बाँपीझ्याला, काठमाण्डौं । भारतले ललितपुर र सिन्धुपाल्चोक जिल्लाका लागि थप तीनवटा साँस्कृतिक सम्पदा परियोजनाको पुनर्निर्माणका लागि २४.६ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । त्यसका लागि आज काठमाडौंस्थित भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय परियोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशकले सम्झौतापत्रमा आज हस्ताक्षर गरेका छन् ।
भारतीय दूतावासले जारी गरेको विज्ञप्तिअनुसार ललितपुरस्थित जेष्ठ वर्ण महाविहार, सिन्धुपाल्चोकस्थित सुलीझ्याङ गुम्बा र शेरमाथाङ गुम्बा गरी तीनवटा सम्पदा परेका छन् । इण्डियन नेसनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेजले जेष्ठ वर्ण महाविहारको पुनःस्थापनाका लागि प्राविधिक सहयोग प्रदान गर्नेछ भने बाँकी दुई परियोजनाको कार्यान्वयन केन्द्रीय परियोजना कार्यान्वयन इकाई (भवन) ले सहयोग गर्ने जनाइएको छ ।
भारत सरकारले नेपालका आठ जिल्लामा २८ वटा साँस्कृतिक सम्पदाको संरक्षण, पुनःस्थापना र पुनर्निर्माणका लागि कूल ५० मिलियन अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।