बाँपीझ्याला, काठमाण्डौं । क्रिकेटमा ब्याट्सम्यानका लागि अर्धशतक र सतकको मूल्य ठुलो हुन्छ। टिमले जित हारमध्ये जे नतिजा निकालेपनि हरेक खेलमा ब्याट्सम्यान अर्धशतक र शतकका लागि लालायित हुन्छन्।
सचिन तेन्दुलकरले एकदिवशीय क्रिकेटमा दोहोरो शतक बनाएपछि यो स्वरुपको क्रिकेटमा एकै ब्याट्सम्यानले एकै खेलमा २ सयभन्दा बढि रन बनाउन सक्ने रहेछन् भनेर पुष्टि गरि दिए। टेस्ट क्रिकेटमा त ब्रायन लाराले एकै पालीमा चार सय रनसम्म बनाएका छन्।
तेन्दुलकरले अन्तर्राष्ट्रिय क्रिकेटमा हात पारेको सतकको शतक (एक सय वटा शतक)को कीर्तिमान अझै पनि क्रिकेट विश्लेषकहरु तोडिन गाह्रो भएको ठोकुवा गर्छन्। यी त भए ब्याट्सम्यानका कुरा। क्रिकेटमा बलरका सफलताको चर्चा पनि उत्तिकै हुन्छ।
कुनै एक खेलमा बलरले हात पार्ने सफलता टिमको जित हारमा निर्णायक बन्ने गर्छ। बलरले लिने ह्याट्रिक विकेट, कम्तिमा पाँच विकेटको सफलता उनीहरुको करियरमा चर्चा योग्य मानिन्छ। कहिलेकाहीँ बलरले विकेट नलिए पनि थोरै मात्र रन दिन्छन्। कहिलेकाहीँ धेरै रन दिए पनि महत्वपूर्ण विकेट लिएर टोलीको जित सम्भव बनाउँछन्। कहिलेकाहीँ धेरै रन खर्चिएर धेरै विकेट लिन्छन्। यो त भयो एउटा खेलको कुरा।
हरेक खेलमा विकेट लिइरहनु त्यसमा पनि धेरै विकेट निरन्तर लिनु बलरको विशिष्ट पहिचान र क्षमता मानिन्छ। जसरी सचिनले अन्तर्राष्ट्रिय क्रिकेटमा शतकको सतक बनाए, बलिङमा एउटा प्रश्न उठ्ने गर्छ- आफ्नो सिनियर अन्तर्राष्ट्रिय करियरमा एउटा बलरले कति विकेटसम्म लिने गर्छ ? यसमा ठ्याक्कै यति नै भनेर कसैले पनि ठोकुवा गर्न सक्दैन।
तर हालसम्मको तथ्यांक हेर्ने हो भने अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढि विकेट लिने बलर श्रीलंकाका मुथ्यैया मुरलीथरन हुन्। उनले एक हजार तीन सय ४७ विकेट लिएका छन्। टेस्ट क्रिकेटमा ८ सय र एकदिवशीय अन्तर्राष्ट्रियमा पाँच सय ३४ विकेट लिएका छन्। उनले टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा १३ विकेट लिएका छन्। एक दिवशीय र टेस्ट क्रिकेटमा मुरलीथरनले जति अन्य बलरले विकेट लिएका छैनन्।
अस्ट्रेलियाका सेन वार्नले अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार एक विकेट लिएका छन्। उनले टेस्टमा सात सय ८ र एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई सय ९३ विकेट लिएका छन्। अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार विकेटको कोसेढुङ्गा पार गर्ने यी दुईजना मात्र बलर हुन्।
मुरलीथरनले १९ वर्ष सिनियर अन्तर्राष्ट्रिय क्रिकेट खेलेर सन् २०११ मा सन्याश लिएका थिए। उनले टेस्ट क्रिकेटको एकै पालीमा ६७ पटक कम्तीमा पाँच विकेट लिएका थिए भने एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा १० पटक यो सफलता हात पारेका थिए। मुरलीथरनले टेस्ट क्रिकेटको कुनै एक खेलमा २२ पटकसम्म कम्तीमा १० विकेट लिएका थिए।
यसैगरि वार्नले भने १५ वर्ष सिनियर अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए। त्यसबीचमा उनले टेस्ट क्रिकेटको पालीमा ३७ पटक कम्तीमा पाँच विकेट र एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा एकपटक कम्तिमा पाँच विकेट हात पारेका छन्। वार्नले टेस्ट क्रिकेटको एकै खेलमा १० पटक कम्तीमा १० विकेट लिएका थिए।
यी दुवैजनाको विषेशता भनेको मुरलीथरन र वार्न दुवै जना स्पीनर हुन् र एउटै समयका होनाहार बलर। तत्काल एक हजार विकेट लिने बलरको सूचि थपिने सम्भावना कम छ। हाल क्रियाशिल बलरमध्ये इङ्ल्यान्डका जेम्स एन्डर्सनले ८ सय ९३ विकेट लिएका छन्। ३८ वर्षीय एन्डर्सन सन् २००२ देखि इङ्ल्यान्डको सिनियर राष्ट्रिय टोलीमा छन्।
क्रियाशिलमध्ये इंग्ल्याण्डका स्टुवार्ट ब्रोडले सात सय ६० र दक्षिण अफ्रिकाका डेल स्टेनले ६ सय ९९ विकेट लिएका छन्। भारतका अनिल कुम्बलेले ९ सय ५६, अस्ट्रेलियाका ग्लेन म्याग्राथले ९ सय ४९ र पाकिस्तानका वासिम अक्रमले ९ सय १६ विकेट लिएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट करियरमा हालसम्म १४ जना बलरले कम्तिमा ६ सय विकेट लिएका छन्।