सविना मानन्धर, फोटो पत्रकार
बाँपीझ्याला, जनकपुर । सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमीको लागि जानकी मन्दिरलाई दुलहीझैँ सिँगारिएको छ। भगवान राम र सीताको विवाहको सम्झनामा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सवको लागि जानकी मन्दिरमा झिलिमिली बत्तीहरु लगाइएको छ।
कोरोना महामारीबीच भइरहेको विवाहपञ्चमीमा यसपटक श्रद्धालुभक्तजनहरुको संख्यामा कमी आएको छ। लाखौँको संख्यामा नेपाल र भारतबाट साधुशन्त लगायत श्रद्धालुभक्तजनहरु आएपनि यसपटक बन्द सीमाको कारण आएका छैनन्।

जानकी मन्दिरबाट भारतको विभिन्न स्थानमा महन्थहरुलाई पठाइने गरेको पत्र पनि यसवर्ष नपठाएकोले संख्यामा कमी आएको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए।
अन्य वर्ष विवाहपञ्चमीको चौथो दिनसम्म जनकपुरधाम भरिभराउ भएपनि यस वर्ष अहिलेसम्म जानकी मन्दिर सुनसान रहेको छ। बन्द सीमा र साधुसन्तहरुलाई आउनको लागि निमन्त्रणा पत्र नपठाएपनि विवाहपञ्चमी समारोहको मुख्य दिन शुभविवाहमा सहभागी हुन एक लाखभन्दा बढी श्रद्धालुभक्तजनहरु आउने अनुमान गरिएको जानकी मन्दिरले जनाएको छ।

एक सातासम्म चल्ने विवाहपञ्चमीको पहिलो दिन जनकपुर नगरदर्शन गरिएको थियो भने दोस्रो दिन फूलबारी लिला, तेस्रो दिन धनुष यज्ञ र चौथो दिन आज तिलकोत्सव विधि मनाइएको छ।
अब भोलि मटकोरको विधि रहेको छ भने शनिबार मुख्यदिन शुभ विवाहको कार्यक्रम रहेको छ। आइतबार अन्तिम दिन रामकलेवा मनाएसँगै यस समारोहको विधिवत रुपमा समापन गरिनेछ।