बाँपीझ्याला, काठमाण्डौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७८ का लागि १४ पात्रो पञ्चाङ्ग लाई प्रकाशन स्वीकृति दिएको छ । आगामी वर्षका लागि तोयनाथ पन्तको पञ्चाङ्ग, बाबुराम पञ्चाङ्ग, नरनाथ पञ्चाङ्ग, हिमाल पञ्चाङ्ग, अठोला पञ्चाङ्ग, तारकेश्वर पञ्चाङ्ग, सूर्य पञ्चाङ्ग, आकाश दर्शन पञ्चाङ्ग, बगलामुखी पञ्चाङ्ग, शुभ पञ्चाङ्ग, बाबा गोरखनाथ पञ्चाङ्ग, कीर्ति पञ्चाङ्ग, सिद्धि पञ्चाङ्ग, खप्तड तारानाथ पञ्चाङ्गलाई स्वीकृति दिइएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिए ।
विगत वर्षमा पुस अन्तिम साता नै पात्रो (पञ्चाङ्ग) प्रकाशन भइसक्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण पञ्चाङ्गकार जम्मा भएर रुजु गर्न समस्या भएकाले काममा ढिलाइ भएको थियो । ढिलो गरी काम शुरु गरिरहेका बेला मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेपछि काम गर्ने कि नगर्ने अलमल भएकाले पनि अर्को तीन हप्ता ढिला भएको उनले जानकारी दिए । पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेको थियो ।
विसं २०७० मा वर्तमान समितिलाई गठन आदेश स्वीकृत नभएसम्मका लागि काम गर्नु भनी नियुक्तिपत्र दिइएको अध्यक्ष एवं धर्मशास्त्रका जानकार प्रा.डा. रामचन्द्र गौतमले बताउनुभयो । यही पत्रका आधारमा पुस २१ पछि समितिको काम ठप्प भएको थियो । माघ पहिलो साता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मन्त्रिस्तरीय निर्णय गरी अर्को समिति गठन नभएसम्म विसं २०७८ को पात्रो प्रकाशन र नियमित काम वर्तमान समितिबाटै चलाउने निर्णय गरेको पत्र पुगेपछि फेरि काम शुरु भएको थियो ।