बाँपीझ्याला, काठमाडौँ । काठमाडौँ महानगरपालिका र मेलम्ची नगरपालिकाबिच अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापनाका लागि समझदारी–पत्रमा हस्ताक्षरपछि सम्वोधन गर्दै शाक्यले यस्तो बताउनु भएको हो । समझदारी–पत्रमा काठमाडौं महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्य र मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले हस्ताक्षर गर्नुभयो । ‘काठमाडौँबासी लामो समयदेखि मेलम्चीको पानी आउने आशामा छन् । काठमाडौँबासी सबैलाई मेलम्चीको नाम थाहा छ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘आज त्यही नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्दै गर्दा मेलम्ची र काठमाडौँबासीको सम्बन्ध थप प्रगाढ हुने अपेक्षा हामीले लिएका छौँ ।
शाक्यले मेलम्ची खानेपानी विस्तारको आयोजना सम्पन्न नहुँदा काठमाडौँ महानगरको धेरै बजेट सडक खन्ने र पुर्ने खर्च हुँदै आएको पनि उल्लेख गर्नुभयो । ‘खानेपानी आयोजना र सडक विस्तारको काम छिटो सम्पन्न भयो भने यहाँका सडकलाई धुलो हिलोमुक्त बनाउन सकिन्छ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिका र मेलम्ची नगरपालिकाबिच अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापना भएको छ । आपसी समन्वय, सहकार्य र साझेदारी मार्फत दुई नगरको बिचमा अनुभव आदान प्रदान गर्ने तथा साझा प्रयत्नबाट संस्थागत प्रणाली सुदृढीकरण तथा सवलिकरणका लागि थप प्रयास हुने अपेक्षा पनि लिएका छौँ ।’ उहाँले नगर–नगर साझेदारी कार्यक्रम अन्तरगत हरियाली प्रर्वद्धन र पार्क निर्माणका लागि काठमाडौँका १० ओटा र मध्यपुर ठिमी नगरपालिकासँग पनि साझेदारी गरिसकेको स्मरण गराउनुभयो ।
शाक्यले मुलुक भित्रकै स्थानीय तह–स्थानीय तहबिच भगिनी सम्बन्ध स्थापना गर्ने कार्यको महानगरपालिकाले गरिरहेको भन्दै त्यसले पर्या–पर्यटन एवं धार्मिक पर्यटनका लागि थप सहयोग पुग्ने बताउनुभयो । महानगरबासीबाट पनि यस्तो कार्यबाट सकारात्मक प्रतिक्रिया आएको उहाँले बताउनुभयो । शाक्यले स्थानीय उत्पादन तथा बजार व्यवस्थापनमा सहकार्य गर्न, मानवीय नगर बनाउन सहकार्य गर्न, आपसी हितका लागि अध्ययन तथा अवलोकन गर्र्नलगायतमा पनि यो सम्बन्धले सहयोग पुग्ने अपेक्षा लिएको बताउनुभयो । ‘मुर्त–अमूर्त संस्कृति, सम्पदा र पर्यटनलाई स्थानीय सरकारको समृद्धिको आधार मान्दै त्यसको संरक्षणमा दत्तचित्त भएर काठमाडौँ महानगरपालिका लागेको छ,’ शाक्यले भन्नुभयो, ‘एकै पटक धेरै वटा स्थानीय तहसँग मितेरी लगाउँदा त्यसलाई दिगो बनाउन समस्या हुनसक्छ । त्यसैले हामीले पहिलो चरणमा सात प्रदेशका सात स्थानीय तहसँग भगिनी सम्बन्ध स्थापना गर्ने तयारी गरेका छौँ । उहाँले त्यसै अन्तरगर्त नै लुम्बिनी प्रदेशको रामग्राम र कर्णाली प्रदेशको चन्दननाथसँग भगिनी सम्बन्ध स्थापना भै सकेको र तेस्रो नगरका रुपमा वागमती प्रदेशको मेचम्ची नगरपालिकासँग सम्बन्ध स्थापना गरेको जानकारी गराउनुभयो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २६ को खण्ड (ट) को कानुनी व्यवस्था बमोजिम संघीय राजधानी काठमाडौंमा रहेको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वको काठमाडौं महानगरपालिका र प्राकृतिक श्रोत साधन सम्पन्न पर्यटकीय नगर मेलम्चीबिच भगिनी सम्बन्ध स्थापना गरेको महानगरपालिकाले जानकारी दिएको छ । ‘जलाधार संरक्षण, स्थानीय उत्पादन तथा बजार व्यवस्थापनमा सहकार्य गर्ने उदेश्यले मेलम्ची नगरपालिकासँग सम्बन्ध स्थापना भएको हो,’ प्रमुख शाक्यले भन्नुभयो, ‘मेलम्ची नदी र सहायक खोलाहरुको उदगम स्थलदेखिका बहाव क्षेत्रहरुमा बृक्षारोपण तथा प्रदुषण नियन्त्रण गरी नदीको पवित्रता कायम राख्न, स्थानीय स्तरमा उत्पादन हुने बहुमुल्य जडिबुटी र प्राङ्गारिक कृषि उत्पादनमा बृद्धि तथा बजार व्यवस्थापन समेतका लागि दुई नगरबिचमा सहकार्य प्रवद्र्धन हुने कार्यक्रम संचालन गर्नेछौं ।
शाक्यले यस्ता सम्बन्धले स्थानीय सरकारलाई नेपालको संविधान, संघीय कानुन, प्रदेश कानुन तथा अन्य प्रचलित ऐन कानुनद्धारा तोकिएका काम, कर्तव्य, अधिकार तथा दायित्व वहन गर्न आपसमा विचारविमर्श तथा अन्तरक्रिया गरी दिशावोध गर्न सहयोग पुग्ने पनि बताउनुभयो । ‘मूर्त तथा अमूर्त संस्कृति, सम्पदा र पर्यटनलाई स्थानीय सरकारको समृद्धिको आधार मान्दै दुई नगर क्षेत्रभित्रका जिवन्त संस्कृति, सम्पदा र पर्यटकीय क्षेत्रको संरक्षण, प्रवद्र्धन, विकास र प्रचार प्रसारमा सहकार्य गर्नेछौं,’ शाक्यले भन्नुभयो, ‘जननिकटको स्थानीय सरकारको हैसियतले निर्वाह गर्नुपर्ने कानुनी तथा शासकीय दायित्वहरुलाई स्थानीय मौलिक परिवेशको पृष्ठभूमिमा दुई नगर सरकारका सांगठनिक स्वरुप, संस्थागत संरचना र शासकीय भूमिकालाई सवल, सुदृढ र प्रभावकारी बनाउन एकआपसका अनुभव, कार्यशैली, असल अभ्यास र महत्वपूर्ण उपलब्धिहरु आदान प्रदान हुने अपेक्षा गरेका छौँ ।’ भगिनी सम्बन्ध स्थापनासँगै जनप्रतिनिधि, कर्मचारी तथा नगरवासीहरुमा रहेको ज्ञान, शीप तथा अनुभवको आदानप्रदान गर्न अध्ययन तथा अवलोकन भ्रमण, अन्तरक्रिया, गोष्ठि जस्ता कार्यक्रमहरु दुवै नगरको हित हुने गरी सहकार्यमा संचालन गर्ने लक्ष्य महानगरपालिकाले लिएको छ ।
भगिनी सम्बन्ध स्थापना लगत्तै काठमाडौँ महानगरपालिकाले आ.व.२०७७/०७८ को स्वीकृत बजेट अन्तर्गत नगर नगर साझेदारी कार्यक्रम कार्यान्वयन गर्न भगिनी सम्वन्ध स्थापना भएको सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकासँगको सहकार्यमा पर्यटकीय स्थलका रुपमा विकास गर्न मेलम्ची सिटी पार्क निर्माण गर्ने गरी यो सम्झौता गरेका पनि गरेको छ ।
महानगरपालिकाले समझदारीपछि मेलम्ची नगरपालिका वडा नं. १० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्षा सहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी पार्क निर्माणका लागि रु. १ करोड ५० लाख रकम अनुदान दिने सम्झौता–पत्रमा हस्ताक्षर भयो । सो सम्झौतापत्रमा पनि प्रमुखद्वय शाक्य र अर्यालले नै हस्ताक्षर गर्नुभयो ।
कार्यक्रममा सम्वोधन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख अर्यालले काठमाडौँबासीसँग मेलम्चीको सम्बन्ध गहिरो रहेको भन्दै यो सम्बन्धले थप प्रगाढ हुने पनि बताउनुभयो । उहाँले काठमाडौँबासीले मेलम्चीको पानी जति सक्दो छिटो उपयोग गर्न पाउन भन्नेमै आफुहरु रहेको भन्दै अर्यालले मेलम्चीबासीका पनि केही माग रहेको र सरोकारवाला निकायसँग छलफल भैरहेको भन्दै त्यसमा सहजीकरण गर्न महानगरपालिकासँग आग्रह गर्नुभयो । वार्षिक करीब ५० करोडको दूधसँगै दाल, चामल र अन्य तरकारी समेत मेलम्चीबाट काठमाडौँ आउने गरेको स्मरण गराउँदै जनजिवीकाका सवालमा पनि काठमाडौँ र मेचम्चीबिचको भगिनी सम्बन्ध थप प्रगाढ बनाउन सकिने तर्क गर्नुभयो । उहाँले जर्सिङ पौवाको बाटो स्तरोन्नतीपछि मेलम्ची र काठमाडौँको दूरी अझ कम हुने भएकाले पर्यटकीय गन्तव्यका रुपमा पनि दुई नगरलाई जोड सकिने बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले ५२ औँ कार्यपालिका बैठकको निर्णय अनुसार विभिन्न नगरसँग भगिनी सम्बन्न स्थापनाको प्रक्रिया अघि बढाएको बताउनुभयो । मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवनी नेपालले पाँचपोखरी, गुफाडाँडा जस्ता पर्यटकीय स्थल र हेलम्बु जाने प्रवेशद्वार पनि मेलम्ची नै भएकाले पर्यटनको प्रशस्त संभावना भएकाले भगिनी सम्बन्धले आगामी दिनमा थप सहकार्य गर्न सकिने भन्दै खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा काठमाडौँ महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, मेलम्ची नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोइराला, वडाध्यक्षहरुलगायतको पनि उपस्थिति रहेको थियो । काठमाडौँ महानगरपालिकाले यस अघि चीनका ६ वटा (ल्हासा, सियान, सेञ्जेन, लाञ्जाउ, चेङ्दु र नान्जिङ्) संयुक्त राज्य अमेरिकाका ४ वटा (युजेन, रोचेष्टर, फ्रेडरिकवर्ग र वोल्डर) सँग यस अघि नै भगिनी सम्वन्ध स्थापना गरिसकेको छ ।
त्यसैगरी काठमाडौँ महानगरपालिकाले जापानको मात्सुमोतो, बेलारुसको मिन्सक, बर्माको यगुनु, गणतन्त्र कोरिया (दक्षिण कोरिया) को सोल, जनवादी गणतन्त्र उत्तर कोरियोको पेङ्वाङ् र गणतन्त्र भारतको वाराणसी नगर महानगरसँग पनि भगिनी सम्बन्ध स्थापना गरिसककेको छ । बैङ्ककको थाइल्याण्ड र पाकिस्तानको इस्लामावाद नगरसँग पनि काठमाडौँ महानगपालिकाले भगिनी सम्बन्ध स्थापनाको प्रक्रियामा अघि बढाएको छ ।