Search

नेपाललाई सुहाउँदो खोप अनुमोदन

नेपाललाई सुहाउँदो खोप अनुमोदन

बाँपीझ्याला, नेपाललाई सुहाउँदो मानिएको कोरोना खोपलाई बेलायतले अनुमोदन गरेको छ । अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाद्वारा संयुक्त रूपमा विकास गरिएको खोपलाई बेलायतको औषधि नियामक संस्था ‘दि मेडिसिन एन्ड हेल्थ केयर प्रोडक्ट्स रेगुलेटरी अथोरिटी (एमएचआरए) ले उक्त अनुमति दिएको हो । तुलनात्मक रूपमा सस्तो र सामान्य फिजको तापक्रममा समेत सुरक्षित राख्न सकिने भएकाले यो खोपको प्रतीक्षा विश्वव्यापी रूपमा रहेको छ ।

यो खोपले बेलायतमा मात्र पहिलोपटक प्रयोग अनुमति पाएको हो । बेलायतको सख्त नियामक निकायले अनुमति दिइसकेको अवस्थामा अन्य देशका नियामक निकायले यसलाई अनुमति दिन सजिलो हुने स्वास्थ्य मन्त्रालयद्वारा गठित खोपसम्बन्धी प्राविधिक सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेती बताउँछन् । ‘यो अत्यन्त खुसीका कुरो हो,’ डा. उप्रेतीले भने, ‘एमएचआरएको अनुमति विश्व स्वास्थ्य संगठनले दिएबराबर मानिन्छ ।’ बेलायतले यो खोपको १० करोड डोजको अर्डर गरिसकेको छ । त्यसअन्तर्गतको ४० लाख डोज केही दिनमा उपलब्ध हुने बेलायती दैनिक गार्जियनको अनलाइन संस्करणले जनाएको छ ।

बेलायतको स्वास्थ्य तथा सामाजिक हेरचाह विभाग (डिएचएससी) का अनुसार नियामक संस्थाका विज्ञले गरेको समीक्षाले सुरक्षा, गुणस्तर र प्रभावकारिताको मापदण्ड खोपले पूरा गरेको छ । बेलायतमा यो खोप जनवरी ४ देखि लगाउन सुरु गरिने र केही सातामै यसको गतिलाई तीव्रता दिइने बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले बिबिसीलाई बुधबार बताएका छन् । सन् २०२० को सुरुको महिनादेखि नै अक्सफोर्ड र अस्ट्राजेनेकाले यो खोपको डिजाइन सुरु गरेका थिए । पहिलो स्वयंसेवीलाई अप्रिलमा परीक्षण गरिएको थियो भने त्यसपछि खोपको तेस्रो तथा अन्तिम चरणको क्लिनिकल परीक्षण बेलायत, ब्राजिल र भारतका हजारौं स्वयंसेवीमा गरिएको थियो ।

त्यसो त यो खोपको प्रभावकारिता अमेरिकाको फाइजर र मोर्डना कम्पनीले दाबी गरेको ९५ प्रतिशत प्रभावकारिताको तुलनामा कम रहेको छ । यो खोपको प्रभावकारिता सरदरमा ७० प्रतिशत छ । बेलायतले एक महिनाभित्रै खोपको दुवै मात्रा दिनुको सट्टा खोपको पहिलो मात्रा दिएको १२ हप्तापछि मात्र दोस्रो डोज दिने तयारी गरेको छ । यसरी खोपको पहिलो डोजले धेरै जनसंख्यालाई महामारीबाट आंशिक रूपमा सुरक्षा मिल्ने विश्वास बेलायतको छ ।

बेलायतले डिसेम्बरमा अमेरिकी कम्पनी फाइजरले निर्माण गरेको खोपलाई आपत्कालीन प्रयोग अनुमोदन दिइसकेको छ । हालसम्म ६ लाख बेलायतीले फाइजर खोप लगाइसकेका छन् । बेलायतकी ९१ वर्षीय हजुरआमा फाइजर खोप पाउने विश्वकै पहिलो व्यक्ति बनेकी थिइन् । उनले ८ डिसेम्बरमा खोप लगाएकी थिइन् । यो खोप चिम्पान्जीलाई रुघाखोकी लाग्न जिम्मेवार मानिएको ‘कमन कोल्ड भाइरस’ लाई अनुवांशिक रूपमा परिवर्तन गरेर बनाइएको हो ।

डा. उप्रेती यो अनुमोदन नेपालका लागि दुई हिसाबले महत्वपूर्ण रहेको मान्छन् । पहिलो हो, भारतको सेरम इन्सिच्युटले अस्ट्राजेनेकासँगको सहकार्यमा यो खोप भारतमा उत्पादन गर्दैछ । मंसिरको तेस्रो साता सेरम इन्स्टिच्युटले भारतको औषधिसम्बन्धी नियामक निकाय ‘ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया’ समक्ष अनुमोदनका लागि आवेदन दिइसकेको छ । विश्व स्वास्थ्य संगठन, सेपी र गाभीको सहकार्यमा स्थापना गरिएको कोभ्याक्स सुविधाअन्तर्गत नेपालले पाउन सक्ने खोपमा यो खोप अग्रपंक्तिमा छ । यो खोप कोभिड–१९ का गम्भीर बिरामीका लागि अत्यन्त सफल रहेको बताइएको छ ।

दोस्रो हो, नेपालको परराष्ट्र मन्त्रालयले हालै भारत सरकारसमक्ष उसले खरिद गर्ने हरेक खोपमा नेपालका २० प्रतिशत जनसंख्यालाई पुग्ने खोपको मात्रा पनि संलग्न गरेर खोप खरिदमा सहजीकरण गर्न अनुरोध गरिसकेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा उपलब्ध हुने २० प्रतिशत र नेपालको अनुरोधअनुरूप भारतीय सरकारले उपलब्ध गराएको खण्डमा नेपालका कुल ४० प्रतिशतले खोप प्राप्त गर्नेछन् । नेपालले सिधै खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युटलाई पनि आफू खोप खरिद गर्न इच्छुक रहेको पत्र लेखिसकेको छ । यो खोपको मूल्य भारतमा ३ देखि ४ अमेरिकी डलर पर्ने बताइएको छ ।

उत्पादक कम्पनीसँग खोप खरिद गर्दा नेपालले चाहेजति मात्रामा खोप उपलब्ध गराउन सक्ने, तुलनात्मक रूपमा सस्तो, नियामक निकायले अनुमति दिएको, जहाँ उत्पादन हुन्छ त्यस देशमा प्रयोगमा ल्याइएको, खोपलाई २ देखि ८ डिग्री सेन्टिग्रेडमा भण्डारण गर्न सकिने आधार तय गरेको छ । स्वास्थ्यकर्मी, ५५ वर्ष माथिका वृद्धवृद्धा, दीर्घरोगीलगायत सामाजिक दूरी कायम गर्न कठिन हुने क्षेत्रमा कार्यरत जनशक्तिलाई प्राथमिकताको पहिलो चरणमा राखेर खोप अभियान अगाडि बढाउने तयारी सरकारको छ ।

सरकारले १४ वर्षसम्मका बालबालिकाबाहेक ७२ प्रतिशत जनसंख्यालाई दुई वर्षभित्र निःशुल्क खोप उपलब्ध गराउने बताउँदै आएको छ । कोभ्याक्स सुविधाअन्तर्गतको खोपको पहिलो लट सन् २०२१ को पहिलो तीन महिनाभित्र नेपाल आउन सक्ने अपेक्षा स्वास्थ्य मन्त्रालयको छ जनाएको छ भनी आजको नागरिक दैनिकीमा लेखिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!