Search

चुरे र भित्री मधेसको समृद्धिका लागि महत्त्वपूर्ण

चुरे र भित्री मधेसको समृद्धिका लागि महत्त्वपूर्ण

बाँपीझ्याला, काठमाण्डौं । माघ ४ गते । तराईको समथर भूभागभन्दा माथिबाट चुरे तथा भित्री मधेस हुँदै पूर्वपश्चिम जोड्ने वैकल्पिक राजमार्गका रूपमा मदन भण्डारी राजमार्गको निर्माण द्रुत गतिमा भइरहेको छ । कतिपय स्थानमा कालोपत्रे नै भइसकेको छ भने कतिपय स्थानमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुँदैछ ।


यो राजमार्गले कतिपय स्थानमा नयाँ मार्ग खोल्ने छ भने कतिपय पहिल्यैदेखि कायम रहेका मार्गलाई विस्तारित रूपमा जोड्ने छ । मदन भण्डारी राजमार्ग नेपालको पूर्वी सीमा मेची नदीदेखि चुरेभावर तथा भित्री मधेस छिचोल्दै पश्चिमी सीमा महाकाली नदीसम्म फैलिने छ । यस राजमार्गको कुल लम्बाइ एक हजार २५० किलोमिटर रहने अनुमान गरिएको छ । यसमध्ये ४६५ किलोमिटर सडक विभागकै अन्य आयोजना र सडक डिभिजन कार्यालयहरूबाट निर्माण भइरहेका छन् ।


दुई वर्षअघि २०७५ जेठ ८ गते नेपाल सरकारले स्वीकृत गरेको यो राजमार्गको धरान–हेटौँडा खण्ड चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने भएको छ । कुल २५० किलोमिटरको यो खण्डमा ८० वटा पुल निर्माण सम्पन्न भइसकेको छ । तीन वर्षभित्र सम्पन्न गर्ने गरी बाँकी १८ वटा पुल निर्माणका लागि सम्झौता भइसकेको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका प्रमुख उमेशविन्दु श्रेष्ठले जानकारी दिनुभयो । दाङ क्षेत्रलगायत विभिन्न भागका खण्ड–खण्डमा पनि सडक स्तरोन्नति र कालोपत्रे काम धमाधम भइरहेको छ । अन्य भागमा विभिन्न चरणको काम भइरहेको छ । यस राजमार्गको सम्पूर्ण भागको रेखाङ्कन तय भइसकेको छ । आगामी २०८२ सालसम्म यो आयोजना सम्पन्न गर्ने लक्ष्य सरकारको छ ।


यो राजमार्गको पूर्वी बिन्दु झापाको मेचीनगर नगरपालिकामा पर्ने बाहुनडाँगी रहेको छ । त्यहाँबाट आरम्भ भई राजमार्गको अन्तिम पश्चिम बिन्दु डडेलधुराको रुपाल रहेको छ । झापाको बाहुनडाँगीबाट सुनसरीको धरान–चतरा, उदयपुरको गाईघाट–कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौँडा, नवलपरासीको गैँडाकोट, पाल्पाको रामपुर, गुल्मीको रिडी–तम्घास, प्यूठानको बागदुला–देवीस्थान, दाङको घोराही–तुलसीपुर–पुरनधारा, सुर्खेतको बोटेचौर–बड्डीचौर, डोटीको सिमचौर–बीपीनगर, कैलालीको सहजपुर–बुडार हुँदै डडलेधुराको रुपालसम्म जोडिने छ ।

धमाधम काम हुँदै
यो राजमार्गको धरान–चतरा–गाईघाट–सिन्धुली–हेटौँडा खण्डको ३१८ किमिको निर्माण कार्य २०६४/६५ देखि नै सुरु भएको हो । अहिले यसलाई १३५ किमिको पूर्वी (उदयपुरको बसाहादेखि सिन्धुलीको भिमान) र ११५ किमि पश्चिमी (भिमान–हेटौँडा) खण्डको काम भइरहेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत पूर्वी नेपालको करिब १३५ किमि (बाहुनडाँगी–धरान) राजमार्ग निर्माणका लागि छुट्टै कार्यालय दमकमा बसेको छ तर जनशक्तिको व्यवस्थापन भइसकेको छैन ।


“अहिले हामी छिटोभन्दा छिटो दमकमा कार्यालय र यसका लागि आवश्यक कर्मचारी व्यवस्थापनमा लागेका छौँ,” मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले भन्नुभयो । अबको तीन वर्षभित्र राजमार्ग तयार भइसक्नुपर्ने भएकाले चाँडो डीपीआर तयार गरेर काम सुरु गर्न आफूहरूले मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयमा बारम्बार छलफल गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको विकास विज्ञसमेत रहनुभएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य होमबहादुर थापाले जानकारी दिनुभयो ।

चौदण्डीगढी–भिमान कालोपत्रे
धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली हुँदै हेटौँडासम्मको खण्ड सबभन्दा बढी काम भएको खण्ड हो । यो खण्डअन्तर्गत उदयपुरको चौदण्डीगढी नगरपालिका–४, बसाहादेखि सिन्धुलीको भिमानसम्मको १३४ किलोमिटरमध्ये सय किलोमिटरमा कालोपत्रे भइसकेको गाईघाटस्थित मदन भण्डारी राजमार्ग योजना कार्यालयले जनाएको छ । सप्तकोसीदेखि पश्चिमसम्म महाभारत पहाडको काछैकाछ निर्माण भइरहेको यो राजमार्र्गको भिमान–बसाहा खण्ड अबको डेढ महिनामा सम्पन्न गरिसक्ने गरी काम भइरहेको गाईघाटस्थित सो कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी शङ्कर पौडेलले बताउनुभयो । चार वर्षअघि २०७३ कात्तिकदेखि निर्माण सुरु भएको यो राजमार्ग अन्तर्गतका विभिन्न ४३ वटा पुल निर्माण भइसकेको छ भने एप्रोच सडक निर्माणको काम बाँकी छ । त्यसका १२ वटा पुल निर्माण गर्न बाँकी छ ।


यो सडकअन्तर्गत उदयपुर र सिन्धुलीको सीमामा पर्ने कमला नदीमा निर्माणाधीन पक्की पुल निर्माणसमेत अन्तिम चरणमा पुगेको छ । पूर्वतर्फको बसाहाबाट गाईघाट हुँदै सिन्धुलीको भिमानसम्मको सडक निर्माणको क्रममा कटारी नगरपालिका र उदयपुरगढी गाउँपालिकाको बीचमा पर्ने बागमती क्षेत्रको करिब आठ किलोमिटर खण्डमा संरचना बनाउने र कटिङ गरी ग्रेड मिलाउने लगायतका काम निर्माण सम्पन्न गरी ‘सब बेस’ लगाउने काम सुरु गरिएको छ ।


गत चैतदेखि कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले बन्दाबन्दी गरेको झन्डै डेढ महिना सबै काम ठप्प भए पनि यतिबेला भने सडक निर्माण कार्यले तीव्रता पाइरहेको आयोजना प्रमुख डिभिजन इन्जिनियर बेलबहादुर भुजेलले बताउनुभयो ।

महामारीमा पनि निर्माण
मध्यपहाडी लोकमार्ग र पूर्व–पश्चिम लोकमार्गको बीच भएर निर्माणाधीन मदन भण्डारी लोकमार्गको निर्माण कार्यले कोरोना भाइरसको जोखिमका बीच तीव्रता पाएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–९, भिमानदेखि हेटौँडा उपमहानगरपालिका–६, चौघडासम्म ११५ किलोमिटर सडकमध्ये मकवानपुरतर्फ ४८ किमि र सिन्धुलीतर्फ ६७ किमि दुई खण्डमा विभाजन गरी काम भइरहेको छ ।


यो खण्डको सडक निर्माणतर्फ ९० प्रतिशत र पुलतर्फ ८३ प्रतिशत भौतिक प्रगति भएको पश्चिम खण्ड आयोजनाका प्रमुख अर्जुन अर्यालले भन्नुभयो, “सडकको विवादित क्षेत्रको काम र स्वीकृतिको चरणमा रहेको छवटा पुलबाहेकका काम आगामी असार मसान्तभित्र सम्पन्न गर्ने गरी काम गरिरहेका छौँ ।” उहाँले पुलसहित पश्चिम खण्डमा ११५ किलोमिटर लम्बाइ रहेकोमा १०२ किमि सडकमध्ये ८२ किमि सडकमा कोलोपत्रे गर्ने कार्य पूरा भएको जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०६८/६९ देखि निर्माण सुरु भएको मकवानपुर र सिन्धुली जिल्ला जोड्ने बागमती नदीमा निर्माणाधीन पुल निर्माण ढिलाइ भएकोमा गत आर्थिक वर्षदेखि निर्माणले गति पाएको छ । असारसम्ममा पुल निर्माणले पूर्णता पाउने आयोजना प्रमुख अर्यालले बताउनुभयो ।


बागमतीको पुलबाहेक पश्चिमी आयोजनाअन्तर्गत मकवानपुरमा नौसहित ३३ वटा पक्की पुल निर्माण गर्नुपर्नेमा सिन्धुलीतर्फ दुईबाहेक ३१ वटा पुल निर्माण भइसकेको छ । यसैगरी थप छवटा पुल डिजाइन स्वीकृतिको चरणमा रहेको छ । दुई लेनको ११ मिटर चौडाइको सडकमा सात मिटर दुईपत्रे र सडकको दुवैतर्फ दुई–दुई मिटर एकपत्रे कालोपत्रे गरिने छ ।

प्रतीक्षामा स्थानीय
लुम्बिनी प्रदेशअन्तर्गत गुल्मीको रिडीदेखि अर्घाखाँचीको बल्कोटसम्मको २७ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी भइरहेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय, गुल्मीका प्रमुख शशाङ्क मिश्रले जानकारी दिनुभयो । गुल्मीको तम्घास–सिमलटारी सडकलाई मदन भण्डारी राजमार्गमा समावेश गरिएको छ भने अर्घाखाँची र प्यूठानसम्मको खण्डको डीपीआर बनाउने प्रक्रियामै रहेको उहाँले जानकारी दिनुभयो ।
सरकारले तीन वर्षअघि कार्यान्वयनमा ल्याएको यो आयोजनाको काम लुम्बिनी क्षेत्रमा भने ढिलाइ भएको यस क्षेत्रका बासिन्दाको गुनासो छ । मदन भण्डारी राजमार्ग पाल्पाको रामपुर हुँदै गुल्मी जाने भन्ने सुन्नमा आए पनि अहिलेसम्म यस क्षेत्रमा काम नभएको पाल्पा, रामपुरका स्थानीय बासिन्दा कमलराज भट्टराईले बताउनुभयो ।

डीपीआर स्वीकृतिको प्रतीक्षा
मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेत खण्ड भने वातावरणीय मूल्याङ्कन र डीपीआरमै अल्मलिएको छ । सडक डिभिजन कार्यालय, सुर्खेतका सूचना अधिकारी, इन्जिनियर सजना पोखरेलले भन्नुभयो, “डीपीआरकै प्रतीक्षामा रहेकाले सुर्खेतमा मदन भण्डारी राजमार्गको देखिने गरी काम हुन सकेको छैन ।


कुल १३९ किमिको यो खण्ड सल्यानसँग सिमाना जोडिएको बोटेचौरदेखि भेडाबारी धलियाबिटसम्मको ४५ किलोमिटर खण्डको वातावरणीय मूल्याङ्कन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस भइसकेको तर स्वीकृति भइसकेको छैन । बड्डीचौरदेखि डोटीको सिमाना बेनीघाटसम्मको ९४ किमि खण्डको वातावरणीय मूल्याङ्कन हुनै बाँकी छ ।

समृद्धिको पूर्वाधार बन्दै
मुलुकको पूर्व–पश्चिम जोड्ने पूर्व–पश्चिम लोकमार्गको समानान्तर अरू तीनवटा राजमार्ग निर्माणाधीन अवस्थामा छन् । पूर्वपश्चिम लोकमार्गको दक्षिणबाट हुलाकी सडक र उत्तरतर्फ मध्यपहाडी लोकमार्ग निर्माण भइरहेका छन् । चौथो राजमार्गका रूपमा मदन भण्डारी राजमार्ग चुरेपहाड र भित्री मधेसबाट पूर्व–पश्चिम जोड्ने छ । पूर्व–पश्चिम राजमार्गको वैकल्पिक राजमार्गका रूपमा रहेको यो राजमार्ग चुरेपहाड र भित्री मधेसको समृद्धिका लागि महìवपूर्ण मानिन्छ ।
यो राजमार्ग पूर्व–पश्चिम लोकमार्ग र मध्यपहाडी लोकमार्गको ओझेलमा परेको चुरे र भित्री मधेस क्षेत्रको समृद्धिका लागि मदन भण्डारी राजमार्ग महìवपूर्ण हुने विचार व्यक्त गर्दै पश्चिम खण्ड आयोजनाका प्रमुख अर्जुन अर्यालले भन्नुभयो, “उर्वर भूमि भएको भित्री मधेसका लागि अब आयोजना लाइफ लाइन बन्ने छ ।” गोरखापत्र अनलाईन

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!