्यही क्रममा दिपमनि प्रधानसंग भेट भयो । जो कम्पनीको मालिकनीको दाजु रहेछ । मोटामोटी कुरा गर्दा खानबस्न लत्ताकपडा सबै दिएर भारतीय रुपैयाँ ४०००÷– दिने, अनि बोनस पनि दिने भनेपछि नहुनु मामा भन्दा कानो मामा नै जाती भन्ने सोचेर जाने निश्चय नै गरें र भोलिपल्ट लागियो ।

भोलिपल्ट करीब ८ः०० बजे तिर दिपमणि प्रधानले गाडीको व्यवस्था मिलाएर रंगपो भन्ने ठाउँमा पुगेर यो मान्छेलाई भे्ट्नु उहाँ मेरो बुबा हो भनृर तस्बिर देखायो र स्थानबारे जानकारी दिएपछि म लागें । गाडी सिलगुडीको सालुगाडा पार गरेर बाघढुंगा हुँदै टिस्टा नदिको तिरलाई नाप्न थाल्यो । इतिहासमा पढेको टिस्टा नदिलाई प्रत्यक्ष आँखाले देख्न पाउँदा खुशी नै लागेको थियोे, झन् गाडीमा सवार यात्रुहरुले नेपाली नै बोलेको सुन्दा अझ गर्वको महशुस भएको थियोे । बाटोमा पर्ने सानातिना बजारको नाम त्यति याद आएन, तथापि, टिष्टा बजार, मेलि बजार अँधेरी बजार हुँदै रंगपो बजार पुगियो । भालु खोला, त्रिवेणी खोला र टिष्टा नदिको संगम स्थल रंगपो आफ्नै दुनियाँमा रंगिएको रहेछ । यहीँबाट रिनक जाने सडक, नकुल प्रधान सडक, नाम्थाङ नाम्चीलजाने सडक, राराथाङ सडक र राजधानी ग्यान्टोक जाने सडक छुट्टिने रहेछ ।

रंगपो प्रहरी चेकपोस्टमा चेक गर्दा नेपालबाट आएको नभन्नु, काम गर्न आएको नभन्नु सिलगुडीबाट आफ्नो नातेदार भेट्न आएको भन्नू भन्ने सन्देश बोकेर आएकोले म चुपचापले बसेको थिएँ, संयोगले त्यहाँ केही सोधेनन् र ढुक्कसँग अगाडि बढ्न पाईयो । त्यहाँ उत्रिएपछि दिपमणिको आदेशको पालना गरेर फोन गरें । केहीबेरमा नै एकजना पातलो कदको ६०–६२ बर्षको उमेरका भद्र व्यक्ति हातमा छाता बोकेर मोबाइल हेर्दै म तिरै आईरहेको देखेर अनुमान लगाउँदै नमस्कार गरेर आफ्नो कुरा राखें । परिचय भयो त्यसपछि उहाँले गाडी बोलाउनु भयो । अनि गन्तव्य तिर लागियो ।
रंगपो बजारबाट ४ किमिको दुरीमा माईनिङ पुल टिष्टा नदि तरेर जानुपर्ने रहेछ । जाँदाजाँदै दाहिने तिर ठूलाठूला विल्डिङ देख्दाखेरि नै अनुमान लगाएको थिएँ, नभन्दै कम्पनी त त्यही रहेछ । तर काम गर्नुपर्ने ठाउँ भने सोचेको भन्दा बिल्कुलै फरक थियो । तीनवटा टहरा चित्राले बेह्रेको बाँसको टहरामा बस्ने खाने सुत्ने कुरा थाहा पाउँदा मन एकैपटक आफ्नो घरमा पुग्न थाल्यो । अनि सम्झें आफ्नो महाता पाटीमा गाएको भजन..“कर्म लेखा फल पावे रचना राम के बन्दे…” ।


परिचय भयो सबैसँग । केटाकेटीहरु समान थिए कामदारहरु… स्थानीय कोही थिएनन्, अँ एकजना थिए । उनीहरु पनि मुग्लान् नै पसेका रहेछन्, सबैले “बडी“ भन्दा रहेछन् । मलाई लिन आउने व्यक्तिलाई “अजा” भन्दा रहेछन् । मैले पनि सिक्न थालें, २–४ दिन भाषामा निकै कठिनाई भोग्नुप¥यो । डसनालाई “विछट”… सिरकलाई “च्वसर“ ताप्केलाई “सस्पेन“ सकियो भन्नलाई “तुर्यो” भन्ने शब्दले निकै अल्मल्याएको थियोे । त्यो टहरामा रात बिताएको कुरालाई कोट्याउन चाहिन मैले, बिझेको धर्ति, चुहिएको छानो, मच्छरको गाना र टिष्टाको तानाको भावनाहरु यो मस्तिष्कमा सलबलाईरहेको छ ।

जाइडेस कम्पनीका ३०० जना कामदारलाई खाना खुवाउन रोटी, दाल, सब्जी र भात पकाउनु पर्ने १४ जना कामदार । बिहान ५ बजे देखि दिउँसोको १ः०० बजे सम्म लगातार खटिनुपर्ने, खानको लागि चाहिँ कुनै चिन्ता थिएन । दोस्रो कुरा म चाहिँ कम्पनीको मालिक्नीको दाईको साथीको पनि दाजु भएको नाताले त्यति बोझिलो काम अह्राउदैनथ्यो । मालिक्नीलाई सबैले म्याडम भन्ने गर्थे, शुरुमा उनलाई नदेखिउन्जेल त मेरो अनुमान बिल्कुलै फरक थियो । एउटा रोचक प्रसंग, केटाहरु खाना बनाउनमा व्यस्त थिए, केटीहरु काटकुट सकेर आ–आफ्नो धुनमा थिए, एकैछिनमा “म्याडम् आउनु भो” भनेर सबैजना सतर्क हुँदै काम गरिरहेको अवस्था जताउन लागे, म भने यो म्याडम् भन्ने मान्छे पक्कै मोटी, अग्ली, हेर्दैमा अलि हैकमवादी होला भन्ने सोचेको थिएँ, एकजना सामान्य कुर्ता सुरुवालमा टाउकोमा सलले हल्का छोपेर पातलो जिउकी महिला तलबाट उकालो आउँदै थिईन् सायद यिनी मालिकले पठाएको एसिस्टेन होली भन्ठानेको त..सबैले एकैसाथ “नमस्ते म्याडम्” भन्दा त म तीन छक्क परें ।

झण्डै आफ्नो उमेरको १ चौथाइ कम उमेरको । “तपाईं नै हो, नेपालबाट आएको दाजु ?” भनेर सोधेपछि हो भनेर परिचय दिनै खोजेको थिएँ,. मालुम छ मलाई सबै बात भनी राख्नु पर्दैन, अब यहाँ सबैकुरा बुझ्नु केके गर्नुपर्छ सोध्नु, ल, जय प्रवीण दाजुलाई सबैकुरा सिकाईदेउ ।…“भनेर कम्पनीतिर लागेपछि मैले अनुमान लगाएँ कि खानदानी परिवारले नै चलाएको कम्पनी रहेछ भनेर । त्यसपछि दिन बित्दै गयो, त्यहाँको रहनसहन रीतिरिवाज चाडबारे बुझ्दै जाँदा हामीले हाम्रो देशमा चाडपर्वमा ल्याएको नक्कलीपन, अनुसरण गरेर अनुकरण गर्ने बानीले आफ्नो संस्कृतिलाई आफैले खिल्ली उडाएको जस्तो लाग्छ ।


सिक्किममा मनाईने गोर्खाली चालचलनमा पश्चिमी शैलीको कुनै छनक देखिएन, नाचगानमा पनि मौलिकता, लोक संगीत विद्यमान देखिन्छ, दशैं, तिहार, माघे संक्रान्ती, सिठी, घण्टाकर्ण” ईन्द्रजात्रामा पूर्णतः नेवारी परम्परागत शैली छ । भाषा नेपालीपन (गोर्खाली) भएपनि नातागोता केलाउँदा नेवारीबाटै बोलाउने सम्बोधन गर्ने गरिन्छ । जस्तो कि–निनी, पाजु, चमा, छुमा, धमा, अजा, अजि, तमा, तबा, तता केहें आदि । त्यसैले पनि सिक्किम यो मानस्पटलबाट हराएको छैन । जय सिक्किम ! जय दोलखा भिमसेन ! बाँकी २ मा ….
२०७७/१२/०१

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!