Search

नेकपा विभाजन नभएसम्म कांग्रेसले सरकारबारे ‘पोजिशन क्लिएर’ नगर्ने

नेकपा विभाजन नभएसम्म कांग्रेसले सरकारबारे ‘पोजिशन क्लिएर’ नगर्ने

बाँपीझ्याला, काठमाण्डौं । राजनीतिक रुपमा विभाजित भएको नेकपा कानुनी रुपमा समेत फुटेपछि मात्रै नेपाली कांग्रेसले भावी सरकारबारे निर्णय गर्ने भएको छ। प्रतिनिधिसभा पुनःस्थापना भएपछि विकसित राजीनिक घटनाक्रमबारे छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्डमा बसेको पदाधिकार तथा पूर्वपदाधिकारीको बैठकले नेकपा औपचारिक रुपमा विभाजित नभएसम्म निर्णय गर्नु हतारो हुने निष्कर्ष निकालेको हो।

पुनःस्थापना भएपछि नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले बुधबार देउवालाई भेटेर सत्ता सहकार्यका लागि प्रस्ताव गरेका थिए। नेकपाको अर्को पक्ष ओली खेमाले पनि कांग्रेसलाई सरकार सहकार्यका लागि निरन्तर प्रस्ताव गरिरहेको छ।

तर वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि नेकपा विभाजन नभइ निर्णय लिनु उपयुक्त नहुने बताए। बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘छोरो नपाई कन्दी बाट्ने कुरा छैन। नेकपाको कुरा क्लिएर भएपछि मात्रै कांग्रेसले निर्णय गर्छ। उनीहरु विभाजन भएका हुन् कि होइनन्? त्यसमा प्रष्ट हुनुपर्छ।’

कांग्रेसले नेकपा विभाजन नभएको अवस्थामा कांग्रेसले निर्णय गर्नु अर्थहीन हुने विषयमा नेताहरु सहमत भएको सहमहामन्त्री प्रकाशशरण महतले पनि बताए।

उनले भने, ‘अहिले नै भावी सरकारबारे निर्णय गर्नु अर्थहिन हो। अपरिपक्क अवस्थामा कांग्रेसले कुनै निर्णय गर्दैन। हामी छलफलमै छौँ।’ अहिलेसम्म परिस्थिति नेकपाकै हातमा रहेकाले उसले गर्ने निर्णयपछि मात्रै कांग्रेसले पोजिसन क्लिएर गर्ने महतले बताए। बैठकपछि उनले भने, ‘नेकपा कसरी अगाडि बढ्छ, त्यसपछि मात्रै हाम्रो भूमिकाबारे निर्णय हुन्छ।’

Written by 

Related posts

Leave a Comment