Search

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले अन्र्तक्रिया कार्यक्रम

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले अन्र्तक्रिया कार्यक्रम

बाँपीझ्याला, काठमाण्डौं । मातृभाषा माध्यमबाट भइरहेको पत्रकारिता क्षेत्रका विकासका लागि सम्वन्धित मातृभाषी पत्रकार र समुदायको सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उपस्थित मातृभाषि पत्रकार, संचार उद्यमीहरुले समुदायको विकासको लागि संचार क्षेत्रको विकास हुनुपर्ने र यसको लागि समुदायको सहकार्य हुनुपर्ने विचार राखे ।


नेपाल भाषाको दैनिक पत्रिका नेपालभाषा टाइम्सका सम्पादक वरिष्ठ पत्रकार सुरेश किरण मानन्धरले नेपाल भाषा पत्रकारिता क्षेत्रमा व्यावसायिकताको विकास गर्नुपर्नेमा जोड दिनुभयो । अहिले भाषा सेवाको भावनाको भरमा नेपालभाषा पत्रकारिता क्षेत्र अघि बढ्दै गरेकोमा आर्थिक पक्षलाई पनि जोडेर अघि बढ्न सक्नुपर्ने विचार वरिष्ठ पत्रकार मानन्धरले राख्नुभयो ।‘भाषाको सेवा गरौं भनेर नै नेवाः नेवाः संचारमाध्यम र नेवाः पत्रकारहरु अहिले सक्रिय छन्, तर यसमा लाखौंको लगानी भइरहेको छ । लगानी र प्रतिफलको लागि पनि योजना बनाउन सक्नुपर्छ’ मानन्धरले भने ।

नेपालभाषा पत्रकारिता क्षेत्रको ईतिहास निकै स्वर्णिम रहेको भन्दै मानन्धरले वर्तमान समयमा समस्या रहेपनि आउँदा दिनलाई फेरी पनि स्वर्णिम बनाउन सकिने अवस्था रहेको दावी गर्नुभयो ।पत्रकार दबूका केन्द्रीय अध्यक्ष सुरजबीर बज्राचार्यले नेपालभाषाको पत्रकारिता क्षेत्रको विकासको लागि दबू क्रियाशील रहिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।करीब तीन वर्ष अघि पत्रकार दबूले नै २६ वटा भाषाभाषीको उपस्थितीमा मातृभाषा पत्रकारिता सम्मेलन गरेको सम्झिँदै अध्यक्ष बज्राचार्यले सहकार्य र सरसल्लाहबाटै यस क्षेत्रका समस्याको पहिचान गरी समाधानमा लाग्नुपर्नेमा जोड दिनुभयो ।


दबूका उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यलाई सम्झिँदै नेपालको पत्रकारिता क्षेत्रको विकासमै नेवाः पत्रकारहरुको विशिष्ट योगदान रहेको दावी गर्नुभयो । त्यस्तै नेवाः टिभि एचडिका अध्यक्ष नवीन जोशीले दर्शकको संख्या र बजारको सिमितताका बीच मातृभाषामा टेलिभिजन च्यानल संचालनमा समस्या रहेको बताए । मातृभाषा माध्यमबाट संचालन हुने संचार माध्यमलाई राज्यले मूलधारका संचार माध्यम सँगै राखेर हेर्न नमिल्नेमा जोड दिनुभयो ।एफ एम रेडियोमा नेपाल भाषाका प्रथम समाचार वाचक साथै राष्ट्रिय प्रसारणमा टेलिभिजनमा प्रथम कार्यक्रम संचालक बिराजकाजी राजोपाध्यायले मातृभाषा पत्रकारिता क्षेत्र विगतको तुलनामा अहिले धेरै हदसम्म व्यावसायिक बनेको दावी गर्नुभयो ।

विगतमा यो क्षेत्रमा कुनै किसिमको आर्थिक उपार्जनको बारेमा सोच्न सकिने अवस्था थिएन, तर आज यसै क्षेत्रमा काम गर्दै परिवार पाल्न सकिने अवस्था श्रृजना भएको छ ।’ राजोपाध्यायले भन्नुभयो । सबै मातृभाषी संचार गृह र संचारकर्मीको सहकार्यमा यस क्षेत्रलाई अझ व्यवस्थित बनाउनुपर्ने आवश्यकता राजोपाध्यायले औंल्याउनुभयो ।
राष्ट्रिय प्रसारणमा पहिलो महिला टेलिभिजन कार्यक्रम प्रस्तोता मीना बज्राचार्यले आफ्नो अनुभव सुनाउँदै विगतका दिनमा जस्तै अहिलेपनि महिलालाई संचार क्षेत्रमा सक्रिय रुपमा अगाडी बढ्न समस्या रहेको बताए ।


लहना साप्ताहिकका व्यवस्थापक साथै पत्रकार दबूका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र भक्त श्रेष्ठले नेपालभाषाका संचार गृहहरु एकिकृत भई बिग मिडिया हाउसको परिकल्पनामा जानुपर्ने सुझाव दिनुभयो । ‘नेपालभाषाबाट पत्रकारिता शुरु भएको सय वर्ष बढि भइसक्यो, सय वर्षको ईतिहास बनाइ सकेका हामीले आज आएर बिग मिडिया हाउसको शुरुवात किन नगर्ने ?’ श्रेष्ठले भन्नुभयो । नेपालभाषाको पहिलो समाचार पोर्टल नेपालमण्डल डट कमका सदस्य अस्मित मल्लले नेपालभाषा माध्यमबाट संचालित अनलाइन माध्यमहरुले आत्मा समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

सरकारबाट उपलब्ध सुविधा प्राप्त गर्नका लागि आवश्यक मापदण्ड पूरा गर्नुपर्नेमा ध्यान दिनको लागि मल्लले जोड दिनुभयो ।कार्यक्रममा दबूका निवर्तमान अध्यक्ष श्रीकृष्ण महर्जन, नेपाल भाषाका प्रथम सिने पत्रकार साथै दबूका सल्लाहकार विजयरत्न तुलाधर, वरिष्ठ पत्रकार साथै दबूका सल्लाहकार रमेशकाजी स्थापित, विभिन्न संचार माध्यममा आवद्ध नेवाः पत्रकार र पत्रकार दबूका केन्द्रीय साथै जिल्ला पदाधिकारी, सदस्यहरुको उपस्थिती रहेको थियो ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment