१० पुस, बाँपीझ्याला, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले संयुक्त अरव इमिरेट्स (यूएइ) हुने आगमी संस्करणको टि टेन लिग खेल्ने भएका छन् ।
बुधबार राती सम्पन्न ड्राफ्टमा अलराउन्डर करण केसी, सोमपाल कामी र कुशल मल्ललाई तीन फरक फरक फ्रेन्चाइज टोलीले अनुबन्ध गरेका छन् । सोमपाल मराठा अरेवियन्समा अनुबन्ध भएका छन् । टि टेन सोमपालको दोस्रो विदेशी लिग हुने छ । सोमपालले गतवर्ष ग्लोबल टि२० क्यानडा विनिपेग हक्सबाट खेल्दै च्याम्पियन बनेको थिए । कुशल र करण पहिलो पटक विदेशी लिगमा जोडिएका हुन् ।
१६ वर्षिय युवास्टार कुशल मल्ल टिम आबूधाबीबाट खेल्ने छन् । आबूधाबीमा पारस खड्का इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा छन् । टिम आबूधाबीमा यूर्निभर्सल बोसका नामले परिचित वेस्टइन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेल छन् । टिम आबूधाबीबाट गतवर्ष पारस खड्काले खेलेका थिए ।
नेपाली घरेलु क्रिकेटका नियमित सदस्य रोहन मुस्तफा पनि टिम आबूधाबीमा हुँदा कुशललाई सहज हुने छ । आक्रामक र ठूला सटका लागि परिचित कुशल आफ्नो स्पिन जादुमा पनि ब्याट्सम्यानलाई फसाउने गर्दछन् ।
करण पुणे डेभिल्समा अनुबन्ध भएका छन् । समग्रमा टि टेन लिगमा अनुबन्ध हुने करण पाँचौ नेपाली खेलाडी हुन् । सोमपाल र करण दुबै तीव्र गतिसँगै तल्लोक्रममा आक्रामक ब्याटिङको लागि नेपाली क्रिकेटमा परिचित जोडी हुन् । यी दुई खेलाडी नेपाली क्रिकेटका पहिलो रोजाईका तीव्र गतिका बलर हुन् ।
गत वर्ष पारसले पहिलो पटक टि टेन लिग विदेशी लिगको रुपमा आबूधाबीबाट खेलेका थिए । यस पटक भने पारस फरक भूमिकामा छन् । सन्दीपले दुई संस्करण खेलि सकेका छन् । यस पटक सन्दीप अष्ट्रेलिया विग ब्यास लिगसँग जुधेको हुँदा टि टेन लिग खेल्ने छैनन् । टि टेन जनवरी २८ देखि फेब्रुअरी ६ सम्म चल्ने छ । जारी बिग ब्यास लिग फेब्रुअरी ६ मा सकिने छ । होबार्ट हरिकेन्समा अनुबन्ध भएका सन्दीप अष्ट्रेलियामा क्वारेन्टाइनमा छन् ।