Search

दोलखामा फिल्मसिटीको लागि ३ करोड ५० लाख विनियोजित

दोलखामा फिल्मसिटीको लागि ३ करोड ५० लाख विनियोजित

बाँपीझ्याला, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दोलखा फिल्म सिटी निर्माणका लागि कार्यविधि बनाएर कानूनीरुपमा अघि बढ्ने बताउनुभएको छ । नेपाल चलचित्र बोर्डले आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री गुरुङले सिटी निर्माणका लागि वाग्मती प्रदेश सरकारले चालू आर्थिक वर्षमा दिएको रु तीन करोड ५० लाख खर्च गर्नका लागि भिमेश्वर नगरपालिकालाई जिम्मा दिने पनि बताउनु भयो ।


सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले सङ्घ, प्रदेश र स्थानीय तहको सहलगानीमार्फत सिटी निर्माणको काम अघि बढाउँदा उपयुक्त हुनेमा जोड दिनुभयो । आगामी दिनमा हुने स्थायी संरचना निर्माणका लागि भने मन्त्री गुरुङले बोर्डको सदस्य सचिवको संयोजकत्वमा एक महिनाभित्र कार्य समिति बनाएर निकास दिन पनि निर्देशन दिनुभएको छ ।


कार्यक्रममा बोर्डका सदस्य सचिव महेन्द्रप्रसाद साँखीले मन्त्रालयले छलफल र पूर्वाधार निर्माणमा लामो समय खर्च भइसकेको भन्दै आगामी दिनमा भौतिक संरचना निर्माणका लागि लाग्नुपर्ने बताउनुभयो । अत्यन्त प्राकृतिक सौन्दर्यले भरिएर पनि ओझेलको अवस्थामा रहेको यस क्षेत्रको विकासमा कोसे ढुंगा सावित हुने बरिष्ठ कलाकार तथा दोलखा फिल्म सिटी निर्माण सहयोग समितिको संयोजक मदनदास श्रेष्ठले यो राष्ट्रिय गौरवको आयोजना भएकाले अब यसलाई लामो समय अलमल नगरी गति दिनेतर्फ सरोकारवाला सबै एक भएर सबै लाग्नुपर्ने धारणा राख्नुभयो ।


दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको वडा नं ९ खरिढुंगा क्षेत्रको डाङडुङे डाँडामा निर्माण गर्न लागिएको उक्त राष्ट्रिय योजनाका लागि १ हजार ५०० रोपनी जग्गा तयारी अवस्थामा रहेको छ । सिटी निर्माण अन्तर्गत सडक, बिजुली, खानेपानी जस्ता पूर्वाधार निर्माणको काम सकिसकेको श्रेष्ठको भनाइ छ । सिटी निर्माणका लागि हाल प्रदेश सरकारले दिएको रकम प्रवेशद्वार निर्माण र प्रचारप्रसारका लागि खर्च गर्नेगरी बैठकमा छलफल भएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!