अजय प्रधान,
बाँपीझ्याला, दोलखा । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत समृद्ध भीमेश्वर नगरपालिका दोलखाले पर्यटकलाई लक्ष्य गरी पदमार्ग निर्माण गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगारको पहिचान गरी भीमेश्वर नगरपालीकाले वडा नं २ स्थित मञ्जुश्री उद्यानदेखि वडा नं. स्थित भ्यूटावरसम्म र वडा नं. ४ बृन्दावनदेखी साहित्य उद्यानसम्म आकर्षक पदमार्ग निर्माण कार्य भईरहेको छ ।
भीमेश्वर नगरपालीका वडा नं २ मञ्जुश्री उद्यानदेखि वडा नं ६ को भ्यूटावरसम्म करिब रु ३१ लाखको लागतमा दुई किलोमिटर पदमार्ग निर्माण गर्न लागिएको र करिब ३ हजार ६ शय सिँढी निर्माण गर्ने योजनाका साथ काम भइरहेको भीमेश्वर नगरपालिकाका रोजगार संयोजक डम्बरप्रसाद ओलीले बताए ।
यसै गरी संयोजक ओलीका अनुसार वडा नं ४ को बृन्दावनमा रु २० लाख ६८ हजारको लागतमा १ हजार ८ शय मिटरको पदमार्ग निर्माणको काम धमाधम भइरहेको जानकारी प्राप्त भएको छ । भीमेश्वर नगरपालिकाले बेरोजगार सूचीमा आवेदन गरेकाहरुको पहिचान गरी आवश्यकता अनुसार विभिन्न विकास निर्माणको काममा परिचालन गरेको हो ।
भीमेश्वर नगरपालिकाले नगरवासीको गौरवको आयोजनासँगै पर्यटन प्रवद्र्धन तथा जीविकोपार्जनलाई समेत विशेष महत्वका साथ हेरिएको र समग्र क्षेत्रमा विकास गराउने उद्देश्यले काम गरिरहेको नगरपालिकाका प्रवक्ता हरिवंश चौलागाईँले बताउनुभयो । नगरपालिकाले पर्यटकलाई लक्ष्य गरी विभिन्न क्षेत्रमा उद्यान, पोखरी, भ्यूटावरको निर्माण गरिसकेको र पर्यटकीयस्थलको पहिचान गरी पूर्वाधार विकासका काम गरिरहेको प्रवक्ता चौलागाईँको भनाई रहेको छ ।
सांस्कृतिक धार्मिक प्राकृतिकरूपमा विभिन्न ठाउँमा नगरपालिकाले निर्माण गरेको पर्यटकीय क्षेत्रहरुमा पुग्न तथा पर्यटन प्रवद्र्धनका लागि पदमार्ग महत्वपूर्ण मार्गको रूपमा हेरिएको छ । नगरपालिकाले बेरोजगारको पहिचान गरी रोजगार दिएर आफूलाई विकास निर्माणका काममा लगाएको वडा नं ४ का स्थानिय तिलकप्रसाद सापकोटाले खुशी व्यक्त गर्नु हुन्छ ।
पदमार्ग निर्माण सम्पन्न भएसँगै बृन्दावन, महाँकाल मन्दिर, जलेश्वर मन्दिर, एकीकृत नमूना बस्तीलगायत धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्न सजिलो हुनेमा स्थानिय वासिन्दाहरुको भनाई रहेको छ ।
भीमेश्वर नगरपालिकामा १६ वर्षदेखि ४० वर्ष उमेर समूहका ३ हजार ५ शय ६६ जना प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा सूचीकृत भएका छन् ।
रोजगारीका लागि एक हजार ७ शय ६१ पुरुष र एक हजार ८ शय ३ महिला रोजगार कार्यक्रममा सूचीकृत भएको रोजगार संयोजक ओलीले बताए । रोजगार कार्यक्रमा सूचीकृत भएकामध्ये वडा नं २ र ४ का पदमार्ग निर्माण गर्न लागेको र अन्य वडामा त्यस्तै निर्माणको काममा लगाउने तयारी भइरहेको समेत जानकारी दिनु भयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएकाहरूले कम्तीमा शय दिनको रोजगारी पाउने व्यवस्था रहेको छ । बेरोजगार रहेकालाई विकास निर्माणको काम लगाउने र भुक्तानी गरिने हुँदा ग्रामीण क्षेत्रमा यो कार्यक्रम निकै लोकप्रिय बन्दै गएको छ ।
ज्याला मजदुरीमा काम गर्दा सम्मान काममासमेत महिला पुरुषको बीच ज्यालामा विभेद भइरहेको अवस्थामा यो कार्यक्रममले सम्मान ज्याला वितरणले थप लोकप्रिय बनेको छ । रासस