बाँपीझ्याला, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई भावी प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् । पहिले प्रधानमन्त्री भइसकेकाहरु नै फेरि किन प्रधानमन्त्री हुनुपर्यो, भन्दै उपाध्यक्ष गौतम तर्फ नजर घुमाउँदै अर्को चुनावपछि अहिलेसम्म अवसर नपाएकालाई प्रधानमन्त्री बनाउनुपर्ने ओलीले बैठकमा बताएको नेकपा स्रोतले जानकारी दिए।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार आगामी चुनावसम्म जाने बताउँदै आफूले पद नत्याग्ने दोहोर्याए । आफूलाई जब जब असहज हुन्छ, तब ओली वामदेवलाई प्रधामन्त्रीको अफर दिने गर्दछ । यस अघिपनि ओलीले गोतम निवास भैसेपाटीमा पुगेर प्रधामन्त्री बन्न अफर गरेका थिए ।
ओलीले सचिवालयका अधिकांश सदस्यहरुले माग गरे झैं आफूले पद त्याग गर्नका लागि नभएर आगामी निर्वाचन पछि बन्ने सरकारको नेतृत्वको कुरा गरेको नेकपाका नेताहरु बताउँछन् । उनले यसरी पटक पटक निर्वाचन र महाधिवेशन पछिका पदहरु बाँड्दै हिँड्ने पुरानै शैली अपनाउने गर्दछ । उनले आफू पक्षमा आउनेलाई पार्टी र सरकारको विभिन्न पद दिने आश्वासन दिने गर्दैआएको छ ।
अध्यादेश ल्याएपछिको अवस्थालाई सहज बनाउन गौतमले आफू अनुकुल वातावरण निर्माण गरिदिने ओलीको अपेक्षा अनुसार गौतमलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको नेताहरुको बुझाइ छ । विगतमा पनि प्रधानमन्त्रीको आश्वसन पछि उपाध्यक्ष गौतमले प्रम ओलीलाई फाइदा पुग्ने अभिव्यक्ति दिने गरेका थिए । प्रम ओलीको आजको आश्वासनले उपाध्यक्ष गौतमको ओलीप्रति सहानुभूति दर्शाउने अभिव्यक्ति आउने नेकपा नेताहरुको आशंका रहेको छ ।