बाँपीझ्याला, काठमाण्डौं । नेपाल-भारत संयुक्त आयोगको परराष्ट्रमन्त्री स्तरीय बैठकमा सहभागी भई परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली शनिबार अपराह्न भारतको नयाँ दिल्लीबाट काठमाडौँ फर्केका छन्। उनले भारतका विदेशमन्त्री एस जयशंकरसँग भएको वार्ताका क्रममा नेपालमा कोभिड भ्याक्सिनको तत्कालको आवश्यकता भारतले पूर्ति गरिदिने सहमति भएको जानकारी गराएका छन्।
सन् १९५० को सन्धिको पुनरावलोकन, प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदन, सीमासम्बन्धी कार्यहरु टुंग्याउनेलगायतका विषयमा गहन छलफल भई सकारात्मक निष्कर्ष निकालेको दाबी पनि परराष्ट्रमन्त्री ज्ञवालीले गरेका छन्। त्यस्तै, कोभिडका कारण बन्द भएका हवाई तथा स्थलमार्गहरु खोल्दै जाने सहमति पनि भएको छ।
त्यस्तै, रक्सौल-काठमाडौँ रेलमार्गको सर्वेक्षण निरन्तर जारी राख्ने तथा जयनगर-कुर्था रेल चाँडै सञ्चालनमा ल्याउने सहमति पनि दुई देशका अधिकारीहरुबीच भएको मन्त्री ज्ञवालीले नेपाल फर्केपछि पत्रकारहरुलाई बाँडेको विज्ञप्तिमा उल्लेख छ।
भैरहवामा एकीकृत चेकपोस्टको काम सुरु गर्ने र महाकालीमा निर्माणाधीन चार लेनको पुललाई भारतको राष्ट्रिय राजमार्गसँग जोड्ने सहमति पनि भएको छ। पारवहन तथा रेलसम्बन्धी सम्झौता पुनरावलोकनको सहमति पनि भ्रमणका क्रममा भएको छ।
बैठकले राजनीतिक सुरक्षा तथा सीमा कनेक्टिभिटी, पूर्वाधार एवम् आर्थिक सहयोग, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत, संस्कृति, पर्यटन तथा शिक्षा गरी मुख्यतया: पाँचवटा समूह अन्तर्गत आपसी सहयोगका विविध पक्षहरुमा समष्टिगत समीक्षा गर्दै द्विपक्षीय सहयोग प्रबर्द्धन गर्ने सहमति गरेको पनि मन्त्री ज्ञवालीको विज्ञप्तिमा उल्लेख छ।
नेपाल-भारत सम्बन्ध घनिष्ठ, सघन र विविध रहेकाले द्विपक्षीय संयन्त्रहरु नियमित र प्रभावकारी हुनु अत्यन्त जरुरी रहेको पनि मन्त्री ज्ञवालीले उल्लेख गरेका छन्।