Search

दोलखाली चेली कल्पना !!

दोलखाली चेली कल्पना !!

गौरीशंकर हिमालको काखमा रहेको ऐतिहासिक शहर दोलखा, जहाँ प्रसिद्ध भीमेश्वर मन्दिर रहेको छ । पहिले एउटा सिङ्गो दोलखा द्वाल्खा (अभयपुर) प्राचीन ऐतिहासिक शहरको नामले प्रख्यात नेवारहरुको विविधतालाई अंगालेर बसेको छ । यसै गरी यो शहर समयको परिवर्तित अवस्थामा रुपान्तरण हुँदै, बस्तीको विकसित मुलधारले स्थान फैलिएर जनसंख्याको तीव्रतालाई आधार मानेर दोलखा फराकिलो हुँदै जाँदा गाउँ विकास समितिबाट झाँगिएर नगर विकास समिति भयो, त्यसपछि देशमा लोकतान्त्रिक पद्धति लागू भएपछि नगरपालिकामा परिणत भयो र अहिले समृद्ध भीमेश्वर नगरको दोलखा भिमेश्वर नगरपालिकाको वडा नं २ को एउटा परिवेश बन्न पुग्यो ।

यही दोलखा हो जहाँ नगण्य रुपमा लोकप्रियता कमाउनेहरुको कमि छैन, जिल्लाभरि हेर्दा त असंख्य भद्र पुरुष, भद्र महिलाहरु व्यापक देखिन्छ, तर यहाँ भिमेश्वर नगरपालिका वडा नं. २ मा केन्द्रित रहेर दोलखाको तिखातल देखि पूर्व, दुंगल चम्पूजाबाट पश्चिम, हरियाली खेतीयोग्य जमिनको फाँटबाट उत्तर र चाथली बन सियौटाडाबाट दक्षिण भागको केन्द्रबिन्दुमा रहेको ऐतिहासिक पृष्ठभूमिमा जन्मेर माईती घर छोडेर कर्मघर काठमाण्डौं स्थित लाजिम्पाटमा बसोबास गर्दै आउँनु भएर समुह समूदायका सदस्यहरुको बारेमा सधै सद्भाव र समाजमा निरन्तर लागि सेवा गर्न तत्पर हुने एक नारीको बारेमा केही कुराको चित्रण गर्न खोजिएको छ ।

दोलखाको कोर्छे टोलको पूर्व गाविसको कार्यालयबाट ठिक पश्चिम श्यामसुन्दर टोलको एक घर पछाडिको पुरानो घरमा जन्मेकी एक चेली हुन् कल्पना श्रेष्ठ महर्जन । हजुरबा स्वर्गीय भाजुमानकी काइँली नातिनी, स्वर्गीय बाबुलाल तथा पूजालक्ष्मीकी छोरी हुन् कल्पना श्रेष्ठ । तिनका एक दिदी, दुई दाजु, दुई भाइ र एक बहिनीको सन्तानमध्ये उनी काईँली सन्तान् हुन् ।

एक सामान्य मध्यम परिवारमा जन्मेकी कल्पनाले घर नजिकैको राजकुलेश्वर प्रा.वि.मा प्राथमिक शिक्षा पूरा गरेर भिम माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा पार गरेर काठमाडौंमा प्रवेश गरेकी थिईन् । पिता बाबुलाल श्रेष्ठले छोरीले पनि उच्च शिक्षा हासिल गरून् भन्ने शुभेच्छा राख्नुभएको थियो, तर समय र परिस्थितिले उनको ईच्छा पूरा हुन दिएन, सानी छँदादेखि अलिक हठी र चतुर देखिए पनि भाग्य भनुँ या परिस्थितिको अनुकूलता नमिल्दा तिनको उच्च शिक्षा हासिल गर्ने धोको अधुरै रहेको थियोे । फलस्वरुप उनी वैवाहिक जीवनमा बाँधिन पुगीन् । यही क्रममा काठमाडौं महानगरपालिका वडा नं. २ लाजिम्पाट स्थित एक महर्जन परिवारको सदस्य तिर्थ नारायण महर्जनसंग वैवाहिक जीवनमा बाँधिन पुगिन् ।

बाल्यकाल देखि नै परिश्रमी र लगनशील भएकीले घर्याएसी काममा कहिल्यै आनाकानी नगरीकन सबैलाई रिझाएर बसेकी भए पनि नारी जाति सँधैभरि चुलो चौकामा मात्रै सीमित हुनुहुन्न, पारिवारिक व्यवहार भनेको संसारमा चलिरहेको चलन हो, यही चलन भित्र बाँधिएर बस्नु उचित होइन भन्नेबारे प्रायः जसो उत्सुकता जगाईरहन्थी । नारीमा पनि अथाह शक्ति छ, नारीले पनि समयानुकूल काम गर्न सक्छन्, विश्व जगतमा नारीले अहं भूमिका निभाएका कुराहरु आम जनमानसमा ताजा नै छ, फ्लोरेन्स नाईटिंगेल, मदर टेरेसा पनि त नारी नै हुन् नि, सीता भृकुटी पनि नारी नै थिए, यिनै यावत कुराहरु उनको मनमा सल्बलाई रहन्थ्यो, त्यसैले कता के कार्यक्रम हुन्छ, कसले के कार्यक्रमको आयोजना गरेकोे छ भनेर यताउता दायाँबायाँ खोजीनीति गरिरहन्थी, नारी यानेकी बुहारीलाई बुहार्तन गर्नैपर्ने, समाजमा मुुख खोल्दा पोथी बासेको संज्ञा दिने, घुम्टो भित्रमात्र अनुहार लुकाउनुपर्ने, यस्ता प्रकृति र प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने हो तर हाम्रो समाजमा बुहारीलाई अदृश्य रंगमञ्चमा लुकाएको देखिँदा असहज हुनु अस्वाभाविक होइन ।

महिला अधिकार भनेर विधान संविधान भित्र समेट्ने, तर अझैसम्म पनि ग्रामिण भेकका महिलाहरु माथि अपत्यारिलो दबाब दिएर अन्याय गरिरहेकाले यसलाई निस्तेज पार्न आम नारीहरु एक हुन जरुरी छ भन्ने सोचाइलाई हृदयङ्गम् गरेर क्रान्तिकारी विचार धारामा लागेकी दोलखाली चेली हुन् कल्पना श्रेष्ठ ।

आफ्नो घर परिवारलाई सम्हालेर पनि टोल समाजमा आईपरेका समस्या र अप्ठ्यारोमा साथ दिएर कहिले वडा कहिले जिल्ला प्रशासन गरेर सामाजिक दायित्व निभाउन सँधै तत्पर हुने गर्छिन् यिनै कल्पना श्रेष्ठ । उनलाई पदको लिप्तता छैन, यदि समूह समाजले स्वीकारेर जिम्मेवारी दिएभने पछि नहट्ने खालकी नारी हुन् ।

२०६२÷६३ सालको जन आन्दोलनमा माओवादी केन्द्रमा रहेर स्थानीय ईकाई समितिले दिएको ईन्चार्जको भूमिका गर्दै अगाडि बढेकी कल्पना श्रेष्ठले हाल अनेमसंको केन्द्रीय सदस्य बन्न पुगेकी हुन् । २०७४ सालको स्थानीय निर्वाचनमा महिला सदस्यमा उमेदवार बनेकी तर व्यक्तिगत हिसाबले दायरा र स्द्धिान्त नबुझ्ने मतदाताहरुले उनलाई विजयी बन्ने सहमति दिएनन् तथापि आफू पराजित भएको महशुस कहिल्यै गरिनन् । अझैसम्म त्यही ठाउँमा कहिले स्वास्थ्य स्वयंसेवकका रुपमा, कहिले महिला समाज कल्याणको संयोजकको रुपमा,

अनि कहिले टोल छिमेकीमा विभिन्न घरेलु सीपमूलक कार्यक्रममा अगुवाइ बनेर लागिपरेका छन् । आफ्नो नेवारी मातृभाषालाई जिवन्त राख्न सदा तत्पर छिन् कल्पना । यस्तो अथक, निडर र साहसिक नारीलाई उत्साहित बनाउन सम्बन्धित निकाय र विभागले ध्यान दिनु जरुरी छ । केवल आफ्नो स्वार्थ र फाईदाजनक काममा अरुलाई प्रयोग गर्ने यो समाजका अदृश्य शक्तिलाई परास्त गरेर नारीलाई निस्वार्थ भावनाले इज्जत दिन सकियो भने मात्र नारीलाई सम्मान दिएको ठहरिन्छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!