२० माघ, बाँपीझ्याला, काठमाण्डौं । मुलुककै सबैभन्दा पुरानो शिक्षालय दरबार हाइस्कुलले नयाँ स्वरुप पाएपछि यस्को इतिहास पुनः जीवन्त बनेको छ । देशको सामुदायिक विद्यालयहरुमा मध्ये सबभन्दा पुरानो यो विद्यालयले नयाँ रुप पाएपछि विद्यार्थीको आकर्षण पनि बढेको छ । २०७२ सालको महाविनाशकारी भूकम्पले ध्वस्त पारेको यो विद्यालय पुननिर्माण पछि अब पृथक शैलीमा अगाडि बढ्ने निश्चित भएको छ ।
विद्यार्र्थी भर्ना गर्नेको संख्या बढेपछि दरबार हाइस्कुल तथा भानु माध्यमिक विद्यालयले कक्षा कोठामा सिट क्षमता बढाइएको छ । नयाँ विद्यार्र्थी भर्ना गर्न आउने क्रम जारी रहेकाले कक्षामा विद्यार्र्थी बस्नका लागि सिट क्षमता पनि बढाएको छ ।
पुनर्निर्माण पछि उक्त विद्यालयमा प्रति कक्षा ३६ विद्यार्र्थीलाई पठनपाठन गराउन सक्ने बनाइएको थियो । तर हरेक दिन विद्यार्थी बढ्ने क्रम जारी रहेपछि प्रत्येक कक्षामा पुनः थप विद्यार्र्थी राख्न सक्ने गरी क्षमता विस्तार गरिएको छ । प्रधानाध्यापक अखिलेश आजादले स्कुल सुविधा सम्पन्न, सुन्दर भवनका साथै शैक्षिक गुणस्तर वृद्धि गर्न अंग्रेजी माध्यमबाट पढाइ भएकाले पनि भर्ना गर्न आउनेकाने सख्या बढेकोे बताए ।
अहिले विपन्न परिवारका धेरै बालबालिकाले यस स्कुलमा पढ्छन । यो स्कुलमा २०४८ सालदेखि सबैले पढ्न पाउने व्यवस्था गरिएको थियो । भानु माध्यमिक विद्यालयमा अहिले ३ सय १४ जना विद्यार्र्थी पठनपाठन गरिरहेका छन । अहिले हरेक दिन नयाँ भर्नाका लागि अभिभावकसहित विद्यार्र्थी आउने गरेका छन । थोरै शुल्कमा गुणस्तरीय शिक्षा पाउने भएपछि दरबार हाइस्कुलमा भर्ना गर्न आएको अभिभावक बताउछन ।
नयाँ भवनमा प्रयोशालाको समेत सुविधा र कक्षा १ देखि ८ सम्म अङ्ग्रेजीमाध्यममा पढाइ हुने गरेको छ । शान्त वातावारणमा सर्वसुलभमा राम्रो पढाइ हुने भएकाले रोजाइमा परेको विद्यार्थी बताउछन ।
तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायत भ्रमणबाट फर्केपछि विसं १९१० असोज २७ मा नेपालमा पहिलो औपचारिक विद्यालयकोरुपमा यस ‘दरबार हाइस्कुल’ को स्थापना गरेका थिए ।
राजा महाराजाका छोराछोरीले मात्रै पढ्न पाउने गरी यो विद्यालयको स्थापना गरिएको थियो । विसं १९५७ मा देवशम्शेर प्रधानमन्त्री भएपछि दरबार स्कुलमा सर्वसाधारण जनताले पढ्न पाउने व्यवस्था भएको हो ।