Search

विश्वकप जित्ने रोनाल्डोको सपना

विश्वकप जित्ने रोनाल्डोको सपना

१७ पाैष, बाँपीझ्याला, एजेन्सी । पोर्चुगल तथा इटालियन क्लब युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले विश्वकप जित्ने सपना रहेको बताएका छन् । ३५ वर्षको उमेरमा पनि उस्तै प्रदर्शन गरिरहेका रोनाल्डो २०२२ को कतार विश्वकपको समयमा ३७ वर्षको हुनेछन् । उनले अझै यो समयमा धेरै खेल्दै विश्वकप जित्ने सपना रहेको बताएका छन् ।

क्लब फुटबलबाट सबै किसिमको उपाधि जितेका रोनाल्डोले आफ्नो कप्तानीमा पोर्चुगलबाट २०१६ मा युरोकप र २०१९ मा युइएफए नेसन्स लिगको उपाधि जितेका थिए ।

युभेन्टसका रोनाल्डोले म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब रियल म्याड्रिडबाट थुप्रै अवार्डसँगै व्यक्तिगत अवार्डसमेत जितिसकेका छन् । तर, उनी यतिमा मात्र खुशी छैनन् ।

‘हामीले युरोपमा केही विशेष उपाधि जितेका छौं । २०१६ मा युरोकप र २०१९ का नेसन्स लिग जित्यौं । अब हामी विश्वकप जित्न चहान्छौं ।’ रोनाल्डोले भने, ‘यो सम्भव छ । सबै सम्भव छ । तर, हामी व्यवहारिक हुनुपर्दछ । मैले तपाईलाई धेरै पटक भने, मेरो सपना पोर्चुगलको राष्ट्रिय टोलीबाट केही जित्नु हो । मैले दुई उपाधि जितेको छु । जसले मलाई खुशी तुल्याएको छ । मैले खेलेको हरेक क्लबमा जितेको छु । तर विश्वकप सपना हो ।’

पाँच पटकका बालोन डी ओर विजेता रोनाल्डो यस सिजनको सिरि एका सर्वाधिक गोलकर्तामा अग्रस्थानमा रहेका छन् । रोनाल्डो अन्तराष्ट्रिय फुटबलमा ईरानका अली दाईको १ सय ९ गोलको विश्व कीर्तिमानबाट मात्र ७ गोल पछि छन् । उनले १७० खेलमा १०२ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

पोर्चुुगिज क्लब स्पोर्टिङ लिस्बनबाट व्यवसायिक खेल करियर सुरु गरेका रोनाल्डोले म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्टसमा अद्भुत प्रदर्शन गरिरहेका छन् । रोनाल्डो सम्मिलित युभेन्ट्सले सिरि एको जारी सिजनमा भने मिश्रित प्रदर्शन गरिरहेको छ । साविक विजेता समेत रहेको टोलीले १३ खेलमा २४ अंक मात्र जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ । १ खेल बढी खेलेको एसी मिलान ३४ अंकसहित शीर्षस्थानमा छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!