बाँपीझ्याला, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद र केन्द्रीय सदस्यहरु निर्वाचन आयोग जाने भएका छन् । पार्टीमा आफ्नो बहुमत देखाउन प्रचण्ड–नेपालले नेतृत्व गरेको नेकपा आयोग जान लागेका हुन् । विहीबार बसेको केन्द्रीय समिति बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा संसद विघटनविरुद्ध संघर्ष समिति गठन गरेसँगै पहिलो चरणको कार्यक्रम आयोग जाने निर्णय गरेको छ ।
शुक्रबार बिहान ९ः३० बजे केन्द्रीय सदस्य तथा सांसदहरु माइतीघर मण्डलामा जम्मा भएर निर्वाचन आयोग जाने निर्णय गरेको छ । भोलि दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने जनाएको छ ।
श्रेष्ठको नेतृत्वमा २५०१ सदस्य रहने संघर्ष समिति बनाएको छ । संघर्ष समितिले काठमाडौं लगायत देशभर दैनिक आन्दोलन गर्ने निर्णय गरेको छ ।
त्यस्तै, एक हप्ताभित्र प्रदेशहरूको बैठक सम्पन्न गर्ने, १४ गतेभित्र जनसंगठनका भेला बैठक सम्पन्न गर्ने, १२ गते ७७ जिल्लाहरूको भेला बैठक गर्ने, १४ गते ७७ वटै जिल्लामा प्रतिगमनका विरूद्द आन्दोलन गर्ने पनि बैठकको निर्णय छ ।
त्यस्तै, २० गतेभित्र नगर–गाउॅपालिकासम्म बैठक, भेला गर्ने, २५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ ।