Search

सभामुखकाे मुद्दा न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलाशमा

सभामुखकाे मुद्दा न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलाशमा

बाँपीझ्याला, काठमाण्डौं । संवैधानिक परिषदले गरेका नियुक्ति र शपथग्रहण असंवैधानिक भन्दै सभामुख अग्नि सापकोटाले दायर गरेको रिटको पेशी न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलाशमा तोकिएको छ। न्यायाधीश ढुंगानाको एकल इजलाशमा तोकिएको पेशी चाैथाे नम्बरमा छ। रिट दर्ता गराउन सभामुख सापकोटा आफै अदालत पुगेका थिए।

सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमा प्रधानमन्त्रीसहित ३९ जनालाई विपक्षी बनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, मुख्यसचिव शंकरदास वैरागी लगायत संवैधानिक निकायमा नियुक्त भई शपथ लिने ३२ जना गरी ३९ जनालाई विपक्षी बनाइएको हो।

संसदीय सुनुवाई बिना नै संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायका लागि गरेको नियुक्तिको सिफारिसमा परेकाहरुले गएको बुधबार शपथ लिएका थिए । सिफारिस भएको ४५ दिनसम्म संसदीय सुनुवाई नहुँदा सिफारिस भएका व्यक्तिहरु सम्बन्धित पदमा स्वतः नियुक्त हुने व्यवस्था अनुसार उनीहरुले शपथ खाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गते प्रतिनिधिसभा भंग गरेकी थिइन् । संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा अहिले सुनुवाई जारी रहेका बेला सिफारिस भएका व्यक्तिहरुको सुनुवाई हुन सकेन ।

संघीय संसदको कार्यसञ्चालन नियमावली २०७५ अनुसार संवैधानिक परिषदबाट सिफारिस भएकाहरुको ४५ दिनसम्म संसदीय सुनुवाइ नभएमा स्वतः नियुक्ति मानिने व्यवस्था छ । सोही अनुसार गएको बुधबार शपथ भएको हो।

सभामुख अग्निप्रसाद सापकोटाले निर्णय प्रक्रियामै असहमति जनाउँदै संसदीय सुनुवाईका लागि सरकारले पठाएको सक्कल प्रति नै फिर्ता पठाएका थिए ।

प्रतिनिधिसभा विघटन भएपछि संसदीय सुनुवाइ समिति पनि विघटन भएको उल्लेख गर्दै यस्तो अवस्थामा संवैधानिक निकायमा नियुक्ति हुन नसक्ने दाबी सभामुखको छ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!