०५ फागुन, बाँपीझ्याला, नवलपरासी । दुःख गरेर फलाएको टमाटरले बजार नपाएको भन्दै पश्चिम नवलपरासीको बर्दघाटका किसानहरुले बर्दघाट नगरपालिका परिसरभित्रै टमाटर फालिदिएर विरोध जनाएका छन् । स्थानीय किसानहरुको उत्पादनले बजार नपाउने र भारतीय आयातित टमाटर खुल्लेआम बिक्री हुने गरेको भन्दै उनीहरुले नगरपालिकाको गेटदेखि प्रत्येक कोठा र गल्लीमा टमाटर फालेर बिरोध जनाएको स्थानीय किसान निलकण्ठ नेपालले बताए ।
किसानहरुले नगरप्रमुख धिरज शर्मा बस्याललाई आफ्ना समस्या र माग समेटेर तयार पारिएको ज्ञापन पत्र बुझाउन खोजेका थिए । तर नगर प्रमुख बस्याल भने उपस्थित भएनन् । नगर प्रमुख ज्ञापनपत्र बुझ्न नआएको भन्दै किसानहरु थप आक्रोशित हुँदै नाराबाजी गरेका थिए ।
किसानहरुले नगर प्रमुख बस्यालको कार्यकक्षमा पनि टमाटर फाल्न खोज्दा नगर प्रहरीले रोक्ने प्रयत्न गरेको थियो । त्यसपछि वडा नं. १४ र ७ का किसानहरुले बिरोधका क्रममा दुईवटा गाडीमा ३० क्विण्टल टमाटर ल्याएर नगरपालिकाको गेटदेखि प्रत्येक कोठा र गल्लीमा फालेका हुन् ।
किसानको भिडलाई नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ४ का वडा अध्यक्ष रविन्द्र विक्रम हमालले सम्बोधन गर्दै किसानहरु आन्दोलित हुने स्थिति सिर्जना हुनु दुःखद भएको भन्दै किसानहरुको मर्कामा आफू पनि सँगसँगै रहने बताएका थिए । किसानहरुको उत्पादनको बजारीकरणका लागि जिम्मेवार बन्न नगरपालिकालाई आग्रह गरेका थिए ।