Search

द्वाल्खाको ऋणी बने म यसपटक भाग –८ (अन्तिम)

द्वाल्खाको ऋणी बने म यसपटक भाग –८ (अन्तिम)

रेखा शाक्य (राजमति)
हाल ताहाचल
स्वतन्त्र पत्रकार – फोटो पत्रकार

सातौं अंकको अन्तिम अंश…
अरु केही काम पनि थिएन । जान त धेरै ठाउँमा घुम्न जान सकिन्थ्यो । तल्लो टोल मै पनि सबै ठाउँमा गएकी थिएन तर एकैचोटी सबै ठाउँमा गयो भने अर्को पटक आउने बहाना नहोला भनि दिनभरी कोठा मैं बसें । साँझ पनि कौशीबाटै द्वाल्खालाई नियाल्दै बिताएं । काठमाडौंका साथी राजेन मानन्धर, उदेन न्हूसाय्मि, फोनमा कुरा गरें ।

काठमाडौंमा यस्तो समयमा पनि आँट गरेर एक्लै द्वाल्खा गएकोमा कोही साथीहरुले खुशी व्यक्त गरे भने कोही साथीहरु आफूहरुलाई जानकारी बिनै एक्लै गएकोमा गुनासो पोख्न थाले । अझ कोही साथीहरुले त मेरो फेसबुकमा स्टायटस देखेर र द्वाल्खाप्रति मेरो मोह देखेर अब द्वाल्खामै घरजम गरेर बस्नु भनि जिस्क्याउन समेत भ्याए । म उनीहरुको कुरा सुनेर हाँसेर जवाफ दिन्थे । यहाँ द्वाल्खामा केटाहरु पनि केटी जस्तो लजाउने मात्रै भेटें । कोही केटा जसले मेरो दिल जितोस् र मलाई द्वाल्खा छोडेर नजाउ भनेर हात समाई भन्ने ब्यक्ति नभेटेको कुरा सुनाउँदै चाँडै नै काठमाडौं आउन लागेको जानकारी दिएं । सोमबारको दिन खासै अरु महत्वपूर्ण केही काम भएन ।

अगाडीको अंश यसरी शुरु हुन्छ ।
२७ गते मंगलबार
सँधै झैं विहान ५ बजे उठ्नु अनि माथि कौशीमा गई फोटो खिच्नु दैनिकी बनेको थियो मेरो । द्वाल्खाको सौन्दर्य नै त्यस्तै थियो । पहिलो दिन देखि जति हेरे पनि त्यहाँँको बस्ती, त्यहाँको प्राकृतिक मनोरम सुन्दरता, हुस्सुको चञ्चलता र पहाडसंग बादलको लुकामारी जति हेरे पनि मन नअघाउने । म हरेक दिन ती प्रकृतिसंग आफ्नो एक्लोपन भुलाउने गर्दथें । प्रकृतिको त्यो रोमान्चकतामा आफ्नो एक्लो जीवनमा प्रेमिल क्षणको दिवा स्वप्न हेर्दे बस्थें ।

भगवानले नै मान्छेलाई जीवनको साथमा हृदय पनि त दिएको छ । जुन हृदयमा लाखौं लाख भावना समेटिएका हुन्छन् । म पनि यहि संसारको एक प्राणी । मेरो पनि दिल धडकिन्छ । हजार्रो प्रेमका भावना छाल बनि लहर उठ्छ । मात्र फरक यति हो ती सम्पूर्ण मनका भावलाई, तरंङ्गीत प्रेमका लहरलाई शब्दको रुपमा बयान गर्दै सेतो पाना रुपि प्रेमीको हृदय सम्झी बिसाउने गर्दछु । म द्वाल्खाको प्रकृतिसंग यति भुलि दिन्थे कि म एक्लै के के संझी मुस्काइदिन्थे । मलाई बिहानीको चिया दिंदै कमला बहिनी अवाक बनि हेर्थे ।

अबोधपनले सोध्छिन् पनि मलाई । दिदी किन एक्लै हाँसी राख्नु भएकी ? म संग उसले बुझ्ने गरी दिन उत्तर हुँदैनथ्यो । बस द्वाल्खासंग प्रेम भो भन्दै मुस्काइदिन्थें । उसले मेरो कुरालाई कसरी बुझिन थाहा छैन । तर म एक्लो दुनियाँमा पनि रमाइ सानो सानो खुशीमा रमाउने मान्छे । एक्लो मन ती सुन्दर पहाडका पहरा अनि हुस्सुको सहारामा म पनि लजाउँदै दिवा स्वप्नमा कल्पिन पुग्थें ।

आज विहान रोजी भाउजु पनि चाँडै उठेछन् क्यार । कौशीमा मलाई देखि आउनु भयो । वहाँलाई देखेपछि सँगै द्वाल्खाको त्यो विहानीको स्वच्छ हावामा मिठो मुस्कान दिंदै सम्झनारुपि फोटो खिचें । भाउजु डिउटी जानु पर्छ आज चाँडै भनि तयारीमा लाग्नु भयो । म चिया पिउँदै कोठामा आएं । अस्ति देखि नै पाखलति बजारको पसलमा महेन्द्र भाईले चिया पिउन बोलाउँदै थियो । त्यसैले त्यहीं गएं । वहाँले चिया र सेलरोटी खान दिनु भयो ।

त्यहीं नै भरत श्रेष्ठजीसंग भेट भयो । वहाँ भीमेश्वर पुजा तथा गुठी व्यवस्थापनका अध्यक्ष हुनुहुन्छ । वहाँसंग द्वाल्खाको गुठीको बारेमा कुरा गर्दै बसें । साथै आफूले जात्राको फोटो कभर गर्ने क्रममा धेरैसंग कुराकानी गर्दा आर्थिक व्यवस्था नभएको गुनासो गरेको बारेमा कुराकानी गरें । वहाँले द्वाल्खाकोे अवस्था र आउने दिनमा के कस्तो गर्ने योजना छ भन्ने बारे केही जानकारी मलाई दिनु भयो ।

ऐतिहासिक साँस्कृतिक शहर द्वाल्खा

त्यहीं भीमेश्वर नगरपालीका वडा नं २ का सदस्य चरित्र जोशीजी संग पनि भेटघाट भयो । पाखलतीमा प्रायः सबै बिहानको चिया पिउन आउने रहेछ । त्यही बुग्देउ जात्राको बेलामा परिचय भएका पुजारी नरेन्द्र तुलाधरसंग पनि भेट गर्ने अवसर प्राप्त भयो । वहाँले वि.सं २०७५ सालमा जात्रा कभर गर्न जाने क्रममा द्वाल्खामा पूजारीहरुले गर्नु पर्ने पूजाको कार्यविधि सिकाउने मानिसको आवश्यकता भएको बारेमा भन्नु भएको थियो ।

जसको लागि मैले काठमाडौंमा रहेका पुजारीसंग पनि कुरा गरेकी थिएं र यदि द्वाल्खाबाट बोलावट आएमा पूजाको विधि सिकाई दिन स्वीकृति दिनु भएको थियो । आज भेटको बेलामा ती सम्पूर्ण कुरा वहाँलाई भने । साथै वहाँसंग बुग्देउको रथलाई व्यवस्थित तरिकाले बनाउने बारेमा पनि कुरा गरें । वहाँले अहिले कोरोना संक्रमण भएकोले यस्तै भन्न नसकिने तर पछि व्यवस्थापनमा कुरा राख्ने भन्नु भयो । वहाँहरुसंगको भलाकुसारी पछि म पुनः महेन्द्रभाईलाई काठमाडौं जाने कुनै गाडी मिलाई दिन अनुरोध गरें । वहाँले आफ्नै गाडी भएको र पास समेत लिइ सकेको भन्दै जाने भए भोलि बिहान सात बजे यहीं आउनु भन्नु भयो । गाडी भाडा तय गरी भोलि बिहान आउँछु भन्दै वहाँसंग विदा लिइ फकें । बाटोमा कसैले मेरो नाम लिइ बोलायो । फर्कि हेरें ।

एउटा टेलरिंग पसलको दाईले हाँस्दै एउटा कुरा गर्नु थियो भन्नु भो । मैले पनि भन्नुस् न दाइ भन्दै पसलको मेचमा बसें । आफ्नो नाम प्रदिप कुश्ले भन्दै नेपाल कुश्ले समाजको अध्यक्ष भनि वहाँले आफ्नो परिचय दिनु भयो । कुरा कै क्रममा भन्नु भो, बहिनीलाई अस्ति देखि नै देखेको । एकदुई चोटी यही बाटो ओहोर दोहोर गरेको पनि देखें । बोलाउन अप्ठयारो लाग्यो तर आज त बोलाइ हालें भन्दै हाँस्नु भयो । वहाँको नादानीपन देखेर म पनि हाँसे र भने । दाईले बोलाउनु भएको भए अस्ति नै कुरा हुन्थ्यो नि । किन अप्ठ्यारो मान्नु भएको नि ? मैले प्रति प्रश्न गरें । वहाँले केही बोल्नु भएन मात्र हाँस्नु भो ।

अनि भन्नुस् आज किन बोलाउनु भो नि भन्दै मैले कुरा कोट्याउने प्रयास गरें । त्यसपछि वहाँले कुश्ले समाजको बारेमा कुरा गर्न खोजेको भन्दै कुरालाई अगाडी बढाउनु भयो । मैले पख्नुस् यो सब कुरा रिकर्ड गर्छु भन्दै मोबाइल झिकेर रिकर्ड गर्न थालें । वहाँले कुश्ले समाजको बारेमा, उनीहरुको यर्थाथता, उनीहरुलाई परेको मर्का सबै एकएक गरि सुनाउनु भयो । द्वाल्खामा कुश्ले थरले बजाउने मुहाली अर्थात शहनाईको आवश्यकता यति सम्म रहेछ कि कुनै पनि जात्रापात्रामा यो बाजा विना जात्रा शुरु हुँदैनथ्यो । तर तल्लो जातका भन्दै वहाँहरुको लागि बाजा बजाए वापत आर्थिक सहयोग वा पारिश्रमिकको व्यवस्था रहेनछ् । वहाँको कुरा रिकर्डपछि मैले सोधें प्रदिप दाई मलाई किन यो विषयमा बताउनु भएको ? तब वहाँले कुरा खोतल्नु भयो ।

भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठ, स्वरका धनी दिपक स्वप्नील, पत्रकार कृष्ण नारायण श्रेष्ठको साथमा

तपाई काठमाडौंबाट आउनु भएकी पत्रकार बहिनी । मैले देखेको छु दिन रात, घाम पानी नभनी तपाई जात्रामा फोटो खिच्दै अनि साथमा सबैसंग कुराकानी गरी रहनु भएको । तपाईले हाम्रो समस्यालाई पनि बाहिर समाजमा उजगार गरिदिनु भयो भने पक्कै पनि केही हुन्छ भन्ने आशा जाग्यो । द्वाल्खामा मात्रै होइन काठमाडा,ैं भक्तपुर र पाटनमा समेत कुश्ले समाज रहेका छन् । वहाँहरु सम्म पनि हाम्रो व्यथा पु¥याइ दिनु होला भनि तपाईसंग सुखदुःखको कुरा साट्न खोजेको भन्दै गर्दा वहाँको आँखामा एक प्रकारको म प्रतिको विश्वासको ज्योति भरेको पाएं ।

वहाँको यस्तो आसयपछि मैले काठमाडौंमा कसरी आफ्नो मौलिकपन बचाउन सबैले नगरपालिका वा वडा कार्यालय मार्फत बजेटको साथै बाजाको संरक्षण र सम्बद्र्धन हेतु सहयोग पाउँदै गरेको छ भनि सर सर्ति जानकारी दिएं । साथै यसको लागि कुश्ले परिवारका सदस्यहरु मिलि आफूहरुलाई परेको मर्कालाई लिखित रुपमा सबैको हस्ताक्षर सहितको एक निवेदन वडा अध्यक्षलाई दिनुस्, अनि कुराकानी अगाडी बढाउनुस् भनि सुझाव दिएं । आफूले पनि काठमाडौं पुगेपछि अवश्य यो कुरा फेसबुक मार्फत सबैको सामू राख्नेछु भन्दै बाचा गरी कोठामा फर्कि आएं ।

द्वाल्खामा पहिला पहिला सबले ज्याकेट लगाई रहँदा मलाई गर्मी लाग्थ्यो । तर जब दुई तीन दिन लगातार म आफै पानीमा रुझें तब शरीर अलि कमजोर भएर पो हो कि कोठा पनि चिसो लाग्न थाल्ने अनि आफूलाई पनि चिसो महसुस हुन थालेको थियो । त्यसैले करिब १० बजेतिर माथि कौसीमा घाम ताप्न गएं । भाई अजय कोठा मै रहेछ । मैले भोलि काठमाडौं जानको लागि महेन्द्रभाईको गाडी मिलेको बताएं । वहाँले पनि गाडी मिलेमा जानु नै उचित हुन्छ काठमाडौंमा नाकाबन्दीको कुरा छ भन्नु भयो । भाई अजय काम छ भन्दै निस्कियो ।

जाने निश्चित भई सकेकोले घरमा मां र दिदी बहिनीलाई भोलि काठमाडौं आउँदैछु भनि जानकारी दिएं । म द्वाल्खा बस्दा देखि नै दाइहरुका छोरा छोरी रमण किपा नमिरा, तिसा, दिदीका छोरा छोरी मनिष र मतिना, बहिनीका छोराछोरी अमन, आर्यन र महेकसंग नियमित सम्पर्कमा थिए । सबै छोराछोरीलाई फोन गरी भोलि काठमाडौं आउन लागेको जानकारी दिएं । खाना तयार भयो भनि विक्रम भाईले बोलायो । म खाना खाई कोठामा आएं ।

एकछिन गीत सुन्दै आराम गर्दै बसें । साँझतिर भीमेश्वरको दर्शन गर्न गएं । मन भावुक थियो । द्वाल्खामा बस्ने र भीमेश्वरको दर्शन गर्ने आजको लागि अन्तिम दिन थियो । एकतक भीमेश्वरको शिलालाई हेर्दै बसें । मनमनै प्रार्थना गर्दै हे भगवान भीमेश्वर मलाई पुनः द्वाल्खा आउने वातावरण मिलाइ देओस् भन्दै विन्ति गरें । दर्शन पश्चात हरिदर्शन भाईको अफिसतिर गएं । आफू भोलि विहान जान लागेको र सबैलाई छोडेर जानु पर्दा मन खल्लो भएको कुरा सुनाएं । वहाँले पनि यति थोरै दिनमा पनि सबैसंग घुलमिल भएकोले यस्तो भएको भन्दै फेरी फेरी पनि द्वाल्खा आउन पाइहालिन्छ नी दिदी भनि मलाई सान्त्वना दिनु भयो ।

सोम भाईको जहान सुष्माको साथमा बालबालिकाहरु

भाईसंग विदालिनु अघि वहाँले भीमेश्वरको एक तस्वीरको साथमा द्वाल्खा भीमेश्वरलाई पसिना आउँदा पुछेको कपास प्रसादको रुपमा दिनु भयो । वहाँसंग विदा लिई भीमसेन डबली तिर आएं । मन त्यसै त्यसै रोएको महसुस भयो । यो यही भिमसेन दबली थियो जहाँ म सबैसंग मस्तीले हँसीमजाक गर्दै काठमाडौंलाई भुलेर बसेकी थिएं ।

त्यहाँ चिया र पूजाका सामग्री बेच्नु हुने दाजु भाउजुलाई पनि काठमाडौं जाने कुरा सुनाएं साथै पछि फेरी आउँदा भेट्ने बाचा गरें । वहाँहरुले पनि आफ्नोपन देखाई अब भोलिदेखि यो डबलीमा तपाईको हाँसो नगुञ्जिने भयो है बहिनी भनि दुख पोख्नु भयो । मैले द्वाल्खामा भेटेका सबैलाई काठमाडौं आउँदा घरमा आउनुस् है भन्दै विदा लिई कोठामा आएं ।

द्वाल्खामा एक्लै आएर ९ दिन बिताइ सकें तर मलाई काठमाडौंको याद सम्म आएन । म कति खुशी थिएं द्वाल्खामा बस्न पाउँदा । यहाँका स्थानीयहरुसंग समय व्यतित गर्न पाउँदा । म उनीहरुको आफ्नोपन देखेर हर्षित बन्थे । उनीहरु मेरो खुल्लापन र निश्चलपन देखि दंग पर्थे । कोही कोही त भन्थे पनि । तपाई काठमाडौंकी भएर पनि खै त्यस्तो लागेन । तपाईको स्वच्छपन खुलेर कुरा गर्ने र हाँस्ने, सबैलाई आफ्नो संझिने, जो संग पनि घुलमिल हुन सक्ने खुबी देखेर हाम्रै द्वाल्खा चेली जस्तो लाग्छ । तब म झन जिस्किंदै भन्थे ।

द्वाल्खाबाट फर्केको भोलीपल्त घरमा आमाको हातबाट तेश्रो चोटी पुर्नरजन्म भएको अवसरमा सगुन लिर्दै

म त द्वाल्खामा कोही मन मिल्ने केटो भेटेमा उसैसंग घरजम गरी यहीं बस्ने मनसायले आएकी त हुँ नी । खै आज सम्म कोही भेटिन त । मेरो कुरा सुनेर सब गलललल हाँस्थे । ती सब कुरा सम्झेर मन रुन थाल्यो । अब भोलि देखि द्वाल्खा फेरी मेरो सपनाको शहर भन्दै मन बुझाउनु बाहेक म के गर्न सक्थे र ?

दि पुखुर्चा रिसोर्ट जहाँ मलाई बास मिलेको थियो आज मलाई त्यो हिजो अस्ति भन्दा प्यारो लाग्न थाल्यो । म बसेको हापिचा २०१ नंम्बरको कोठालाई नियाल्दै बसें । मेरो ओछ्यान जसले मलाई न्यानोपन दिन कुनै कञ्जुस्यांइ गरेको थिएन । मलाई त्यो कोठामा आजको रात मात्रै व्यतित गर्न पाउने कुराले पनि भावुक बनाउँदै थियो ।

मैले जति बुझ्न चाहे पनि द्वाल्खाप्रतिको मेरो भावनात्मक र आत्मिय सम्बन्धको रहस्य बुझ्न सकेको थिएन । न त द्वाल्खामा पहिला देखि कोही थियो न त यो नौ दिनसम्ममा कसैलाई मात्र आफ्नो भन्ने आभास दिने प्रयास नै गरेकी थिएं । तर पनि अदृश्य रुपमा कसैसंगको विछोडको पीडा महसुस हुन्थ्यो । साथै मनमा आफ्नो काम अधुरो रहेको भान हुन्थ्यो । नजानिकनै पनि त्यो पलमा दुई आँखाबाट आँसु छच्लकिएर गालामा बहेको थियो । कसैले तिमी अझै द्वाल्खामा बस्नु न । मलाई छोडी नजानु भने हुन्थ्यो जस्तो लाग्थ्यो ।

तर मेरो मनको व्यथा र मेरो मनको चाह बुझ्ने कोही थिएन । म संग त्यहीं बस्ने कुनै ठोस कारण पनि थिएन । गुल्ना जात्रा कभर गर्न आएकी थिएं । जात्रा सकिसकेको थियो । तसर्थ म काठमाडौं फर्किनु बाहेक अर्को विकल्प थिएन । मन त अबोध हुन्छ । चञ्चल हुन्छ । तर दिमाग परिपक्व भएपछि मनको लगाम दिमागले खिच्दो रैछ । जसो तसो यो मनलाई फेरी मौका मिल्ने बित्तिकै द्वाल्खाको भूमि चुम्न आइन्छ भन्दै आफैले आफैलाई सान्त्वना दिंदै रोएको मनलाई फकाएको थिएं मैले ।

बेलुकीको खाना खाएं । भाउजु रोजिताका साथै कमला बहिनी र विक्रमभाई लाई पनि भोलि बिहान फर्किन्दै छु भने । वहाँहरुले म त्यहाँ रहुञ्जेल एक परिवारको सदस्यको रुपमा मलाई दिनु भएको आफ्नोपनका साथै मेरो ख्याल राख्नु भएकोमा धेरै धन्यवाद ंिदंदै तल कोठामा आएं । पुनः द्वाल्खामा भएका सबैलाई भोलि काठमाडौं फर्किन लागेको जानकारी फोन मार्फत दिएं ।

सबैले राम्ररी जानुस् अनि चाँडै फेरी द्वाल्खा आउनु भनि मलाई शुभयात्रा भन्दै शुभकामना दिनु भयो । सबै कुरा सोचे जस्तै भयो तर चाहेको एक व्यक्तिसंग सयौं पटक कोशिश गर्दा पनि भेट्न नसकेकोमा र मेरो लेखमा बाँकी रहेको अन्तरवार्ताको भाग अधुरो रहेकोमा मन दुखी बन्यो ।

दोलखाबाट काठमाण्डौ आउने क्रममा बाटोमा हुस्सु संगको भेटघाटको एक दृश्य

मन जति नै दुखित होस् चाहे आँखाबाट आँसु जति नै झरोस् तैपनि जानु पर्ने निश्चित थियो । सबै सामानहरु एक एक गर्दै ब्यागमा समेटन थालें । कोठा सफा गरें । आँखामा निंद्रा आउने नमो निशान थिएन । तब मोबाइलमा गीत बजाउँदै यत्तिकै पल्टेर बसें । पूरा रात द्वाल्खा छोड्नु परेको पीडामा निदाउन सकिन ।

मोबाइलको घडीले ५ बजेको संकेत दिएपछि फ्रेस भई सँधै झै क्यामरा बोकि कौशीमा गएं । समय उही बिहानको थियो । द्वाल्खाको मौसम उही थियो । द्वाल्खाको बस्ती त्यही थियो र मैले सँधै हेर्दै आएको दृश्य पनि त्यही थियो । तर आजको अनुभुति हिजोको जस्तो रोमान्टिक लागेन । सदरमुकाम चरिकोटले मलाई बिदा दिनु पर्ला भनि हुस्सुको घुम्टोमा लुक्दै थियो । पहाडको पहरामा हुस्सुले त्यो चञ्चलपन देखाई जिस्किन इंकार गर्दै थियो ।

हुस्सु रिसाएर धुम्म परी मुख फुलाएर मलाई घुर्की देखाउँदै थियो । कौशीबाट देखिएको सेङका दुई आँखा पनि निरास देखें । आँखालाई तेजिलो बनाई भीमसेन मन्दिरतिर दौडाएं । कौशीदेखि परको भीमसेन डबलीपनि मौन देखें । भीमेश्वरको अगाडी ठिंग उभिएको त्यो सिंहको स्तम्भ मात्रै देखें मैले । त्यसैको आधारमा भीमेश्वरको शिलालाई मनमा उतारें । मनमनै दर्शन गरी पुनः द्वाल्खा आउने बाचा गरें । आज मन्दिरसम्म आउन नपाउनेमा क्षमा मागें । किनकि ७ बजे पाखलाति पुग्नु थियो । कौशीबाट द्वाल्खाको एकएक दृश्यलाई मनमा चित्रित गर्दा गर्दै पनि साढे ६ बजि सकेको थियो । कमलालाई भनि भाई अजयलाई उठाउन लगाएं । भाई अजयसंग पनि बिदा मागी कोठामा आएं ।

जानलाई सब तयार गरी महेन्द्रभाईलाई फोन गरें । तर गाडी अहिले तुरुन्तै नआउने ढिलामा ८ बज्ला कि भनि जानकारी दियो । म पुनः कौशीमै आएं । म चाहन्थे द्वाल्खा छाड्नु अघि मेरो मानसपटलमा द्वाल्खालाई जति सकिन्छ अघाउञ्जेल हेरुँ । त्यति नै बेला मोबाइलमा घण्टी बज्यो । बहिनी अञ्जुको रहेछ । हलो भन्ने वित्तिकै कहाँ पुग्यो भनि सोध्यो । गाडी अलि ढिला आउने भयो त्यसैले यहीं छु भने । गाडी हिंडयो कि जानकारी गर्छु भने ।

कौशीबाट द्वाल्खा हेर्दाहेर्दै पनि आठ बज्यो तर महेन्द्र भाइको फोन आएन । आफैले फोन गरें । सामान धेरै भएकोले म बसेको ठाउँमै गाडी आउँछ भन्नेले पाखलती नै आउनु भनेपछि विक्रम भाईको सहयोगमा सबै सामान बोकि पाखलतीमा गएं । महेन्द्र भाईको पसलमा पुगें तर पनि गाडीको नामोनिशान थिएन । कुर्दै बसें । महेन्द्र भाइको पसलमा एकजना सज्जनसंग आफ्नो गाडी बिग्रेकोमा बनाउँदा ३५ हजारको बिल आएको र गाडी नै बेचेर पठाउन मन लाग्यो भनि कुरा गरे । मैले मात्र सुनि रहें । साढे आठ बजे बल्ल गाडी आयो । बलेरो बा ५ च १५८३ नं रहेछ । बल्ल गाडी अरु प्यासेन्जर दम्पति लिइ आयो ।

साथै पार्वती दिदी पनि आउनु भयो । वहाँ पनि सोही गाडीमा कठमाडौं जान लागेको भनेपछि खुशी लाग्यो । आफूलाई गाडीले पिकअप गर्न आउँदा गाडीको आवाज राम्रो नभएको कुरा महेन्द्रभाईलाई सुनाउनु भयो साथै गाडीको कन्डिसन ठीक छ होइन भनि सोध्नु भयो । महेन्द्रभाईले गाडी एकदम ठीक छ अस्ति भरखर बनाएर ल्याएको भनि बताउनु भयो । त्यहीं विणा दिदी पनि आइपुगिन् । मैले वहाँलाई चिनेकी थिएन । तर वहाँले चिनेको रहेछ ।

केही भलाकुसारी पछि मेरो मोबाइल नम्बर माग्नु भयो । दिएं । भीमेश्वर नगरपालीका वडा नं २ मा काम गर्नु हुँदोरहेछ । भेट्न नआएकोमा गुनासो पोखिन् । वडा भवन नदेखेको र नचिनेकोले यसपाली भेटघाट नभएपनि पछि आउँदा अवश्य भेट्न आउँछु भने । गाडी पुगिसकेकोले सबै सामान पछाडी गाडीमा राखि ड्राइभरको सँगैको सिटमा क्यामरा ब्याग राखेर बसें । उता बिणा दिदी र पार्वती दिदी महेन्द्रभाइसंग द्वाल्खा नेवाः भाषामा कुरा गर्र्दै थिए । मैले खासै द्वाल्खा नेवाः भाषा पूरा नबुझेकोले के कुराकानी गर्दै गरेको बुझिन ।

बल्ल गाडी स्टार्ट भयो । गाडी गुडिसकेपछि बहिनीलाई फोन गरी जानकारी दिएं । बीच बीचमा कहाँ पुग्यो जानकारी दिनु है भन्यो । हुन्छ आमालाई फोन गरी द्वाल्खाबाट हिंडी सक्यो भनि दिनु भने । हामी गाडीमा जम्मा ड्राइभर समेत गरी ६ जना थियौं । एक दम्पत्ती, पार्वती दिदी अनि एक अर्को दाजु अनि म । वहाँहरु चारै जना पछाडीको सिटमा । अगाडी ड्राइभर र म मात्रै । जसरी आउँदा आँखा झिमिक्क सम्म नगरी सम्पूर्ण द्वाल्खालाई नियाल्दै आएकी थिएं जाँदा पनि आँखाभरी द्वाल्खालाई समाइ गएं ।

गाडी रविनको अभयरपुर गेष्ट हाउस अगाडी रोक्यो । रविन भाइ त थिएन वहाँको छोरीलाई भेटी बाबालाई आफू काठमाडौं फर्किन लागेको भनि दिनु भन्दै पुनः गाडीमा बसें । अब गाडी आफ्नै रफ्तारमा दौडिन थाल्यो । चरिकोट हुँदै अगाडी बढेको गाडी फेरी त्यही हिलो ले थिलोथिलो भएको सडकमा विस्तारै घच्याक घच्याक गर्दै खाल्डाखुल्डी छल्दै अगाडी जान थाल्यो । जसरी १० दिन अगाडी आउँदा हिले बाटो थियो त्यसको हालतमा उन्नीस बीस भएको थिएन ।

जति जति गाडी अगाडी बढ्दै गए, मेरो मानसपटलमा द्वाल्खाको स्मरण झन गाढा हुँदै गयो । त्यति नै बेला हरिदर्शन भाइको फोन आयो । भीमेश्वरले रक्षा गरुँन र यात्रा सफल होस् भनि शुभयात्रा भन्दै चाँडै फेरी भेटुँला दिदी भन्नु भयो । वहाँलाई धन्यवाद दिएं । गाडी मुडेमा खानको लागि रोकियो । सबैले खाना खान थाल्यो तर सफरमा आफूलाई खाने खासै इच्छा नहुने भएकोले ब्यागबाट एउटा फ्रुटी मात्रै निकालेर पिएं । दिदी र अन्यले त्यहाँ सस्तोमा आलु पाइन्छ भनि बोरै समेत उठाए । हाम्रो गाडी पुनः अगाडी बढ्न थाल्यो । गाडी गुड्ने क्रममा केही बलेको जस्तो गन्ध निरन्तर आइ नै रह्यो । म अगाडी सिटमा भएकोले त्यो सब प्रत्यक्ष हेर्दै आइरहेकी थिएं ।

साथै ड्राइभरसंग म कुरा गर्दै पनि थिएं के भएको भनि । वहाँले पनि आफूले फागुन पछि बल्ल घरबाट फर्केर आज गाडी चलाएको र के भएको हो आफूलाई थाहा नभएको कुरा बताए । मनमा केही आशंका थियो नै तर पनि केही बोलिन् । बेला बेलामा पार्वती दिदीले गाडी विस्तारै हाँक्नु है भाई भनि ड्राइभरलाई भन्नुहुन्थ्यो । बल्ल त्यो हिले बाटो र खाल्डाखुल्डी पार गरी गाडी लिसंखुपुर नाघ्यो । त्यति बेला सम्ममा गाडीबाट सहनै नसक्ने गरी कालो धुँवा समेत आइ सकेको थियो । गाडी एकदम तातिसकेको जानकारी दियो र घच्याक आवाज निकाली रोक्यो । त्यति नै बेला अर्को सुमो गाडी पनि आयो । पार्वती दिदीले हामी बसेको गाडीको हालत यस्तो भयो के गर्ने भनि कुरा गरे । म भने अगाडी गई केही सेल्फी खिच्नमा व्यस्त भएं ।

दोलखाबाट काठमाण्डौ आउने क्रममा आफ्नै ताल अनी सुसेलीमा बगीरहेको सुनकोशी नदी

त्यति नै बेला पुनः बहिनीको फोन आयो । मैले गाडी लाई विश्राम दिन एकछिन रोकेको र चाँडै जगाति पुगेपछि पुनः फोन गरुँला भने । झण्डै तीन मिनेट पछि नै गाडीमा बस्न आउनु भनि बोलायो । म उता गएकोले पार्वती दिदी र अर्को सुमोको ड्राइभर बीच के कुरा भएको थाहा भएन । पछि फर्कि आउँदा मात्र आफ्नो गाडीको ड्राइभरलाई यति सोधें । गाडीको कन्डिसन ठीक छ र ? नराम्ररी गाडी नै बल्ला जस्तो कालो धुँवा आयो नि त । तर उसले गाडी ठीक छ जाउँ भने । म सिटमा बसें ।
गाडी स्टार्ट भयो । केही पर मात्रै के पुगेको थियो ड्राइभरले गाडीको बे्रक फेल भयो भन्यो । पार्वती दिदीले र मैले अब के गर्ने त भाइ भन्यौं ।

गाडी ओरालोमा पुगी सकेको थियो । गाडीको स्पीड कन्ट्रोल गर्न ड्राइभरले स्टेरिंग यसरी घुमाउँदै त्यो ओरालोको घुम्ती छल्न थाल्यो म हेरेको हेर्यै भएं । यता हेर्छु भीर उता हेर्छु पहाड । गाडी एक्सिडेन्ट हुने निश्चित थियो । तर मनमा आफूहरु जीन्दगीको अन्तिम मोडमा पुगेछु भन्ने बिचार समेत मनमा थिएन । मात्र त्यो बेला यति मनमा कुरा खेल्यो हे भगवान गाडी एक्सिडेन्ट भए के गर्ने । आफूले सम्पूर्ण द्वाल्खाबासीको विश्वासमा कति कुरा लेख्न र फोटो संसारभरलाई देखाउने जिम्मेवारी बोकी आएकी छु ।

क्यामरा, ल्यापटप, हार्डड्राइभ सबै तल गाडी खसेमा खत्तम हुने भयो भनि ब्यागलाई च्याप्प समाति जता गाडी डोर्यायो उतै आफ्नो शरिरलाई धाल्दै बसें । गाडीको स्पीड झन झन बढ्दै घुम्ती छल्दै बेतोडले दगुर्न थाल्यो । त्यही बीचमा पार्वती दिदीले भाइ गाडीलाई भित्तामा ठोकाउ भन्ने सम्म सुनें । एकैछिन पछि स्पीडमा गएको गाडी कता कता कसरी घुम्यो थाहा भएन । एकैछिन पछि धडाम्मको ठूलो आवाजले गाडी भुँइमा बज्रियो । के भएको होश समेत भएन । भित्ताको खोल्सोतिर तेर्छिएर बज्रेछ क्यार । म अगाडीको सिटमा बसेको मान्छे गाडी पल्टिनासाथ उल्टो भएछु । गाडी भित्र मेरो कन्डिसन यस्तो थियो त्यो बेला मानौं म आमाको गर्भमा जन्मिन तयार भएको शिशुको जस्तो पोजिशन ।

एकैछिनमा त्यहीँका स्थानीयहरुको भीडमा दुईजनाले उचालि मलाई गाडीबाट बाहिर तान्यो । क्यामराको ब्याग एकजनालाई समाउन दिएं । म पछि बिस्तारै सबैलाई एकएक गरी गाडीबाट निकाल्यो । बाहिर पुगेपछि यो कुन ठाउँ हो भनि सोधें । एक जनाले ११ किलो भन्यो । त्यति बेला शायद १ बजेको थियो फोन निकालि म भिडियोको साथमा फोटो खिच्न थालें । मलाई आफू स्वयम त्यही गाडीमा जीवन र मरणको दोसाँधबाट निस्किएको भन्ने सम्म बिचार आएन । मेरो भूमिका त्यहाँ मानौं कुनै दुर्घटनाको रिर्पोटिंग गर्ने पत्रकारको जस्तो भइदियो । मैले गाडी दुर्घटना भएको देख्ने प्रत्यक्षदर्शीसंग सोध्न थालें के भएको भनि ।

एउटा गाडी यसरी हावामा बेतौडले एताउता गर्दै हुँकिएर आयो अनि हेर्दाहेर्दै गाडी भित्तामा ठोक्किएर माथि हावामा उछलेर तर भुँइमा बज्रिएको कुरा सुनायो । धन्न तपाईहरुलाई केही भएन छ । कहाँबाट आउनु भएको भनि सोध्नु भयो । द्वाल्खाबाट काठमाडौं फर्किन लागेको बताएपछि भीमेश्वरले हात थाप्नु भएछ र त सबैजना सकुशल भएछौं । हामीले त सबैको आश नै मारेको भनि पुनः मलाई केही चोटपटक त लागेन भन्दै सोध्नु भयो । तब बल्ल होश आयो । अरे, म पनि त त्यही गाडीबाट आएकी हुँ भनि । पुनः यताउतिको भिडियो खिच्दै गएं । मेरो पछाडी बस्ने दाजुको हातमा थेचिएको रहेछ । उ त्यही साइडतिर भुँइमा पल्टिएर बस्यो । पार्वती दिदी र ती दम्पत्तिहरु आफ्नो सामान निकाल्न थाल्नु भयो ।

मैले पनि पछाडी रहेको आफ्नो सामान निकालेर सडक छेउमा राखें । दुर्घटनाको जानकारी दिन भीमेश्वर नगरपालीका वडा नं. २ को वडाअध्यक्षको नम्बर थिचें । मेरो दुर्भाग्य वहाँले यो पटक पनि फोन उठाउनु भएन । तब हरिदर्शन भाईलाई फोन गरी आफूहरु बसेर आएको गाडी दुर्घटना भएको कुरा सुनाइ अध्यक्षजीलाई पनि जानकारी दिन भने । भाइले भीमेश्वरले हात थाप्नु भएछ दिदी त्यसैले सब बच्यो भने । एकछिन पछि द्वाल्खाको प्रहरी चौकीबाट फोन आयो । के के भएको भन्दै सोध्नु भयो । आफूले देखेको र भएको सबै कुरा सत्यतथ्य सुनाइदिएं । ड्राइभरको गल्ती हो कि भनि सोध्नु भयो । मैले होइन ड्राइभरले आफ्नो सुझबुझले हामीलाई बचाइ भीरबाट खस्न जोगाइ दियो भने । महेन्द्र भाइलाई फोन गरी सबै हालत सुनाइ रिस पोखें । त्यति नै बेला पार्वती दिदीले द्वाल्खा छोड्नु अघि नै महेन्द्रलाई आफूलाई घरसम्म पिकअप गर्न आउँदा नै कालो धुँवा छोडेको र घ्यारघ्यार आवाज निकालेको साथै गाडीको त्यस्तो हविगत देखेर संगै आएको भाइ समेत नजाने सुरमा रहेको कुरा सुनाउनु भयो ।

वहाँसंगको कुरा पछि पुनः अजयभाइलाई फोन गरी सबै भएको कुरा बताएं र हामी सबै सकुशल रहेको जानकारी दिएं । मनमनै भीमेश्वरलाई सम्झे । आफुले च्यापेर राखेको ब्यागमा भीमेश्वरको प्रसादको साथमा भीमेश्वरको तस्वीर समेत थियो । सायद यही त्यो ठूलो दुर्घटनाबाट बच्न सुरक्षित कवच बनेको अनुभुति भयो । साथै जानु भन्दा अघि पाखलतीमा जति पनि जात्रामा देखेका स्थानीयहरु भेटें सबले शुभयात्रा भन्दै शुभकामना दिएको सम्झें । वहाँहरुसबलाई पनि त्यतिखेर सम्झेर मनमनै धन्यवाद दिएं ।

त्यति नै बेला काठमाडौं जाने बस जुगल यातायात बा २ ख ६२५६ नं को गाडी तरकारी र केही मात्र प्यासेन्जर बोकी आएको देखें । तब हामी त्यसैमा जाने निधो गरें । पार्वती दिदीसंग आउने दाइ काठमाडौं नजाने भन्दै पुनः अर्को गाडीमा द्वाल्खा नै हिंड्यो । हामी चार जना भने ड्राइभर र गाडीलाई त्यहीं छाडी त्यो बसमा बसें । त्यति नै बेला द्वाल्खाको प्रहरी चौकीबाट पुनः फोन आयो । केही सहयोग वा गाडी पठाउनु पर्छ की भनि । मैले हामी अर्को बसमा बसि सकेको जानकारी दिएं ।

बसले पनि आफ्नो रफ्तार अगाडी बढायो । मैले बसको कन्डक्टरसंग सोधें । बे्रक फेल कसरी हुन्छ ? वहाँले बेसि तातिएर यस्तो भएको हो तपाईहरु बसेर आएको गाडी भन्नु भो । गाडीलाई विश्राम दिइ चिस्याउनु पर्ने थियो तर त्यस्तो नगरेकोले यस्तो दुर्घटना हुन पुग्यो भनि मलाई बुझाइदियो । हो जस्तो पनि लाग्यो किन कि कालो घुँवाको साथमा गाडी गन्हाएको त सबैले चाल पाएकै थिए । सोचें यदि त्यो भयानक दुर्घटनाको शिकार भएको भए घरमा कस्तो हुँदो हो ।

आफू सँधै एक्लै जीउने बानि भएका मलाई तर यो दुर्घटनाले परिवारलाई म मरेमा पर्ने दुःखलाई सम्झें । साथै जसलाई द्वाल्खामा मनको नजिक सम्झें उसैले अरुबाट खबर पाउँदा समेत फोन नगरेकोमा अनायसै आँखाबाट आँसु झरे । झरेको आँसुलाई पिएर सामान्य बन्न मोबाइलबाट गीत सुन्न थालें । गाडी दोलालघाट पुग्नु अगाडी दिदीको फोन आयो । तर म सामान्य बन्दै आफू त्यत्रो दुर्घटनाबाट बचेको कुराको सुँइको समेत दिइन । गाडीमा छु आउँदै हो भनि फोन राखें । गाडी झण्डै साढे तीन बजेतिर बनेपा चोकमा आइ रोक्यो ।

काठमाडौंमा खासै बाहिर जिल्लाको गाडी भित्रिन नदिएको भन्दै त्यहाँबाट अगाडी जान मानेन । बहिनीलाई गाडी लिई लिन आउन भने । काठमाडौंको पनि गाडी बनेपा आउन नदिने भने पछि जसरी नी सूर्यविनायक सम्म आउन बहिनीले भने । धन्न त्यति नै बेला साझाको बस काठमाडौं हिंड्न यात्री पर्खिएको भेटें । सबै सामान सहित त्यहि बसमा पार्वती दिदी र म बसें । गाडीबाट बहिनीलाई आफू कहाँ पुग्यो भनि जानकारी पनि दिंदै गएं । यहि क्रममा बस सूर्यविनायक पुग्दा पुनः बहिनीको फोन आयो । दूबैको गाडी सोही स्थानमा पुगेको आंकलन गरी म बसबाट ओर्लें ।

एकछिन पछिको पर्खाइमा ज्वाँइ मिलन गाडी चलाउँदै मेरो छेउमा आइ रोक्यो । बहिनी अञ्जु छोरी महक पनि साथै आएकी रहिछिन् । गाडीमा सामन राखि सामान्य कुराकानी गर्दै हामी ताहाचल घर पुग्यौं । गाडीमा आउञ्जेल र घरमा पुगेर पनि मैले आफू गाडी दुर्घटनामा परेको केही कुरा बताइन । दिदीलाई पनि घर पुगेको जानकारी दिएं । म एकदम सामान्य बनि रहें । बेलुकी सबै फर्केपछि करीब १० बजेतिर फेसबुकमा कहानी यसरी शुरु हुन्छ..भन्दै यदि दुर्घटनको शिकार भएको भए यो नै मेरो अन्तिम तश्बीर बन्थ्यो भनि आफुले लिसंंखुमा खिचेको सेल्फीको साथमा दुर्घटनामा परेको गाडीको समेत तस्वीर राखि केही कुरा लेखि अपलोड गरें । सबैले लाइक हान्दै गर्यो तर त्यो बेलुकी सम्ममा कसैले पनि खासमा कुरा के भएको भनि नपढेको रहेछ ।

दोलखाबाट काठमाण्डौ आउने क्रममा सिन्धुपाल्चोक जिल्ला स्थित ११ किलोमा हामी आएको बुलेडो दुघर्टना पश्चात उतानो परेको अवस्थामा

तर विहान उठन पाएकी थिएन फोन बज्ने क्रम शुरु भयो । साथै फेसबुकमा सबको कमेन्ट पनि । सबैले ठानेछन् अक्सर कुनै पनि कुरा देखेको बारे लेख्ने र फोटो अपलोड गर्ने मेरो बानीले यो पनि द्वाल्खाबाट फर्किन्दा बाटोमा देखेको घटनालाई राखेको होला । द्वाल्खाबाट फर्किएछ भन्दै लाइक हानेको रहेछ । तर जब विहान सबैले पढ्न थाले एकले अर्कोलाई समेत मेरो दुर्घटनाको बारेमा भनेछन् । म घरमा थाहा होला भनि सुटुक्क आएको फोनको जवाफ दिन अर्को कोठामा पुग्थे । त्यति नै खेर सानो दाइ तल आइ हिजो के भएको भनि सोध्नु भयो ।

मैले सामान्य बनि खासै केही भाका छैन भनि टाल्न खोजें । तर दाइलाई पनि तिम्रो बहिनीको नराम्ररी दुर्घटना भएको रहेछ हैन भनि फोन आएको रहेछ । मां त तर्सिनु भयो । अनि गाली गर्नु भयो । त्यति नै बेला दिदी बहिनीले पनि फोन गरी हिजो तिमीलाई लिन समेत आएं तर केही कुरा बताउन जरुरी नभएको भनि रिसाउनु भयो । म सकुशल थिएं त्यसैले पीर लिन्छ भनि नभनेको भने । आमाले तुरुन्तै सगुन दिन तयारी गर्नु भयो । मैले केही बोल्नै सकिन । सगुन लिएं । अनि त्यहि फोटो फेसबुकमा राखि म सकुशल घर पुगीसकेको र आफूले तेश्रो पटक जन्म पाएको भन्दै स्टायटस् अपलोड गरें ।

साथै भीमेश्वरको कृपाले र सम्पूर्ण द्वाल्खामिको शुभकामनाले यो तेश्रो जीवन प्राप्त भएको महसुस गरें । तसर्थ आफू हरेक साल द्वाल्खामा आउने प्रण गरेको विचार पोखें । त्यसपछि दुई दिनसम्म म फोनमै व्यस्त रहें । तब लाग्यो म मात्र म रहेनछु । म संग अनगिन्ति मेरा शुभचिन्तक पनि म संगै रहेछ । तेश्रो जन्म यो अर्थमा पनि हो कि, पहिलो जन्म आमाको कोखबाट, दोश्रो जन्म टिचिंग अस्पतालको बेड नं ३१३ मा मेनेन्जाइटिसको विरामी भई अन्तिम पलबाट बचाएर ल्याएको थियो ।

काठमाडौंका आफन्त, समकालीन मित्र, स्कूलका साथीभाईहरु मात्रै होइन नौ रात दश दिन द्वाल्खाको बसाईको क्रममा चिनेका सबले फोनगरी दुर्घटनाको जानकारी लिए । सबले भीमेश्वरको कृपाले बचेको कुरा संझाए । हो पक्कै पनि यसपटकको मेरो द्वाल्खा बसाई पछिको जीवनको हकदार द्वाल्खामि बन्यो । वहाँहरु सबको शुभकामना अनि माया स्नेहले गर्दा नै मैले तेश्रो जीवन पाएं । यो तेश्रो पटकको जन्म साँच्चै मेरो सपनाको शहर द्वाल्खाको ऋणी बने म यसपटक ।

रेखा शाक्यज्युले आफ्नो दोलखा भ्रमणको स्मरणलाई विशेषतः गुल्ना पर्व र यस भित्रका जात्रामात्राहरुलाई र आफुले भोगेका गरेका र देखेका अनुभवलाई एकदेखी आठौं भागसम्म शब्द कोर्नमा सफल भएकोमा विशेष धन्यवादका पात्र हुनु हुन्छ । यसै गरी आफुले कोरी प्रस्तुत गरी लेखिएको अनुभूती सम्प्रेशन गरि प्रकाशन गर्न पाउँदा म लगाएत हाम्रो बाँपीझ्याला अनलाईन पत्रिकाका टिम खुसी व्यक्त गर्दछौं ।
आगामी दिनहरुमा पनी यहाँको दोलखा प्रति निःस्वार्थ भावना सदैव रहि रहने आशा एवं विश्वासका साथ पछी पछी पनी यर्थातलाई शब्दमा कोरी विश्व भरी आ–आफ्नो पेशा, व्यवसायमा रहनु हुने नेवाः दाजुभाई, दिदी बहीनी र अन्य शुभचिन्तक नेपाली दाजुभाई दिदीबहीनीहरु समक्ष दोलखाको वास्तविक यर्थातलाई अझ गहिरो अध्ययन गरी चित्रणका साथ प्रस्तुत गर्ने मौका प्रदान गर्नको लागि सदादिन दोलखा भीमेश्वर सँग प्रार्थना गर्दछौं । सम्पादक

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!