अजय प्रधान,
बाँपीझ्याला, दोलखा । दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा आन्तरिक राजस्व विभागको करदाता सेवा कार्यालय आएपछि जिल्लामा व्यक्तिगत स्थायी लेखा नम्बरको परिचयपत्र (प्यानं नम्बर) लिनेको संख्या वृद्धि भएको छ ।
दोलखा जिल्लामा पाँच महिनाको अवधिमा ४ सय ८९ जनाले व्यक्तिगत प्यानं नम्बर लिएका छन् । त्यस्तै ६ सय ९७ जनाले व्यवसायको आयकर दर्ता गरेर प्यान लिएको पाइएको छ । त्यसैगरी ६९ जनाले अन्तःशुल्क दर्ताको प्यान लिएका छन् । त्यसैगरी कार्यालय प्रयोजनको लागी २६ वटा डब्लु प्यान दर्ता भएको पाइएको छ भने,६७ वटा भ्याट दर्ता भएको कर कार्यालय दोलखा जिल्लाका कर अधिकृत देवानन्द काफ्लेले जानकारी बताउनु भयो ।
अधिकृत काफ्लेका अनुसार आन्तरिक राजस्व बिभागले ३ हजार भन्दा माथीको पारिश्रमिक तथा ज्यालाको भुक्तानी लिनका लागी अनिवार्य प्यानं नम्बर लागु गरेकाले पनि पछिल्ला दिनमा व्यक्तिगत प्यानं र व्यवसायको प्यान तथा भ्याट लिनेको संख्या वृद्धि भएको वहाँले बताउनु भयो । पकटे प्रकृतिका ३ हजार सम्मको भुक्तानी बाहेक प्यानं नलिएका कर्मचारी,कामदारलाई वितरण गरेको तलब भत्ता तथा ज्याला खर्चमा प्यानं अनिवार्य गरिएको उनले बताए ।
त्यसैगरी राजस्व विभागले २ हजार भन्दा बढीको प्यानं उल्लेख नभएको बिजकको खर्च भुक्तानी दिनलाई प्यानंमा दर्ता हुनुपर्ने भएपछि जिल्लामा प्यानं नम्बर लिने बढेका हुन् । कर कार्यालयमा बढी मात्रामा सहकारीका कर्मचारी, गाउँपालिका वडा कार्यालयका कर्मचारी, विद्यालयका कर्मचारी र सडक पेटीमा काम गर्ने कर्मचारीले प्यानं लिने गरेका छन् । त्यसैगरी नेपाल भर जुनसुकै ठाँउमा व्यवसाय खोलेका सानाठूला जुनसुकै रकमका उद्योग,कलकारखाना तथा व्यवसायले अनिवार्य भ्याटमा दर्ता हुनुपर्ने भएकाले भ्याटमा दर्ता गर्ने व्यवसायी बढेको कार्यालय प्रमुख काफ्लेले जानकारी दिए ।
जिल्लाको सदरमुकाम चरिकोटमा आन्तरिक राजस्वको कर कार्यालय बसेपछि करिव पाँच महिनाको अवधिमा ७ करोड १७ लाख ६० हजार २ सय १८ रुपैयाँ राजस्व उठेको थाहा हुन आएको छ । यस जिल्ला भित्रै कर कार्यालय नहुदा वर्सौ देखी तिर्न बाकी रहेको राजस्व पनि जिल्लामै कार्यालय बसेपछि दुई तीन वर्ष देखीको बाँकी रहेको राजस्व पनि जिल्लाका व्यक्ति तथा कार्यालयहरुले तिर्न आउन थालेको वहाँको भनाई रहेको छ ।
पुरुषको तुलनामा महिलाको नाममा बढी मात्रमा व्यवसाय तथा व्यक्तिगत प्यानं नम्बर दर्ता भएको कर कार्यालय चरिकोटले जनाएको छ । दोलखा राजस्व विभागमा दर्ता नगरी सञ्चालन गरेका व्यवसायहरुको अनुगमन गरेर कानुनी रूपमा संचालन गर्न कार्यालयले बजार अनुगमन गरिरहेको समेत जानकारी दिनु भयो ।