Search

द्वाल्खाको ऋणी बने म यसपटक भाग –७

द्वाल्खाको ऋणी बने म यसपटक भाग –७

छैंठौं अंकको अन्तिम अंश…
दिनभरीको भागदौडको असर न हो मलाई ज्वरो आएको महसुस भयो । उठ्न खोजें खुट्टा सुनेर भुक्क फुलि सकेको थियो । पैताला मात्रै होइन प्रत्येक औंला सुनेको देखें । उठेर टेक्न खोजें तर सकिन । एकछिनमा जीउ काम्न थाल्यो । एक्लो कोठामा मलाई स्याहार्ने वा के भो भनेर सोध्ने को नै थिए र ? जाडो महसुस भो । ब्ल्यांकेटको साथमा सिरक पनि ओढेर पल्टिएं । मन केही हतास भयो । जात्रामा हिजो पनि गएकी थिएन आज झन जात्रालुहरुको भीड हुन्छ भनेको जान नपाइने भो भनि मन रुन थाल्यो । बाहिर हेरें पानी त बेस्सरी नै परेको रहेछ । सोचें यस्तो पानी परेको बेलामा त यसै पनि क्यामरा निकाल्न सक्दिन । होस् भोलि अन्तिम जात्रामा जसरी नी जाउँला बरु आज आराम गर्छु भनी आफूले आफलाई सान्त्वना दिंदै एक को सट्टामा दुइ चक्की नै औषधी खाएं । अनि मोबाइलमा आफूलाई मन परेको रोमान्स फिल्मको गीत माँग लुँगी मैं तुझे तकदीर से जी नहीं भरता तेरी तहरीर से सुन्दै सुत्ने प्रयासमा आँखा बन्द गरें ।

२५ गते आइतबार
औषधीको प्रभावले होला द्वाल्खा आएको छैंठौं रात पहिलो पटक पूरा मस्तले निदाए छु । ंविहान ७ बजेतिर निंद्रा खुल्यो । जिउ केही हलुका महसुस भयो । रातको ज्वरोले पनि छोडेर गएछ क्यारे । फ्रेस हुन नुहाएं । त्यसपछि माथि कौशीमा गई कमलाले दिएको चिया पिएं ।

आज मौसम रोमान्टिक थियो । मन चञ्चल हुन थाल्यो । मोबाइलबाट ती मनोरम प्राकृतिक दृश्य क्यामरामा कैद गरें । अगाडीको हुस्सु र पहाडको मिलनको दृश्यले जति नै मन चञ्चल भएपनि, मेरो कल्पनाले संसार डुले पनि आखिरमा म एक्लै थिएं । यदि यस्तो मौसममा प्रेमिल जोडी भएको भए कति रमाइलो हुन्थे होला यहि सोच्दै कल्पनामा हराउनु बाहेक म संग अर्को विकल्प थिएन । करिब एक घण्टा मनमा उठेका अनगिन्ति प्रेमका तरंगहरुसंग एक्लै जिउँदै कोठामा आएं । आज दिनमा कुनै अर्को कार्यक्रम छैन । आज षष्ठीको दिन अर्थात भैरव कुमारी जात्राको अन्तिम दिन । त्यसैले बाकि समय कहाँ विताउने भन्दै सोच्न थालें ।

अन्तमा पुनः चम्पुचा पार्क नै जाने विचार गरें । क्यामराको साथमा काठमाडौंबाट ल्याएको बुग्देउको जात्राको बेला आफूले खिचेको पोष्टर लिएर भीमेश्वरको दर्शन गर्न निस्कें । भीमेश्वरको मन्दिर प्राङ्गण मै वडा अध्यक्ष विराजजीलाई भेटें । पहिलो पटक वहाँले खाना खानु भो भनि सोधेर आफ्नोपन देखाउनु भयो । अह,ं खाएको छैन भनि जवाफ दिएं । मेरो हातमा केही देखेर के हो ? भनि सोध्नु भो । तपाई र भाई हरिदर्शनलाई भनि पोष्टर ल्याइ दिएको भने पछि दिनु न त भनि माग्नु भो । मैले सहर्ष दिएं । त्यही मौकामा पुनः अन्तरवार्ताको लागि अनुरोध गरें । तर काम छ वडा कार्यालयमा आउनु भनि पाइला अगाडी बढाउनु भो । वहाँ कै साथमा हरिदर्शन भाई र बालगोपाल दाई पनि संगै थियो । वहाँहरुले सबै जना चरिकोट कामले जान लागेको भनेपछि वडा कार्यालय जानुको औचित्य देखिन । तसर्थ म सिधै भिमेश्वरको मन्दिर पछाडीको बाटो लागें त्रिपुरासुन्दरी माई तर्फ ।

मन्न खिन्न भयो । किन अन्तरवार्ता दिन आनाकानी गर्दै हुनुहुन्छ केही थाहा भएन । मनमा रीसको साथै दुःख पनि थियो । तर पनि म विवश थिएं । म सिधै सिंढीबाट तल झर्दै अगाडी त्रिपुरासुन्दरी माईको सुन्दर तस्विर खिच्न थालें । वि सं २०७५ सालमा आउँदा खेरी बनाउँदै गरेको मन्दिरले पूर्णता पाइसकेको थियो । म विस्तारै चम्पुजा पार्कको सानो गेटतिर बढ्दै गएं । भित्र हिजो अस्ति झैं सुनसान थियो । मलाई देखेर बीचमा ठींग उभिएको महादेवले पनि के नै भनोस् र ? मेरो विवशतामा उ पनि मौन बनि रह्यो । म सिधैं अझ तलतिर गएं । त्यहाँ बाट पछाडीको पहाडका साथै नदी राम्ररी नियाल्न सजिलो थियो । त्यहीं बसि झण्डै एकघण्टा प्रकृतिलाई नियाल्दै बसें । थकित मन बिसाएं । केही दुखेको मनलाई सहलाएं ।

प्राकृतिक दृश्य हेरी कल्पनामा रमाएं । सेल्फीका साथै धेरै फोटो र भिडियो खिचें । त्यसपछि पुनः माथि आएं । बगैंचाको चारैतिर बस्नको लागि राखिएको बेन्चतिर अगाडी बढें । त्यहीं बच्चाहरुको एक हुल खेलिरहेको देखें । मलाई देख्ने वितिक्कै ती साना भाइबहिनी मध्ये एकले तपाई रेखा शाक्य हगि भनि हाँस्दै मेरो अगाडी आयो । मैले हाँस्दै कसरी चिन्यौ त भनि सोधें । ती साना भाईले तपाईलाई फेसबुकमा देखेको । हाम्रो टोलका सबैले चिन्नुहुन्छ । तपाई फोटो खिच्न आउनु भएको हगि भनि मेरो क्यामरालाई छोएर हेर्न थाल्नु भयो । अघि देखि रुँदै गरेको मेरो मन ती सानाभाई बहिनीहरुको कुराले मुस्कुराउन थाल्यो । अनि आउनु हामी सबै जना फोटो खिचौं भन्दै ट्राइपडमा मोबाइल राखेर सामुहिक फोटो खिचें । सबै फोटो हेरेर दंग थियो । तिनीहरुसंग विदा लिई म पुनः कोठातिरै आएं ।

त्यो दिन खाना समेत खान मन लागेन । यतिकै ओछ्यानमा पल्टेर बसें । दिनमा सुतें पनि । बाहिर गएर पनि कहाँ जानु ? गीत सुन्दै समय व्यतित गर्दै बसें ।
साँझ भाई अजयले आज कतै बाहिर खाने कायक्रम नगर्नुस् है आज घरमै बेलुकी खानु भन्यो । बेलुकी करिब ७ बजेतिर माथि गएं । कौशीमा एक परिचित अनुहार देखें । वहाँ दाजु मुक्ति प्रधान । वहाँलाई काठमाडौंमा हुने केही कार्यक्रममा भेटी सकेकी थिएं । अचम्म लाग्यो । कहिले आउनु भो दाई भनि सोधें । विहान आएको भन्दै अगाडी बनेको घर आफ्नै हो र अजय मेरो भतिज हो भन्नु भयो । त्यसपछि केही कुराकानी कै बीचमा अजय, मुक्ति दाइ र म खाना खान थालें । वहाँ द्वाल्खामा बन्दै गरेको घरको कामको साथमा जात्रा पनि हेर्न आउनु भएको रहेछ । वहाँसंग विदा लिइ म पुनः कोठामा आइ बेलुकी चाहिने सामान मिलाइ बसें ।

आज पनि हल्का पानी पर्दै थियो । त्यति नै बेला मुकेश भाइको फोन आयो । अस्ति पनि जात्रामा आउनु भएन आज आउनु हुन्छ कि नाइ भनि सोध्यो । म आज आउने भने पछि बजारतिर कुरेर बस्छु भन्नु भो । मैले पनि हुन्छ भनि दिएं । बेलुकीको ८ बजेतिर पुनः क्यामेरा लिई बजारतिर गएं । तर मुकेशलाई भेट्न सकिन । फोन पनि लागेन । एक्लै पिंगलटोलतर्फ लागें । पानीको धार झन झन बढ्न थाल्यो । तैपनि आज अन्तिम दिनको पूरा खिच्ने विचारले छाता समेत लिएर गएकी थिएं । त्यही हुलमा मुकेशलाई भेटें । पानी निकै परेको र जात्रा पनि शुरु नभएकोले अगाडी नै रहेको उसको सानीमाको घरमा बस्न आग्रह गर्नु भयो । हामी दुबै त्यहीं बसि जात्रा शुरु हुने प्रतिक्षा गर्दै बसें । त्यहीं कुराकानीको बीचमा आज जात्राको खास दिन तसर्थ आज सबैतिर घुमेर आएपछि कुमारी भित्र जान नमानि विरह पोख्ने दिन भनी मुकेशले सुनायो ।

झण्डै १० बजेतिर जात्रा शुरु भयो । मुकेशले ओढाएको छातामा ओत लागि केही फोटोहरु खिच्यौं । दिनदिनैको लगातार बेलुकी परेको पानीले बाटोमा माछा पनि चिप्ेिलेला जस्तो थियो । तैपनि आफूलाई सम्हाल्दै जात्राको पछि लागें । जाँदा जाँदै बहिर टोलमा पुगेपछि सुषमालाई पनि भेटें । उनीहरु जात्रा हेर्न घरबाट निस्केका थिए । आफू भने पानीले निथुक्र भिजिसकेको थियो । त्यसैले अगाडी नजाने बरु उनीहरुकै घरमा विश्राम लिन्छु भने । मलाई घरमा छाडेर उनीहरु जात्राको पछाडी लागे । आफू भिजेको ज्याकेटको साथमा क्यामरा पुछपाछ गर्दै त्यही पल्टेर बसें । जिउ भिजेकोले होला म थरथर काम्न थालें । अब विरामी हुने भो भनि सोच्दै त्यहीं राखेको ब्ल्यांकेटले ओढेर बसें । झपक्क निंद्रा आउन लागेको बेलामा सुषमा, छोरीहरु र दीक्षा बहिनीको साथमा घर फर्कियो । जात्रा अगाडी बढ्दै गयो अब पुनः यहाँ सम्म आउन समय लाग्छ भने पछि जात्रैमा रहेका कोहीलाई यता पुगेपछि खबर गर्न आग्रह गर्दै म पुनः सुत्ने प्रयत्न गर्न थालें ।

केही समयपछि निंद्रा खुल्यो । दीक्षालाई आवाज दिएं । अर्को कोठाबाट आइन । मैले जात्रा अझै पिंगलमा पुग्यो कि नाई सोध्नु न भनि फोन गर्न लगाएं । तर मेरो दुर्भाग्य । पानी परेकोले होला रातको करिब ३ बजेतिर पुग्छ भनेको जात्राको टोली २ बजेतिरै पुगेर पनि सकिसकेको जानकारी उताबाट आयो । मन खल्लो भयो । जुन दृश्य खिच्न आएकी थिएं त्यहि नै छुटेछ । अब गर्ने के ? छुटेको दृश्य अर्को साल खिच्न आउँला नि भनि मनमनै आफैलाई सान्त्वना दिंदै बसें ।

विहानको ५ बजेको आर्लम पछि ब्याग सम्हाल्दै कोठामा जान निस्कें । झिसमिसे बिहान हुँदै थियो । चन्द्रमाको ज्योति हराउँदै थियो । बाटोमा कहिं कहिं बलेको बत्तीको सहारामा बाटोमा देखेका दृश्यहरु खिच्दै म कोठामा आएं । अनि पुनः ओछ्यान भित्रै गुटमुटिएं । पानीले भिजेकोले होला शरीर पूरै चिसो थियो । ज्वरो नआओस् भनि पुनः औषधी खाएं । केहि पल सुत्ने प्रयासमा निंद्रादेवीको सहारामा गएं ।

झण्डै २ घण्टा पछि निंद्रा खुल्यो । रातको भिजेको लुगा र जुत्ता धोएर माथि कौशीमा सुकाउन गएं । कमलाले मलाई देखेर हिजो बिहान खाना खानु भएन, बाहिर खानु भयो कि दिदीले भनि सोध्न थाल्यो । जात्रामा जाँदा खासै खाने होश नहुने मलाई हिजो विहान भोकै रहेको कुरा सुनाएं । त्यसपछि ता तातो चिया ल्याएर दियो । कुराकानी मै आफू बल्ल ५ बजे कोठामा आएको कुरा सुनाएं ।

द्वाल्खाबाट धुप किनेर ल्याउन बहिनीले भनेकी थिइन् । बजारमा गएं । धुप किनें र भीमेश्वर तिर लागें । त्यहीं नै दुंगलटोलका भाई समीरलाई भेटें । भाइसंग भीमेश्वरको प्राङ्कणमा सम्झनारुपी फोटो खिचें । म भने भीमेश्वरको दर्शनका साथै धुपलाई भीमेश्वरलाई छुवाउन पुजारीलाई आग्रह गरें । वहाँले केही मन्त्र पढ्दै धुपमा टिका लगाई मलाई फुल दिनु भयो । आँखाभरी भीमेश्वरलाई राखेर म हरिदर्शन भाईको अफिसतिर गएं । मलाई देख्ने वितिक्कै वहाँले तपाईलाई दैवको कृपा रहेछ । आज कृष्णजन्माष्टमी । हामी बालगोपाल लिन जान लागेको भन्नु भयो ।

कृष्णाजन्माष्टमीको दिन । द्वाल्खामा पनि बडो धुमधामले मनाउने रहेछ । जात्रा दिउँसो हुने भन्दै वहाँले भीमसेन डबलीको पछाडी रहेको प्रहरीको प्राङ्गणमा मलाई पनि संगै लिएर जानु भयो । त्यहीं बहिनी यमुनाका साथै स्थानीय अरु दिदीबहिनीलाई भेटें । त्यहीं सुप्रिम भाईलाई पनि भेटें । कृष्णाअष्टमीको लागि प्रहरीको संरक्षणमा राखेको बालगोपालको मूर्तिका साथै गरगहनाहरु प्रहरी प्रशासनको रोहवरमा सामानहरु निकालेपछि म पनि वहाँहरुसंगै गएं । द्वाल्खाको भण्डार गृह निर्माणको क्रममा सबै देवता र गरगहनाहरु प्रहरी प्रशासनको निगाहमा राखिएको रहेछ । भीमेश्वरको प्राङ्गणमै बालगोपालको मूर्ति राख्ने काम गर्दै खटलाई सजाउन थाल्यो । म भने दर्शन पछि म पुनः कोठा मै आएं ।

विक्रमभाईले खान बोलाउनु भयो । माथि गएं । कौशीमा अमित पनि थियो । केही बेरको कुराकानी पछि आज कुथली जान लागेको कुरा सुनाउनु भयो । मलाई पनि संगै जान आग्रह गर्नु भयो । मलाई त के खोज्छस् कानो आँखा भने जस्तै भयो । दिउँसो जाने भने पछि म खाना खाएर पुनः आराम नै गर्दै बसें । पछि अमितले फोन गरी बोलाएपछि क्यामरा बोकि तल गएं । अजयको साथमा प्रकाश सर, अमित र म जाने भयौं । मनमा खुशीको तरंग थियो । जाने इच्छा गरेको ठाउँमा जान पाइने भएपछि कसको मन फुरंग नहोला र ? म उत्साहित थिएं । अमितको स्कूटर पछाडी बसेर बाटोको भिडियो समेत खिच्दै गएं । द्वाल्खा बजारबाट झण्डै ४ किलोमिटर राम्पा हुँदै पुगिने रैछ । बाटोको छे्उमै ठूल्ठूला ढुंगाको बीचबाट एक झरनाको स्वरुपमा पानी झररर झर्दे थियो । सँधै अरुले खिचेको फोटो हेरी मन्त्रमुग्ध भएको ठाउँमा आफ्नो पाइलाले टेक्दा कति खुशी हुन्छ भन्ने कुरा शब्दले बयान गर्न नसक्ने रहेछ ।
किनकी त्यस ठाउँमा पुग्ने वितिक्कै म भन्दा मेरो मन मुस्काएको अनुभव गरें मैले । पानीमा खेल्ने मनले भित्र गएं । पानीमा खेल्दै केही सेल्फी लिएं साथै अमित, भाई अजय र प्रकाशसरको संयुक्त फोटो खिचिदिएं । मन त थियो अझै केही बेर पानी मै खेल्ने तर वहाँहरु माथि पानीघट्ट भएको ठाउँमा जान थाल्यो । म पनि पछि पछि लागें । अक्सर काठमाडौंबाट बाहिर जाँदा ठाउँठाउँमा पानी घट्ट त देखेकी हुँ तर त्यति नजिकबाट नियाल्ने मौका पाएकी थिएन । पानीघट्टमा एक स्थानीय महिला मकै पिंढदै थियो । म अचम्म मान्दै स्थानीय महिलासंग कुरा गर्दै भिडियो खिच्न तिर लागें ।
त्यहाँबाट फर्केर भाई अजयले त्यहाँ पाउने मिठो दहीको स्वाद चाख्ने भन्र्दै लगे । त्यहाँ पोलेको मकै र दही पिएपछि हामी पुनः द्वाल्खा दी पुखुर्चा रिसोर्ट मै आएं । केही बेरपछि दीपक स्वप्नीलजीको फोन आयो । द्वाल्खा दरबार होटल बनाउँदै गरेका चन्द्र भुवन श्रेष्ठसंग पनि अन्तरवार्ता लिनु थियो त्यसैले म पुनः बजारतिरै लागें । वहाँसंग अन्तरवार्ता लिएं । चन्द्रजीसंगको कुराकानीमा आफू २५ वर्ष जापानमै कर्म गर्दै गरेको र आफ्नो मातृभूमिप्रतिको मोहले द्वाल्खाको विकासको लागि केही टेवा पुगोस् भन्ने मनसायले साथी माणिकको जिम्मामा द्वाल्खामा थ्री स्टार सरहको होटल बनाउन लागेको जानकारी दिनु भयो । साथै वहाँले त्यस होटलमा स्थानीयहरुको सहयोगमा द्वाल्खाको नाचको संरक्षण र सम्बद्र्धन गर्न र आन्तरिक तथा अन्तर्राष्ट्रिय क्षेत्रमा द्वाल्खाको मौलिक तथा सांस्कृतिक कलालाई सबैको सामू पुर्याउन होटलमा पाहुनालाई द्वाल्खामा हुने विभिन्न साँस्कृतिक नाच देखाउन मिल्ने समेत देखाएर पाहुनाहरुको मनोरञ्जन गर्ने र द्वाल्खामा आउनेलाई मात्र भीमेश्वरको दर्शन मात्रै द्वाल्खाको मुख्य आर्कषण नभई द्वाल्खा प्राचीन शहरमा अरु पनि थुप्रै हेर्न मिल्ने ठाउँदेखि हाइकिंगको समेत लाभ उठाउन सकिने सन्देश पुर्याउने उद्देश्य रहेको कुरा खुलस्त पार्नुभयो । वहाँको मातृभूमि प्रेम देखेर मन हर्षित भयो । वहाँलाई र वहाँको कामलाई शुभकामना दिंदै विदा लिई म पुनः कोठा मै आएं । यति बेलासम्म बेलुकीको आठ बजि सकेको थियो । दिउँसो हुने कृष्णजन्माष्टमीको जात्रा पनि सकिसकेको थियो जुन मैले कभर गर्न पाएन । त्यसैले आज चाँडै सुत्ने मनसायले निंद्रादेवीको शरणमा गएं ।

२६ गते सोमबार ।
विहान सँधै झैं उठें । माथि कौशीमा गएं । आमा संग फोनमा कुरा गरें । जात्रा सकिएको जानकारी दिएं । मां ले जात्रा सक्यो भने काठमाडौं आउन भन्नु भो । फेरी दिदी मन्दिराको पनि फोन आयो । यस्तो कोरोनाको बेलामा पनि द्वाल्खामा गएकोमा रीस पोख्नु भयो साथै नाकाबन्दी हुनै लागेको र कतै आफू द्वाल्खामा ने अड्किएला भन्दै जति सकिन्छ त्यति चाँडै काठमाडौं आउन कर गर्नु भयो । जवाफ केही थिएन म संग । अरु बेला भए गाडी जति खेर पनि पाउने । तर कोरोनाको संक्रमणको कारणले गाडीहरु पाउन मुश्किल थियो ।
दिदीको मन राख्न पहिला जुन गाडीमा आएको हो त्यसैमा आउन ड्राइभरलाई दिउँसो फोन गर्न लागेको कुरा सुनाएं । विहानको खाना खाई कोठामा आएं । ड्राइभरलाई फोन गरें । तर वहाँ काठमाडौंमा रहेको जानकारी दिंदै मंगलबार मात्रै द्वाल्खा पुग्ने जानकारी दिनु भयो । तैपनि गाडी मिलिहालेमा जति बेला पनि हिंड्न मिल्ने गरी सामानहरु प्याक गर्न थालें ।

आज दिनभरी फ्री थियो त्यसैले गम्भीरजीलाई फोन गरें । वहाँले भेटघाटमा जात्रा सकेपछि मिल्यो भने जिरी जाउँला भन्नु भएको थियो । तर उता जिरीको बाटो नराम्रो भएकोले यसपालि नजाँदा ठीक हुने कुरा गर्नुभयो ।
अरु केही काम पनि थिएन । जान त धेरै ठाउँमा घुम्न जान सकिन्थ्यो । तल्लो टोल मै पनि सबै ठाउँमा गएकी थिएन तर एकैचोटी सबै ठाउँमा गयो भने अर्को पटक आउने बहाना नहोला भनि दिनभरी कोठा मैं बसें । साँझ पनि कौशीबाटै द्वाल्खालाई नियाल्दै बिताएं । काठमाडौंका साथी राजेन मानन्धर, उदेन न्हूसाय्मि, स्कूलका साथी सुमित्रा शाक्य र मलिना महर्जनसंग साथै अरु पनि एकदुई जनासंग फोनमा कुरा गरें । काठमाडौंमा यस्तो समयमा पनि आँट गरेर एक्लै द्वाल्खा गएकोमा कोही साथीहरुले खुशी व्यक्त गरे भने कोही साथीहरु आफूहरुलाई जानकारी बिनै एक्लै गएकोमा गुनासो पोख्न थाले । अझ कोही साथीहरुले त मेरो फेसबुकमा स्टायटस देखेर र द्वाल्खाप्रति मेरो मोह देखेर अब द्वाल्खामै घरजम गरेर बस्नु भनि जिस्क्याउन समेत भ्याए । म उनीहरुको कुरा सुनेर हाँसेर जवाफ दिन्थे । यहाँ द्वाल्खामा केटाहरु पनि केटी जस्तो लजाउने मात्रै भेटें । कोही केटा जसले मेरो दिल जितोस् र मलाई द्वाल्खा छोडेर नजाउ भनेर हात समाई भन्ने ब्यक्ति नभेटेको कुरा सुनाउँदै चाँडै नै काठमाडौं आउन लागेको जानकारी दिएं । सोमबारको दिन खासै अरु महत्वपूर्ण केही काम भएन ।

यो थियो मेरो द्वाल्खामा विताएको नौ रातमा आठ दिन र आठ रातको संस्मरण । तर द्वाल्खाबाट २८ गते काठमाडौंमा फर्किने क्रममा के अनि कसरी गाडीको ब्रेक फेल भएर म नयाँ जन्मको साथमा घरमा छिरें त्यसको बारेमा जान्न चाहनु हुन्छ भने कृपया मेरो संस्मरणको पहिलो भागदेखि मसंगै रहनु भएका तपाईले पढ्न नछुटाउनु होला । बाकी को अंशको लागि प्रतिक्षा गर्नुहोस् । धन्यवाद

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!