Search

द्वाल्खाको ऋणी बने म यसपटक –४

द्वाल्खाको ऋणी बने म यसपटक –४

रेखा शाक्य राजमति, स्वतन्त्र फोटो पत्रकार
ताहाचल, येँ ।

तेश्रो अंकको अन्तिम अंश…
कोठामा पुगें । आजको दिन राम्रो जात्रा कभर गर्न पाएकोमा खुशी भएं । तर चिन्ता आज रातको थियो । कतै हिजो जस्तो पूरै रात निंद्रादेव मेरोमा नआउने त होइन ? यहि चिन्तामा थकित तन र मनलाई विश्राम दिन पल्टें । एक्लो म अनि कोठा । मलाई साथदिने कोही थिएन नै । थियो त केवल मेरो मोबाइल र मलाई मनपर्ने गाना । गीत बज्न थाल्यो ओ साथी रे तेरे विना भी क्या जीना..। गाना सुन्दै आँखा चिम्लिएं र कसैको यादमा हराएं ।

चौथो अङ्कको अंश यहाँबाट शुरु हुन्छ ।
झल्याँस सम्झे । अहो आज राति त पिंगलटोलमा ट्वाकल प्याखन बेलुकी ९–१० बजेतिर शुरु हुन्छ भनेको । झण्डै विर्सेको । तन मन सबै थकित भैसकेको अवस्था । तर पनि जुन उद्देश्यको लागि कोरोनालाई वेवास्ता गरि आएं त्यो समयलाई खेर फाल्न दिन हुन्न भन्ने लाग्यो । दिपक स्वप्नीलजीलाई फोन गरें । वहाँ पनि जाने हो भने पछि सँगै जाने कुरा मिलाएं ।

दोलखाको ऐतिहासिक रात्रीकालिन भैरव कुमारी जात्रामा स्थानिय वासिन्दाहरु


म झण्डै पौने ९ बजे थाब्न बजारमा गएं । वहाँलाई फोन गरें तर फोन उठेन । म एक्लै पिंगलटोलतिर लागें । त्यहाँ ट्वाकल प्याखन शुरु हुन लाई सबैजना तयार भई सकेको अवस्था थियो । पुरानो बस्ती त्यसमाथि बत्ती सबै पोलमा नभएको अवस्था । वरपरका स्थानीयहरु बडो रमाइलो मूडमा आफ्नो घरको तलतिर बसिरहेको पाएं भने युवाहरुलाई रमाइलो गर्ने बहाना न हो । सबै आ आफ्नो टोली बनाई नाच हेर्न आएका । म त्यहाँ पुगेपछि सबैको दृष्टि म माथि ।

स्वभाविक पनि थियो । एक त अपरिचित अनुहार । त्यसमाथि महिला । क्यामराको ब्याग बोकेर रातको समयमा एक्लै आएर यता उता फोटो खिच्न थालेपछि सबको नजरमा पर्नु स्वभाविक थियो ।

तर म यस्तो हेराईबाट अभ्यस्त बनि सकेको व्यक्ति । मलाई रक्तिभर पनि वहाँहरुको हेराईले अप्ठ्यारो महसुस भएन । फोटो खिच्ने क्रममा नै देखें सबै जना केटाहरु । नाम त ट्वाकल प्याखन । सोह्रसय गोपिनी र कृष्णको नाच । पुरुषहरु कृष्णको भेषमा थिए तर गोपिनी बन्नेहरु सब केटाहरु । सबले आफूलाई गोपिनी देखाउने प्रयासमा साजसज्जा र पहिरन त्यही अनुसार गरेको देखें । सबको हातमा एउटा लठ्ठी र त्यसमा बाँधिएको डोरी अर्को हातमा बाँधिएको थियो ।

भैरव कुमारी जात्राका मुकुन्डोलाई रंग रोगन लगाने क्रममा स्थानिय वासिन्दाहरु

सबैजना दुईतिर लाइन मिलाएर बसेका । त्यसमा पनि एकलाइनमा कृष्ण बनेकाहरु अर्को लाइनमा गोपिनी बनेकाहरु । सबको आ आफ्नो जोडी । मृढंग, झ्याली र सहनाईको तालमा नाच शुरु भयो । यो जोडी नाच रहेछ । यस्तो जोडी नाच भक्तपुरमा गाइजात्राको दिन निकालिने गरिन्छ । त्यहाँ जोडीले घिंतांग किसि त्वाक्कको बोलमा नाच्थ्यो र एकअर्काको हाथमा रहेको लठ्ठीलाई एकआपसमा बजार्दै एकप्रकारको आवाज निकाल्थ्यो । त्यस्तै नाच द्वाल्खामा पनि देखेपछि भक्तपुर मानसपटलमा छाउनु स्वभाविक थियो । सोचें, यसपाली काठमाडौंमा कोरोनाको कारणले जात्राहरु सब स्थगितको सूचना जिल्ला प्रशासन कार्यालयले निकालेको छ । तर यो गाइजात्रा त मृत व्यक्तिहरुको सदगतिको कामनामा निकालिने । तसर्थ शायद भक्तपुरमा पनि सामान्यरुपले भएपनि यो जात्रा निकाल्यो होला भनि लाग्यो ।

भक्तपुरमा त जो पनि यस्तो नाचमा परम्परागत हाकुपटासी र दौरा सुरुवालमा साथै आजकलका युवाहरु साधारण पोशाकमा पनि घिंतांग किसि नाच नाच्न पाइन्थ्यो तर ट्वाकल प्याखनमा जोडीको रुपमा पहिलो पल्ट नाच्नेले आफू खुसी नाच्न र सहभागी हुन नपाउने नियम रहेछ । त्यसको लागि विशेष पूजा गर्न किसली (सानो माटोको पालामा चामल, दक्षिणा, गोलो सुपारी र दुबो राखि) चढाउनु पर्ने रहेछ । यो नाच पिंगलटोलमा दोह¥याइ तेह¥याइ बस्तीको तल र माथि गरी नाच्न थाल्यो । त्यही नै कृष्ण नारायण दाइ र दीपकस्वप्निलजीलाई पनि भेटें । वहाँहरुले यहि नाच अब शहरका सम्पूण देवस्थल, चैत्य घुमेर यही ठाउँमा नाचको समापन गर्छ भन्ने जानकारी दिनु भयो । तसर्थ आफूलाई चाहिने फोटो र भिडियो क्लिप पुगेकोले म कोठामा आएं । यतिबेला सम्ममा रातको झण्डै १२ बजि सकेको थियो ।

एक त पहिलो दिन निंद्रा नआएको अर्को दोश्रो दिन पनि दिनभरि द्वाल्खाको बस्ती घुम्या घुम्यै । थकित हुनु स्वभाविक नै थियो । सोचें आज त पक्कै निंद्रा आउनेछ ।

भीमसेन दबलीमा वडाध्यक्ष विराजमान श्रेष्ठको साथमा, कृष्ण नारायणजी र दिपक स्वप्नीलजी

तर निंद्रादेवी मेरो सट्टा कसैकोमा ओभरटाइम गर्न पुगेछ क्यारे । आँखा खुलेको खुल्यै । धेरै निदाउने कोशिश गरें । अन्तमा बाध्य भई पुनः मोबाइलमा भएको गीत नै सुन्न बाध्य भएं । एक्लोपनको सहारा गीत नै त हो । आफ्नो कोठा पहिलो तल्लामा भएकोले नेट पनि नटिप्ने । यो नेटको समस्या काठमाडौंमा मात्रै होइन जहाँ पनि रहेछ । जति बढी एम वि को हो त्यति नै पैसा बढी तिर्दा पनि उपभोक्ताहरुले त्यति सुविधा नपाउने । पाँचौं तल्लामा राखेको राउटरले पहिलो तल्लासम्म पनि सर्भिस नदिएको देखियो । नत्र फेसबुकमा समय व्यतित गर्न सजिलो हुने थियो । जात्राको फोटोहरु अपलोड गर्न पनि मिल्थ्यो तर म विवश । यतिकै पल्टिंदै गीत सुन्दै यो दोश्रो रातपनि कटाएं ।
बिहान सबेरै उठें । फ्रेस भई कौशीमा गएं । हिजोको दृश्य आज नहुने । अझ भनौं एकैछिनमा भीमेश्वरको शीलाको रुपजस्तै त्यहाँको वातावरण थियो । एकैछिनमा हुस्सुको नामोनिशान नहुने अनि एकै छिनमा प्रकृतिसंग तेलकासा खेलेसरी हुस्सुले ढाक्ने । बडो रोमान्टिक दृश्य । म ती सब दृश्य हेर्दै आफ्नै सूरमा कल्पना गरी मुस्काइ बसें । रमाइलो लाग्छ मलाई एक्लै कल्पनामा भुल्नु अनि मुस्कुराइ बस्नु ।

आज पनि कमलाले दिएको स्वादिलो चिया पिएं । कमला लजालु थिइन् तर स्वभाव राम्रो । म संग हिजो भन्दा आज अलि खुलेर कुरा गर्न थाली । केही मेरो बारेमा केही उसको बारेमा हामी बीच कुराकानी भयो । चिया पिएर म तल कोठामा आएं । मन त थियो एकछिन भएपनि सुत्ने । तर मेरो अन्तरमनको आवाजले कसैसंग भेट्नु पर्छ भनि झकझकाउन थाल्यो ।

द्वाल्खामा नै बसेपछि भीमेश्वरको दर्शन नगरी चित्त कहाँ बुझ्छ र ? लागें बजारतिर । सेंगुको दर्शन गरी भीमेश्वरतिर पाइला बढाएं । अरे वाह । भिमसेन दबलीको पछाडीपट्टी परिचित अनुहारहरु सब एकै ठाउँमा । त्यहाँ आर एन प्रधान, बालकृष्ण दाइ, कृष्ण नारायण दाइ र उत्तम दाइ, प्रविण, दीपकस्वप्निलजी, यमुना बहिनी र अन्य परिचय नभएका भाईहरु ब्याडमिन्टन खेल्दै थिए । वहाँहरुसंग हाइ हल्लो पछि दर्शनको लागि माथि गएं । मनमा उमंग हुने नै भयो । मेरो प्यारो नगर द्वाल्खामा यो मेरो तेश्रो दिन थियो । तैपनि मनमा कसैको अभाव खटकिएको पक्कै थियो । दर्शन पश्चात पुनः भिमसेन दबलीमा आएं । सबैजनासंग एकछिन गफ गर्न थालें । बडो खुल्ला हृदयका व्यक्तिहरु सबै । मलाई सबैले आफ्नोपनको आभाष दिए । सोही क्रममा कसैको आगमन हुन्छ । मेरो मुहारमा अनायसै मुस्कान छाउँछ । किनकी म अरु कसैसंग परिचित नहुँदा द्वाल्खामा सबसे पहिला परिचित हुने ब्यक्ति मेरो सामुन्ने थियो । बुग्देउ जात्रामा आउँदा वहाँले दिएको त्यो सहयोगलाई मैले भुल्नै सकेको थिएन । म वहाँलाई सम्मान गर्थें । तसर्थ मैले त्यो पललाई खेर जान दिएन । वहाँसंग फोटो खिच्ने रहरलाई पनि मैले तुरुन्तै पूरा गरें । साथमा त्यहाँ जम्मा भएकासबैसंग पनि सम्झनारुपि फोटो खिचें । त्यहीं बेलुकी भैरव कुमारीको नाच हुने जानकारी पाएं साथै कुमारी हुने सुखदेवसंग पनि भेट भयो । केही नाचको बारेमा वहाँसंग जानकारी लिएं । रमाइलो कुराकानी पश्चात म दिउँसो पुनः सबैलाई भेट्न आउने वाचा गर्दै कोठामा आएं ।

म कोठामा आएको देखेपछि विक्रम भाईले अजय प्रधान (जसको रिर्सोटमा म बस्दै थिएं) पनि द्वाल्खा पुगिसकेको कुरा सुनाउनु भयो । म चाहन्थे मलाई समस्यामा परेको अवस्थामा आश्रयदिने वहाँलाई प्रत्यक्ष भेटी धन्यवाद दिउँ । तर वहाँ कामले बाहिर गई सकेको जानकारी पाएपछि म पुनः कोठामै आराम गर्न थालें ।

साढे ११ बजेतिर विक्रमभाईले खाना खान बोलाउनु भयो । माथि कौशीमा गई घाम ताप्दै बसें । नभन्दै भाई अजय पनि आयो । बल्ल प्रत्यक्ष भेट्ने मौका पाएं । केही पलको भलाकुसारी पछि संगै खाना खायौं । आज दिउँसो केही कार्यक्रम नभएकोले द्वाल्खाका संस्कृतप्रेमी तीर्थनारायण जोशीलाई भेट्ने समय मिलायौं । साढे १ बजेको समय दिएपछि म पुनः कोठामा आराम गर्दै बसें ।

घडीले सवा एक देखाएपछि चाहिने सम्पूर्ण सामान लिई बजारतिर गएं । नभन्दै तीर्थनारायण दाईलाई बजार मै भेटें । वहाँसंग अन्तरवार्ताको लागि भिमसेन दबलीतिर लागें । त्यहाँ सबैजना बसि गफ गर्ने थलो रहेछ । सबै जना त्यहीं भेटियो । तीर्थ नारायणदाइसंग द्वाल्खाको संस्कृतिका साथै कसरी गुल्ना पर्व शुरु हुन्छ र के के जात्रा, कहिले, कसरी हुन्छ भन्ने जानकारी सबै भिडियोमा रिकर्ड गरें । त्यही अर्का भीमेश्वर गुठीका गुठीयार प्रभुनारायण प्रधानसंग पनि कोरोनाको कारणले द्वाल्खा भीमेश्वरमा परेको प्रभावका बारेमा सोधपुछ गरें ।

आज दितीयाको दिन । आजै बेलुकी देखि भैरव कुमारीको नाचको शुरुवात भई षष्ठी सम्म पाँचदिन रातभर भैरव कुमारी जात्रा हुने कुरा तीर्थ नारायण दाइबाट जानकारी प्राप्त गरें । अरु कुनै काम थिएन तसर्थ दिपक स्वप्निलजीसंग द्वाल्खाको बारेमा, वहाँ स्वयम प्रतिष्ठित गायक भएकोले संगीतको बारेमा छलफल गर्दे संगै खुलेको एक मात्र चियापसलमा चिया पिउँदै गफिंदै बसें । त्यति नै खेर वडा अध्यक्ष विराज श्रेष्ठ बालकृष्ण दाइको साथमा आउनु भयो र पिंगलटोलमा भैरव र कुमारीको मुखौटामा रंगरोगन गर्दै गरेको र मेरो लागि त्यो सुनौलो अवसर भएको जानकारी दिनु भयो । वहाँलाई धन्यवाद दिंदै म हतारिएर त्यो पल क्यामरामा कैद गर्न गएं ।

पिंगल टोल नाम सुनेपनि र गएको राति पुगे पनि कहाँनिर त्यो काम हुँदै गरेको भन्ने थाहा नपाएपछि स्थानीयसंंग सोध्दै पुगें । जस्ताको बारले कोठाको रुप दिएको ठाउँमा केही व्यक्तिहरु मुकुण्डो सिंर्गान व्यस्त देखें । फोटोको साथमा भिडियो पनि खिच्दै गएं । भैरव र कुमारीको मूर्ति बडो अजिबको पाएं । भैरवको मूर्ति कालो मैनको थियो भने कुमारीको मूर्ति सिन्दुरे रंगको थियो । अर्को कालो रंगको मुकुण्डो नास डेंङ्गु (नाक काट्ने) र जाल फ्याक्नेको रातो मुकुण्डो थियो । सबै मुकुण्डोमा मैनलाई तताई मरम्मत गर्दै थिए । वहाँहरुको काम बडो संयमताका साथ म हेर्दै बसें । एकछिन पछि भैरव कुमारी जात्राका गुथियार महेश कुमार श्रेष्ठसंग केही जानकारी प्राप्त गरें । जात्रा त बेलुकी ९–१० बजेतिर मात्रै हुन्छ भन्नु भयो । तसर्थ त्यहाँबाट फर्की पुनः कोठामा आएं ।
साँझ अजयका साथै रोजिता भाउजुले दिनु भएको खाजा खाएं । बेलुकी जात्रामा जानु पर्छ भनेपछि खाना खाइ जान अनुरोध गर्नु भयो । मलाई खाजा नै पुगि सकेको थियो त्यसैले खाना खाइन । अक्सर काठमाडौंमा जात्रामा जाँदा प्रायः म बिहानको जात्रा हो भने एक कप चियाको भरमा दिनभरी जात्रामा डुल्दै बस्थें । मलाई जात्रामा सहभागिता हुन पाएपछि भोकप्यासको खासै वास्ता हुने गर्दैनथ्यो । त्यो बानी द्वाल्खामा पनि रह्यो । बाटोमा अँध्यारो थियो । द्वाल्खामा काठमाडौंमा जस्तो रातविरात मान्छेहरु घर बाहिर ननिस्किेने रैछ । सुनसान बाटोमा म मोबाइलको लाइट बालि बेलुकी साढे आठ बजेतिर नै पिंगल टोलमा पुगें । त्यहाँ दिउँसो सिंगारेको मुकुण्डोमा रुमालले छोपेर पूजा साम्रगी ठीक पारेर राखेको देखें । म पुगेपछि दिउँसो भेटेको सन्तोष भाइले फोटो खिच्ने हो भनि सोध्नु भयो । मैले पनि हो भनेपछि रुमाल झिकी दिनु भयो । जात्रा शुरु हुन अझै समय लाग्छ भन्नु भयो । त्यहाँ कसैलाई चिनेको थिएन । बाहिर सुकुलमा टुक्ररुक्क बस्न थालें । बिस्तारै एकदुई गर्दैै गुठियारहरु आउने क्रम बढ्न थाल्यो । आफ्नाहरुको बीचमा म अपरिचित व्यक्तिलाई देखेपछि आँखामा प्रश्न चिन्ह राख्दै कहाँबाट, को संग, किन आएको भनि सोध्नु भयो । मैले पनि आफू काठमाडोंबाट विशेषगरी यो जात्रा नै कभर गर्न आएको भनेपछि खुशी हुनु भयो । हामी नेवाःहरु मनको धनी । कसैसंग दुईचार कुराकानी भएपछि आत्मियता बढ्ने । त्यहाँ भेटेका बुढाबाहरुले मलाई खाना नखाई आ को थाहा पाएपछि आ आफ्नो घरमा खान जाउँ भनि आतिथ्यपन देखाउनु भो । वहाँहरुको विशाल हृदय देखेर मन गद्गद् भयो । सबैलाई त्यो आफ्नोपनको लागि धन्यवाद दिंदै म त्यहीं बसी रहें ।

समय बित्दै गयो साथमा गुडियारदेखि सो जात्रामा संलग्न हुनुपर्ने अन्य व्यक्तिहरु, बाजा बजाउनेहरु र जात्रामा पात्र बन्नेहरु सबै एक एक गर्दै आउन थाले । बडो अचम्म त तब भएं जब देवता बन्नेहरु भित्र गई देवताको वस्त्र लगाउन थाले । अचानक पानी बेस्सरी पर्न थाल्यो । म अचम्भित भएं । पछि थाहा पाएं जात्राको दिन पानी पर्नु नै पर्दो रहेछ । त्यो शुभसंकेत रहेछ । मेरो मानसपटलमा पुनः काठमाडौंको मछिन्द्रनाथ जात्रा र पनौतिको इन्द्रेश्वर भैरव जात्राको दिन ताजा भयो । त्यो दुई जात्रामा पनि जस्तै नै घमाइलो समय भएपनि पानी पर्ने गर्दछ जसको प्रत्यक्षदर्शी म स्वयम थिएं । दैवको अचम्मको लीला ।

मैले देवता बन्ने पात्रहरुको प्रत्येक क्रियाकलाप क्यामरामा कैद गर्दै गएं । त्यही मुकेश गिरी भाईलाई भेटें । वहाँले सो स्थानमा के के हुन्छ छोटकरीमा बताउनु भयो । पूजारीले विधिविधान अनुसार तान्त्रिक पूजा गरे । साथै ब्रतालुहरुले पनि भैरव र कुमारीलाई समयबजिको साथमा फलफुल र सगुन दिए । त्यस पश्चात देवता बन्ने पात्रलाई मुकुण्डो हस्तान्तरण गरियो । बाहिर बाजा बजाउनेहरुले बाजा बजाई राखेका थिए भने देवता निस्कने भएकोले स्थानीयहरु पनि बाहिर प्रतिक्षारत थिए । एवं प्रकारले अरु गणहरु जस्तै सेनापति, थकाल्नी, जाल फ्यांक्ने, नाक काट्ने, सामान बोक्ने, ध्वजा बोक्ने, गुरुजु एकएक हुँदै बाहिर निस्किए । तत्पश्चात भैरव र चाकल चुकल (भैरवको वाहन) निस्किए र बाहिर स्थानीयले धुपको साथमा पूजा गरे अन्तमा कुमारी निस्के साथमा चाकलचुकल (कुमारीको वाहन) पनि । त्यसपछि पिंगलटोलको बस्तीमा सबै जना नाच्न थाले । पानी परिरहेको थियो । तर जात्रामा त्यसको कुनै असर परेको देखिन । हेर्ने जात्रालुहरु कम अवश्य थिए । किनकी पहिलो दिनको जात्रा भूतप्रेतले हेर्ने जात्राको रुपमा लिइने गरिन्थ्यो रे । नाच पनि बडो आर्कषक थिए । काठमाडौं पनि विभिन्न जात्रामा यसरी देवताको वस्त्रका साथमा मुकुण्डो लगाई नाचेको हेर्दै आएकी म यहाँ भने नाच्ने क्रममा कुमारी अगाडी बढ्न खोज्ने तर भैरवले छेक्न खोज्ने । फेरी बाजा बजाउनेहरु पनि देवताको अगाडी बसि नै बजाउने गर्दै थिए । यो दृश्य मेरो लागि नौलो थियो । किन कि काठमाडौमा पनि बाजा त बजाउँछ नै तर बाजा बजाउनेहरु या त देवता भन्दा अगाडी पहिला नै बाजा बजाई जाने गरिन्छ । दबलीमा नाच्ने भए कुनै स्थानमा अलग बसि बजाउने गरिन्थ्यो । तर यहाँ देवताको अघिपछि बसेर बजाएको देख्दा अचम्म हुने नै भएं । मलाई त्यो समयको दृश्य कभर गर्नु त थियो नै तर पानी परिरहेकोले पानीबाट क्यामरा बचाउन पनि धौ धौ परिरहेको थियो । धन्न मुकेश भाईले छाताले ओढाइ साथ दिन आउनु भयो ।

भैरव कुमारी जात्रा अगाडी बढ्दै गयो । जात्राको पहिलो दिन भएकोले कहाँ के गर्छ त्यो कुराबाट अन्जान म । जात्रा हुनु अघि बेस्सरी पानी परेको प्रभाव बाटो भरि हिलै हिलो । २०७२ सालको भुकम्पको मार द्वाल्खा बस्तीमा पनि राम्रै परेको छ । धेरैको घर भत्केको हुनाले निमार्णको क्रममा थियो । त्यसैले होला २०५६ सालमा द्वाल्खा नेपाल भाषा खलकको आयोजनामा येँ – द्वाल्खा मोटरसोईकल ¥याली सालमा पहिलो पल्ट आउँदा त्यहाँको नेवाः बस्तीको बाटोमा जहाँतहीं ढुंगा ओछ्याएको देखेकी र द्वाल्खा शहर ढुंगैढुंगाको शहर भनेर चिनेको मैले । यो पल्ट पानी परेकोले र निमार्ण प्रक्रियामा भत्काउँदै गरेका घरबाट निस्केका माटोमा पानी परेपछि हिलैहिलो मात्रै देखें । त्यसमाथि सडकमा बत्तीको व्यवस्था नभएको । आफू कति खेर चिप्लिएर लड्छ भने हेक्का समेत राख्न नसक्ने । आफूलाई जसोतसो सम्हालेर जात्राको पछि पछि लाग्दै गएं । राइती सम्म पुगेर फोटो खिचेपछि सम्पूर्ण शहर जात्राको पछि लागेर जाने आँट जुटाउन सकिन । एक त हिलो त्यसमाथि भोकले पनि सताउन थालेको थियो । त्यसमाथि खुट्टा दुखेर हैरान । त्यतिमात्रै भए त एकछिन आराम गरी जाने थिएं तर मलाई सास फेर्न समेत गाह्रो भएको अनुभव भइरहेको थियो । अन्जान ठाउँमा मलाई केही भए साथ दिने सम्म कोही थिएन । आफूले आफैलाई सम्हाल्नु जरुरी थियो तसर्थ म त्यहाँबाट टसिचा हुँदै बजारतिर बसि प्रतिक्षा गर्ने सोचमा गएं । सेंगु नजिकै आर एन प्रधानसंग जम्का भेट भयो । मेरो हालत देखेर वहाँले मलाई आफ्नो घरमा लगि केही खानेकुरा खुवाउनु भयो । मुखमा नुन परेपछि बल्ल मेरो सास स्वभाविक हुन थाल्यो । शायद जात्रामा दौडधुपको कारण मेरो प्रेशर तलमाथि भाको जस्तो लाग्यो । वहाँलाई धन्यवाद दिइ पुनः भीमेश्वर मन्दिर तर्फ लागें । बाटैमा दिपक स्वप्निलजीलाई भेटें । वहाँले चन्द्र श्रेष्ठ को साथमा त्यहींको स्थानीय माणिक प्रधानजीसंग परिचय गराइदिनु भयो । वहाँहरुसंग एकछिन रमाइलो गफ गरिसकेपछि थाहा भयो चन्द्रजी विगत २५ वर्ष देखि जापानलाई कर्म भूमि बनाई बसे पनि आफ्नो जन्मथलो द्वाल्खाको विकासको लागि केही गर्ने मनसायले द्वाल्खा दरबारको होटल बनाउन आइरहेको सुनाउनु भयो । सोचें यसरी सबैले आफ्नो थलोको विकासको निम्ति सक्ने केही काम मात्रै गरे पनि हरेक गाउँठाउँ विकास हुनेथ्यो । तर वर्तमान अवस्थामा नेपालको परिवेशमा बस्न नसकेर वा नेपालको राजनैतिक अस्थिरताले विदेशीन बाध्य भएकाहरु नेपाल फर्किन सम्म चाहन्दैन । वहाँको जन्मभूमिको माया देखेर नतमस्तक भएं म । वहाँहरुबाट बिदा लिई म भीमेश्वर मन्दिर जाने तरखरमा थिएं । त्यहीं नै भिमेश्वर गुठिका जिम्मेवार व्यक्ति शैलेन्द्र जोशी र जितेन्द्र श्रेष्ठजीसंग भेट भयो ।

शैलेन्द्र जोशीले पनि जात्राको बारेमा धेरै कुरा बताउनु भयो । मैले वहाँसंगको कुरा पनि रिकर्ड गरें । झण्डै रातको बाह्र बजे भैरव कुमारी र अन्य गण भीमेश्वर मन्दिर पुग्यो । पिंगलटोलबाट जात्रा शुरु हुँदाका हुल मान्छेहरु त्यहाँ पुग्दा सम्म गुठियारहरु र बाजा बजाउनेहरुमा सिमित भई सकेको थियो । मन्दिर परिक्र्रमा पश्चात सबै गणको साथमा बाजाबजाउनेहरु र अन्य केही व्यक्तिहरु त्रिपुरासुन्दरी मन्दिर तिर परिक्रमा गर्ने क्रममा लागे । म भने अब पुनः घुम्न नसक्ने अवस्थामा पुगेकोले कोठामा आएं । रातको १ बजि सकेको रहेछ । जुत्ताभरी हिलैहिलो । बाथरुममा गई सबै सफा गरें । आज त निक्कै थाकेकोले निंद्रा आउने विश्वासका साथ ओछ्यानमा पल्टें । कति बेला निद्रा लाग्यो थाहा नै पाईन ।

बाकी अंशको लागि प्रतिक्षा गर्नुहोस् …

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment