Search

भावनाको श्रोत !

भावनाको श्रोत !
बिके श्रेष्ठ “ अभयपुरे पासा “


गौरीशंकर हिमालको फेदमा रहेको विगु गाउँ । सुरी, खारे, टासीनाम, गोंगर ग्रामिण बस्तीमा पुगिने पैदल मार्गको सबै भन्दा महत्वपुर्ण मानिन्छ । नजिकै रहेको नगण्य हिम श्रृङखलाको दृश्यावलोकन गर्न आउने पर्यटकीय विश्राम स्थल त्यो विगु गाउँ । विभिन्न जातीयताका वासस्थान भएको सो गाउँमा एक सामान्य जीविकोपार्जन गरिरहेका परिवार छन् तेजनाथ बिक ।


शुरु शुरुमा तोपेको नामले चिनिएका त्यो व्यक्तिको नामकरण तेजनाथ रहन जानुमा उनले बनाएका तेजिलो धारिलो हतियारले प्रष्ट्याएको बुझिन्छ, उनले बनाउने गरेका तरवार, खुकुरी, हँसिया,भाला यति तीखा र धारिला हुन्थे कि प्रयोग गर्ने व्यक्तिले पूर्णरूपमा होशियारी अपनाउनुपर्ने भएकोले नै त्यस गाउँका वरिष्ठतम् एवम् बुद्धिजीवी जमिनदार छत्र खड्काले उनको नाम न्वारान गरिदिए तेजनाथ भनेर, चिनजानका मानिसहरू कोही तोपे नै भन्थे त कोही तेजे भनेर बोलाउने गर्थे ।


शैक्षिक शैलीले पुराना चालचलनलाई ओझेलमा पार्न खोजे तापनि ग्रामीण भेकका ठूला जात भनाउदा भद्र व्यक्तिको नजरमा दलित र अछूत शब्दलाई मान्यता दिनुहुँदैन भन्ने संकीर्ण मानसिकताको सामु तेजनाथ लगायत अन्य अछूत वर्गका परिवारले शिर उठाएर हिंड्न असमर्थ भएको बेलामा खड्का परिवारमध्येमा छत्र बहादुर अलिक जागरुक र चेतनशील लगावमा रहेको पाईन्थ्यो । कहिलेकाहीँ गाउँमा भेला समारोहबीच पनि उनीहरूलाई हेप्नु हुन्न, दबाबमा राख्नुहुन्न, उनीहरू पनि हामी जस्तै मानिस हुन् भन्दा विवादास्पद लफडा पनि नभएको होइन त्यो गाउँमा ।


जातीयताका कारणले विश्वमै कति युद्ध भए, कैयन धनजनको विनाश भएको छ, विश्वभरका मानिसहरूमा त्रासदी फैलिएर कति तहसनहस भए, यस्तो हुनबाट जोगाउन हरेक घरदैलोमा चेतनामूलक कार्यक्रम राख्नुपर्छ भन्ने अभिप्रायःले नै क्रान्ति गर्नुपर्ने अवस्था आएको छ ।
यिनै कुरालाई मनन गर्नुपर्ने अवस्था देखेर नै होला शायद तेजनाथले आफ्नी जेठी छोरी भावनालाई उनै जमिनदार छत्र थापासंग अनुनय विनय गरेर गाउँका कसैलाई थाहा नदिकन शहरको स्कुलमा पढ्न पठाएको थियोे, यस काममा साथ दिनेमा छत्र खडकाकै छोरा चतुरमान पनि हो । गाउँ ठाउँमा हेपिएर, दबिएर लुकेर पठनपाठन गर्न निकै कठिनाई भोग्नबाट अलि सहज भएको थियोे तेजनाथलाई ।


जब तेजनाथकी छोरी गाउँमा एक्कासी हराईन् तब गाउँमा लाहुरे हल्लाले डेरा जमाउन थाल्यो, कसैले त्यो तोपे कामीको छोरीलाई भारततर्फ पठाएको हुनुपर्छ, कसैले जमिनदारको छोरोले नै शहरमा लगेर बेचेको हुनुपर्छ, नत्र ठाउँ न ठेगाना कसरी एक्लै भाग्लिन् त…’ आदि ईत्यादि चर्चा नभएको होइन, जमिनदार छत्र खड्कालाई समेत आरोप लाउन बाँकी राखेनन् गाउँलेहरुले ।
बाटो, दोबाटो, पानी पँधेरीमा समेत आफ्नो बारेमा अनेकन कुराले बुट्टा भरेर निन्दा चर्चा गरे पनि छत्र थापा टसका मस भएन, न त तेजनाथ बिकले नै कुनै प्रतिक्रिया दिए ।


उता शहरमा पढ्न गएकी भावनाको दिनचर्या अध्ययनको कसरतमै बित्न थाल्यो, तिनको एउटै लक्ष थियोे उच्च शिक्षा हासिल गरेर गाउँकै विद्यालयमा प्रधानाध्यापक बनेर जाने र आफू जस्तै दलितवर्गलाई उच्च शिक्षाक्षेत्रमा पु¥याउने । यसै अनुरुप पूर्ण लगनशीलताका साथ मेहनत गरेर अगाडि बढिरहे ।


अध्ययनको कुरामा मात्रै चतुर थिईनन् उनी रुपमा पनि निखारिएकी थिईन्, उनको रुप अनुसारको लवाई हुँदो हो त कसैले हम्मेसी उनी सामान्य परिवारकी छोरी हुन् भन्न सक्तैनन् पनि ।
बाटुली शरीर, गोरी वर्णकी भावना छरितो हिंडाईले गर्दा नि तिनको चतु¥याइँ र लगनशीलता दर्शाउँथ्यो । कलेजमा पनि जुनसुकै कार्यक्रममा सहभागी जनाउने उत्कृष्ट वाचन गर्ने भएकीले सबैले मन पराउने स्वभावकी थिईन् भावना ।


उनी पढनको लागि पूरा व्यवस्था मिलाईदिने चतुरमान पनि बेलाबखतमा भेट्न आईरहने गथ्यौ ।
गाउँमा गएर नयाँ सृजनशील शिक्षा दिने भन्ने कुरामा अडिग थिए दुवैजना ।


देशमा लोकतन्त्र र गणतन्त्रको व्यवस्थापन भएपछि पनि दुर्गम र विकट स्थानहरुमा जातीयताको विखण्डनले गर्दा अछूत, तल्लो र उपल्लोको वर्ग विभाजनले गर्दा सामाजिक विकास हुन नसकेकोमा भावना र चतुरमान दुवै चिन्तित थिए, अझै पनि खुलेर बोल्न नदिने, आफ्नै हैकम चलाउन खोज्ने, ठूलाठूला पदहरुमा आफ्नै मातहतका मान्छेलाई समाविष्ट गर्ने र अरुलाई पदको भार दिएपनि नाममात्रको गर्ने परिपाटीको अन्त्य गर्न अत्यन्तै जरुरी भएको कुरा दुवैलाई खट्किएकोले नै भावना र चतुरमान तल्लो तह देखि नै जागरण फैलाउन मरिमेटि लागिपरेका थिए ।


मानवीय स्वभाव र प्राणी जगतमा प्रेमको अपरिहार्य भावनात्मक संरचनाको संसारमा यदाकदा कुनैपनि कार्यमा अलमल भएपनि स्त्री र पुरुष बीचमा आकर्षण हुनुमा प्राकृतिक विशेषता अवश्यम्भावी छ, त्यही अनुरुपको प्राङ्गणमा थिए चतुरमान र भावना बिक ।


उनीहरु दुवैलाई थाहा थियोे कि हाम्रोजस्तो जीर्ण र संकीर्ण मानसिकताले भरिएको समाज । जुन समाजले उपल्लो र तल्लो भनेर जातीय विभेद प्रति वितृष्णा पैदा गर्ने, माथिल्लाले गरेको अपराधलाई ढाकछोप गर्ने अनि तल्लोलाई दबाबमा सीमित राख्ने परिपाटीको कारणले कतिपयले प्रेममय वातावरण देखि भागेर नराम्रो घटनाको शिकार हुनुपरेको उदाहरण नभएको होइन, यिनै यावत् कारणबाट ग्रसित थिए दुवैजना । मनले चाहेर मुखबाट प्रस्ताव राख्न सकिरहेका थिएनन् ।


समयको बहावसंगै उनीहरुले उच्च शिक्षाको खुड्किला पार गरे, अब आफ्नो लक्षमा अगि बढ्नुपर्छ भन्ने उद्देश्यसाथ दुवैले माध्यमिक शिक्षकको लागि अन्तर्वार्ता दिए त्यसमा पनि सहजरूपमा उतिर्ण भए । अब विद्यालयमा गएर अध्यापन गर्नुभन्दा पूर्व जानकारी अनुसार शिक्षा विभागको कार्यक्रममार्फत २ हप्ताको तालिममा मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गतको हेटौंडामा जानुपर्ने भएकोले चतुरमान त पूर्णरूपमा तैयार थियोे तर भावनालाई भने असहज भएको थियोे । हुन त महिला वर्गमा विभित्र क्षेत्रका नभएका होइनन् तथापि अधिकांश उच्च जातीकै भएको कारणले भावना केही हदसम्म चिन्तित थिईन् ।


हेटौंडा जाने दिन नजिकिँदै थियो, भावनाको अत्तोपत्तो थिएन, चतुरमानले मोबाइलमा सम्पर्क गर्दा पनि सुइँको पाउन सकेन, एक्कासी भावना सम्पर्क बाहिर भएको अवस्थाको कारणले चतुरमान चिन्तित हुन थाल्यो, कतै केही हराएको जस्तो, कतै केही नभएको जस्तो महशुस भएर उनी बस्ने छात्रावासमै गएर तिनको अवस्था बुझ्न पुग्यो चतुरमान ।


चतुरमानले छात्रावास पुगेर कुरा बुझ्दा सुरक्षागार्डको कुरा सुनेर अचम्मित भयो, किनकि भावना कसैलाई खबर नगरीकन दोलखा गएकी रहिछ, उसले तिनको यो निर्णयलाई अनुमान गर्न सकेन कि हेटौंडा जानुपर्ने मान्छे चरिकोट दोलखा किन गइन भनेर । तालिममा जान मात्रै ३ दिन बाँकी थियोे, चतुरमानले निष्कर्ष निकाल्न सकेन कि भावनालाई आँखिर के भयो भनेर ।


यता भावना चरिकोटमा पुगेर आफ्ना बाबु तेजनाथलाई भेटेर आफूले डिग्री स्तरमा उतिर्ण गरेर अब शिक्षक तालिममा जान लागेको र त्यसपछि गाउँमै शिक्षिका भएर आउने कुराको बेलिबिस्तार लाउन थालिन् । बाबु तेजनाथ निकै खुशी हुन थाल्यो, साथमा केही दुखी पनि देखिन्थ्यो, आफ्नो बाबुको अनुहारमा नैराश्यता छाएको देखेर सोधिन्,


होइन बा…. किन अनुहार अँध्यारो फेरि ? तपाईंले भनेजस्तै गरेर पढेर अब त गाउँकी मास्टर हुन लागें त,…!“
छोरीको कुरा सुनेर तेजनाथले लामो सुस्केरा छोडेर भन्यो…“ हुन त हो छोरी, तर तिमीहरूलाई गाउँमा पस्नै नदिने भन्नेहरू निस्क्याछन्, त्यै जगन्नाथ पंडितको छोरो मंगलेले गाउँमा नराम्ररी हल्ला चलाई दिया छन्, तँ र हाम्रा तल्सिं खड्काबाजेको छोरोको बारेमा हुनै नसक्ने कुरा फैलाएर उद्धुम् मच्चाएर… “बाबुको कुरा सुनेर,…“ ए हो र बा ! यत्ति कुरा सुनाउन यस्तो हतारिएर बोलाएको मलाई ?… मलाई थाहा थियोे बा, त्यो मंगलेले पक्कै केही कुरा सुनाएर गाउँलेलाई भड्काउला भनेर, बल र शक्तिको आडमा केही हुदैन बा…. हेर्दै जानू तिम्रो छोरी हुँ म लर्तरो नसम्झनु,… मेरो तालिम सकेपछि सिधै घर आउँछु अनि के गर्नुपर्ने हो, गरौंला, केही चिन्ता नमान…..“यसरी धेरै कुरा भनेर भावनाले बाबु तेजनाथलाई सम्झाई बुझाई घर फर्काएर आफू पूनः काठमाडौं फर्किन् ।


उता विगु गाउँमा यसैसालमा माध्यमिक स्कुलको मान्यता पाएर दुईवर्ष पछि उच्च मावि समेत बन्ने खबरले खुशीयाली छाएको थियोे, एकातिर जमिनदार खड्का दंगदास थियोे, किनकि आफ्नोतर्फबाट सकेको योगदानको कदर हुनलागेको थियोे भने अर्कोतिर आफ्नै छोरा त्यसै विद्यालयमा प्रधानाध्यापक भएर आउने पक्कापक्की जस्तै थियो, पहिलेजस्तो पढ्नका लागि दोलखासम्म झोलीतुम्बा बोकेर जानुपर्ने झण्झट् थिएन, त्यसैले पनि जमिनदारको खुशीको सीमा थिएन, तर त्यसै बिचमा पंडित जगन्नाथको छोरोले एउटा बखेडा शुरु गरिदियो ।


एकहुल मान्छेहरू जमिनदारको घरमा आएर कुर्लन थाले त्यसमा नायकत्व देखाउने मंगलेले प्रश्न चिह्न तेर्साएर भन्यो,…“ होइन ए जमिनदार काका, तपाईंलाई अलिकति पनि शरम लाग्दैन ? यत्रो जमिनदार भएर त्यो पनि क्षेत्री काजी जमिनदार जस्तो मान्छेले यो गाउँमा अरुलाई कुनै मतलब नराखी कलेज बनाउने, मनलागि मास्टर भर्ती गर्ने, हुँदाहुँदा आफ्नो मर्यादा र ईज्जतको ख्याल नै नराखी बाहिर बाहिर दलित बुहारी ल्याउने…..“
एक्कासी अकल्पनीय वातावरण सृजना भएको देखेर जमिनदारले केही भूमिका नबाँधेरै जवाफ दियो…“ सक्छौ भने तिमी गरेर देखाउ न त, कति पंडित्याँईको सम्पत्तिमा चुरिफुरी गर्छौ, मेरो छोराले जस्तै फस्ट क्लास पास गरेर देखा,


जा… यो गाउँ देखि माथिल्लो ठाउँसम्म सोधेर आ… यो जमिनदारले यो गाउँको लागि के गरे के गरेनन् भनेर, तेरो बाउले जस्तो जनै देखाएर पेट पाल्नुपरेको छैन मैले,….“
जमिनदार छत्र खड्काको कुरा सुनेर पंडित जगन्नाथ पनि भिडबाट अगाडि बढ्दै,…“ हेर, छत्रे जमिनको जमिनदार भएँ भन्दैमा जे मन लाग्यो, त्यो चाहिँ गर्न नखोज्दा बेश होला, तेरो छोरो चतुरेलाई यो गाउँबस्तीबाट ननिकालेसम्म तिमीहरूको सन्तानलाई समेत यो समाजबाट बहिष्कार गर्नेछौं, याद राख


, …“त्यसै बिचमा एक दुलहाको जोडी सहित वकिल र प्रहरीको टोली आईपुगे । सबैजना केहीबेर हेर्याहेर्यै भए, त्यो दुलहा दुलही अरु कोही नभएर जमिनदार छत्र थापाको छोरा चतुरमान र तेजनाथ बिककी छोरी भावना थिईन् । वकिलले हातमा केही पत्र लिएर पढेर सुनाए, जसमा देशमा गणतन्त्रको शुरुआत भैसकेको अवस्था र मूलुकी ऐन २०२० अन्तर्गत जातपातको खण्डन गर्न नपाईने, सामाजिक कल्याणकारी काममा कसैले अवरोध गर्न नपाईने, यदि कसैले यस्तो कार्यलाई अपमानित ढंगले हस्तक्षेप गरेमा या गर्न लगाएमा कानुनले अपराध ठह¥याउन सक्छ र सजाय दिलाउनेछ भन्ने परिपत्र लेखिएको थियो, यी कुरा सुनेपछि पंडित जगन्नाथ लुरुक्क फर्किए ।

भिमेश्वर नगरपालिका वडा नं २, दोलखा
हाल, जोरपाटी गोकर्णेश्वर ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!