
दोलखा हाल लाजिम्पाट
न झन्झटिलो छ,
न कठिनाई छ,
अनपढ पनि होइन ,
अबुझ गँवार पनि होइन,
अनपेक्षित निष्कर्ष,
अर्थहीन वातावरण,
कस्तो विडम्बना,
कस्तो लाचारीपन,
एकलौटी निर्देशन,
एकल शासन,
ताज्जुब लाग्छ,
आश्चर्य लाग्छ,
बेमौसमी गाईजात्रा !
उफ् उदेकलाग्दो,
विरक्तलाग्दो,
अलिअलि त शरम लाग्नुपर्ने हो,
२–४ जनाको बाहुबलमा,
१०–८ बोरा आलुमा,
ईज्जत् बिकाउने ?
खै देशको अर्थ बुझेको,
खै, जनको मर्म सुझेको,
केवल लाभान्वितको नजरमा,
सिङ्गो धर्ती नै दाउमा राख्ने,
कति सम्मको लाजमर्दो,
अनगिन्ती बखान लाउने,
नानाथरी कथा सुनाउने,
अनि देशलाई एकादेश बनाउने ?
एकताको घैलो फुटाउने,
आफन्तलाई दैलो खुलाउने,
अनि बेमौसमी भैलो खेलाउने,
दान दक्षिणा पोको पार्ने,
मीठा मसिनाको पछि लाग्ने,
जसको जौ खानु,
उसैको जुँघा पोल्ने,
जे पायो त्यही बोल्ने,
के यही हो त सर्वहारा ?
समाधानलाई थन्क्याएर,
व्यवधान खडा गराएर,
कस्तो वाद ल्याउन खोजेका हुन् ?
कि गोरु ब्याउने सपना देखेका हुन्,
राष्ट्र र राष्ट्रियता नचिन्ने,
अरुको ज्ञान नलिने,
आफैं महात्मा,
आफै साधु,
टिठ लाग्दो,
घिन लाग्दो,
देशलाई खोक्रो पार्ने,
संस्कृति माथि आँखा गाड्ने,
कमिसनको धमिराहरु,
के जनता मूर्ख छन् र,
के जनताले नबुझ्ने हुन् र !
यो देश पौने ४करोडको हो,
दुई चार दम्पतीको सम्पत्ति होइन,
नदि नाला हाम्रा रगत हो,
कसैको कमाई खाने परिकार होइन,
अब बुझे हुन्छ,
यो समय सामन्ती छैन,
कसैले डाढुपनिउको धाक नजमाए हुन्छ,
२–४ व्यापारीको कुम नथामे हुन्छ,
हरेक हातमा पौरख छ,
नेपालीहुनुमा गौरव छ,
याद गरे हुन्छ,
कुमालेको चक्र हो समय,
परिक्रमा गरेर त्यहाँ पुग्नेछ,
जहाँबाट खस्नेछ,
अब धेरै देखिसके रमिता,
पढेर हेर कविता !!