Search

दोलखाको संक्षिप्त इतिहास

दोलखाको संक्षिप्त इतिहास

उपेन्द्र प्रधान
गौरीशंकर हिमालको काखमा अवस्थित दोलखा जिल्लाको आफ्नै ऐतिहासिक एवं मौलिक विशेषतालाई नियाल्दा किराँतकाल, लिच्छवीकालदेखिको ऐतिहासिक पृष्ठभूमि बोकेर मल्लकालीन मठ–मन्दिर, देवदेवालय, मूर्तिकला, धार्मिकस्थल, ऐतिहासिक दरबार एवं चैन्यहरु रहेको यस दोलखा जिल्लाको ऐतिहासिक शहर हालको भीमेश्वर साँस्कृतीक नगर दोलखा नेपाल भित्र मात्र नभएर नेपाल बाहिर पनि उतिकै प्रख्यात र ख्याती प्राप्त रहेको पाउंछौं ।
ऐतिहासिक पृष्ठभुमीलाई नियाल्दा, नेपाल र तिब्बतको बीच ब्यापारीक कारोबारको लागि बाटोघाटो खुलेपछि दोलखाको विकास भएको मानिन्छ । अर्शुवर्माको समयमा भोट संग नेपालको सम्बन्ध कायम भएको र भोट मार्फत तिब्बतसंग पनि नेपालको सम्बन्ध कायम भएको पाईन्छ ।

दोलखा भीमेश्वरको शिला अनी दायाँ बायाँ कुन्ती र द्रौपती

नेपाल र तिब्बत बीचको ब्यापारीक मार्ग खुलेपछि चीन र भारत बीच आवत जावत गर्ने बाटो पनि नेपाल कायम भएको पाईन्छ । मल्लकालमा डेढशय दशक स्वतन्त्र राज्यको रुपमा रहेर यसले गरेको संस्कृतिको विकासले गर्दा आजसम्म नेपालको इतिहासमा जवसम्म दोलखाको इतिहास पूरा हुँदैन तवसम्म नेपालको इतिहास अधुरो हुन्छ भन्ने ईतिहासविद् शिरोमणी बाबुराम आचार्यको भनाईले प्रशिद्धता पाइएको छ ।

दोलखामा मानव जातीको बस्ती कहिले देखि बस्यो त ?
ऐतिहासिक शहर दोलखामा मानववस्ती कहिलेदेखि बस्यो भन्ने एकिन गर्न सक्ने प्रमाणहरु त अझसम्म पनी भेटेको छैननी तर यहाँको वस्ती महाभारतकाल संग जोडिएकोले द्वापरयुग देखिनै दोलखामा वस्ती बसेको भन्ने अनुमान रहेको पुष्टी भएको छ ।
किम्वदन्ती अनुसार जव पाँच पाण्डवहरु गुप्तवास बस्नु भन्दा पहिले गौरीशंकर र त्रिपुरासुन्दरी भगवतीको प्रार्थना गर्न यहाँ आएका थिए भन्ने भनाई रहेको छ । जुन तथ्यलाई सावित गर्न यहाँ केही श्लोक रहेको छ जसलाई दशैमा धेरैले पाठ गर्छन् ।

गुप्ती नाम धरीसकी नगरमा पसन्या बखतमा पनि,
कस्ता रीतिसित कष्ट भोग गरी यहाँ उत्तीर्ण हौला भनी,
चिन्ता धेरै हुँदा युधिष्ठिरको मनमा लहड गयो,
सम्झी झट्ट त्यहाँ जगत जननीको स्तुतीको लहड गयो,
गुप्तवास पछीपनी पाण्डवहरुले सुख पाएनन् ।

प्राचिन त्रिपुरासुन्दरी मन्दिर, २०७२ भन्दा अगाडी

कौरव र पाण्डवविच लडाई भयो । जसलाई महाभारत लडाई भनीन्छ । उल्लेख भएअनुसार भीमेश्वर मन्दिरको पूर्वी पर्खालको मध्यभागमा महाभारतकालिन तेलिया ईटमा अंंकित चित्रहरु अद्यापी छदैछन् । लडाईमा दाजुभाई, आफन्त धेरैको मृत्य भएको कारणले मृत्यु हुनेहरुको चिरशान्ती र जिउँदो हुनेहरुको आमशान्तीको लागि युधिष्ठीरले महायज्ञ गर्ने विचार गरे । यस महायज्ञमा मुख्य पुरोहित ऋषीलाई राख्ने बिचार गरी हिमालमा तपस्या गरीरहेका ऋषिलाई लिन भीमसेनलाई पठाए । आपत पर्दा जगत् जननी त्रिपुरासुन्दरी देवी भगवतीको प्रार्थना गरेको स्थान हिमाल जाने विचार गरी पुनः दोलखा आए ।

यसरी शक्तिशाली भीमसेन, आमा कुन्ती, पत्नी द्रौपती तथा भाइ नहकुल र शहदेवको आकृती विहिन् मुर्ति सम्झना स्वरुप स्थापना गरी पुजिन थालेको अनुमान गर्न सकिन्छ । यसबाट के प्रमाणीत हुन्छ भने द्वापर युगदेखिनै दोलखामा बस्ती सकेको अनुमान गर्न सकिन्छ ।
अर्कोतर्फ “शतपथ ब्राहमणमा उल्लेखि भएअनुसार माधव विद्रोह नामबाट विदेह राज्यको नामाकरण भएको पाईन्छ । यसै गरी बौद्ध संस्कृती वाङ्मय, बौद्ध र जैन रामायाण तथा महाभारत आदि साहित्य तथा मैथिली लोकगाथामा मिथिलाको सिमा बारेमा यस्तो भन्ने गरेको पाईन्छ ।
गंगा गण्डकी कोसी हिमवर्त परिवेश, दक्षिण, पश्चिममा गण्डक, पुर्वमा कोसी र उत्तरमा हिमालसम्म फैलिएको प्राचिन मिथिला र विदेहको राजधानी जनकपुर हो भन्ने मान्यता रहेको छ । यसै गरी यहाँ छपन्न जना जनक राजाहरुले राज्य गरेको भन्ने ऐतिहासिकता रहेको छ । यसमध्ये सिताका पिता शिरध्वज राजा जनक चौविसौं राजा थिए । यसले के प्रमाणीत गर्छ भने प्राचिन कालिन समयमा दोलखामा विदेह जनक राजाको राज्य अन्तर्गतको प्रतित हुन्छ । (स्रोत ः अधुरो मधेस यात्रा, महाजन यादव : २०६८)

यसै गरी र्ईतिहासविद् शिरोमणी बाबुराम आचार्यले ७ औं शताब्दीदेखि दोलखामा बस्ती बसेको अनुमान गर्नु भएको छ । वहाँको भनाई अनुसार जवसम्म दोलखाको ईतिहास काठमाण्डौंको मल्लकालिन ईतिहास संग जोडिन्दैन तवसम्म अङ्गहिन् हुन्छ । त्यसैले नेपालको इतिहासमा जवसम्म दोलखाको इतिहास पूरा हुँदैन तवसम्म नेपालको इतिहास अधुरो हुन्छ भन्ने ईतिहासविद् शिरोमणी बाबुराम आचार्यको भनाईले प्रशिद्धता पाइएको छ ।

प्राचिन दोलखा शहर र पृष्ठभुमीमा गौरीशंकर हिमाल

ऐतिहासिक शहर दोलखामा किराँतकाल, लिच्छवीकाल र मल्लकालिन शासकहरुले शासन सत्ता सञ्चालन गरेको ईतिहासले गर्दा अझ बस्ती, बसाईको बारेमा अध्ययन र अनुसन्धान गर्नको लागि थप टेवा पुगेको छ ।

नेपालको इतिहास निमार्णमा बाबुराम आचार्यले दोलखाको ऐतिहासिक अस्तित्वको शंखनाद पश्चात् धनबज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठ को अथक प्रयासबाट वि.स. २०३१ सालमा दोलखालाई इतिहासको पानाभित्र राखिराख्ने जमर्को स्वरुप “दोलखाको ऐतिहासिक रुपरेखा” तयार भयो ।

साँस्कृतिक दोलखा शहर अहिले

दोलखा राज्यका किरातवंश, लिच्छविवंश, पात्रवंश र मल्ल एवं शाह वंशीय राजाहरुले राज्य गरेको भनिन्छ । तर किरातवंश, लिच्छवि राजाहरुको नाम अभिलेख भेटाउन सकिएको छैन । पाशवंशका राजाहरुको केही अभिलेख भेटिएबाट तिनीहरुको शासनकाल कार्य सम्वन्धमा निम्न अनुसार प्रस्तुत गरिएको छ ।
जुनवेला नेपाल उपत्यकामा यज्ञमल्लको शासन थियो । त्यसवेला ने.सं. ५७४ (वि.सं. १५३१) मा युद्ध गरी धेरै प्रदेशहरुले राज्यको क्षेत्रफल बढाए । त्यस युद्धमा दोलखाका शासक कीर्तिसिंहले भाग लिएका थिए । नेपालका राजना मल्लको विजय उत्सवमा दोलखाका शासक कीर्तिसिंह पुगेको अनुमान गरिएको छ । यिनका पालामा पिङ्गल टोलमा ने.सं. ५८० (वि.सं. १५१६) मा ढुंगे धारा बनाएको देखिन्छ । ने.सं. ५९० (वि.सं. १५२६) मा कीर्तिसिंहको पालोमा कोर्छे टोलमा श्री इन्द्र राजाको मूर्ति स्थापना गरेको भन्ने अभिलेखबाट देखिन्छ । कीर्तिसिंहले ने.सं. ५९५ (वि.सं.१५३१) मा सामन्त शासकको रुपमा शासन चलाएका थिए भन्ने देखिन्छ ।

कीर्तिसिंह :
दोलखामा गोपाल, किराँत र लिच्छवी वंशका राजाहरुले राज्य गरेको भन्ने भनाई रहेको छ । नेपाल सम्वत् ५८० अर्थात वि.सं. १५३१ सम्म दोलखामा सामन्त शासकहरु किर्तिसिंह थिए । यीनीहरु किर्तिपुरबाट दोलखाका आएको भन्ने ईतिहासविद्हरुको भनाई रहेको छ । तर यीनीहरुको वंशको बारेमा कुनै पनी अभिलेखहरु भेट्टाईएको छैननी । यसै गरी यीनी भन्दा पहिले को राजा थियो भन्ने हालसम्म कुनै अभिलेख भेटिएको छैननी । यसै गरी किर्तिसिंह र यीनका सन्तानहरुले आफ्नो थरमा मल्ल लेखिएको कहि कतै लेखिएको भेटिएको छैननी । त्यसैले यीनी पात्रवंशका ठकुरी हो की भन्ने अनुमान ईतिहासविद्हरुको रहेको छ ।

कीर्तिसिंह दोलखाका शासक भएको बेलामा केन्द्रमा यक्षमल्लको शासनकाल रहेको थियो । नेपाल सम्वत् ५७४ अर्थात वि.सं. १५१० तिर यक्षमल्लले चम्पारण लोहावर कोकी राज्यका विरुद्ध युद्ध अभियान चल्याएको थियो । यस अभियानमा दोलखामा शासक कीर्तिसिंहले भाग लिएको भन्ने भनाई रहेको छ । यसै गरी यीनको पालोमा अर्थात वि.सं. १५१६ मा नारायण र इन्द्रको मूर्ति बनाउन लगाई मन्दिर बनाएको भन्ने अभिलेख पाइन्छ । यतीवेला सम्म यीनी निक्कै शक्तिशाली भईसकेको अनुमान गर्न सकिन्छ । यसै गरी यसपछी यसको छोरा उद्धवदेव दोलखाका शासक भए ।

ईन्द्रसिह देवको प्रतिमा र नेपालको पहिलो सिक्का, महिन्द्र मल्लको पालाको दोश्रो सिक्का

उद्धवदेव
कीर्तिसिंहका छोरा उद्धवदेव हुन् । यिनको जन्म ने.सं. ५८० (वि.सं. १५१६) मार्ग शुक्ल द्वादशीका दिन दुङ्गल ने.सं. ५९५ (वि.सं. १५३१) मा दोलखाको शासक बनेका थिए । यिनको दश अवतारका मूर्तिहरु स्थापना गरेको पनि वंशावलीमा उल्लेख गरेको छ ।

ने.सं. ६०२ (वि.सं. १५३८) मा नेपाल उपत्यकाका राजा यज्ञ मल्लको मृत्यु भएपछि छोरा रायमल्ल भए र राज्य क्षेत्रको अंशवण्डा भयो । जसबाट नेपालको राज्य शासन कमजोर हुँदै गयो । अधिनस्थ शासकहरुले स्वतन्त्र राज्य घोषित गरी राज्यको अधिपति लेख्न थाले । यसैगरी दोलखाका शासक उद्धव देवले पनि दोलखापति लेख्न थाले । यस कुरालाई अभयपुर दोलखाको तीनधारा राजहिटि (राइती) ने.सं. ६११ (वि.सं. १५४८) मा कृष्णअष्टमीको दिन स्थापित श्री कृष्ण मूर्तिको पातामा “श्री श्री श्री कृष्णलाई नमस्कार दोलखाअधिपति श्री उद्धवदेव ठाकुरका पालामा” भन्ने लेखिएकोबाट प्रष्ट हुन्छ । तर कस्ले स्थापना गरेको हो प्रष्ट छैन । यसरी केन्द्रको शासन कमजोरीको फाइदा उठाउन दोलखा पनि पछि परेन । यिनले दोलखामा कति वर्ष शासन गरे र कहिले मत्यु भयो एकिन हुने प्रमाण अभिलेख भेटिएको छैन ।

नन्ददेव
उद्धवदेवका छोरा नन्ददेव हुन् । यिनको जन्म र मृत्युको सम्वन्धमा केही अभिलेख प्रमाण भेटिएको छैन । यिनको पालामा पनि केन्द्रको शासक राजाको विषयमा नाम उल्लेख गरेको पाइदैन । स्वतन्त्र राज्यको रुपमा राज्य शासन चलाएको देखिन्छ । यिनको पालामा नेपाल उपत्यका (केन्द्र) मा रत्नमल्लले शासन गरी रहेका देखिन्छ ।

हाल राजकुलेश्वर नि.मा.वि.को भवन रहेको स्थानमा पाटी थियो । यो पाटी सांस्कृतिक नाच सिकाउने रहरले बनाएको थियो । हालको विद्यालय भवन निर्माण गर्ने क्रममा खन्दा केही धातु तथा पत्थरका मूर्ति र शिलापत्र फेला परेको छ । शिलापत्रमा लेखिए अनुसार “कल्याण होस् । नारायण राजाको नमस्कार, ने.सं. ६३२ (वि.सं १५६८) माघ शुक्ल वृहस्पति बारको दिन विष्णु मूर्ति स्थापना गरियो । राजा श्री नन्ददेवले कोटीहोम गरी गजुर ध्वजा चढाइयो ।
यो देवल बनाएको हुनाले फल प्राप्ति होस वृद्धि होस् भन्ने सम्मको शिलापत्र भेटिएको थियो । हाल यो शिलापत्र हराई सक्यो फेला परेको मूर्तिहरु राजकुलेश्वर नि.मा.वि. कै शिक्षकको घरमा छ ।

तत्कालिन दोलखा राज्यको टक्सार, भी.न.पा. –२, डाडँथोक

उजोत देव
नन्ददेवका छोरा उजोतदेव हुन् । यिनको पनि जन्म र मृत्युको अभिलेख प्रमाण पाइएको छैन । बाबु बाजे भन्दा यिनी चलाख र शक्तिशाली हुँदै आएको देखिन्छ । यिनका पालामा अर्थात् ने.सं. ६४० (वि.सं. १६७६) देखि ने.सं. ६५३ (वि.सं. १६८९) सम्म विभिन्न देवी देवताका मूर्ति स्थापना गरेको थाहा हुन्छ ।

ज्ञ। उजोतदेवकी पत्नी श्रीमारुपाले ने.सं. ६४० (वि.सं. १६७६) चतुर्दशी व्रत पूरा गरी श्री भीमेश्वर मन्दिरको पूर्व उत्तरमा श्री उमामहेश्वरको मूर्ति स्थापना गरेको देखिन्छ । यसमा उजोतदेवलाई ठाकुर मात्र उल्लेख गरेको छ । दोलखाअधिपति विशेषण दिएको छैन ।
द्द। सिम्भु टोल (श्याम सुन्दर टोल) को ने.सं. ६४० (वि.सं. १६७६) को अभिलेखमा एकजना भारदारले उजोतदेवका शासनकालमा माधव नारायणको मूर्ति स्थापना गरेको देखिन्छ । यस अभिलेखमा उजोतदेवलाई दोलखा पट्टनाधिपति प्रभु ठाकुर र विजय राज्यमा भनि उल्लेख गरिएबाट एक स्वतन्त्र राज्यकै रुपमा उजोतदेवलाई देखाएको पाइन्छ ।


घ। त्यस्तै ने.स. ६४३ (वि.सं. १६७९) को डोकलुङा टोलको सरस्वतीको मूर्तिमा प्रभु ठाकुर र दुङ्गल टोलको दोलखा पट्टाधिपति उल्लेख गरेको छ ।
द्ध। भीमसेन स्थान तिर रहेको ने.सं. ६४४ (वि.सं. १६८०) को लक्ष्मी नारायणको पदवी धारण गरेको अभिलेखबाट देखिनाले यिनको राज्य शक्ति बढ्दै गएको देखिन्छ ।
छ। तीनधारा राजहिटी (राइती) पूर्व तर्फको नारायण स्थानको ने.सं. ६४४ (वि.सं. १६८०) को अभिलेखमा उजोतदेवका पालामा जीवसिंह भारोले गोपी नारायणको मूर्ति बनाई लेखिएको छ । यसताका प्रधान, प्रधानाङ्ग पदले मुख्य मन्त्री भन्ने बुझाउँदछ । उजोतदेवका पालामा राज्य शासन कार्यमा सहायता गर्न मन्त्री रहेका बुझिन्छ ।
ट। पालचोटी टोल (दोलखा) मा इन्द्र देवता स्थापना गरी पादपिठमा जजमान श्री उजोतदेव ठाकुर प्रष्ट उल्लेख भएबाट यो इन्द्र मूर्ति उजोतदेवले नै स्थापन गरेको र आफुलाई जजमान भनी इन्द्र देवताको परमभक्त सेवकको रुपमा देखाएको वुझिन्छ ।

दोलखामा उजोतदेव राजा भएको वेलामा ललितपुरमा रत्नमल्लले नै वि.सं. १५३१ देखि राज्य गर्दै थिए । त्यस वेला रत्न मल्लका दाहिने हात हर्षपाल र उनका छोरा जगतपाल थिए । यिनीहरुको सहयोगमा रत्नमल्लले ललितपुरमा अधिकार जमाएका थिए । वि.सं. १५८४ मा चापागाउँका मानिसहरु विष्णु सिंहका समर्थकहरुले जगतपाललाई पक्रेर ल्याई बाटोमा टुक्रा टुक्रा पारी मारे । यस पछि विष्णु सिंहले ललितपुरलाई स्वतन्त्र बनाई राज्य गर्न लागे । ने.सं. ६५३ (वि.सं.१६९०) मा विष्णु सिंहले दोलखाका राजा उजोतदेवलाई ललितपुर भ्रमणको निम्ता दिए । उजोत देवले पनि निम्तो स्वीकार गरी ललितपुरको यात्रा गरी पाटन हिरण्यवर्ण महाविहारमा सुनका नारायण देवता मूर्ति र घण्टा पनि स्थापना गरी चढाए । उजोत देवले ललितपुरको भ्रमण केवल धार्मिक आस्था मात्र थिएन । वैश्णव र वुद्ध धर्म दुवैमा आस्था विश्वासले मात्र भ्रमण गरेको भए धार्मिक आस्थामात्र नभई राजनैतिक कारण पनि थियो । विष्णु सिंहको दोलखासँग सम्वन्ध वढाउनको उद्देश्य मल्ल राजाहरुलाई शक्तिहिन बनाउनु र भोट तिव्वतसँगको व्यापारिक मार्ग खुलाउने उद्देश्य थियो, भने उजोतदेवलाई ललितपुरसँग सम्वन्ध बढाई राज्य शक्ति बलियो पार्ने उद्देश्य थियो ।

दोलखा तल्लो टोल स्थित कोर्छेको स्वयम्भु स्तुपा

गोविन्द देव
गोविन्द देव उजोतदेवका छोरा हुन् । यिनको जन्म र अन्य घटना क्रमको बारेमा केही अभिलेख प्रमाण भेटिएको छैन । एक पुरानो रिर्पोट अनुसार वि.सं.१५९१ मा यिनको मृत्यु भयो र ४ जना पत्नीहरु सति गए भन्ने सम्म उल्लेख भएको पाइन्छ । वि.सं.१५९० मा उनको बाबु उजोत देवले ललितपुरको यात्रा गरेको देखिएबाट यिनले धेरै वर्ष शासन गरेको र गोविन्द देव थोरै वर्ष बाची एक वर्ष मात्र शासन गरेको देखिन आउछ । गोविन्द देवका ५ छोरा थिए ।

१. इन्द्रसिंह देव
२. नित्यदेव
३. रायदेव
४. नारायण देव सिंह
५. बासुदेव

ऐतिहासिक बर्जवती धारा

इन्द्रसिंह देव
इन्द्रसिंह देव गोविन्द देवका जेठा छोरा हुन् । ने.सं.६५५ (वि.सं.१५९१) बाबु गोविन्द देवको मृत्यु भए पछि दोलखाका शासक राजा भए । तर यिनका अभिलेख भने वि.सं.१६०१ देखिको मात्र पाइएका छन् । यस अवधिमा आफ्नो राज्य व्यवस्था मिलाई बलियो पार्न तर्फ लागेको हुन सक्छ । दोलखाको इतिहासमा इन्द्रसिंह देवको स्थान रहेको पाइन्छ । दोलखाको शासनमा राजाधिराज कहलाउन पुगेका पहिलो शासन नै यिनै इन्द्रसिंह देव हुन् ।

राजनैतिक सफलताले मात्र विशेष लाभ हुने होइन आर्थिक र सांस्कृतिक पक्षमा उन्नती गर्नु वढी आवश्यक भएको कुरा इन्द्रसिंह देवले राम्रोसँग बुझेका थिए भन्ने कुरा चाँदीको मोहर र अभिलेखहरुबाट थाहा हुन्छ ।

यिनको जन्म र मृत्युको विषयमा एकिन गर्न अभिलेख प्रमाण भने भेटिएको छैन । दोलखा अभयपुर माथिल्लो टोल (लिस्टोल) स्थित वुद्ध चैत्यमा रहेको ने.सं.६६९ (वि.सं.१६०६) को अभिलेख अनुसार यस वेला सम्म राजा इन्द्रसिंह देव जिवित थिए भन्ने बुझिन्छ ।
ने.सं.६६६ (वि.सं.१६०२) मा दुङ्गल टोलमा स्थापना गरेको भैरव मूर्तिमा दोलखा प्रदेशमा श्री श्री जय इन्द्रसिंह देव आदि पाँच जना ठाकुरले शासन गरी रहेको वेलामा स्थापना गरेको भन्ने उल्लेख भएको छ ।
ने.सं.६६५ (वि.सं.१६०३) मा नै कोर्छे टोलमा रहेको भैरव मूर्तिमा यसरी लेखिएको छ “दोलखा अधिपति श्री श्री इन्द्रसिंह देव उस्की पत्नी विजय देवी, जेठा छोरा समरसिंह माहिला छोरा मूरत्राण देव, कान्छा टोरा सिंहदेव प्रमुख भइकन आरोग्य होस् भनी विजयदेवीको सुरादान गर्ने इच्छाले भैरव मूर्ति हाथ्वको स्थापना गरियो ।”
यस विजय देवीले लोग्ने र छोराहरु सबैलाई भलाई होस् भनी कामनागरी भैरव मूर्ति स्थापना गरेको बुझिन्छ ।

ने.सं.६६६ (वि.सं.१६०३) मा रानी दरवार हाल बाहर टोलमा राजाधिराज इन्द्रसिंह देव र भाइहरु सहित भई सती गएको आमा हेम लक्ष्मीको सम्झनामा भैरव मूर्ति स्थापना गरेको देखिन्छ ।
ने.सं.६६७ (वि.सं १६०४) मा आफ्नी छोरी रमणीको मृत्यु भएकोले तिनको सम्झनामा दोलखा अधिपति इन्द्रसिंह देवले कोर्छेमा रहेको तारा मूर्ति स्थापना गरेको भन्ने उल्लेख भएको छ ।
स्मरणीय के छ भने वि.सं. १६०२ को दुङ्गल टोलको भैरव मूर्तिमा र रानी दरवार (बाहार) स्थित भैरव मूर्तिमा पाँचै भाइहरुको नाम उल्लेख भएको छ भने माथिल्लो टोल (लिस्टोल) स्थित बुद्ध स्तुप वि.सं.१६०६ मा बनाउँदा इन्द्रसिंह देव सहित ४ भाइहरुको नाम उल्लेख गरेको तर कान्छा बासुदेवको नाम उल्लेख भएको देखिएन ।
ने.सं.६६९ (वि.सं.१६०६) मा माथिल्लो टोल (लिस्टोल) मा बुद्ध स्तुप बनाई कान्तिपुरका गुरु बज्राचार्यबाट प्रतिष्ठा गराई राजाधिकार श्री इन्द्रसिंह देव, राय देव, जय नारायण देव, जितादेव आदि राजाहरुको विजय राज्यमा श्री जय नारायणदेव पत्नी नारायण देवी, माहिली छोरी यतुरा समेत महामायुरी व्रत बसेर जय नारायण देव पत्नी वित्त लक्ष्मीले यो संसार निःसार छ भन्ने थाहा पाई यो धर्म धातु चैत्य स्थापना गरी सुनको चक्रवली र छत्र समेत चढाइयो भन्ने शिलापत्रमा उल्लेख गरेको छ ।
चा“दीको मोहरको टकमरी
नेपाल उपत्यकामा सर्वप्रथम राजा महेन्द्र मल्लले चाँदीको मोहर टकमारी प्रचलनमा ल्याई प्रख्यात भए । त्यस मोहरलाई महेन्द्र मल्ल भन्न थालियो । तर महेन्द्र मल्ल वि.सं. १६१७ मा बाबु अमर मल्ल (नरेन्द्र मल्ल) को शेष पछि मात्र कान्तिपुरको राजगद्दीमा बसेको देखिन्छ । दोलखाको शासक राजा इन्द्रसिंह देव भने वि.सं. १५९१ मा नै राजा भइसकेका थिए । महेन्द्र मल्लको मोहरमा र इन्द्रसिंह देवको मोहरमा सम्वत लेखिएको पाइन्न । शासन भार सम्हालेको हिसावले महेन्द्रमल्ल भन्दा १४÷१५ वर्ष पहिले नै इन्द्र सिंह देवले चाँदीको मोहर प्रचलनमा ल्याइ सकेको देखिन्छ । इन्द्रसिंह देवको मोहरको एकापट्टि “दोलखाली पति श्री श्री जय इन्द्रसिंह देव अर्को पट्टि पट्टमहादेवी श्री विजय लक्ष्मी” उल्लेख गरेको छ । यसबाट यिनका रानी विजय लक्ष्मी प्रख्यात नाम चलेको राजवंशको कन्या हुन सक्ने इतिहासकारको भनाइ छ ।

मेची देखि महाकाली पुस्तकको मध्यमाञ्चल खण्डमा र बेलायतबाट प्रकाशित ऋयष्लबनभ या ल्भउब िपुस्तकमा पनि नेपालमा सर्व प्रथम चाँदीको मोहर प्रचलनमा ल्याउने दोलखाका राजा इन्द्र सिंह देवलाई नै प्रमाणित गरेको छ । तर धेरै जसो पुरानो नयाँ इतिहासकारहरुले र सामान्य ज्ञान प्रकाशित गर्नेहरुले पनि यस सत्य कुरा थाहा नपाएको बुझिन्छ । कान्तिपुर दोलखा भन्दा ठूलो प्रख्यात भएकाले नै बढी प्रचार भएको र दोलखा पछि कान्तिपुरमा गासिएको हुनाले नै इन्द्रसिंह देवको कम प्रचार भई धेरैलाई थाहा नभएको हुन सक्छ ।

साक्षात सहकालका देवता रातो मच्छिन्द्रनाथ

इन्द्रसिंह देवको मोहरमा साल नदेखिएकोले कुन सालमा छापिएको होला भन्ने सम्वन्धमा यसरी अनुसान गर्न सकिन्छ कि रानी दरवार (वाहर टोल) को ने.सं.६६६ (वि.सं.१६०२) अभिलेखमा इन्द्रसिंह देवलाई राजाधिराजा दोलखा अधिपति लेखिएको सोही साल देखि मोहर टकमरी गरी प्रचलनमा ल्याएको हुनु सक्दो र अर्को वि.सं.१६०५ मा दोलखा कान्तिपुर र ललितपुरको शासक राजाहरुको पशुपतिमा भएको सन्धिले अझ बढी स्वतन्त्र भई शक्ति बढेकोले सोही सालमा चाँदी मोहर छापेको हुन सक्ने अनुसान गरिएको छ । अर्थात् इन्द्रसिंह देवले वि.सं.१६०२ देखि वि.सं.१६०५ को अवधिमा चाँदीको मोहर टक मारेको हुन सक्छ । त्यस बेला पैसा छाप्न टक्सार दोलखा बजारको मध्य भागमा डाँडाथोकमा थियो भन्ने भनाइ छ ।

पशुपतिको सन्धि
ने.सं. ६६८ (वि.सं.१६०५) मा कान्तिपुर, ललितपुर र दोलखाका राजाहरुका वीच पशुपति, कान्तिपुरमा सन्धि भएको देखिन्छ । कहिले शत्रुको व्यवहार पनि ग¥यौ अहिले मित्रको व्यवहार गरी दौत्य सम्वन्ध कायम ग¥यौ र भक्तपुरका राजा र उनका छोराहरुको विश्वास गर्नु हुँदैन र सिधा दिनु हुँदैन भन्ने सन्धिमा उल्लेख गरे । यस समयमा भक्तपुरमा प्राण मल्ल राजा भई रहेका थिए । यस पशुपति सन्धिले गर्दा दोलखा र ललितपुरका शासक राजाहरु स्वतन्त्र रुपले आफुलाई अधिपति राजाधिराज शासक कहलाइन थाले ।

आर्थिक विकास
राजा इन्द्रसिंह देवले सर्व प्रथम चाँदीको मोहर प्रचलनमा ल्याए । यसको लागि चाँदी भारतबाट मगाई भोटबाट सुन झिकाउने काम हुन्थ्यो । हुन त दोलखाको तिब्बत भोट र भारत सँगको व्यापार लिच्छवी काल देखि नै थियो । तर यिनको पालामा मान वृद्धि भएको वुझिन्छ । दोलखामा घरेलु उद्योगको रुपमा कपडा पनि बुन्न लगाएका थिए । कपडा बुन्ने काम धेरै पछिसम्म पनि चलन चल्तीमा थियो । त्यस वेला यहाँका वासिन्दा प्रायः धनी नै थिए भन्ने भनाइ छ । यसैले याहाँ धेरै जसोको घरमा सुनका देवी देवताका मूर्ति बनाइ राख्दथे जुन पछि सम्म पनि थियो ।

संयुक्त शासन
वि.सं.१५३८ मा उपत्यकाको राजा यक्ष मल्लको मृत्यु भए पछि उनका छोरा राय मल्ल गद्दिमा बसे । राय मल्लको साथै उनका भाईहरु समेत भई संयुक्त शासनमा रहे । संयुक्त शासनमा पनि भाइहरु सन्तुष्ट भएनन् र गृह कलह भयो । यसकालमा राज्य शासन नै अंश वण्डा लगाए । राज्य शासन अंश वण्डा लगाए पछि केन्द्रको राज्य शासन कमजोर हुन थाल्यो । दोलखामा इन्द्रसिंह देव राजा भए पछि ४ भाइ समेतले नेपालको गरी संयुक्त शासनमा लागे । संयुक्त शासनमा जेठा इन्द्रसिंह देव प्रमुख रहे पनि भाइहरु जीतदेव, रायदेव, जय नारायण देव र कान्छा बासुदेव तथा भानिज गुसय सिंहका छोरा भागुजु र समर सिंह छोरा (इन्द्रसिंह देवको) समेत दिए । यस्तो संयुक्त वि.सं. १६०३ मा वाहर टोल (रानी दरबार) मा स्थापित भैरव मूर्तिको अभिलेखमा ४ भाइको शासन कालमा सति भएकी आमा हेमलक्ष्मीको सम्झनामा भैरव मूर्ति स्थापना गरेको भन्ने देखिन्छ । तर वि.सं.१६०६ मा स्थापना गरिएको लिस्टोलको बौद्ध स्तुपमा कान्छा भाई बासुदेवकको नाम उल्लेख छैन । तर सुवर्ण चक्रावती भने बासुदेवको नाम समेत देखिन्छ । ने.सं. ६८९ वि.सं. १६२५ मा लिस्टोलमा स्थापित नारायण मन्दिरको अभिलेखबाट भने जयनारायणदेव जीतादेवको प्रभाव देखिन्छ ।

बासुदेव
दोलखाको संयुक्त शासनमा फुट पैदा भई सकेको भन्ने आभास हुन्छ । अर्को तर्फ भाइहरु मनमुटाव भई कान्छा बासुदेव काशी गएको र जेठा दाजु राजा इन्द्रसिंह देवको मृत्यु भए पछि काशीबाट फर्केको भन्ने भनाइ छ । यस भनाइलाई हाल नक्छे प्रधान परिवारले कुलस्थानमा रहेको ने.सं. ६७३ (वि.सं.१६३०) को स्वर्ण पत्र अभिलेखले पुष्टि गर्दछ ।
यस स्वर्ण पत्रमा दोलखाका महाराजाधिराज श्री बासुदेव धर्मपत्नी मयना देवीबाट श्री त्रिपुरासुन्दरीलाई यो सुनको सिंहासन चढायो आदि उल्लेख भएको छ ।
काशीबाट फर्केर आउदा श्री काशी विशेश्वरी त्रिपुरासुन्दरी देवी भगवतीको सुनको मूर्ति, सिंहासन र तोरण आदि ल्याई आएको देखिन्छ । दुई वटा स्वर्ण पत्र मध्ये एउटा देवीको मूर्ति स्थापनाको र अर्को तोरण र सिंहासनको छ । मूर्तिको स्वर्ण पत्रमा मिती उल्लेखित छ । स्वर्ण पत्रको लिपि एउटै छ ।
यदि दाजु भाईमा मन मुटाव कलह नभएको भए बासुदेव काशी गई बस्नु पर्ने थिएन र त्यहाँबाट मूर्ति ल्याई अलग कुल स्थापना गर्नु पर्ने थिएन । त्याए पनि कुलघर मन्दिरमा राखिन्थ्यो होला । अहिले पनि ४ भाइको एउटा कुलघर र कान्छा बासुदेवको मात्र अलग कुलघर हुनाले पनि दाजु भाइमा कलह फुट भएको सिद्ध गर्दछ । हाल ४ भाइको कुलघरलाई कोर्छेमीको कुल घर मानिन्छ र कान्छा बासुदेव कुलघरलाई प्रधान परिवारको कुलघर भनिन्छ ।

नक्छेमी प्रधान परिवारको कुलघरमा उजोत देवको पालामा बनाएको दोलखामा भएको मध्ये सव भन्दा ठूलो २ वटा भैरव मूर्ति, मझौला २ वटा ताराको सानो मूर्ति पनि थिए । यो मूर्तिहरु पुर्खाको सम्पत्तिको स्वरुपमा लिएको हुन सक्छ । यी मूर्तिहरु हाल चोरी भइ सक्यो ।

कोर्छेको कुलघरमा ठूलो ताराको मूर्ति र मझौला भैरव मूर्ति मध्ये ताराको मूर्ति हराइ सक्यो । वि.सं. १६३० को उल्लेखित कुलस्थानको स्वर्णपत्रमा दोलखा अधिपति महाराजधिराज उल्लेख भएको र भीमेश्वरमा चढाएको स्वर्णमय गदामा पनि महाराजाधिराज बासुदेव लेखिएकोबाट यस समयमा बासुदेवको निकै प्रभाव बसेको देखिन्छ । गदामा साल नलेखिएकोले यो गदा पनि वि.सं. १६२० वा यस पछिको हुन सक्ने अनुमान गर्न सकिन्छ । बासुदेवका दाजुहरु बाबु बाजेहरुले राजाधिराज मात्र लेखेको देखिन्छ भने यिनले महाराजाधिराज लेख्न पुगेका छन् । यसबाट दाजु, बाबु, बाजे भन्दा निकै प्रभावशाली भएको देखिन्छ ।

महाराजाधिराज बासुदेवले मच्छिन्द्र नाथको रथ जात्रा गर्नको लागि रथ बनाउनको निमिक्त लापिलाङ, लेपटुङ गा.वि.स. को जग्गा स्थानिय थामीहरुलाई विर्ता सरह दिएको र त्यस वापत मच्छिन्द्र नाथ जात्रामा चाहिने सामानहरु ल्याई रथ बनाई दिनु पर्ने गरेका थिए । थामीहरु आई रथ बनाइ दिने गर्दथे । यो चलन करिब १५ वर्ष अगाडि सम्म थियो । कान्छा बासुदेव र अन्य दाजुहरुको कुन सालमा मृत्यु भएको हो देखिने अभिलेख भेटिएको छैन । वि.सं.१६३० पछि यिनको कुनै अभिलेख पनि भेटिएको छैन ।

रुपनारायण देव ः
राजसत्ताको परम्परा अनुसार बाबुको जेठा छोरा राजा हुनु पर्ने थियो । सो अनुसार इन्द्रसिंह देवका जेठा छोरा समर सिंह देव राजा हुनु पर्ने थियो । राज्य सत्तामा जो चलाख चल्ता पूर्जा छन् उही राज्यको हर्ताकर्ता पनि हुने गर्दछ । इन्द्रसिंह देवले सबै भाइ मिली राज्य चलाई देश बलियो शक्तिशाली बनाउने विचारले सबै भाईहरुलाई शासनमा सम्मिलित गराएको देखिन्छ ।

इन्द्रसिंह देवको शेष पछि छोरा राजा हुनु पर्नेमा काका, भतिजा, भानिज समेतले राज्य चलाउने गर्ने गरेको देखिन्छ । ने.सं. ७०१ (वि.सं. १६४०) मा महेशदास र परिवार समेत भई श्री भीमेश्वरमा चढाइएको २ चक्र अभिलेखमा श्री दोलखा अधिपति भागुदेव, सुर्ताण देव, मानदेव, विखमदेव र रुपनारायण देव आदिको शासनकालमा उल्लेख भएको छ । यस मध्य रुप नारायण देवको संयुक्त शासनमा प्रवेश चाहि उल्लेखनीय छ । किनकी यिनी छोरीपट्टिका सन्तान कृष्णसेनका छोरा हुन् । आमाको नाताले सेनवंश दोलखामा अधिकार जमाउन पाए ।

कान्तिपुरमा वि.सं. १६३१ मा महिन्द्र मल्लको मृत्यु भएपछि उनका जेठा छोरा सदाशिव मल्ल गद्दिमा बसे । सदाशिव मल्ललाई हटाई शिवसिंह मल्ल राजा भए पछि ललितपुरमा आक्रमण गरी आफ्नो कब्जामा लिई सकेका थिए । यस पछि ने.सं. ७१५ (वि.सं.१६५१) मा सदाशिब मल्लले दोलखा, लिस्ती, केरुङ्ग, पूर्वतर्फ मकवानपुर र सिन्धुलीसम्म गण्डकी पारिसम्म आफ्नो अधिकार जमाइ सकेका थिए । यसरी दोलखा फेरि कान्तिपुरमा गाभियो । दोलखा कान्तिपुरमा मिलि सकेपछि रुपनारायणका सन्तान स्थानिय शासकको रुपमा कायम रहे । ललितपुर पनि कान्तिपुरमा गाभिसकेको थियो । एक शताब्दी सम्म स्वतन्त्र राज्यको रुपमा रहेको दोलखा राज्य फेरि कान्तिपुर नेपालमा विलिन भयो ।

दोलखा कान्तिपुरमा गाभिए पनि स्थानिय प्रशासन र सांस्कृतिक गतिविधि र भोटसँग व्यापारमा खास फरक परेन । प्रशासनिक क्षेत्रमा केन्द्रको मन्त्री स्तरीय भारदारहरु बडा हाकिमको रुपमा नियुक्त भए । दोलखाको पूर्व शासकहरु मध्ये भने प्रधानका रुपमा रहे । यसबाट दोलखामा प्रशासनमा दोहोरो अस्तित्व रहेको देखिन्छ ।

शिव सिंहको शेष पछि कान्तिपुरमा उनका जेठा नाति लक्ष्मीनर सिंहले कान्तिपुरमा र सिद्धि नरसिंहले ललितपुरमा अधिकार जमाए । ललितपुर फेरि कान्तिपुरबाट अलग भयो । तर दोलखा भने यथावत रहयो । ने.सं. ७६१ (वि.सं.१६९८) मा लक्ष्मी नरसिंहका छोरा प्रताप मल्ल आफ्नो बाबुलाई कैद गरी गद्दिमा बसे । दोलखामा प्रताप मल्लका पालामा थुप्रै अभिलेखहरु पाइएका छन् । ती अभिलेखहरुबाट भीमेश्वरमा चाकमत (बत्ती बाल्ने भाडो) सुनको गजुर चुडामणि फेरेको आदि उल्लेख भएको देखिन्छ ।

प्रताप मल्लको पालमा दोलखाका जग्गाहरु पूर्व शासकहरुले वेचेको देखिन्छ । पूर्व शासकहरु दोलखा अधिपतिबाट भूमिपतिमा परिणत भए । प्रताप मल्ल पछि कान्तिपुरमा भुपेन्द्र मल्ल, पार्थिवेन्द्र मल्ल, भुपालेन्द्र मल्लहरुको शासन चल्यो । भुपेन्द्र मल्ल तीर्थ गर्न जाँदा भारतमा नै मृत्यु भयो र बालक छोरा भास्कर मल्ल वि.सं. १७५७ मा राज गद्दिमा राखिए । भास्कर मल्लले आफ्नो नाम परिवर्तन गरी महिन्द्र सिंह राखे । महिन्द्र सिंह मल्ले दोलखाबाट प्रशस्त मात्रामा बाज शिकार गरी झिकाएका थिए । बाबुराम आचार्य तथा डिल्लीरमण रेग्मीका अनुसार महिन्द्र सिंह र भास्कर मल्ल एकै होइनन् । तर महिन्द्र सिंह दोलखाली राजा इन्द्रसिंहका वंशजका थिए । महिन्द्र सिंह (भास्कर मल्ल) को मृत्यु पछि कान्तिपुर नेपालको गद्दिमा वि.सं. १७७९ मा जगज्जय मल्ललाई राखियो । यिनको पालामा दोलखा उत्तरी भेकका भोटेहरुले विद्रोह गर्न खोजेका थिए । तर तर तुरुन्त साम्य पारे । यिनका पालामा दोलखाको जग्गाको नापी पनि गराए । पशुपालनलाई निकै प्रोत्साहन दिए । गाई गोठ राख्न खर्कहरु राखे । घोडा पालनलाई नियमित गरी आम्दानी बढाउने प्रयास गरे ।

वि.सं. १७४२ मा जगज्जय मल्लको मृत्यु भएपछि जय प्रकाश मल्ल कान्तिपुरको गद्दिमा बसे । वि.सं. १८०८ मा गोरखाका राजा पृथ्वी नारायण शाहले नुवाकोट कव्जा गरे । यस पछि साँखु, चाँगु, नालदुम, महादेव पोखरी र दोलखा समेत कब्जा गरी मित बुबा भक्तपुरका राजा रणजीत मल्ललाई जिम्मा दिए । यसरी केही काल सम्म दोलखा भक्तपुरको अधिनमा रह्यो । वि.सं. १८०८ मा भक्तपुरका राजा रणजीत मल्लले भीमेश्वरमा घण्टा चढाई दर्शन गरे ।
पृथ्वी नारायण शाहले वि.सं. १८११ मा नालदुम महादेव पोखरी पुनः आक्रमण गरी आफ्नो अधिनमा पारे । यस बखत यी जितेका प्रदेश मितबाबु रणजीत मल्ललाई सुम्पेनन् ।

यस पछि पृथ्वी नारायण शाहले वि.सं. १८१७ मा दोलखाका स्थानिय प्रशासक देशबार प्रमाण
(प्रधान) लाई “हामीस“ग मिल्न आउ तिमीहरुका रक्षा हामी गरी दिन्छौं नत्र बल प्रयोग गर्नु पर्ने छ” भन्ने आशय र चेतावनी दिई पत्र पठाए । दोलखाका प्रधानहरुसँग कुरा मिलाउने काजी तुलाराम पाण्डे खटिएका थिए । यसमा पृथ्वी नारायण शाहलाई साथ दिने दोलखा भेकका उप्रेती ब्राम्हणहरु थिए । दोलखाका शासक प्रधानहरु र पृथ्वी नारायण शाहका प्रतिनिधिहरु दुवै थरी राज्य पनि विना रक्तपात पृथ्वी नारायण शाहको राज्यमा मिल्यो । दोलखा गोरखा राज्यमा मिलि सकेपछि पनि विगुका भोटेहरुले पृथ्वी नारायण शाहको विद्रोह गरी रहेका थिए तर पृथ्वी नारायण शाहले दवाइ हाले ।

दोलखामा पृथ्वी नारायण शाहको अधिपत्य भए पछि त्यहाको व्यवस्थामा खास अन्तर परेन । साँस्कृतिक गतिविधि, आर्थिक, धार्मिक अवस्था यथावत नै कायम रह्यो । गोरखाली प्रशासन पद्धति अनुसार दोलखामा पनि अमालीदार नियुक्त भए । पृथ्वी नारायण शाहले दोलखाको अम्वल जिम्मा सुरुमा प्रताप सिंह शाहलाई सुम्पे पछि भाइ दलजित शाहलाई सुम्पे । यस बाहेक स्थानिय प्रशासनमा प्रधान, पन्चहरुको स्थिति साविक बमोजिम रह्यो ।

पृथ्वी नारायण शाहसँग मिले पछि दोलखालीहरु उनी प्रति वफादार भए । पृथ्वी नारायण शाहले वि.सं. १८१७ मा मकवानपुरमा आक्रमण गर्दा मकवानपुरबाट भागी दोलखा पसेकाहरुलाई दोलखालीहरुले कसैलाई मारे, कसैलाई भगाए र कसैलाई कैद गरे । पृथ्वी नारायण शाह दोलखालीहरु सँग निकै खुसी भए ।

वि.सं. १८५७ मा रणबहादुर शाहले भीमेश्वर गुठीको वन्दोवस्त मिलाई तामापत्र पनि दिए । तर राणा शासन सुरु भएपछि दोलखाको अवनति सुरु भयो ।

सन्दर्भ ग्रन्थी :
दोलखाको ऐतिहासिक रुपरेखा : धनबज्र बज्रचाय, टेक बहादुर श्रेष्ठ
दोलखाको साँस्कृतिक सम्पदा : यज्ञकुमार प्रधान

ऐतिहासिक शहर दोलखा भीत्रको मठ–मन्दीर र जात्रापर्व

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!