बाँपीझ्याला, काठमाण्डौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सभामुखको पार्टी कुन हो भन्दै प्रश्न गरेका छन् । संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले अदालतको निर्णयले थप संवैधानिक जटिलता सिर्जना गरेको बताएका हुन् ।
‘अदालतको फैसलापछि सभामुखलाई कुन पार्टीको मान्ने,’ थापाले प्रश्न गरे, ‘अदालतको फैसलाले थप जटिलता सिर्जना गरेको छ । यी जटिलताहरू फर्की फर्की अदालतकै ढोकामा जाने हो ।’
उनले हिजोसम्म नेकपाको विवाद टुंगो नलागेसम्म कांग्रेस चुप लाग्ने नीति रहेको तर अदालतको फैसलापछि कांग्रेसले छिटै नयाँ धारणा सार्वजनिक गर्ने बताए ।
‘सम्मानित अदालत माग्दै नमागेको कुरा प्रवेश गरेको छ,’ थापाले भने, ‘यसमा आउने जटिलता झन् अदालतमा फर्केर जाने भयो । हिजोसम्म नेपाल कम्युनिस्ट पार्टीको विवाद टुंगिएपछि कुरा गर्ने भनेर बसेका थियौं अब अदालतको फैसलापछि हामीले कसरी लिने भनेर हामी संसदीय दलको बैठक बस्छौं ।’
उनले कांग्रेसको माग तत्काल राजीनामा गर्नुपर्छ भन्ने रहेको बताए । प्रधानमन्त्रीले राजीनामा नदिए नेपाली कांग्रेस विश्वासको मत नपाउने अवस्थातिर अघि बढ्ने थापाले बताए ।