Search

लघुकथा–प्रभाव

लघुकथा–प्रभाव

स्वस्थानी ब्रतकथा सुरु भए लगत्तै विद्यार्थीहरू दिनै पालैपालो शालिनदी जान थालेर कक्षा पातलो हुदै गएको थियोे । लामो समयको कोरोना कहरबाट थलिएको शिक्षण संस्था तिब्र रुपमा जुरमुराउन थालेको थियो । द्रुतगतिमा शैक्षिक क्रियाकलाप सुचारु राख्न र निजि विद्यालयसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौतिलाई आत्मासात गर्दै अघि बढ्न विद्यालय व्यवस्थापन पक्ष र शिक्षक अहोरात्र खटिरहेका थिए ।

अर्धबार्षिकको नाममा मंसिरमा पहिलो परीक्षा आन्तरिक रुपमै सम्पन्न भयो । नयाँ भौतिक व्यवस्थापनले सुसज्जित विद्यालयप्रति स्थानीय निकायको विशेष चासोले नियमित अतिरिक्त क्रियाकलाप सरसफाइ र सुरक्षा जस्तो कुराको उल्लेख्य प्रबन्धले आहा ! भन्न मन लाग्थ्यो ।

परीक्षा भनेपछि निकै मेहनत गर्ने, अघिपछि त्यति चासो नराख्ने विद्यार्थीहरुलाई तब झड्का लाग्यो जब नगर शिक्षाको दोश्रो परीक्षाको रुटिन सूचनापाटिमा टाँसियो । कक्षा चारमा राम्रो पढ्ने भनेर चिनिने “लुनिभा” माइजुले माघ नुहाउने भएर एक हप्तादेखि मामाघर गएर बसेकी रैछिन् । परीक्षामा सामेल हुन अघिल्लो दिनमात्र आइ पुगिन् । सामाजिकको कपि जाँचिरहेकी रिमा म्याम रमाइलो मानेर एक्कासी हाँस्दै– “सर–म्याम, मलाई एउटा समस्याको हल चाहियो ।“

सबैको ध्यान आकृष्ट भयो ।
“भन्नुस् म्याम मिलेर समाधान निकालौँला ।“

“पृथ्वीको उत्पत्ति कसरी भयो ?“ भन्ने प्रश्नको उत्तरमा
विष्णु भगवानले मधु र कैटव भन्ने दानवलाई मार्नु भयो । तिनको मासुबाट जमिन, रगतबाट नदि, हाडबाट पहाड ,बोसोबाट हिमाल बनेर पृथ्वीको उत्पत्ति भएको हो।
भन्ने रहेछ। “ एकछिन सबै हाँसे ।

“कस्तो कपि हो ? “प्र.अ.गम्भीर हुनु भो ।
“लुनिभाको ।

“यो पाठ कहिले पढाउनु भएको ?“

“ २–४ दिन अघि मात्र हो, उनी अनुपस्थित थिइन् ।“

“स्वस्थानी व्रतकथाको प्रभाव देखियो “–अर्का सर बोले

“ लेखाइ शुद्ध छ, भाषा राम्रो छ । २५ प्रतिशत जति नम्बर दिन मिल्ला त?“ रीमा म्याम दोधारमा परिन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!