बाँपीझ्याला, काठमाडौँ । ‘कमेडी च्याम्पियन सिजन– २’ फागुन २१ देखि प्रसारणमा आउने भएको छ । बुधबार काठमाडौं आयोजित एक कार्यक्रमका बीच शोको औपचारिक घोषणा गरिएको हो । शो कान्तिपुर टेलिभिजनबाट प्रसारणमा आउन लागेको हो । शोका निर्देशक विशाल भण्डारी गत वर्ष आर्थिक समस्याका कारण सोचेको जस्तो शोमा गर्न नसकिएकोले यो सिजन भव्य बनाउने बताए ।
कान्तिपुर टिभीका दिनेश डिसीले कमेडी च्याम्पियन टिमसँग सहकार्यलाई लिएर उत्साहित भएको बताए । उनले आगामी ५ वर्षका लागि शो टिभीले लिएको जानकारी दिए । ‘कमेडी च्याम्पियन–२’ का लागि देश तथा विदेशबाट ६ हजारभन्दा बढि डिजिटल अडिसन प्राप्त भएको थियो । ६ हजारमध्ये १ सय ८० प्रतियोगीलाई काठमाडौं बोलाएर फिजिकल अडिसन गरियो । जसबाट उत्कृष्ट २४ प्रतियोगीहरु छनोट भएका छन् ।
कमेडी च्याम्पियनका निर्णायकहरुमा गत वर्षकै सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निरन्तरता पाएका छन् । रीमा विश्वकर्मा उद्घोषक रहेको शोको निर्मातामा अभिनेत्री केकी अधिकारी, विशाल भण्डारी, रीमा विश्वकर्मा र राज घिमिरे रहेका छन् ।