Search

ई–लाइब्रेरीमा झुम्मिए विद्यार्थी

ई–लाइब्रेरीमा झुम्मिए विद्यार्थी

बाँपीझ्याला, खोटाङं । खोटाङको ऐंसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कमा रहेको त्रिभुवन माध्यमिक विद्याालय कक्षा ९ मा अध्ययनरत छात्रा महिमा सैंजुलाई आजकल कक्षागत पुस्तक पढ्दा अफ्ठयारो महसुस हुन्छ । तर, ई–लाइब्रेरीमा आएर पढ्दा चाँहि धेरै सजिलो लाग्छ । कक्षा ९ मा अध्ययनरत छात्र नविन श्रेष्ठलाई किताब हेरेर पढ्दा झन्झट हुने कुरा ई–लाइब्रेरीमा गएर पढ्दै, सुन्दै, हेर्दै अभ्यास गर्दा दिमागमा छिटो पसेको अनुभव छ । हिजोआज कक्षागत शिक्षक नहुँदा खाली बस्नुपर्ने समयमा उहाँले ई–लाइब्रेरी गएर अध्ययन गर्न थाल्नुभएको छ ।

महिमा र नविन जस्तै विद्याललयमा अध्ययनरत छात्राछात्रले कक्षागत शिक्षक नहुँदा खाली बस्नुपर्ने समय ई–लाइब्रेरीमा गएर पढ्दै, सुन्दै, हेर्दै अभ्यास गरेर सदुपयोग गर्छन् । शैक्षिक सुधार गर्ने लक्ष्यले ऐसेलुखर्क गाउँपालिकाले पालिकाभित्रका सामुदायिक माविहरूमा २० माघबाट ई–लाईब्रेरी जडान कार्य अगाडि बढाएपछि विधार्थीहरूमा आएको परिवर्तन हो यो ।

यस्तै, कक्षा १० मा अध्ययनरत छात्रा स्मारिका राजभण्डारीलाई अहिलेको समयमा प्रविधिमैत्री ढंगबाट शिक्षा लिन पाउँदा आफू भाग्यमानी भएको बुझाई छ । विद्यालयमा ई–लाईब्रेरी जडान भएदेखि विद्यार्थीहरूलाई धेरै फाइदा भएको कक्षा १०मा अध्ययनरत अर्की छात्रा सुजाता गिरिले बताउनुभयो । कुनै पनि विषयको वारेमा नबुझेको कुरा ई–लाइब्रेरीमा आएर आफैँले खोजेर पढ्न सक्छौं । नजानेका कुराहरूको भिडियो, तस्बिर हेरेर धेरै कुरा थाहा पाइन्छ । गिरीले भन्नुभयो,‘कथा कविता हेर्न सुन्न मन लागेको छ भने सर्च गरेर हेर्न सक्छौ, शिक्षक नहुँदाको खाली समय पनि यहीँ आएर सदुपयोग गर्छौ ।’

सरल र सहज तरिकाले चलाउन सकिने ई–लाइब्रेरीमा कक्षा १ देखि कक्षा १० सम्मको पाठ्यक्रम, विद्यालयका शिक्षक, विधार्थीहरूको रुचि र तह अनुसारका सन्दर्भ सामग्री, राष्ट्रिय पाठ्यक्रममा आधारित विषयगत सामग्रीहरूसहित सात हजार ५६५ वटा पुस्तक संग्रह, दुई हजार ८१९ वटा अडियो संग्रह, एक हजार ५११ वटा भिडियो संग्रह र चार हजार ८७ वटा लेख संग्रह समेत समावेश गरिएको छ । गाउँपालिकाले अफलाइन सर्भर जडान गरेर विद्यालयमा सञ्चालन गरिदिइएको ई–लाईब्रेरीहरूमा पढ्दै, सुन्दै, हेर्दै अभ्यास गर्न पाएपछि विधार्थीहरू झुम्मिएर अध्ययन गर्ने गरेको पाईन्छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा पाँच लाख बिस हजार वजेट विनियोजन गरी साझा शिक्षा ई–पाटीद्धारा निर्मित शिक्षा केन्द्रित ई–लाइब्रेरी (डिजिटल पुस्तकालय) गाउँपालिकाभित्र रहेका आठ वटा सामुदायिक माविहरूमा जडान गर्ने लक्ष्यअनुसार हालसम्म त्रिभुवन मावि ऐसेलुखर्क, माक्पा मावि माक्पा, सिम्ले मावि जलेश्वरी, शिशु मावि महेश्वरी, कालिका मावि बाकाचोलमा ई–लाइब्रेरी जडानको काम सकिएको गाउँपालिकाका शिक्षा शाखा संयोजक विनेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पुरानो शैलीको लाइब्रेरी सञ्चालनमा जनशक्ति पनि आवश्यक पर्ने तर, अहिलेको ई–लाइब्रेरी भित्र धेरै पुस्तकहरू रहने भएकाले विद्यार्थी र अन्यले आफूलाई रुचि भएको कुरा सजिलै खोजेर पढ्न सक्ने भएकाले गाउँपालिकाको आठ वटै माविमा प्रविधिमा आधारित ई–लाइब्रेरी जडानको काम भइरहेको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताउनुभयो ।

जिल्लाको दुई नगरपालिका आठ गाउँपालिकामध्ये प्रविधिमा आधारित ई–लाइब्रेरी सञ्चलान गर्ने यो गाउँपालिका पहिलो गाउँपालिका हो । ई–लाइब्रेरी ईन्टरनेटको सुविधा भएको स्थानमा ईन्टरनेटको माध्यमबाट र इन्टरनेट नभएको स्थानमा ई–पुस्तकालयको अफलाइन सर्भर जडान गरी ईन्टरनेट विना पनि सञ्चालन गर्न सकिन्छ । कम्प्युटर, ल्यापटपमा सञ्चालन भइरहेको ई–लाइब्रेरी मोबाइलमा पनि सञ्चालन गर्न सकिने गाउँपालिकाका आइटी अफिसर सिजन राईले बताउनुभयो ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment