Search

द्वाल्खाको ऋणी बने म यसपटक –५

द्वाल्खाको ऋणी बने म यसपटक –५

रेखा शाक्य राजमति
हाल ताहाचल
स्वतन्त्र पत्रकार । फोटो पत्रकार

चौथो अंकको अन्तिम अंश…
झण्डै रातको बाह्र बजे भैरव कुमारी र अन्य गण भीमेश्वर मन्दिर पुग्यो । पिङ्गलटोलबाट जात्रा शुरु हुँदाका हुल मान्छेहरु त्यहाँ पुग्दा सम्म गुठियारहरु र बाजा बजाउनेहरुमा सिमित भई सकेको थियो । मन्दिर परिक्रमा पश्चात सबै गणको साथमा बाजाबजाउनेहरु र अन्य केही व्यक्तिहरु त्रिपुरासुन्दरी मन्दिर तिर परिक्रमा गर्ने परिक्रमामा लागे । म भने अब पुनः घुम्न नसक्ने अवस्थामा पुगेकोले कोठामा आएं । रातको १ बजि सकेको रहेछ । जुत्ताभरी हिलैहिलो । बाथरुममा गई सबै सफा गरें । आज त निक्कै थाकेकोले निंद्रा आउने विश्वासका साथ ओछ्यानमा पल्टें । कति खेर निंद्रा आएछ पत्तो नै भएन ।

पाँचौं अंक अर्थात २२ गते विहिबार
अचानक निंद्रा खुल्यो । घडी हेरें । रातको ३ बजेको थियो । राती जात्रामा पानीले भिजेकोले होला शरीर दुखेको महसुस भयो । साथै हल्का ज्वरो आएको जस्तो पनि लाग्यो । सँगै राखेको बोतलबाट पानी पिएं । चिसो पानीले घाँटी मात्रै होइन आन्द्राभित्र समेत चिसोपनको आभाष दियो । पुनः सुत्न खोजें तर निंद्रा आएन । विवश, मेरो रात काट्न त्यही मोबाइलको गीत सहारा बन्यो ।

मोबाइलको घडीले ५ बजेको जानकारी दिर्दै घण्टी बजायो । उठें । फ्रेस भई माथि कौशीमा गएं । दिनहुँ यतिखेर माथि कौशीमा जानु र चारैतिर देखेको मनारोम दृश्यको फोटो खिच्नु दैनिकी जस्तै बनि सकेको थियो । म उही, क्यामरा उही तर मैले प्रत्येक दिन देखिने दृश्य फरक थियो । त्यही फरक दृष्टिले नै मलाई आर्कषित पारेको भन्दा अन्यथा नहोला । कहिले म हुस्सु र पहाडको लुकामारीमा आफ्नो बेग्लै कल्पनाको सागरमा डुबुल्की मार्थें । कहिले आफ्नो घरको कौशीबाट देखिने चन्द्रागिरी डाँडा, सेतो गुम्बा र जामाचोको डाँडासँग द्वाल्खाको दृश्यको तुलना गर्थे । सोच्थें, कति भाग्यमानी द्वाल्खाका वासिन्दाहरु । जसले स्वच्छ हावाका साथै यस्तो मनोरम दृश्यको रसपान दिनहुँ गर्न पाउँछ । शायद वहाँहरुलाई यसको खासै महत्व नहोला । तर आफू त शहरको रमझममा बसेकी । दिनहुँ आँखा खुल्ने वित्तिकै मानिसको काकाकुल स्वरका साथै सवारी साधनको कोलाहलमा विहानीको शुरुवातको अभ्यस्त । मलाई त यहाँको शान्त मनोरम र प्रदुषण रहित वातावरणले आनन्दित तुल्याउने नै भयो । मन अघाउँजेल दृश्य हेर्दै अनि फोटो र भिडियो खिचेपछि कमलाले दिएको चिया पिई पुनः कोठामा आएं । रातको ज्वर पनि खै विहानको चिसो मौसमले कता विलिन हुन पुग्यो थाहा नै भएन ।

साँस्कृतीक शहर दोलखा भीमसेन थान र पुरान्छे


हिजो जस्तै आज पनि भीमेश्वरको दर्शन हेतु निस्कें । बजार नपुग्दै स्थानीयहरु फाटफुट्ट भेटें । म संग कसैले बोल्ने सुरसार त गरेनन् तर बजारको पसलमा बस्दै गरेका स्थानीयहरु म आएको देखेपछि हेरी रहन्थ्यो । म आफ्नै धुनमा अगाडी बढ्थें । सायद अचम्म मान्दा हुन् वहाँहरु । एक्ली केटी । यस्तो कोरानाको सन्त्रासको अवस्थामा पनि के घुम्न आएको होलान् भनि । तर म भने कोरानाबाट बेखबर एक्लै द्वाल्खामा मज्जाले घुम्दै थिएं । जीवनमा धेरै गाँउठाउँ घुमें । जात्रा कभर गर्न गएं । तर यसपल्ट जस्तो एक्लै भने आज सम्म कहिले पनि बाहिर आ कि थिइन । यो पल्ट गजबको आँट अनि भीमेश्वरको कृपाले नै आएकी थिएं । तसर्थ म ढुक्क थिएं मेरो उद्देश्य पूरा हुने कुरामा ।

म सरासर भीमेश्वर तर्फ उन्मुख हुँदै सिंढी चढ्न थालें । खै किन हो भीमेश्वर तर्फ पाइला बढ्दै जाँदा अनायसै मेरो मुटुको धुकधुकीको वेग तेज हुन्छ । मनमा एक प्रकारको अनौठो रोमान्चित भाव प्रस्फुटन हुने गरेको महसुस हिजो अस्तिको दिनमा पनि भएकै हो आज पनि भयो । आफ्नो मनको वेगलाई सम्हाल्दै त्यो सुनसान सिंढी चढें । मन्दिरको मूख्य द्वार खुल्ला थियो । म सिधै जुत्ता फुकालि भित्र गएं । भित्र रुद्री पूजाको लागि तयारी गर्र्द थियो । त्यतिबेला विहानको ९ बज्न लागेको थियो ।

दोलखा जिल्लाको सदरमुकाम चरिकोट बजार

भीमेश्वरको कालो शिलामाथिको नागको मालालाई एकतर्फ राखियो अनि पुजारी र त्यहीं पालो भएका सहायकले चाहिने सामग्रीहरु एक एक गर्दै अगाडी राख्यो । म हात जोडेर मन्त्रमुग्ध हेरी रहें । हेर्दाहेर्दै शिलामा पहेँलो अविरको साथमा फूलले सजायो । पुजारीले रुद्री पूजा शुरु गर्नुभयो । मन तब हर्षले गदगद भो जब बाह्मण बाजेले मलाई पनि अक्षता दिनु भनि सहायकलाई भन्नु भो । अक्षता हातमा लिई नमस्कारको मुद्रामा मनमनै भीमेश्वरको अनुकम्पालाई सम्झी प्रार्थना गर्दै उभिरहें । भीमेश्वरको यो दोश्रो रुपको दर्शनका साथै रुद्री पूजामा आफू पनि सम्मिलित हुन पाएकोमा मैले त्यो पलको लागि भगवानलाई धन्यवाद दिएं । पूजा सकियो । मलाई फूल र प्रसाद दिनु भो । म पुनः भीमेश्वरको दर्शन गरी चम्पुजा पार्कतिर जाने सोचमा पछाडीको सिंढीतिर गएं । पछाडीको दृश्य पनि कम मनमोहक थिएन । लामो सिंढी । सिंढीको रेलिंगको बारमा ससानो घण्टा । पूर्वतिर हेरें सिधा त्रिपुरासुन्दरी माईको भरखर जिर्णोद्धार पछिको सुन्दर मन्दिर । त्यसको साइडमै चम्पुजा पार्कको ठूलो गेट । भीमेश्वर मन्दिरको पछाडीबाट त्यो सुन्दर दृश्य मोबाइलले खिच्न थालें । क्यामरा बोकी नआको मा आफैसंग रीस उठ्यो । मन त्यतिमा सन्तुष्ट कहाँ हुनु र ? आफ्नो पनि फोटो खिच्न सेल्फी स्टिकको सहारामा दुईचार फोटो त्यहीं सिंढीमा बसी खिचें ।


अघि टाढाबाट हेरेको दृश्य अब विल्कुल आँखाको अगाडी थियो । अर्थात म त्रिपुरासुन्दरी मन्दिरको प्राङ्गण पुगि सकेको थिएं । वातावरण शुन्य । मनमा एक किसिमको अनौठो आभाष । अलिकति डर । अलिकति खुशी । म त्यहींको प्रांगणमा बसी तल्तो टोलको फोटोहरु पनि खिच्दै बसें । फेरी विस्तारै पाइला चम्पुजा पार्कतिर अगाडी बढाएं । फलामको ठूलो गेटको सानो गेट खोलि विस्तारै भित्र पसें । सोचे थें सायद द्वाल्खावासीहरु विहानी मर्निङवाकको लागि यहिं आउनु हुन्छ तसर्थ शायद कोही कसैलाई भेटिन्छ कि भन्ने मनमा खुलदुली थियो । तर म निराश तब बनें जब मैले त्यहाँ भित्र मात्र एकोहोरो शिवको मूर्तिलाई ठिंग उभिएको पाएं । विस्तारै अगाडी बढ्दै गएं । शान्त वातावरण । चारैतिर हरियाली । म मन्त्रमुग्ध बनि अगाडी बढ्दै गएं । चम्पुजापार्कबाट पछाडी पहाडको दृश्यको बयान गर्न शब्द थिएन म संग । कति मनमोहक । हुस्सुको घुम्टोभित्रबाट चियाएर पहाडले हेर्दै थिए ।

साँस्कृतीक शहर दोलखामा रात्रीकालिन भैरव कुमारी जात्रा

मान्छेको मन । भन्न सकिन्न कहिले के सोच्न पुग्छ भनि । जति ने मनबाट कठोर बनि एक्लै जिउने प्रणमा रहेपनि कहिले काहिं यस्तो रोमान्टिक दृश्य देखेपछि तन मन रोमान्चित भई हाल्दो रैछ । म पनि कठपुतलि त पक्कै होइन । झन बाँधेर राखेको अनगिन्ति प्रेमका भाव त छँदैथियो । अनायस त्यो प्राकृतिक सौन्दर्यताले मनको प्रेम छताछुल्ल हुन पुग्यो । अनायसै कसैको यादले मन बेचैन हुन थाल्यो । सोचें, एक्लैको ठाउँमा आफ्नो मनको नजिकका व्यक्तिपनि यतिखेर संगै भएको भए घण्टौं प्रकृतिको सुन्दरता हेरी जीवनको तानाबाना बुन्दै समय व्यतित गर्थे होला । र उसको हातमा सुम्सुम्याउँदै भन्थे होला हेर ती हुस्सुहरु आफ्नो प्रियसीलाई भेट्न आतुरता देखाउँदै एक छेउबाट अर्को छेउतिर गए जस्तै म पनि त आएं ।

साँस्कृतीक शहर दोलखामा रात्रीकालिन भैरव कुमारी जात्रामा नास डेन्गु, नकिन र सर गउ


यी मात्र मेरा यावत कल्पनाका शब्द न हुन् । न त्यहाँ कोही थियो न त कोही आउने संकेत । म आफैसंग एकछिन भावुक बनें । यस्तो प्राकृतिक दृश्य क्यामराबाट खिच्न नपाएकोमा आफैसित रीस नउठेको होइन । तर मनलाई भोलि क्यामरा बोकी फेरी खिचुँला नि भन्दै सम्झाउनु बाहेक म संग अर्को बहाना थिएन । आँखाभरि त्यो मनमोहक दृश्यलाई संगालि पुन पाइला दुंगलटोलतिर बढाएं ।

अघिल्लो दिन हरि सरले चिया खान दिएको निम्तो स्वीकार्न सकेको थिएन । त्यसैले फोन गरें हरिसरलाई । हरिसरलाई आफू दुङ्गलटोलको स्तुपानिर पुगेको जानकारी दिएं । नभन्दै एकैछिनमा वहाँले मलाई लिन आउनु भयो । वहाँको घर त त्यहीं नजिक नै रहेछ । चिटिक्क परेको घर । सफा सुग्घर । भित्र कोठामा पुगें । कोठाभरी किताबहरु देखें । वहाँले फुलपा प्राविमा, फुलपामा पढाउनु हुने रहेछ । एकैछिनमा वहाँको श्रीमती पनि आइन् । अभिवादनको आदान प्रदान पछि भलाकुसारी । वहाँले पनि आफ्नो निवासमा नै आउनु भएको भए हुन्थ्यो । आफ्ना छोराछोरीहरु पनि बाहिर नै भएकोले कोठा खालि नै रहेको र मेरो लागि कोठा तयार राखेको भनेपछि म वहाँहरुको आतिथ्यपनको कायल बने । दुबैलाई पुनः द्वाल्खा आउँदा अवश्य रात विताउन आउनेछु भने । भाउजुले त खाना खाएरै मात्र जानुस् भनि कर गर्दै थियो । तर मात्र चिया र हरियो दुधमकै मात्रै खाएं । वहाँको आफ्नै बारीको । आहा कति मिठो अनि स्वादिलो । यस्तो दुधे मकै आफूले बच्चा बेलामा एकचोटी मात्रै खान पाएको कुरा सुनाएं । दुवै दम्पति मेरो कुरा सुनेर हाँस्नु भयो । केही बेरको दुःखसुखको कुराकानी पश्चात वहाँहरुबाट बिदा लिई म पुनः भीमसेन डबलीतिर पुगें । आज कोही त्यहाँ भेट्न सकिन । सायद म पुगेको ढिलो भएर होला । मन खिन्न भयो । दिउँसोतिर कोही भेटिने आशमा आफ्नो गन्तब्य दि पुखुर्चा दोलखा रिसोर्टतिर बढाएं ।

भैरव कुमारी जात्रामा भाग लिने शिवभक्ती परिवारलाई ब्रतालु स्थानिय वासिन्दाहरु चढाईएको प्रसाद भाग भाड्ने क्रममा गुठीयार

केही बेरको विश्राम पश्चात विक्रमभाईले खाना खान बोलायो । माथि गएं । खाना खाएं । एकछिन कौशीमा घाम ताप्दै बसें । चारैतिर नजर दौडाएं । पालखतीतिर मान्छेहरुको साथै एक दुई वटा गाडीहरुको आवातजावत देखियो । चरिकोट पनि घामको झुल्कोसंगै मस्तले आफ्नो सौन्दर्य पस्किे रहेका थिए । मानौं कोही सुन्दरी नुहाएर न्यानो घाममा केश फिंजाउँदै आफ्नो रुप निखारिंदै जस्तो । यता तल्लो बस्तीतिर पनि घरहरु केही नयाँ बन्दै गरेका र केही बनिसकेका घरमा रातो छाना टल्किरहेका थिए । जति हेरे पनि नअघाउने द्वाल्खाको बस्तीको चित्रांकन आँखामा भरेर म पुनः कोठामा आएं ।

आज दिउँसो खासै केही कार्यक्रम थिएन । तसर्थ आराम गर्दै बसें । साँझतिर एकछिन भीमेश्वरको दर्शन गर्न गएं । त्यहीं हरिदर्शन भाईसंग पुनः भेट भयो । वहाँले बडो सम्मानले मलाई अफिसमा बोलाउनु भयो । पहिलो पटक वहाँसंग दिल खोलेर कुरा गरें । कुरा कै क्रममा पहिला आउँदा पनि भेटेको स्मरण गराउनु भयो । चिया पिउँदै भाई र म धेरै बेरसम्म कुरा गर्दै बसें । वहाँले पनि द्वाल्खाको जात्राको बारेमा आफूले जानेको कुरा मलाई बताउनु भयो । त्यहीं यमुना बहिनीसंग पनि पहिलो पटक परिचय सहित कुरा भो । कुरैकुरामा वडा अध्यक्षसंग भेट्न नपाएको गुनासो समेत पोखें । म निराश बनेको देखेर व्यस्तताको कारणले होला भनि मेरो मन राखिदिनु भो । वहाँ दुबैसंग विदा लिई पुनः कोठामा आएं । बेलुकी कुमारी भैरव नाचको लागि अझै समय बाकी थियो ।

आज भैरव कुमारीको नाचको दोश्रो दिन । करिब आठ बजेतिर म पिङ्गलटोलमा पुगें । हिजो जस्तै आज पनि भैरव कुमारीको मुकुण्डो कपडाले छोपेर राखिएको थियो । आज ब्रतबस्नेहरु तीन जना रहेछन् । आज कुमारी भैरव बन्नेहरु र अन्य पात्रहरु पनि अरु नै थिए । आज भैरवको रुपमा पनि केही नयाँ हुने कुराको जानकारी दिइयो । एवं प्रकारले सबै जना आउने क्र्रम बढ्न थाल्यो । गजबको कुरा हिजो जस्तै आज पनि देवता बन्ने पात्रहरुले वस्त्र लगाउन लाग्दा पानी पर्यो । तैपनि हिजो भन्दा आज मान्छेहरुको भीड बाक्लो थियो । म भित्रै बसि सबै क्रियाकलाप क्यामरामा कैद गर्दै बसें । हिजैको जस्तो आज पनि पुजारीले तान्त्रिक विधिले पुजा गरेपछि ब्रतालुहरुले पूजा गरे । पछि पूजारीले देवता बन्ने पात्रलाई मुकुण्डो हस्तान्तरण गरे ।

चारपाँच जना मिलि देवता पात्रको शिरमा मुकुण्डो कस्न थाले । एक्कासी येँयाः (इन्द्रजात्रामा) मा लाखेननिमा श्री लाखे आजुलाई मुकुण्डो बाँधेको दृश्य याद आयो । बडो कठिन रैछ द्वाल्खाको भैरव र कुमारीको मुकुण्डो बाँध्ने । सबैको प्रयासले सो काम पनि सम्पन्न भो । आज हिजोको जस्तो देवगण अपुरो थिएन । आज फरक थियो त मात्र भैरव पात्रको अगाडी लिंग झुण्डिएको थियो । जुन पहिलो दिनमा थिएन । त्यसको कारण सोध्दा पहिलो दिनमा कुमारीको मात्रै स्थानीयहरुले पूजा गरेको र दोश्रो दिन भैरवको पनि पूजा गर्न लाग्दा भैरव रीसले मलाई होइन मेरो लिंगमा पूजा गर्नु भनि भनेको स्थानीय एकदुई जना बुढापाकाहरुले जानकारी दिए । यो कुरा कतिको सत्य हो त्यो त यस सम्बन्धि अझ गहिरो अध्ययन गर्नेले बताउने नै छन् पछि । जे होस् जात्रा शुरु भयो । बाहिर पानी परेकोले क्यामरालाई बचाउँदै फोटो खिच्न थालें । पहिलो दिनको नाच भन्दा आजको नाचमा विशेष आर्कषण देखें । आज भैरव कुमारी हुने दुबै नाच्नमा पोख्त पाएं । बडो रमाइलो नाच । नाच नाच्दै बाटोभरिको हिलोको रत्तिभर ख्याल नगरी सबैको मन हर्दै मस्तले भैरव कुमारी नाच्दै थिए भने अन्य पात्रहरुले पनि विभिन्न हावभावको नाच नाच्दै अगाडी बढ्दै गए । म पनि यन्त्रवत अगाडी बढ्दै गएं । हिजो जस्तै आज पनि राइती सम्मको नाच कभर गर्दै जुत्ताभरि हिलो र पानीले भिजेको शरीरलाई सम्हाल्दै म बजारतिर प्रतिक्षा गर्दै बसें ।

साँस्कृतीक शहर दोलखामा रात्रीकालिन भैरव कुमारी जात्रामा ब्रतालु स्थानिय वासिन्दाहरु

धेरै बेरको प्रतिक्षा पछि सेंग भगवानतिर बाजाको आवाज नजिकिंदै आयो । त्यहाँ पनि भैरव कुमारी नाच्न थाले । सबै दृश्य क्यामरामा खिच्दै पुनः भीमेश्वर मन्दिरसम्म पछि पछि लाग्दै फोटो खिचें । भैरव र कुमारी द्वाल्खा भीमसेनको अगाडी बसी पुनः नाच्न थाले । त्यसपछि पुनः त्रिपुरा सुन्दरी माई तर्फ लगियो । म भने सरासर आफ्नो कोठातिर लागें । घडी हेरें रातको दुई बजिसकेको रहेछ । भोक प्यास सब भुल्दै म जुत्ताको हिलो सफा गरी भिजेको लुगा चेन्ज गरी सुत्ने तरखरमा ओछ्यानमा पल्टें भोलिको नयाँ विहानीका साथै नयाँ उमंगको आशामा ।
बाकी अंशको लागि प्रतिक्षा गर्नुहोस् …

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!