अजय प्रधान,
बाँपीझ्याला, दोलखा । दोलखाको वैतेश्वर गाउँपालिका वडा नम्बर ३ मिर्गे लहरेमानेका अग्नि पीडित मान बहादुर तामाङलाई दोलखाली समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ ।
२०७७ माघ १९ गते बिहान तामाङको घर तथा बेकरी पसलमा आगालागी हुँदा २० लाख भन्दा बढिको क्षति भएको थियो ।
अग्निपिडित तामाङलाई आज एक कार्यक्रमका बिच दोलखाली समाज दक्षिण कोरियाका सहसचिव राजकुमार दहालको उपस्थितिमा वैतेश्वर गाउँपालिकाका उपाध्यक्ष रबिचन्द्र आचार्यले समाजको तर्फबाट संकलित ६५ हजार रुपैयाँ नगद हस्तान्तरण गर्नुभयो ।
सहयोग रकम बुझ्दै अग्निपिडित तामाङले आफू पिडामा रहेको अवस्थामा समाजले गरेको सहयोग प्रति आभार व्यक्त गर्दै सहयोग रकमले आफ्नो बेकरी व्यवसाय पहिलेको अवस्थामा फर्काउन मद्धत पुग्ने बताउनुभयो ।
दोलखाली समाज दक्षिण कोरिया रोजगारीको शिलशिलामा कोरिया बसीरहेका दोलखालीको सामाजिक संस्था हो । समाजका अध्यक्ष अमृत दहालका अनुसार समाजले जिल्लाका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति, विद्यालयमा कम्प्युटर सहयोग, गम्भिर प्रकृतिका रोगिहरुलाई आर्थिक सहयोग, बृद्धअवस्थाका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण लगाएतका सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।