Search

नेपालमा ६६ लाख ग्रामीण बासिन्दाको पहुँचमा छैन आयोडिनयुक्त नुन

नेपालमा ६६ लाख ग्रामीण बासिन्दाको पहुँचमा छैन आयोडिनयुक्त नुन

बाँपीझ्याला, काठमाण्डौं । स्वास्थ्यका दृष्टिकोणले खानामा आयोडिनयुक्त नुन प्रयोग गर्नुपर्ने भए पनि नेपालमा ग्रामीण भेगका ६६ लाख मानिसले अझै ढिके नुन प्रयोग गर्दै आएको पाइएको छ ।

ढिके नुनको प्रयोगले मानिसको स्वास्थ्यमा गम्भीर असरहरू देखापर्ने गर्छ । तर आयोडिनयुक्त नुनभन्दा ढिके नुुन सस्तो पर्ने भएकाले ग्रामीण भेगका मानिसले ढिके नुनकै प्रयोग गरिरहेको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखाका प्रमुख केदार पराजुली बताउँछन् ।

त्यसो त, आयोडिनयुक्त नुन पनि अधिव सेवनले शरीरलाई नोक्सान नै गर्दछ । तर आयोडिनयुक्त नुन प्रयोग गर्नेहरुले पनि स्वास्थ्यको मापदण्ड ख्याल नगरी बढी प्रयोग गरिरहेको पाइएको छ ।

स्वास्थ्य मापदण्डअनुसार एकजनाले दैनिक ५ ग्रामभन्दा कम नुन प्रयोग गर्नुपर्छ । तर, नेपालको सन्दर्भमा प्रतिदिन औसतमा ९.१ ग्राम नुन प्रयोग गर्दै आएको पाइएको छ । हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नसर्ने रोगको जोखिम कारक हेर्ने ‘स्टेप सर्भेक्षण २०१९’ मा यो तथ्य प्रकाशमा आएको हो ।

एकजनाले दैनिक ५ ग्रामभन्दा बढी नुन सेवन गर्दा नसर्ने रोगको जोखिम बढ्ने पोषण शाखाका प्रमुख केदार पराजुलीले बताए ।

विश्व स्वास्थ्य संगठनकाअनुसार, ५ देखि ५९ महिनाका बालबालिकालाई ९० माइक्रोग्राम, ६ देखि १२ वर्षसम्मका बालबालिकालाई १३० माइक्रोग्राम, वयस्कहरूलाई १५० माइक्रोग्राम र सामान्य अवस्थाका गर्भवती तथा सुत्केरीले २५० माइक्रोग्राम आयोडिन नुन दैनिक रूपमा सेवन गर्नुपर्छ ।

सरकारले नेपाल साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा उत्पादित ‘दुई बालबालिका चिह्न अंकित आयो नुन’ दैनिक रुपमा सेवन गर्न अनुरोध गर्दै आएको छ । तर, विभागले ढिके नुनको आयात बन्द गर्न साल्ट ट्रेडिङ कर्पोरेसनलाई पत्राचार गरे पनि ढिके नुनको आयात र प्रयोगलाई प्रतिवन्ध लगाउन सकेको छैन ।

नेपाल साल्ट ट्रेडिङ कर्पोरेशनका महाप्रवन्धक कुमार राजभण्डारीले अझै ढिके नुनको आयातमा प्रतिबन्ध लगाउन नसकिएको बताए ।

‘ढिके नुन नेपालमा प्रतिवन्ध लगाएकै अवस्थामा पनि नेपाल–भारत खुला सीमा भएकाले सजिलै भारतबाट ल्याएर प्रयोग गर्न सक्ने अवस्था छ,’ उनले भने ।

उनका अनुसार, नेपालमा साल्ट ट्रेडिङको ‘आयो नुन’ वार्षिक दुई लाख टन खपत हुन्छ । नुनको कुल मागमा यो ७५ प्रतिशत हो । मागको २५ प्रतिशत भने ढिके नुन खपत हुने गर्छ ।

खपत भएको आयोडिनयुक्त नुनमध्ये कति प्रतिशत व्यावसायिक क्षेत्र वा उद्योग, कलकारखानाबाट उत्पादन हुने खाद्यवस्तुमा प्रयोग गरिन्छ र कति प्रतिशत आयोडिनयुक्त नुन घरघरमा सेवन गरिन्छ भन्ने तथ्यांक महाशाखासँग छैन ।

मानिसलाई दैनिक रूपमा कम मात्रामा चाहिने तर, नभइ नहुने पोषक तत्व हो आयोडिन । यसका लागि आयोडिनयुक्त नुन प्रयोग गरिन्छ ।

ढिके नुनमा आयोडिनको मात्रा न्यून हुने र यसलाई पखालेरमात्र प्रयोग गर्नुपर्नाले थोरै मात्रामा रहेको आयोडिन पनि पखालिने पोषण शाखाका प्रमुख पराजुली बताउँछन् ।

सन् १९१९ मा गरिएको एक अध्ययनले नेपालमा आयोडिनको कमीले बालबालिकाहरू शारीरिक र मानसिक रूपमा कमजोर भएको पाइए पनि वर्तमान समयमा आयोडिनयुक्त नुनको प्रयोगले ती समस्या कम हुँदै गएको उनको भनाइ छ ।

यस्तै आयोडिनको कमीले गर्भमा रहेको बच्चा खेर जाने, जन्मिएका शिशु पनि शारीरिक र मानसिक रूपमा पूर्ण रूपले विकास नहुने पाइएको प्रमुख पराजुली बताउँछन् ।

आयोडिनको कमीले गलगाँड, शारीरिक र मानसिक रूपमा अशक्त हुने जस्ता समस्या निम्त्याउँछ । आयोडिनको कमीबाट हुने स्वास्थ्य समस्याको उपचार नरहेको भन्दै उनले आयोडिनयुक्त नुनमात्रै खान सबैलाई आग्रह गरे ।

नेपालले आयोडिनको कमीले हुने शारीरिक विकृति नियन्त्रण गर्न सन् १९७३ देखि लिइएका नीति तथा रणनीतिहरुको परिणामस्वरुप हाल त्यस्ता शारीरिक विकृतिको स्थितिमा निकै सुधार आएको छ । सन् २०१६ मा गरिएको नेपाल नेशनल माइक्रोन्युट्रिन्ट स्टाटस सर्भेक्षणका अनुसार यो कार्यक्रमको सफलताले गर्दा नेपालका ९० प्रतिशतभन्दा बढी घरपरिवारले आयोडिनयुक्त नुन खाइरहेका छन् ।

विद्यालय जाने ६ देखि ९ वर्ष उमेर समूहका बालबालिकाहरू, १५ देखि ४९ वर्षका महिलाहरू तथा १५ देखि ४९ वर्षका गर्भवती महिलाहरूको पिसाबमा निष्काशन हुने आयोडिनको मात्रा कमशः ३१४ माइक्रोग्राम प्रतिलिटर, २८६ माइक्रोग्राम प्रतिलिटर र २४१ माइक्रोग्राम प्रतिलिटर देखिनुले पनि यी उमेर समूहका मानिसहरूमा आयोडिनको कमी नभएको देखाएको छ । विश्व स्वास्थ्य संगठनले कुनै पनि देशमा आयोडिनको कमीको समस्या छैन भन्नका लागि त्यस देशका जनताको पिशाबमा निष्काशन हुने आयोडिनको मात्राको निर्धारित विन्दु १०० माइक्रोग्राम प्रतिलिटरभन्दा बढी हुनपर्ने तोकेको छ ।

कम्तीमा ९० प्रतिशत घरपरिवारले उपयुक्त मात्रामा आयोडिन भएको नुन आयोडिनको मात्रा १५ पिपिएमभन्दा बढी भएको वा खाएको हुनुपर्ने भनेको छ । यी दुवै सूचकमा नेपालले प्रगति गरेको छ ।

अधिक मात्रामा नुन सेवन गर्दा यस्ता समस्या देखिन्छन्

— प्र्रशोधित खानेकुरामा राखिने नुनले पेटमा क्यान्सरसमेत हुन सक्छ ।

— मापदण्डभन्दा बढी नुन सेवन गर्दा मुटुरोग, मस्तिष्कमा समेत असर पु¥याउँछ ।

— धेरै नुन सेवनले शरीरका रसायनहरुमा असन्तुलन भइ मृत्युसमेत हुनसक्छ ।

—आवश्यकताभन्दा बढी नुनको सेवन गर्नेहरूमा पक्षघात, हृदयाघात, मधुमेह जस्ता रोगको खतरा बढ्छ ।

— बढी नुन सेवनले मिर्गौलामा क्याल्सियमको मात्रा बढ्छ भने यसले पत्थरीको समस्या निकाल्न सक्छ ।

— नुनको अत्याधिक सेवनले हात, खुट्टा, अनुहार सुन्निन पनि सक्छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!