उपेन्द्र प्रधान
दोलखा जिल्ला ऐतिहासिक, धार्मीक साँस्कृतिक, पुरातात्वीक, प्राकृतिक तथा मनोरञ्जनात्मक दृष्टिकोणबाट मात्र नभई दोलखा जिल्लाको गौरीशंकर हिमाल, दोलखा भीमेश्वर मन्दिर, त्रिपुरासुन्दरी भगवती देवी, कालिञ्चोक भगवती देवी, शैलुङ्गेश्वर महादेव, टासीगुम्वा बिगु, मेलारम्पा मेडिटेसन सेन्टर लप्ची, देवलाङ्गेश्वर महादेव, हलेश्वर महादेव माली, बेतेश्वर महादेव नाम्दु, जिरेश्वर महादेव जिरी, ढेङ्गेश्वर महादेव जिरी, कालिनागथान सुनखानी, रामबोले देवी ठुलोपातल, गाईखुरी महादेवको मन्दिर सुकाठोकर तथा त्रिवेणीधान चर्नावती, जस्ता विभिन्न धार्मीक एवं तिर्थस्थलले प्रख्यात रहेको छ । यसरी आस्था अनी विश्वास रहेको दोलखा जिल्ला भित्र पर्ने विभिन्न मन्दिरहरु मध्ये कालिञ्चोक भगवती मन्दिर पनि धार्मीक स्थलले मात्र नभई पर्यटकिय दृष्टिकोणले पनि त्यतिकै महत्वपूर्ण र उपयुक्त गन्तव्य स्थलको रुपमा रहेको पाउँछौं ।
दोलखा भीमेश्वर नगर देखि करीव ३ कोस टाढा सुस्पा–क्षमावती गाविस अन्तर्गत पर्ने कालिञ्चोक भगवती माई नेपालको प्रख्यात धार्मिक स्थलहरु मध्ये एक उच्च पहाडी भागमा अवस्थित रमणीय धार्मीक एवं पर्यटकिय स्थल मानिन्छ । समुन्द्र सतह देखि करिव १३ हजार ६ शय २ फिटको उचाईमा अवस्थित यस कालिञ्चोक भगवती धार्मीक आस्थाको दृष्टिले अत्यन्तै लोकप्रिय र विश्वास योग्य रहेको छ ।
कसरी जाने कालिञ्चोक भगवती मन्दिर ?
काठमाण्डौबाट १३० किलोमिटर टाढा रहेको दोलखा जिल्लाको सदरमुकाम चरिकोट पर्दछ । काठमाण्डौंबाट मोटरको बाटोको हिसावले ठुलो बसमा ५ घण्टा भने सानो गाडीमा ४ देखि साढे चार घण्टा भित्र सदरमुकाम पुग्न सक्छौं । राजधानीको पुरानो बसपार्कबाट विहानको ठिक साढे छ बजे काठमाण्डौंबाट दोलखा जाने एक्सप्रेस पाउँछ । यो बसको यात्रा पुरानो बसपार्क, कोटेश्वर, भक्तपुर, बनेपा धुलिखेल, दोलरघाट, बलेफी अनी खाडीचौर, मुडे, खरीढुंगा, बोच हुँदै चरिकोट दोलखा सजिलै करिव ४ घण्टामा आफ्नो यात्रा पुरा गछौं ।
कालिञ्चोक पैदल बाटोबाट जाने हो भने कन्या उच्च माध्यमिक हुदै मकैबारी भएर जानु पर्छ । मोटरको बाटोबाट जाने हो भने नगरपालीकाको मकैबारीसम्म लोकल गाडी चढी गएपछि त्यहाबाट उकालो कालिञ्चोक भगवतीको मन्दिर जाने उत्तर बाटो हामी जान्छौं । तर गाडीमा जानलाई सदरमुकाम चरिकोट र दोलखामा बलेरो गाडीहरु भाडा सजिलै उपलब्ध हुन्छ । हुनत आजकाल कच्चीबाटो कालिञ्चोकको कुरीसम्म पुगी सकेको छ । तर पनि यो बाटो कच्चि भएको कारणले गर्दा हिउँ परेको बेला अलि गाहे हुन्छ भने अरु बेला सजिलै जान सकिन्छ । हामी साच्चिकै मनोरञ्जन लिएर कालिञ्चोक भगवती मन्दिरको दर्शन गर्न जान्छौं भने तपाईहरु कोहि एकपल्ट पैदल यात्राबाटै कालिञ्चोक जान सक्नु हुन्छ । किनभने पैदन यात्राको मज्जा नै अक्कै हुन्छ ।
जब हामी पैदल यात्राबाट मकैबारीबाट माथि उकालो लाग्छौ त्यसपछि केहि घण्टामा देउराली भन्ने ठाउँ आउछ । जुन ठाउँ दर्शन गर्न जाने भक्तजन एवं पर्यटकहरुको लागि पहिलो आराम गर्ने थलोको रुपमा लिने गर्दछ । त्यसपछि दायाँ बायाँको सोभायमानका साथ फुली रहेका हरिया हरिया देउधाराका रुखपात अनि पर्यटकको स्वागतमा सुसेली रहेको गुँरास, पलाँस, चिमाल लगाएत सुगन्धीत अनेर्को फुलहरु सँग–सँगै मितेरी लगाउँदै अघि बढ्छौ यसरी अघि बढीरहेको बेला सायद यहि स्थानमा जन्मेको भए कति भाग्यमानी हुने थिए होला जस्तो भान हुन्छ । त्यसै गरी केहि घण्टाको हिडाईपछी गैरी आउँछ व्यवसायीक रुपमा चौरी पालन गर्ने दोलखाली शेर्पा समूदायका सदस्य र परिवारहरु यहाँ सजिलै भेट्न सकिन्छ । गैरीको दायाँ बायाँ अलि आखाँ लगायौ भने रंगी बिरंगी रातो, सेतो, निलो रंगको मिश्रित चिमालले उतीकै सोभायमान दिईरहेको पाउँछौ ।
अन्यन्त मनोमोहक र रमणीय स्थानमा रहेको यस टाकुरामा पुग्न बिभिन्न घना जंगलहरुलाई पार गर्दै गोरेटो गोरेटो लानु पर्छ । उत्तरतिरका अग्लिएर रहेका चुलीहरुले यहांको प्राकृतिक सौन्दर्य बढाएका छन् भने टाकुराबाट चारैतिरका हिम श्रृंखलाहरु तथा छिमेकी राष्ट्र चिनको सिमाना सजिलै देख्न सकिन्छ । यसरी हिम श्रृंखला र प्राकृतिक मनोमोहक दृष्यहरु यहाँबाट सजिलै देख्न सकिने भएकोले यस उच्च टाकुरामा रहेको पवित्र धार्मीक स्थललाई धार्मीक स्थलको रुपमा मात्र नभर पर्यटकिय स्थल बनाउनु पर्ने खाँचो रहेको छ ।
यस टाकुरामा पुग्नु भन्दा अघि बिभिन्न खोल्सा, तलाउ आदी पार गरेपछि बीच बाटोमा एउटा ठूलो ढुगांको च्यापबाट छिर्नु पर्दछ । यसलाई “धर्मको ढोका” भनिन्छ । यस ढोकाबाट केवल धर्मात्मा मानिस मात्र छिर्न सक्दछन् भन्ने जनश्रुती रहेको छ ।
यसै गरी अलि अलि तेस्रो तेस्रो उकालो हुदै अगाडी बढ्दै गएपछी प्राकृतिक मनोमोहक दृश्य संग अझ हातेमालो गर्दै अगाडी तेस्रो उकालो उकालो हुर्दै केहि घण्टाको हिडाईपछी गणेश ट्वापर सजिलै देख्न सक्छौ र पुग्छौं । गणेश ट्वापर पुगेपछी कतै गौरीशंकरको फेदतिर पो आई पुग्यौ की भन्ने आभास दिईरहको हुन्छ । किन भने यहाँनिरको मौसम अलि अलि चिसो, अलि अलि हुस्सुको कारणले गर्दा चिसो स्याठ चलिरहेको हुन्छ जुन नाक नै चिसिक्क दुख्ने गरि बगिरहेको हुन्छ । यस बेला नेपालमा पनी यस्तो पनी दृश्य र वातावरण भएको स्थान रहेछ भनी हामीले तल ओरालो तिर हेरेर आनन्द लिने अर्को स्वर्ण अवसर प्राप्त गछौं भने गौरव गर्छौ हामी नेपालमा जन्मेकोमा, हाम्रो नेपालको तर प्रकृतीले जती सुन्दरता दिएको छ त्यही अनुसार भौतीक संरचनाहरुको निर्माण भएर बाटोघाटो त्यही अनुसार पक्की बनेको भए अझ सुन माथी सुगन्ध हुने थियो होला ।
यसै गरी केहि समयको यात्रा अर्थात हिडाईपछी कुरी सजिलै पुग्न सक्छौं । पहिले पहिले मोटरको बाटो नपुगुन्जेल दिनभरीको थकाईमा आनन्दले कुरीमा मस्तको निद्रादेवीको लागि तिनतल्ले ओडारमा वासको खोजीमा हुन्थ्यौ भने अहिले गाडी चलेको पछी धेरै राम्रा राम्रा होटेलहरु संचालनमा आई, मिठो मिठो खाना खाने अवसर सजिलै प्राप्त गर्दछौं । तर दर्शन पछी फर्कने हो भने कुरीमा मिठो खाना खोजी गर्दै अडर दिएर कालिञ्चोक दर्शको लागि उकालो लाग्ने गर्दछौं । कति स्थानिय अनी बाह्य पर्यटकिय पाहुनाहरुले अर्थात युवा युवती, सामूहिक पारिवारीक सदस्यहरुले त जानु भन्दा अगाडी नै होटेल बुक गरेर एक दुई रात कुरीमा नै बस्ने गरेको पाईन्छ । हुनत पहिला पहिलाको भन्दा यहाँ बास बस्ने भक्तजनहरुको लागि राम्रा र सुविधायुक्त होटेलहरु पनी प्रसस्त बनेका छन् त्यही भएरपनी होला यहाँ बस्न रुचाएको । परिक्षण्को लागि यहाँहरु पनी यसपालीको हिउँ पर्ने समयमा जाने हो की ? जुन अव पुषको दोश्रो हप्तादेखि हिउँ पर्न शुरु हुन्छ ।
यस्तै गरी अर्को आकर्षण कालिञ्चोक भगवती रहेको स्थान अर्थात चुचुरोबाट राजधानीमा अवस्थित धरोहर १९९० को भुकम्प आउनु भन्दा पहिले सजिलै हेर्न सकिन्थ्यो तर भुकम्प आउदा धरोहरको टुप्पा बाँचेको हुनाले हाल काठमाण्डौ राजधानीमा बेलुकी पख बिजुली बलेको दृश्य देखिनुका साथै वरपरका डाँडाहरु भने अझै सजिलो सँग हेर्न सकिन्छ । करिव २५ गज चौडाई, ६९ मिटर जति लम्वाई भएको यस टाकुरामा एउटा कुण्ड छ । शिवजी, गणेश र सरस्वतीका मुर्तिहरु भएको यस कुण्डलाई नै कालिञ्चोक भगवती भनिन्छ भने भगवतीको कुनै मुर्ति छैन । केवल त्रिशुल र घण्टाहरुको थुप्रो मात्र छ । साथै यस कुण्डको पवित्र जल दोलखा शहर स्थित भीमेश्वर मन्दिरमा आउंछ किम्वदन्ती रहेको छ ।

देव देवताको पुण्यभूमि मानिने यस टाकुरामा पूर्वतर्फ र पश्चिमतर्फ दुवै पापीहरु उक्लिन नसक्ने विश्वास भएकोले नागबेली आकारबाट डरलाग्दो भीरमा बनेको यस खुड्किलोलाई “पापिडांडा” भन्ने नाम राखिएको हो । पश्चिमतर्फको बाटोमा भने करीब तीन गज चौर्डाइ र छ गज जति लम्बाइको २२ खुड्किले फलामे भ¥याङ छ । साहसपूर्वक बनाइएको यस भ¥याङले एक टाकुराबाट अर्को टाकुरा जोड्दछ । दुई टाकुराका बीच ज्यादै नै गहिरो छ । यसको तल कुखुरा बासेको प्रतिध्वनि सुुनिन्छ र बत्ति बलेको देखिन्छ भन्ने किम्वदन्ती रहेको पाईन्छ ।

हाल कुरीबाट कालिञ्चोक मन्दिरसम्म केवुलकार सञ्चालन भईसकेको छ । यस्ले गर्दा अहिले पापीडाँडा उकालो चर्नु पर्दैन हामी सजिलै केवुलकारको सहाराबाट दायाँ बायाँ मनोरम दृश्य संगै १०–१५ मा हामी माथी मन्दिर पुग्छौै । अहिले केवुलकार संचालन भएदेखि यता स्वदेशी तथा विदेशी पर्यटकहरुलाई यस धार्मीक एवं पर्यटकिय स्थलले तान्नलाई धेरै सहयोग पुगेको यहाँका होटेल व्यवसायीहरुले आफ्नो अनुभव सुनाउछन् ।
साथै स्थानिय रुपमा यस ठाउँको विकासको सम्भावना प्रचुर मात्रमा रहेको देखिन्छ । यति उचाईमा अवस्थित यस कालिञ्चोक भगवतीमा मोटरको बाटो हालसम्म कच्ची पुगेको भएपनि पिचको बाटो पुग्न जरुरत भएको छ । अर्को तर्फ खानेपानीको पनी समस्या भएकोले यसलाई पनी ध्यान दिनु उतिकै आवश्यकता रहको छ । यस कार्यको लागि सम्वन्धीत सम्पूर्ण दोलखा जिल्लावासी अनि जिल्ला समन्वय समिती र जिल्ला सडक डिभिजन कार्यालय, जिल्ला खानेपानी कार्यालय दोलखा लगायत सम्वन्धीत सबैले चासो अनि पहल गर्नु पर्ने आजको आश्यकता तड्कारो देखिएको छ । बाटो पक्की पुग्न नसकेपनि बिजुली बत्ति पुगिसकेको छ । आशा गरौ यस कार्यमा सम्वन्धीत निकायको ध्यान पुग्ने छ ।
कालिञ्चोक भगवती धार्मीक स्थलको रुपमा मात्र सिमित नभएर पर्यटकीय स्थलको रुपमा पनि उतीकै प्रख्यात रहेको पाईन्छ ।
गौरीशंकर, मेलुङ्गसे, नुम्बुर, च्छोभाभावरे, दोर्जेलाक्पा, गणेश हिमाल जस्ता हिमाल क्षेत्र देखिने स्थान,
बैशाख–जेष्ठ महिनामा लालीगुँरास, चिमाल फुलले ढाँकिएको क्षेत्र,
पौष–माघ–फागुणमा हिउँ पर्ने भएकोले Snow Ski Sport को लागि उपयुक्त ठाँउ,
पाँच पाण्डव गुप्तवास बस्दाको गुफा भएको स्थान,
याक चौरीगाई तथा यतिको स्थान,
यसै गरी यस स्थानबाट सुर्य उदाउने, अस्ताउने हेर्नको लागि उपयुक्त स्थानमात्र नभए Snow-ski sport, Golf Course, Cable-car, rock Climbing, Paragliding, Sky Divee तथा Trekking जस्ता शाहसिक कार्यक्रम गर्ने उपयुक्त स्थानको साथै Picnic Sport, Package Tourको कार्यक्रम बनाई पर्यटनको दृश्यावलोनको लागि अति उपयुक्त स्थान ।
यसरी दोलखा कालिञ्चोक धार्मीक र पर्यटकिय स्थलको रुपमा विकास भएर अगाडी बढी रहेको हामीले पाउँछौं । घुम्न जाऔं दोलखा कालिञ्चोक, मनोरम लिऔं हिमचुचुराको साथमा टलक्क टल्कीने हिउँको दृश्यावलोकन संगै पुरा गरौ बर्षोदेखिको मनको ईच्छा यही छ यहाँहरु सवैलाई शुभकामना ।
मेरो अनुभव र हेराई भोगाईको मात्रालाई यहाँहरु समक्ष अनुभूती, मनोरञ्जनात्मक विचार आदान प्रदान गर्न प्रयत्न गरेको मात्र हो सायद यस्ले दोलखा कालिञ्चोक दर्शन गर्न जान आत्तुर भएका भक्तजन, आन्तरीक, बाह्य पर्यटकहरुलाई केहि मात्रा भएपनी सहयोग पुग्ने कुरामा आशा अनी विस्वास लिएको छु ।