Search

न्यूजसाइटका समाचार प्रयोग गरेबापत गुगल र फेसबुकले पैसा तिर्नुपर्ने कानुन अस्ट्रेलियाद्वारा पारित

न्यूजसाइटका समाचार प्रयोग गरेबापत गुगल र फेसबुकले पैसा तिर्नुपर्ने कानुन अस्ट्रेलियाद्वारा पारित

बाँपीझ्याला, सिड्नी । गुगल र फेसबुकले अस्ट्रेलियन समाचार कम्पनीका सामग्रीहरू आफ्ना साइटमा प्रयोगबापत् अबदेखि पैसा तिर्नुपर्ने भएको छ। ‘मिडिया बार्गेनिङ कोड’ अर्थात् ‘न्युज मिडिया एण्ड डिजिटल प्लेटफर्म म्यानडेटोरी बारगेनिङ कोड’ नाम दिइएको सो कानुन गत २५ फेब्रुअरीमा अस्ट्रेलियाको संसद् ‘सिनेट’ बाट पारित भएको हो।

सो कानुनलाई लिएर अस्ट्रेलियन सरकार र ठूला कम्पनीहरू बीच विवाद चलिरहेको थियो जसको फलस्वरुप फेसबुकले गत हफ्ता अस्ट्रेलियन न्युज कम्पनीका समाचार सामग्रीहरूलाई आफ्नो प्लेटफर्ममा शेयर गर्न निषेध गरेको थियो। लगत्तै भएको छलफलपछि कानुनमा केही परिमार्जन गर्ने निर्णयपछि फेसबुकले सो प्रतिबन्ध हटाएको छ।

यो कानुन पारित भएसँगै अस्ट्रेलिया यस किसिमको कानुन बनाउने संसारको पहिलो राष्ट्र पनि बनेको छ। यसअघि फेसबुक र गुगलले अस्ट्रेलियन न्यूज कम्पनीहरूका समाचारहरू सित्तैमा प्रयोग गरिरहेका थिए।

कानुन पारित भएसँगै मिडियासँग कुराकानी गर्दै ट्रेजरर जोश फ्राइडेनबर्गले यो कानुनले विश्वलाई मार्गदर्शन गर्ने तथा अस्ट्रेलियाको मिडिया क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताएका छन्।

“यो ठूलो उपलब्धि हो । यो कानुनले खेल खेल्ने मैदानलाई बराबर बनाउन सहयोग पुर्‍याउनेछ र अस्ट्रेलियाका मिडिया व्यवसायीहरूले मौलिक समाचारहरू रचना गरेबापत् आर्थिक लाभ पनि प्राप्त गर्ने छन् ”, ट्रेजरर फ्राइडेनबर्गले भनेका छन् ।

के हो यो कानुन ?
यो कानुन लागू भएपछि फेसबुक र गुगलजस्ता ठूला कम्पनीहरूले आफ्ना साइटमा समाचार प्रयोग गर्नका लागि मिडिया कम्पनीहरूसँग आर्थिक सम्झौता गर्नुपर्नेछ। ती दुई पक्षबीच आपसी सहमतिमा सम्झौता हुन नसकेको खण्डमा सरकारले स्वतन्त्र निकायलाई मध्यस्थकर्ताका रूपमा तोकिदिनेछ जसले निष्पक्ष रूपमा ती कम्पनीले तिर्नुपर्ने रकम निर्धारण गरिदिनेछ।

साथै यो कानूनले ती कम्पनीहरूलाई आफ्ना कोडको ‘अलगोरिदम’ मा कुनै परिवर्तन गर्नुपरेमा न्युज पब्लिसर्सहरूलाई जानकारी समेत दिन बाध्य बनाउनेछ। यसले गर्दा न्युज पब्लिसर्सहरूले कस्ताखाले समाचार सामग्रीले गुगल र फेसबुकमा प्राथमिकता पाइरहेका छन् भन्ने कुरा थाहा पाउन सक्नेछन्।

अस्ट्रेलियाको बजार नियमनकारी संस्था ‘अस्ट्रेलियन कम्पिटसन एण्ड कनज्युमर कमिसन (एसिसिसि) ले हालसम्म पब्लिसर्सहरूसँग निकै कम शक्ति रहेको हुनाले ठूला कम्पनीले एकलौटी रूपमा फाइदा पाइरहेको बताएको थियो । कानुन लागू भएसँगै मिडिया कम्पनी तथा श्रमजीवि पत्रकारहरूलाई मौलिक समाचारसामग्री उत्पादन गर्नका लागि यसले ठूलो राहत दिने बताइएको छ ।

एसिसिसिले सन् २०१८ मा गरेकाे अनुसन्धानले अनलाइनमा विज्ञापनमा खर्च हुने १०० अस्ट्रेलियन डलरमध्ये ४९ डलर गुगल तथा २४ डलर फेसबुकले पाउने गरेकाे तथ्याङ्क निकालेको थियो ।

अस्ट्रेलियामा कानुन लागू भएसँगै विश्वका अन्य राष्ट्रहरूमा रहेका नियमक संस्थाहरूले पनि यसलाई चासोका साथ हेरिरहेका छन् ।

Written by 

Related posts

Leave a Comment