बिके श्रेष्ठ, दोलखा
हाल जोरपाटी, काठमाण्डौं ।
सपना थियो एक उर्वरताको कृष्णप्रसादको सदवाणी,
त्यस्तो कृष्णको भएन जन्म आएन मेलम्चीको पानी,
धेरै आए विकास गर्छु भनेर कति भए को धनीमानी,
जो आए जोगी कान चिरेका आएन मेलम्चीको पानी ।
कहिले भाग्ने कमाई ठेकेदार कहिले ईन्जिनियर बाबु,
कहिले माग्ने नपुग रकम जो बनाई जनतालाई काबु,
कति साल त बित्यो काकाकुल झैं प्यास मेट्ने बानी,
जो आए जोगी कान चिरेका आएन मेलम्चीको पानी ।
लथालिङ्ग बनाई सडकमा देखाए ती पाइपको लाईन,
घरघरमा जडान भयो धारा आधुनिक नयाँ डिजाइन,
आउला आउला भन्दाभन्दै युग बित्यो भए सब हैरानी,
जो आए जोगी कान चिरेका आएन मेलम्चीको पानी ।
हुनेखानेको घर महलमा पुग्छ विशिष्ट तत्वको पदार्थ,
यो मेलम्ची भनेको उखान कि कसो छैन केही अर्थ,
पानीले होइन धाउनुपर्ने त तिर्खालु जनता भो रानी,
जो आए जोगी कान चिरेका आएन मेलम्चीको पानी ।
२०७७/१०/०६