Search

सुदूरपश्चिमलाई हराउँदै एपिएफ फाइनलमा

सुदूरपश्चिमलाई हराउँदै एपिएफ फाइनलमा

बाँपीझ्याला, काठमाण्डौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली एपिएफ दाङको लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। शनिबार भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै एपिएफ प्रतियोगिताको फाइनल पुगेको हो।

फाइनल पुग्ने क्रममा सुदूरपश्चिमले दिएको ६१ रनको विजयी लक्ष्यलाई एपिएफले १५ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्‍यो। टिमलाई जित दिलाउन ओपनर ब्याटर ज्योति पाण्डेले अविजित रहँदै २६ रनको योगदान गर्दा सरिता मगरले पनि अविजित रहँदै १९ रन बनाइन्।

त्यसअघि ४.४ ओभरमा टिमको स्कोर १४ रन हुँदा कविता कुँवरको बलमा क्याच आउट हुन् पुगेकी कप्तान सीता राना मगरले ७ रन बनाएकी थिइन्।

खराब मौसमका कारण १६ ओभरमा घटाइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित पूरै ओभर खेल्दै ७ विकेट गुमाएर ६० रन बनाएको थियो।

टिमका लागि उक्त रन बनाउने क्रममा उसका लागि मध्य क्रममा ब्याटिङ गर्न आएकी कविता जोशीले सर्वाधिक ठूलो पारी खेलिन्। अविजित रहेकी उनले २१ बलको सामना गर्दै २ चौकासहित २२ रनको योगदान गरेकी थिइन्।

त्यस्तै, टोलीका लागि ओपनर ब्याटर रेवती धामीले १२ रन तथा कविता कुँवरले ९ रन बनाएकी थिइन्।


बलिङतर्फ एपिएफका लागि करुणा भण्डारीले सर्वाधिक ३ विकेट हात पारिन्।

४ ओभर बलिङ गरेकी उनले उक्त विकेट लिने क्रममा मात्र ११ रन खर्चिएकी थिइन्। त्यस्तै, कप्तान सीता राना मगरले पनि १ विकेट लिन सफल भएकी थिइन्।

अब एपिएफले प्रदेश १ र लुम्बिनीबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग आइतबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!