नारी

नारी

बालकृष्ण श्रेष्ठ “पासा”
चन्द्रमामा पाईलो टेक्ने नारी,
अन्यायको बादल छेक्ने नारी,
घर करेसा रेखदेख गर्ने नारी,
हरेक अवहेलना सहने नारी ।

धरतीको मूल मार्गदर्शक हो नारी,
सन्ततीको पथप्रदर्शक – हो नारी,
जननीको मुल प्रवाहमा नि नारी,
ममताको अवधारणामा छ नारी ।

सामाजिक छुवाछूतमा नारी,
राजनीतिक मेरुदण्डमा नारी,
पुरुषत्वको भावनामा नि नारी,
पुरुषकै कामनामा पनि नारी ।

सासूको बुहार्तानमा वाध्य नारी,
साधुको स्तूति ध्यानमा नि नारी,
कृ्ष्णको इहलीलामा स्तब्ध नारी,
रामको सत्यतामा क्षुब्ध छ नारी ।

लैला मजनुमा प्रेमासक्त छ नारी,
मुनामदनमा विरक्तिएकी – नारी,
इतिहासमा राज्यलक्ष्मी नि नारी,
गीतामा काली देखिएकी नि नारी,

सभ्य समाजमा हेपिएकी छे नारी,
असभ्यले विक्षत बनेकी छे नारी,
भव्य महलमा नौकरानी पनि नारी,
दर्बारमा सजिने महारानी नि नारी ।

कति वर्णन गर्नु यहाँ नारीको महिमा,
जति गुण गरे नि नसकिने त्यो गरिमा,
गर्छन् नारी जीवनमा अनेकौं सामना,
श्रमिक महिला दिवसको शुभकामना ।।

२०७७/११/२३
बौद्ध , जोरपाटी ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!