अजय प्रधान,
बाँपीझ्याला, दोलखा । दोलखा जिल्लाका करदाताहरु विगत वर्षहरुमा भक्तपुर र धुलिखेल पुगेर हप्तादिन भन्दा पनी बढी समय खर्चाएर पान नम्वर लिने स्थानिय वासिन्दाहरुले अव दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाटै उक्त सेवा पाउने भएका छन् । यसै गरी व्यवसायका लागि पान नम्वर लिन चरिकोट आएका दोलखा जिल्ला मेलुङ गाउँपालिकाका विष्णु बहादुर न्यौपानेले जिल्लामै कर कार्यालय स्थापना भएर आफु जस्तै धेरैजसोलाई करदाताहरुलाई सुविधा भएको भनाई व्यक्त गर्नु हुन्छ ।
यसरी सदरमुकाम चरिकोटमै कर सेवा कार्यालय स्थापना भएपछी आफुहरुले एकैदिनमा पान नम्वर लिएर घर फर्कन सक्ने बताएका छन् । २०७६ साल पुष २१ गतेको क्याविनेटको बैठकको निर्णय अनुसार २०७७ साल असोज ३० गतेबाट दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा नै करदाता सेवा कार्यालय सञ्चालन भएको कार्यालय प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिनु भयो । कार्यालय स्थापना भएको दुईमहिनाको अवधिमा २ सय असी वटा व्यवसायीक प्यान, करिव ४ सय वटा व्यक्तिगत पान र २२ वटा भ्याट दर्ता भएको कार्यालय प्रमुखको भनाई रहेको छ ।
कार्यालय स्थापना हुनु अघि जिल्लामा ६ हजार ८ सय ७८ वटा व्यवसायीक पान, २ हजार २ सय ९४ वटा व्यक्तिगत पान, एकसय उन्नाईस वटा अन्य प्रकारको पान र एक हजार अठ्ठार वटा भ्याट दर्ता भएको कार्यालयको तथ्थाङ्कमा उल्लेख गरिएको थाहा भएको छ । यसै गरी दोलखा जिल्लाबाट गत वर्षमा १५ करोड २७ लाख रुपैया कर संकलन भएको थाहा भएको छ । कार्यालय स्थापना भएको दुई महिनाको अवधिमा एक करोड उन्नानअसी लाख कर रकम संकलन भएको कार्यालयले जनाएको थाहा भएको छ ।
यसै गरी कार्यालय सदरमुकाम चरिकोटमा स्थापना भएपछी चरिकोट, दोलखा, जिरी, मैनापोखरी, कालिञ्चोकको कुरी, मागादेउराली र सिंगटीमा करदाता शिक्षा सञ्चालन गरिएको छ । त्यसैगरी कोरोनाको अवधिमा दिईएको सुविधा सम्वन्धी स्किमको बारेमा र करका अन्य प्रक्रियाको बारेमा ब्रसियर, श्रव्य दृश्य, भेटघाट आदीको माध्यमबाट जानकारी गराईएको समेत कार्यालय प्रमुखको भनाई रहेको छ ।
यसै गरी कार्यालय स्थापना पश्चात हालसम्ममा आठवटा मदिरा पसललाई कारवाही गरि करिव दश हजार लिटर भन्दा बढी मदिरा नष्ट गरिएको समेत जानकारी दिनु भयो । यसै गरी अनुगमनको क्रममा ३८ वटा करदाताको व्यवसायीक फर्मको अनुगमन र चारवटा करदाताहरुलाई कारवाही समेत गरी ७५ हजार रुपैया जरिवाना गरिएको समेत उक्त कार्यालयले जनाएको छ ।