Search

दोलखामा ऊर्जामार्फत लिफ्टिङ सिँचाइ

दोलखामा ऊर्जामार्फत लिफ्टिङ सिँचाइ

अजय प्रधान,
बाँपीझ्याला, रासस, दोलखा ।
दोलखा जिल्लाको मेलुङ गाउँपालिका– ७ मा वैकल्पिक ऊर्जाअन्तर्गत सौर्य ऊर्जाको प्रयोगमा तामाकोशी नदीबाट लिफ्टिङ गरी सिँचाइ सुविधा सञ्चालनमा ल्याएको छ । गाउँपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहकार्यमा ५०÷५० प्रतिशतको लगानीमा तामाकोशी ज्यामिरे धुर्वेडाँडा सिँचाइ योजना र फड्के खोला ठाडीपैरी सोह्रबिसे सिँचाइ योजना सञ्चालनमा ल्याएको हो । तामाकोशी नदीबाट लिफटिङमार्फत सिँचाइ आयोजना सम्पन्न भएसँगै गाउँपालिकाका ती दुई बस्तीमा जुनसुकै समयमा पनि प्रयोग गर्न मिल्ने गरी सिँचाइ सुविधा पुगेको छ ।

उत्पादनका हिसाबले दोलखा जिल्लाकै अत्यन्त राम्रो मानिने सो गाउँपालिकामा सिँचाइको अभाव भएको र खेती गर्नका लागि मौसम पर्खनुपर्ने तथा आकासको पानीमा भर पर्नुपर्ने बाध्यताका कारण गाउँपालिकाले तामाकोशी नदीबाट लिफ्टिङ गरी बस्तीसम्म सिँचाइ सुविधा पु¥याइएको वडा नं ७ का वडाध्यक्ष नवराज खड्काले बताए ।

सौर्य ऊर्जाका माध्यमबाट तामाकोशीको पानीलाई लिफ्टिङ गरी सिँचाइका लागि ज्यामिरे ध्रुवेडाँडा र ठाडीपैरी सोह्रबिसे बस्तीमा सिँचाइ सुविधा पुगेपछि त्यस क्षेत्रका करीब १५० भन्दाबढी किसान प्रत्यक्ष लाभान्वित भएका छन् भने ५०० रोपनीभन्दा बढी जग्गा सिञ्चित हुने भएको छ ।

गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्य रहेको र कृषि पेशामा रहेका किसानलाई व्यावसायिकरुपमा नै कृषि क्षेत्रमा लगाउने तथा उत्पादन वृद्धि गराउने उद्देश्यले वर्षभर सिँचाइ उपलब्ध गराउने नीतिअनुसार कृषकको आवश्यकताका आधारमा सिँचाइ योजना सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए । लिफटिङमार्फत सञ्चालन गरिएका दुई सिँचाइ योजना रु ४० लाखको लागतमा सम्पन्न भई यस वर्षदेखि सञ्चालनमा आएका हुन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!