Search

द्वाल्खाको ऋणी बने म यसपटक–६

द्वाल्खाको ऋणी बने म यसपटक–६

रेखा शाक्य, राजमति
ताहाचल, स्वतन्त्र पत्रकार/ फोटो पत्रकार

पाँचौ अंकको अन्तिम अंश…
धेरै बेरको प्रतिक्षा पछि सेङ भगवानतिर बाजाको आवाज नजिकिंदै आयो । त्यहाँ पनि भैरव कुमारी नाच्न थाले । सबै दृश्य क्यामरामा खिच्दै पुनः भीमेश्वर मन्दिरसम्म पछि पछि लाग्दै फोटो खिचें । भैरव र कुमारी द्वाल्खा भीमसेनको अगाडी बसि पुनः नाच्न थाले । त्यसपछि पुनः त्रिपुरा सुन्दरी माई तर्फ लगियो । म भने सरासर आफ्नो कोठातिर लागें । घडी हेरें रातको दुई बजिसकेको रहेछ । भोक प्यास सब भुल्दै म जुत्ताको हिलो सफा गरी भिजेको लुगा चेन्ज गरी सुत्ने तरखरमा ओछ्यानमा पल्टें भोलिको नयाँ विहानीका साथै नयाँ उमंगको आशामा ।

छैंठौं अंकको शुरुवात
आज २०७७ श्रावण २३ गते शुक्रवार

हिजोको थकाईको असरले होला सम्पूर्ण जिउ दुखेको अनुभव भयो । विहान उठ्नै अल्छी लाग्यो । त्यसैले ६ बजे मात्रै उठें । माथि गई चिया पिएं । भाई अजयले एउटा कायक्रममा आउनु पर्छ भनि निम्तो दिएको थियो । कार्यक्रम समाजसेवी एवं महिला व्यवसायी सकुना श्रेष्ठले आफ्ना स्व. बुबा र स्व. आमाको सम्झनामा स्कूलको हल र स्काउटका विद्यार्थीहरुलाई सोफा सेट तथा खेलकुद सामग्री हस्तान्तरण गर्ने थियो । विहान १० बजेको समय थियो । हतार हतारमा नुहाइ धुवाई गरी भीम माध्यामिक विद्यालयको हलमा पुगें । कार्यक्रममा विशेष अतिथि नगरप्रमुख भरत केसी र अतिथि वडा नं २ का वडा अध्यक्ष विराजमान श्रेष्ठ लगायत सम्बन्धित अन्य गन्यमान्य व्यक्तित्वहरुको आसन ग्रहण सकिसकेको थियो । कार्यक्रममा खासै मैले चिने जानेका त कोही थिएन । तर त्यसमध्ये दिपक स्वप्निलजी, महेन्द्र श्रेष्ठ, दिपक मास्केका साथै अमित श्रेष्ठ भने उपस्थित थिए ।

कार्यक्रम सकेपछि नगरप्रमुख भरत केसी संग सम्झनाको चिनो फोटो खिचें । त्यसपछि सगैको हेल्थपोष्ट चौरमा स्तनपान सप्ताह कार्यक्रम पनि हुँदै गरेको थाहा पाएर गएं । कोरोना संक्रमण नहोस् भन्ने मनसायले स्यानिटाइजर र मास्क समेत वितरण गर्दै गरेको देखें । त्यहीं रविन श्रेष्ठका साथै बहिनी विन्दिया श्रेष्ठलाई भेट्ने अवसर पाएं । कार्यक्रमका अतिथि वडा अध्यक्ष विराज श्रेष्ठ नै रहेछन् । दुई चारवटा कार्यक्रम हुँदै गर्दाको फोटो खिचें । त्यसपछि पुनः कोठामा आएं ।

मोबाइलमा घण्टी बज्यो । हेरें शान्त कृष्ण श्रेष्ठजीको रहेछ । मैले हलो भन्न नपाउँदै वहाँले त्यति धेरै दिन द्वाल्खामा बस्दा पनि फोन नगरेकोमा गुनासो पोख्नु भयो साथै आफ्नो खानाको लागि निम्तो दिनु भयो । वहाँको घर त थाहा थिएन तसर्थ दिपक स्वप्निलको साथमा आउन भन्नु भो । वहाँसंगको फोन वार्ता पछि दिपक स्वप्निलजीलाई शान्ताजीको निम्तोको बारेमा जानकारी दिंदै भोलि विहान १० बजे बोलाएको कुरा सुनाएं । वहाँले सहर्ष स्वीकार गरी भोलि संगै जाने कुरा तय गर्नु भयो ।

रातीको हिलो लागेको लुगा धोएर कौशीमा सुकाउँदै आफूपनि घाम ताप्दै बसें । आज खासै अर्को केही कार्यक्रम हुने जानकारी पाएकी थिएन । घरमा मां के गर्र्दै होला भनि सम्झी फोन गरें । बहिनी अञ्जुले फोन उठायोे । मां एक्लै भएकीले माइत आएकी रैछिन् । केही बेर बहिनीसंग अनि केही बेर मां संग कुरा गरें । मांले सञ्चो विसञ्चो सोध्नु भयो । सबै ठीक भनि झुठो बोलें । आफ्नो खुट्टा बेसरी सुनेर आइ सकेको कुरा सुनाई आमाको मन दुखाउन चाहन्नथें । कहिले फर्किने ? काम सके चाँडै फर्किनु यता काठमाडौंमा पुनः नाकाबन्दीको हल्ला चलेको छ भनि सुनाइन । मैले गाडी मिलेमा काम सक्याएर चाँडै आउँछु भनि विदा लिएं ।

काठमाडौंमा सिधा बाटोमा हिंड्ने बानी परेको मलाई द्वाल्खाको ओकाली ओराली बाटोले गर्दा खुट्टा सुन्यो शायद । घाम ताप्दै गर्दा दीक्षा बहिनीको पनि फोन आयो । उनीहरु कुथली जान लागेको र जाने भए सँगै जाउँ भन्नु भो । हिँडेर जाने भनेपछि करीब एकघण्टा क्यामराको ब्याग बोकी हिँड्ने आँट ममा थिएन । त्यसैले खुट्टा सुनिएकोले हिँड्न नसक्ने कुरा सुनाएं । जान त खुबै मन थियो कुथलीको त्यो पहाडबाट झर्दै गरेको निर्मल पानीको धार हेर्न । तर चाहना मात्रै पनि सबै एकैदिन कहाँ पूरा हुँदो हो । जान नपाएकोमा मन दुखित त थियो नै तर मेरो बसको कुरा भएन हिँडन । तसर्थ केही बेर विश्राम गर्न कोठामै गएं ।

गुल्नाको पञ्चमीको दिन लाखेनाच र धान नाच स्थानिय वासिन्दाहरुबाट

आज विहान भीमेश्वरको दर्शन गर्न पाएकी थिएन । तसर्थ दिउँसोको समयमा भीमेश्वरको दर्शन गर्न गएं । दर्शन पछि पुनः सेल्फी खिच्दै बसें । द्वाल्खा मन्दिरको साथै आसपासको दृश्य भिडियोमा कैद गरें । भीमसेन डबलीमा मैले द्वाल्खा बसाईका क्रममा भेटेका दिपक स्वप्निलजी, हरी दर्शन भाइ, प्रवीणका साथै केही भाईहरु गफ गर्दै थिए । म पनि वहाँहरुसंगै कुराकानी गर्दै बसें । त्यति नै खेर अर्का स्थानीय दिपकजीसंग परिचय भयो । कुराकानी कै क्रममा वहाँले द्वाल्खामा भीमेश्वरको दर्शन गर्न आउनेको फोटो खिच्ने काम गर्दै गरेको सुनाउनु भयो । साथै काठमाडौंका मेरा केही मित्रहरु वहाँको पनि मित्र रहेको जानकारी दिनु भयो ।

सबैसंगको गफगाफमा भुल्दा पनि खुट्टाको दुखाईले गर्दा बस्नै नसकिने अनुभव भएपछि सबैसंग विदा लिई कोठातिर आराम गर्ने मनसायले फर्केर आएं । दिउँसोको साढे १ बजि सकेको थियो । त्यति नै बेला तिर्थनारायण दाइको फोन आयो । वहाँले आज दिउँसो साढे २ बजेतिर भीमेश्वरमा राजपूजा गर्न लागेको जानकारी दिंदै समय मिलेमा आउन भने । मैले हस आउनेछु भन्दै पुनः कोठामा आउँदै गर्दा साँझ हाकुपटासीको साथमा साना नानीहरुको नाच सेंगुका साथै अन्य स्थानमा हुने जानकारी पूर्ण नारायण श्रेष्ठ (७८ वर्षीय) जी ले दिंदै तिनिहरुको पनि फोटो खिचिदिन अनुरोध गर्नु भयो । वहाँसंग पनि विदा लिई कोठामा आएं ।

आज खासै त्यति हिंडेर घुमेकै थिएन तर पनि द्वाल्खा आएदेखि विहान दिउँसो र रातमा पनि हिंड्या हिंडै भएकोले होला खुट्टाले साह्रै नै दुःख दिन थाल्यो । दुखाई सहन नसकेपछि औषधि खाई पल्टें । कतिखेर निंद्रा आयो थाहा नै भएन । आँखा खुल्दा चार बजि सकेको थियो । फोनमा हेरें तीर्थ नारायणदाइको कल पनि देखें ।

साह्रै नमिठोका साथै ग्लानि महसुस भयो । वहाँले बोलाउँदा पनि जान नसकेकोमा दुःख लाग्यो । फेरी बजारमा साना नानीहरुको नाच खिच्न जान छुट्ला भनि फ्रेस भई पुनः बजारतिर क्यामरा बोकी हिंडे । पूर्ण नारायणजीलाई बाटैमा भेटें । वहाँले नानीहरु तयार हुँदैछिन् केही समय लाग्छ भन्नु भो । त्यसैले भीमेश्वरको दर्शन गर्न गएं । हरीदर्शन भाइ अफिसमै रहेछ । वहाँलाई राजपुजामा आउन नसकेको कुरा सुनाएं । वहाँले सी सी टि भीमा रिकर्ड भएको दृश्य देखाउनु भयो । धन्य भएं म । बजारमा बाजाको आवाज आएकोले पुनः पाइला त्यतातिरै सोझ्याएं ।

बजारमा पूर्ण नारायणको साथमा वहाँको नाति प्रदेश श्रेष्ठ (वर्ष १७) क्लार्नीको धुनमा राजमति कुमति जिके वःसा पिरती गाना फुक्दै आउनु भयो साथमा साना नानीहरु त्यही धुनमा छमछम नाच्दै । हाकुपटासीमा सजिएर हिसि परेकी अनि चिटिक्क चुल्ठो बाँटेकी नानीहरु खुट्टामा जंगीसिंहको कल्ली, केशमा न्यापू सिखःको साथै घाँटीमा मुगीको माला लगाई बाजाको तालमा छमछम नाच्दै थिए । एकछिन त आफू द्वाल्खामा नभई कुनै ज्यापू दिवसको अवसरमा आएको महसुस भयो । म नानीहरुको नाचको फोटोको साथै पालैपालो भिडियो समेत खिच्दै बसें ।

बाजेको बिंडो थाम्दै आफूलाई कलिलो उमेरमा पनि संगीतमा होमिएका प्रदेशले अर्को धुन बाँसुरीमा बजायो सिरसाया हेकुं जिमि दाइचां बिउगु बोलको । त्यही तालमा पनि नानीहरु मज्जाले नाच्न थाल्यो । आसपासका स्थानीयहरु सबै आफ्नै घरको दैलोमा बस्दै ती सब नजारा हेर्दै थिए । मान्छेहरुको भीड थिएन तर पनि नानीहरुको नाच्ने जोशमा कमी देखिएन ।

नाच सकेपछि पूर्णनारायणजीसंग कुरा गरें । वहाँले आफ्नो बुढेसकालमा पनि द्वाल्खा प्राचीन नेवाः बस्ती भएको नाताले आफ्नो मौलिकपनलाई जीवित राख्न आफूले सक्दो कार्य गर्दै स्थानीयका नानीहरुलाई नाच सिकाउँदै आएकोे सुनाउनु भयो साथै नानीहरुले सिक्ने चाहना देखाए पनि केही स्थानीयहरुले आफ्ना नानीहरुलाई नाच्न अनुमति नदिएको दुखेसो पोख्नु भयो । त्यस्तै नाति प्रदेशसंग पनि केही कुराकानी गरें । वहाँमा बाजेको बिँडो थाम्ने बडो युवा जोश पाएं मैले । संगीत भनेपछि हुरुक्कै हुने र बाजेले जस्तै आफूले पनि द्वाल्खामा नेवाःपन बचाउन संगीत सिक्दै गरेको बताउनु भयो । नाचटोली पुनः भीमसेन डबलीतिर लाग्यो ।

त्यहाँ दिपक स्वप्निलले प्रदेशले बजाएको बाँसुरीको धुनमा एक नेपाली गीतको धुनमा मादल बजाई सघाउनु भयो । सबै टोलीलाई प्रवीणले फ्रुटी पिलाउनु भयो साथमा मलाई पनि । वहाँहरु सबैसंग विदालिई म पुनः कोठातिरै लागें ।

आज कुमारी भैरव नाचको तेश्रो दिन । बेलुकी जान सक्ने आँट त थिएन तैपनि जाने मुड बनाएर बसें । साँझमा भाई अजयले माथि कौशीमा बोलाउनु भयो । त्यहाँ दिपक मास्के, (जसले मलाई द्वाल्खा पुग्नु भन्दा अघि कोरोना संक्रमणले यातायात बन्दको अवस्थामा कसरी द्वाल्खा पुग्न सकिन्छ भन्दै वडामा जाने देखि पास लिने सम्मको बारेमा हामी बीच धेरै भलाकुसी भएको थियो) दिनो अमितका साथै अन्य दुई जना वहाँका साथीहरु पहिले देखि नै थिए ।

आज साथीहरुको जमघट रहेछ भाई अजयको । रोजिता भाउजु पनि आइसकेकी थिइन् । वहाँ किचनमा व्यस्त । भाउजुलाई कमलाले सघाउँदै थिइ । म पनि केहि सघाउन भित्र गएं तर भाउजुले केही काम गर्न दिनु भएन । म बाहिर कौशीमा ने बसी सबैको कुरा सुन्दै बसें । त्यतिखेरै पानी पर्न थाल्यो । जति समय व्यतित भयो पानीको धार पनि उति नै बढ्दै गयो ।

गुल्नाको पञ्चमीको दिन स्थानिय बाद्यबाधक

सोचें यस्तो पानी परेको बेलामा भैरव कुमारी नाचमा फोटो कसरी खिचुं ? मनमा अन्तरद्वन्द चल्दै थियो । आखिरमा नजाने नै निर्णय गरी कोठामा आएं । औषधी खाएं । गीत सुन्दै सुत्ने प्रयास गर्दै रहें । शायद आज निंद्रादेवीलाई पनि मेरो हालत देखि ननिको लाग्यो होला । आँखा बोझिल बन्दै गयो । कल्पनामै सही निंद्रादेवीलाई आफ्नो प्रेमी सम्झी उसैको न्याना बाहुपासमा कस्दै सुतियो ।

२४ गते शनिबार
बिहान अलि ढिलै निंद्रा खुल्यो । तर सञ्चो नभएको आभाष भयो । माथि गई कमलाले दिएको चिया पिएं । सँधै झैं द्वाल्खालार्ई आँखा भरि समाएं । कोठामा आएं । आज शान्त कृष्ण सरकोमा जानु थियो । सबै तयारीको साथमा दिपक स्वप्निलजीलाई कुर्दै बसे । बल्ल साढे १० बजेतिर वहाँ माथि पाखलातिमा कुर्दै बसेको खबर गर्नु भो । उता शान्त सरले पनि समयमा नपुगेकोले कुरेर बसें भन्दै फोन गर्नु भो । हामी दुबै सुन्टोपर (लालभैरव टोल) वहाँको निवासमा पुग्यौं ।

शान्तकृष्ण सरलाई प्रत्यक्ष भेटेकी थिइन । मात्र काठमाडौंमा हुँदा फोनवार्ता मात्रै हुन्थ्यो । वहाँसंगको फोनवार्तामा हामी बीच द्वाल्खा सम्बन्धि विभिन्न विषयमा कुराकानी हुन्थ्यो । नजानिँदो तवरले वहाँसग एक अभिभावकको आत्मियतापनको सम्बन्ध गाँसिएको थियो । हामी पुग्यौं वहाँको निवास लाल भैरव रिसोर्टमा । ठूलो कम्पाउण्ड सहितको रिसोर्ट । चिटिक्क पारी सजिएको गार्डेन । मौसम अनुसारको बोट विरुवा । पहिलो नजरमा मैले देखेको नजारा । वहाँले हामी आएको देखेपछि एकदम जोशले भरिपूर्ण रुपमा स्वागत गर्नु भो । पहिलो पटक प्रत्यक्ष रुपमा भेटें मैले वहाँलाई । उमेरले ७० वर्ष पुगेका वहाँ तर आँखामा युवाको जोश अनि कुरामा उत्साहित भाव देखें । गोरो तर कपाल पुरै सेतो । चिम्स परेको आँखा तर त्यसबाट नियाल्ने शक्ति अजबको ।

हामी वहाँले बस्न इशारा गरेको मेचमा बस्यौं । चियापान संगै कुरा गर्न थाल्यौं । हुन त मैले द्वाल्खा आउँदा वहाँसंग अन्तरवार्ता लिन्छु भनेका थियौं । तर त्यो दिन म केवल वहाँलाई बुझ्न चाहन्थे । के हो शान्त कृष्ण ? वहाँबाट के के कुरा खोतल्न सकिन्छ त्यो जान्नु थियो । म एक अनुभवी एफ एममा कार्यक्रम प्रस्तोता । एफ एममा कार्यक्रम गर्दा कुनै पनि व्यक्तित्वको अन्तरवार्ता लिन वहाँको बारेमा जान्नु आवश्यक छ भन्ने अनुभव थियो नै म सँग । त्यसैले पनि पहिलो भेटघाटमा म अन्तरवार्ता लिन चाहन्नथें । वहाँसंग झण्डै डेढ घण्टाको चियागफ मै धेरै कुराकानी भयो । वहाँले आफ्नो बारेमा साथै द्वाल्खाको विगतको देखि वर्तमान सम्मको वर्णन सररर गर्नु भयो ।

गुल्नाको पञ्चमीको दिन नेवाः नाच स्थानिय बासिन्दाहरुबाट

साथै मैले द्वाल्खालाई प्राचीन बस्ती भनि जुन लेखमा लेख्ने गथ्र्यो त्यो देखेर प्रसन्न भएको कुरा सुनाउँदै द्वाल्खालाई प्राचीन वस्ती भनि पहिलो पटक लेख्ने व्यक्ति नै आफै भएको कुरा बडो गर्वका साथ सुनाउनु भयो । म वहाँको सबै कुरा मोबाइलमा रिकर्ड गर्दै थिएंं । जसरी म एकतमासले बोल्ने गर्थें वहाँको पनि त्यस्तै बोल्ने बानी देखे । हामी बीच उमेरमा असमानता थियो । तर कुनै पनि कुराको बारेमा खोतल्ने, जान्ने बुझ्ने रुचिमा भने समानता थियो । शायद त्यसैले पनि वहाँ र मेरो बीच कुरा जमेको हुन सक्छ ।

कुराकानी कै बीचमा वहाँको धर्मपत्नी कृष्णवदन श्रेष्ठसंग पनि परिचय गर्ने अवसर पाएं । वहाँ काठमाडौं कै निवासी हुनु हुदो रहेछ । द्वाल्खामा पहिलो पटक काठमाडौंमा बोलिने नेपाल भाषामा वहाँसंग कुरा गर्न पाएं । वहाँ पनि खुशी हुनुभयो । वहाँले खाना तयार भइसकेको जानकारी दिनु भो । हामी तीनै जना भित्र गयौं । एकैछिन पछि खानाको विभिन्न परिकार टेबलमा सजियो । खाना स्वादिलो थियो । खाना खाइसकेपछि वहाँले आफ्नो सानो पुस्तकालय भन्दै अर्को कोठातिर लगियो । कोठाभरी पुस्तकै पुस्तक तर पनि सबै व्यवस्थित रुपमा राखिएको । मैले आफूलाई चाहिने केही पन्नाहरुको मोबाइलले नै फोटो खिचें । त्यसपछि मिठो अनि स्वादिलो खानाको लागि धन्यवाद दिंदै वहाँसंग विदा लिइ फर्कियौं । दिपकजी आफ्नो अर्को काम भएकोले मलाई बसपार्क सम्म छोडी जानु भो । म एक्लै आफ्नो कोठामा आएं ।


दिउँसो पुनः क्यामरा बोकी भीमसेन डबलीतिर गएं । सँधै झैं सबै जमघटमा थिए । प्रविण, हरिदर्शन, मुकेशको साथमा वडा अध्यक्ष विराजजी पनि थिए । भेट्न चाहेको व्यक्ति नजिक भएपछि आफ्नो कामको लागि अध्यक्षसंग अन्तरवार्ताको लागि पुनः अनुरोध गरें तर मलाई अन्तरवार्ता नदिने कसम खाए छ क्यारे । वहाँले केही बोल्नै मान्नु भएन । निराश हुनु स्वभाविक थियो तर मैले गर्ने के ? त्यहिं हरीदर्शन भाईले आज पाँच वर्षसम्म हुन नसकेको खटप्याखन (खरिप्याखन) आज हुन लागेको जानकारी दिंदै त्यो कभर गर्न सुझाव दिनु भयो । मेरो लागि यो सुनौलो अवसर थियो । खटप्याखनको बारेमा भगवानदास दाजु संग भेट्यो भने त्यसको बारेमा धेरै कुरा बुझ्न पाइने समेत सल्लाह दिनु भयो । वहाँलाई धन्यवाद दिंदै म लागें दुंगलटोल तिर ।

जति जति दुंगल टोल नजिक पुग्थ्यो बाजाको आवाजले मलाई रोमान्चित गरेको भान हुन्थ्यो । स्थानीयहरु जात्रा हेर्नकै लागि होला आफ्नो घरको दैलोमा स्थानीय महिलाहरुको जमघट देखें । मलाई देखेर सबैले हेरिरह्यो अचम्म मान्दै । मेरो पहिरन नै त्यस्तै थियो क्यार । हाफ पाइन्ट र टप्स । त्यसमाथि शीरमा क्याप । अनि पछाडी ठूलो क्यामराको ब्याग ।

माजसेवी शान्त कृष्ण श्रेष्ठको घरमा आमन्त्रणलाई पालना गरे पश्चात वहाँ संगै एक सेल्फी साथमा दिपक स्वप्नील

हातमा झुण्डिएको क्यामरा । शायद नौलो लाग्यो होला । म त काठमाडौंमा जात्रामा जाँदा अक्सर यस्तै पहिरनमा जान्थें । काठमाडौंमा त अक्सर कतिले अरे केटो भन्थानेको त केटी पो रैछौ भनि आफ्नै अगाडी भनेको समेत सुन्न पाइन्थ्यो । म त्यति बेला केवल हाँसी दिन्थें । जात्रामा जाँदा मेरो गेटअप अक्सर केटाको नै हुने गथ्र्यो । मलाई सजिलो पनि लाग्थ्यो यस्तो गेटअपमा जात्रामा दौडधुप गर्न । तर त्यो दृश्य काठामाडौंमा जस्तो द्वाल्खामा सबैलाई सहज नभएको महसुस गरें । तर के गर्ने ? पाइन्ट वा हाफ पाइन्ट भन्दा अरु पहिरनमा जाँदा असजिलो हुने कुरा शायद वहाँहरुले बुझ्नु हुन्न । अनि अर्को कुरा द्वाल्खामा त्यसरी रातविरात क्यामरा बोकी कुनै महिला हिंड्ने चलन थिएन शायद ।

म दुंगलटोलको नाटेश्वर डबलीनिरको घरमा पुगें जहाँ मानिसहरुको जमघट थियो । सोधें जात्रा कहिले हुन्छ ? तिनीहरु मध्ये एकले अलि समय लाग्छ भनेपछि म पुनः चम्पुजा पार्कमा गएं । तर आज मलाई चम्पुजा पार्कले आर्कषण गरेन । किन किन मन खल्लो अनुभव भो । न त्यहाँको हरियालीमा मन भुलाउन सकें न त त्यो डाँडापारीको पहाडमा मन डुलाउन सकें । न त त्यहाँ कल्पना गर्न हुस्सु थियो न त त्यहाँ कुनै सपना बुन्ने बहाना थियो । भीर तलको नदीले पनि मेरो विवशतामा रोई आँसु बहाए सरी मन्द गतिमा आफ्नो बहावलाई अगाडी बढाउँदै थियो । त्यो घाम विनाको पहाड अनि हुस्सु विनाको दृश्य मानौं कुनै सिन्दुर पुछेको दुःखदायी नारी जस्तो भावविहीन लाग्न थाल्यो । त्यो दृश्यलाई धेरै बेर हेर्न मनले मानेन । एकछिनको शुन्यतालाई हेरी म पुनः दुंगल टोल नै आएं ।

त्यहाँको चहलपहल अघि भन्दा अलि बढी पाएं । त्यहीं हुलमा सोधें भगवानदास दाजु को हुनुहुन्छ ? मेरो कुरा सुनी निलो शर्टमा एकजना महानुभाव उठ्नु भो । मैले ठम्याएं भगवानदास वहाँ नै होला । मेरो अनुमान सही रहेछ । वहाँले आफ्नो परिचय दिंदै मलाई के को लागि भनि सोध्नु भो । मैले पनि एकै सासमा आफू काठमाडौंबाट आएकी र द्वाल्खाको गुल्ना पर्वको बारेमा जान्न आएकी भनेपछि खुशी हुनु भो । वहाँसंग आज हुने खटप्याखनको बारेमा सोधपुछ शुरु गरें ।

वहाँले पनि रत्तिभर झर्को नमानि त्यसको बारेमा आफूले जानेको र सो नाच बचाउनको लागि आफू जस्तै संस्कृतिप्रेमीहरु मिलेर वि ंसं २०६९ सालमा एक समितिको समेत गठन गरेको सुनाउनु भयो । पौराणिक कथामा आधारित यस गितीनाटकमा राजा ध्रुवसिन्धुका साथै दुई रानी मनोरमा र लीलावतीका साथै थुप्रै देवदेवीको भूमिका समेत गरी करिब ३२ जना कलाकारहरुको आवश्यक हुने र यसपालि कोरोना सक्रमणको कारणले जात्रा नै सञ्चालन हुने नहुने दुविधामा रहेकोले नयाँ कलाकारहरुलाई तयार गर्न नसकेपनि पुराना कलाकारहरुबाटै सम्पन्न गर्न लागेको जानकारी दिनु भयो । वहाँले कुरैकुरामा वाद्यवादकको कमिका साथै नाच सञ्चालन गर्न आर्थिक व्यवस्था समेत नभएको गुनासो गर्र्द राज्यले वार्षिक बजेटबाट ऐतिहासिक नाच लोप नहोस् भनि कोषको समेत व्यवस्था गर्नुपर्ने कुरा औंल्याउनु भो ।

वहाँसंगको कुराकानी पछि युवा मनिष श्रेष्ठसंग पनि वाद्यवादनको बारेमा केही कुरा गरें । वहाँ ८५ वर्षीय खिं बाजाका गुरु शुद्ध जोशीलाई साथ दिंदै आउने दिनमा वाद्यवादनमा नयाँ पुस्ता तयार गर्ने सोचमा रहेको र आफूले पनि वाद्यवादन गर्दै गरेको कुरा सुनाउनु भयो । एक युवामा आफ्नो मौलिकपनप्रतिको सदभाव देखेर तमस्तक भएं म ।

काठमाडौंमा पनि मौलिक ऐतिहासिक धार्मिक परम्परा, संस्कृति अनि संस्कार बचाउन नयाँ पुस्तालाई तयार गर्ने मनसायले बाद्यवादनको प्रतिस्प्रर्धा गरी पुरस्कारको समेत व्यवस्था गरेको कुरा लाई सम्झें । साथै काठमाडौंका मेयर विद्या सुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले नेवाःको ऐतिहासिक, साँस्कृतिक, धार्मिक परम्पराको संरक्षण र सम्बद्र्धन गर्न राज्यबाट बजेटको समेत व्यवस्था गरी सबै वडाका स्थानीयको काममा होस्तेमा हैंस्ते गर्दै अभिभावकत्वको मूख्य जिम्मेवारी निभाउँदै गरेको सम्झें ।

त्यति मात्रै नभएर महानगर दिवसको अवसरमा प्रत्येक वडाको गुँलाबाजा खलकलाई, साथै अन्य बाजाका बाद्यगुरुहरु र पत्रकारहरुलाई सम्मान स्वरुप सम्मान पत्रका साथै नगद समेत दिई हौसला दिंदै गरेको संझें । यदि काठमाडौंमा जस्तै यहाँ पनि नगरप्रमुख, उपप्रमुखले साथ दिएमा ऐतिहासिक वस्ती द्वाल्खाको मौलिकपन बचाउमा हरेक जातिको जात्रापर्वमा थप उर्जा मिल्ने र कतिपय लोप हुँदै गएका र लोप हुने कतारमा परेका जात्रापर्वको संरक्षण र सम्बद्र्धनको लागि एक बलियो आधार मिल्ने कुरामा दुई मत नहोला ।

खटप्याखनको नाच शुरु भयो । पात्रहरुको साथमा वाद्यवादनको टोलीपनि नाट्यश्वरको दबली अघिल्तिर लाम लागेर बस्यो । साँच्चै पात्रमा मात्र तीन जना कलाकार एक राजा र दुई रानीको मात्रै संलग्नता देखियो । नाट्येश्वरको प्राथना गीत र बाजाको तालसंगै कलाकारहरु हातको विभिन्न मुद्रामा नाच्न थाले । म हेर्दै फोटो र भिडियो खिच्न थालें । त्यतिबेला नै हरिसर पनि आफ्नो मोबाइलबाट लाइभ भिडियो दिंदै छेउमै आउनु भयो । वहाँसंग यो नाच कता कता पुग्छ भनि सोधें । वहाँले साप्याखनको रुट हुँदै बजारमा आउने जानकारी दिएपछि म नाचको टोलीसंग नगई बजारमै प्रतिक्षा गर्छु भनि वहाँसंग छुट्टिएं ।

म पुनः भीमसेन डबलीमा नै प्रतिक्षा गर्दै बसें । सोही बखत नेपाल राकस, जो राकसका साथै कुश्लेको टोलीका कलाकारहरु सबै थाब्न बजारमा पुग्यो । द्वाल्खा समयमै पुग्न नसकेर हेर्न र खिच्न नपाएका सबै टोली एकैचोटी एउटै स्थान बजारमा आएको देखेर मन हर्षित नहुने कुरै थिएन । म धमाधम ती दृश्यलाई क्यामरामा कैद गर्न थालें । स्वभाविक रुपमा तिनीहरुसंग बसि सेल्फी पनि खिचें । त्यति गर्दा गर्र्दै खटप्याखनको टोली पनि सेङमा पुग्यो ।

आज बजारमा अस्ति भन्दा भीड थियो । आज पञ्चमीको दिन । सो दिन राति हुने भैरव कुमारीको जात्रा हेर्न सदरमुकाम चरिकोट लगायत आसपासका ठाउँबाट समेत गाडी रिर्जभ गरि रातभर जाग्राम बसि हेर्न आउने दिन रहेछ । तर जति पहिलाको वर्षमा थियो कोरोनाको कारणले सो दिन त्यति भीड नभएपनि मान्छेहरुको उपस्थिति बाक्लै थियो । अरु जस्तै म पनि ती भीडमा सामेल हुँदै जात्रामा झुम्दै थिएं ।

त्यति नै बेला फोनको घण्टी बज्यो अजय भाईको रहेछ । फोन उठाएं । वहाँले शैलेन्द्र जोशीकोमा खाजा खान बोलाएको र अमित र आफू अहिले जोशीजी कै घरमा रहेको जानकारी दिंदै मलाई पनि छिट्टै आउन अनुरोध गरे । आफू जात्राको फोटो खिच्दै गरेको जानकारी दिंदै छिट्टै आउँछु भन्दै जोशीको घरको लोकेशन सोधें । द्वाल्खामा तल्लो टोल र माथिल्लो टोल बाहेक पाइला अन्त पुगेको भए पो लोकेशन अन्दाज लगाउन सक्थें मैले । मलाई हस्पिटल जाने मार्गमा आउनु भन्यो मैले पनि हुन्छ भनि फोन राखें । म पुनः जात्रा मै भुल्न थालें । केही बेर पछि पुनः अजयको फोन आएपछि म जात्रा छोडी हस्पिटल मार्ग तिर लम्किएं । घर थाहा भए पो तु पुगिन्थ्यो । तैपनि बाटोमा हिंडेका दुई जना आइमाइसंग जोशीको घर कता भनि सोधें ।

नभन्दै हातको इशाराले उ त्यही त हो नी भनि देखाउन थाले । जात्रामा उभिंदा उभिंदै सुनेको खुट्टा त्यसमाथि काँधमा ठूलो ब्याग । अझ त्यसमाथि सिमसिमे पानीमा रुझेको शरीर । आफैंलाई भार भैसकेको थियो । फेरी जोशीजीको घर जान पनि करिब पाँच सात मिनेट हिंड्नै बाकी । स्थानीयलाई पो सजिलो । आफ्नो लागि त नयाँ बाटो । जानु अनिवार्य थियो नै । सकि नसकि आफ्नो भारी आफैं बोकी पुगें । ढिलो पुगेकोमा क्षमा मागें । भित्र कोठामा लगियो । बस्न पा को थिएन वहाँकी बुहारीले खाजा टेबिलमा सजाइदियो । भोक त लागेकै थियो त्यसमाथि खाजामा मासुको परिकार देखेपछि मन थाम्न सकिन । खान्छु है भन्दै खान थालें ।

कुराकानी कै क्रममा अर्को आश्र्चयको पोल खुल्यो । शैलेन्द्र जोशी त मैले चिनेको सुप्रिम जोशीको बुबा पो हुँदोरैछ । हाँस्दा हाँस्दै मैले भने बुबालाई भन्दा पहिला छोरालाई चिने है । सबैजना गललल हाँस्न थाल्यो । बाहिर पानीको बेग बढीसकेको थियो । बिदा माग्नु अघि शैलेन्द्र, अजय र अमितको साथमा फोटो खिचें सम्झनाको लागि । अनि बिदा लिई पुनः कोठामा आएं । राति फेरी भैरव र कुमारीको जात्रामा जानु थियो । त्यसैले ब्याट्री चार्जमा राखि मेमोरी कार्डबाट फोटो हार्ड ड्राइभमा सारें । समय झण्डै साढे सात बजेको थियो । समय बाकी थियो । त्यसैले ओछ्यानमै पल्टें ।

दिनभरीको भागदौडको असर न हो मलाई ज्वरो आएको महसुस भयो । उठ्न खोजें खुट्टा सुनेर भुक्क फुलि सकेको थियो । पैताला मात्रै होइन प्रत्येक औंला सुनेको देखें । उठेर टेक्न खोजें तर सकिन । एकछिनमा जीउ काम्न थाल्यो । एक्लो कोठामा मलाई स्याहार्ने वा के भो भनेर सोध्ने को नै थिए र ? जाडो महसुस भो । ब्ल्यांकेटको साथमा सिरक पनि राखेर पल्टिएं । मन केही हतास भयो । जात्रामा हिजो पनि गएकी थिएन आज झन जात्रालुहरुको भीड हुन्छ भनेको जान नपाइने भो भनि मन रुन थाल्यो । बाहिर हेरें पानी त बेस्सरी नै परेको रहेछ ।

सोचें यस्तो पानी परेको बेलामा त यसै पनि क्यामरा निकाल्न सक्दिन । होस् भोलि अन्तिम जात्रामा जसरी नी जाउँला बरु आज आराम गर्छु भनी आफूले आफलाई सान्त्वना दिंदै एक को सट्टामा दुइ चक्की नै औषधी खाएं । अनि मोबाइलमा आफूलाई मन परेको रोमान्स फिल्मको गीत माँग लुँगी मैं तुझे तकदीर से जी नहीं भरता तेरी तहरीर से सुन्दै सुत्ने प्रयासमा आँखा बन्द गरें ।

अनि त्यसपछि के भयो ? के म आरामले सुत्न सकें त ? बाकी अंशको लागि प्रतिक्षा गर्नुहोस्

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!