Search

द्वाल्खाको ऋणी बने म यसपटक –३

द्वाल्खाको ऋणी बने म यसपटक –३

कोठामा पुगेर थकित तन र मनलाई विश्राम दिने मनसायले पल्टें । तर नयाँ ठाउँ र नयाँ ओछ्यानमा लाख कोशिश गरेपनि निंद्रादेवी आउने सुरसार गरेको सुँइको सम्म पाइन मैले । तब रातभर मोबाइलमा राखेका पुराना हिन्दी फिल्मका गीतहरु सुन्दै आँखा चिम्लेर बस्न बाध्य भएं । मेरो द्वाल्खाको पहिलो दिन र पहिलो रात पछि अन्य दिनमा के के भो ?

तेश्रो अङ्कको अंश यहाँबाट शुरु हुन्छ
आज पुरानी राहों से कोइ मुझे आवाज दे… यही गीत सुन्दै मनमा कल्पनाका छालहरुलाई सुम्सुम्याउन खोजें । साँच्चै के छ द्वालखामा ? जसको कारण मेरो मानसपटलमा सँधै द्वाल्खा हावी हुन आउँछ । धेरै पटक यस्तो सम्म पनि सोचें शायद पहिलाको जन्मको केही अंश यहीं पो बित्यो कि । या यो जन्ममा केही द्वाल्खामा गर्न बाँकी थियो कि । आफ्नो नादानीपन देखि आफै मुस्कुराएं । रातभर अनेकन कल्पानाको तानाबुना बुन्दै यतिकै कटाएं ।

आखिरमा साँझ बिदा लिई गएको सूर्य पनि बिहान उदाउनै पर्ने नियम न हो । झिसमिसे बिहानी भएको संकेत त्यहीं वरपरका भालेले कुखुरी कां भन्दै दिन थाल्यो । घडी हेरें विहानको ५ बजेको रैछ । सुतेको भए पो उठ्न अल्छी लाग्थ्यो । रातभर खापा नभएको ढोका समान खुल्लै रहेको आँखा अब भने बिहानको द्वाल्खाको दृश्य हेर्न लालायित भयो । क्यामरा निकाल्दै माथि पाँच तल्लाको कौशीमा पुगें । आहा कति मनोरम दृश्य । त्यो दृश्य देखेर काठमाडौंको आफ्नो बिहान सम्झें । सूर्योदय हुने बितिक्कै आफ्नो कोठाको झ्यालबाट सूर्यको किरणले अंगालो हाल्न आउँथ्यो । तर यहाँ सूर्योदय भएर पनि सूर्य उडाएको त थिएन तर चारैतिरको त्यो मनमोहक दृश्यले मलाई आर्कषित गर्न कुनै कसर बाँकि राखेन । सिधै अगाडी राजकुलेश्वर स्कूल ।

दोलखाको पुरानो बस्ती तल्लो टोल

त्यहाँ भन्दा पर तह तह लागेको पहाड । त्यो पहाडमा पनि हुस्सुहरु एकतमासले आफ्नो चञ्चलपन देखाई अगाडी बढी रहेको । कहिं बाक्लो हुस्सु त कहिं पातलो हुस्सु । त्यो दृश्य देखेपछि लाग्यो मानौं कोही नयाँ दुलहीको घुम्टो दुलहाले विस्तारै उघार्दैछ । मनै त हो । आफ्नो पनि मन चञ्चल हुन किन रोकिन्थ्यो र ? कल्पनामा के के सोचें त्यसको बखान गर्नु आफैमाथि स्वयम हाँस्नु बाहेक अरु विकल्प थिएन । नजर चारैतिर दौडिन थाल्यो ।

दी पुखुर्चा द्वाल्ख रिसोर्ट अलि हाइटमा भएकोले होला परपर सम्म पनि मजाले दृश्यावलोकन गर्न सजिलो भयो । धेरै घरको मूल ढोका त खोलेको पनि थिएन । त्यसैले मान्छेहरु प्राय शुन्य नै थिए । यता नजर दौडाउँदै गर्दा उता सदरमुकाम चरिकोटको घुम्टो कसले खोल्यो पत्तो पाएन । चरिकोट छयाङ्क देखिसकेको थियो । म ती सब दृश्यहरु आफ्नो क्यामरामा कैद गर्न थालें । झण्डै एकघण्टा कौसीमा विताएपछि तल आएं ।

कमला बहिनी उठी सकेकी रैछिन् । मलाई ता तातो चिया एक कप दिइन । चियाको पहिलो चुस्की लिने बित्तिकै केही नयाँ स्वाद जिब्रोले चाल पाइ हाले । ब्लाय्क पेपर र अदुवाको स्वादको चिया । कति स्वादिलो । अदुवा राखेर त पिउने गर्थे तर ब्लाय्क पेपर राखेर कहिल्यै पिएकी थिइन । चियाको चुस्की लिंदै कमलासंग गफिन थालें साथै बिहानको खाना सुषमाको मा गई खाने जानकारी दिएं ।
नभन्दै साढे छ बज्यो । तल आफ्नो कोठामा आएं । द्वाल्खाको पानीलाई आफ्नो शरीरसंग परिचित गराउने मेरो चाहनालाई पुरा गरें । सुषमालाई फोन गरी आफू हिजो बेलुकी आउन नसकेकोमा पुनः माफी मागें र आफू भीमेश्वरको दर्शन गरि बिहानको खानासंगै खाने बचन दिएं ।

भीमसेनथानको प्राङ्गनमा गाईजात्रा, साप्याखन

आज सापारुको दिन । आज दिनभरी नै मृतआत्माको स्मरण गर्दै परिवारहरु परिक्रमा गरिने जानकारी भाई प्रविणले दिएको थियो । त्यसैले चाहिने सबै सामान ब्यागमा बोकें । पाइला बजारतिर अगाडी बढ्यो । बजारमा जगत कुमारजीलाई पनि देखें । वहाँले पनि मलाई देख्नु भो । दुबै मौन । हिजोको मेरो असन्तुष्टि केही थिएन मनमा । किनकी वहाँले जे सोचेर मलाई आश्रय दिनु भएन त्यो वहाँको ठाउँमा सही निर्णय थियो । कारण वहाँको परिवार पनि सोहि घरमा बस्नु हुन्थ्यो । कोरोनाको डर त हुन्छ नै सबैलाई त्यसमाथि उमेर पुगेकाहरु हुन् वहाँहरु । म आफ्नो बाटो लागें । सिधै भिमसेन डबलीमा प्रविण बसेको देखें ।

हामी दुई विच नमस्कारको आदान प्रदानकै क्रममा पछि भेट्ने कुरा बताउनु भयो । पछि भेट्ने वाचा सहित म सिंढी चढ्न थालें । त्यो यहि सिंढी थियो जहाँ शायद कोरोना नभएको भए दाँयाबायाँ फूलको साथमा पूजालाई चाहिन सामग्री बेच्नेहरुको भीड र किन्नेहरुको भीड हुन्थ्यो होला । तर विडम्बना कोही थिएन । म एक्लै थिएं । मन्दिर प्राङ्कण पनि सुनसान थियो । त्यहींको स्थानीय एकदुई जना मात्रै देखें । भगवानको दर्शन गरें । एकतमासले आँखा झिमिक्क नगरी जति सकिन्छ शिलालाई आफ्नो आँखामा समाएं । किनकी मैले स्मरणको लागि भनि फोटो खिच्न अनुमति थिएन । तीन शिलाको अवतार मानिने भीमेश्वरको पहिलो रुपलाई दर्शन गरें मन अघाउँञ्जेल । मनमा एक अनौठो खुशी छाएको थियो । भगवानसंग मनमनै मागें । भगवान, मेरो द्वाल्खा बसाइ खुशीले भरियोस् र काम पूरा होस् ।
दर्शन गरी सँगै रहेको अफिसतिर पाइला बढाएं । सोधें, यहाँको वडा अध्यक्ष कति खेर आउनु हुन्छ ? वहाँसंग सानो अन्तर्वाता लिनु थियो । त्यहाँ रहेका हरि दर्शनभाईले पछि आउनु भयो भने सन्देश प¥याई दिन्छु भनि जवाफ दिनु भयो । म त्यहाँबाट फर्केर सुषमा (सोमभाई) को घर तल्लो टोल बहिरमा गएं ।

सोमभाइको घरमा मलाई सुषमाले न्यानो अभिवादन सहित स्वागत गदैं भित्र लगे । गुँपुन्हिको याद दिलाउँदै क्वातिसहित मासु भात खुवाउनु भो । सुषमासंग कुरा गर्दै बस्दा उता सोमभाई पनि अनलाइन आउनु भयो र दुबैजनासंग मज्जाले कुरा गरें । त्यति नै खेर कृष्ण नारायण दाइको फोन आयो । सापारु निस्कनै लाग्यो कता छौ भनि सोध्नु भो । म सोमभाईको घरमा भनेपछि वहाँ पनि त्यतै आउनु भो । सुषमासंग बिदा लिई हामी दुबै तलतिरको नारायण मन्दिरतिर लागें ।

साप्याखनको दिन स्थानिय भजन मण्डली

नारायण मन्दिर तिर केही मानिसहरु बाजा बजाउँदै थियो । केही मानिसहरु विभिन्न खालको लुगा लगाएर अनि केही जनावरको भेषमा पनि थियो । डोको थियो । मोहीको भाँडो थियो । मेरो लागि नौलो दृश्य । के गर्न लागेको हो मलाई हेक्का नै भएन । म बस हेर्दै फोटो खिच्न थालें । त्यतिखेरै कृष्ण नारायणदाईले पछाडी जान भने । मैले केही बुझ्नै सकिन । पछि थाहा पाएं । ती गाई र मृगको भेषमा आउने अरु कलाकारले त्यहाँ मोही बनाउने र त्यो चारैतिर छर्ने गर्दो रैछन् । ती सम्पूर्ण दृश्य हुँदा बीचबीचमा संवाद पनि बोल्दै एकप्रकारले नाटक जस्तै देखाइ रहेका थिए । त्यो दृश्यले अनायसै किर्तीपूरको यस्तै साः याः अर्थात गाइजात्रामा देखाउने धे धे पा पा को सम्झना आयो । कस्तो मिल्दो जुल्दो ।

उता मन्दिरको फलकमा मान्छे मरेको घरबाट मृत आत्माको सदगतिको सम्झनामा पहेँलो वस्त्र धारण गरि जोगिको भेषमा मान्छेहरु बसेका देखें । पाइला उतैतिर डो¥याएं । कोही जोगीको भेषमा हुनेहरुले बितेको मान्छेको फोटो समेत बोकेका थिए । यो दृश्य हेरेपछि पुनः भक्तपुरको गाइजात्रा याद आयो । सोचें मान्छे भौगोलिक रुपमा टाँढिएर बसेपनि परम्परामा केही न केही समता त हुँदो रैछ । यसको लागि पाएदेखि दोलखाको ईतिहास एकचोटी पढनु पर्ने भयो भनी मन मनमा कुरा साचे । काठमाडौंमा जस्तै ती जोगीरुप धारण गरेकालाई अन्य स्थानीय महिलाहरु र स्वयम मरेको घरका परिवारले नासपाति, काँक्रोको साथमा अन्य खाद्यवस्तु दिएको देखें । त्यति नै बेला रविन र वहाँको धर्मपत्नीलाई पनि भेटें । वहाँहरुले खाद्यबस्तुको साथमा कोरोना संक्रमणबाट सचेत हुन मास्क समेत वितरण गर्दै थियो । त्यहाँको कार्यक्रम नसकिंदै माथिल्लो टोलका खलकहरु पनि बाजागाजा सहित सापारु आए । त्यही भिडमा प्रविण र गम्भीरजीलाई भेटें । गम्भीरजीले प्रसाद खान बेलुकी आफ्नो निवास दोलखा दर्शन होटलमा निमन्त्रणा दिनु भयो ।

सुषमा बहीनीको साथमा बहिर टोलमा

दिउँसोको चर्को घामले शरीर गल्दै गएको अनुभुति हुन थाल्यो तैपनि सापारु जानेहरुसंगै हिंडन थाल्यौ । साप्याखन दुई ठाउँबाट निकालिने रैछ । मथिल्लो टोलकाले माथिका सबैको प्रतिनिधित्व गर्दै र तल्लो टोलकाले तल्लो टोललाई समेटिने रैछ । सबैजना द्वाल्खाको गणेश मन्दिरको साथै विभिन्न ठाउँको परिक्रमा पछि स्वयम्भुथान साथै भीमेश्वरको मन्दिर घुमि त्यहाँबाट त्रिपुरासुन्दरी हुँदै दुंगलटोल पुग्नु हुर्दै त्यहाँबाट पुनः आ आफ्नो टोलमा जाने चलन रहेछ । म पनि ती लस्करसंगै भीमेश्वरसम्म पुगें अनि त्यहाँ अरु जतिपनि आउँछ सबै त्यहाँ अनिवार्य रुपमा आउनु पर्छ भनि त्यहींका स्थानीयले भनेपछि मैले त्यहीं बसि प्रतिक्षा गर्ने सोचें ।

नभन्दै अर्को टोली पनि आइपुग्यो तर ती टोलीमा जोगीको भेषमा सेतो धोति लाउनेहरु । स्वर्गिय परिवारका छोरा अर्थात परिवारहरु होलान् शायद । अरु भनेको बाजागाजाको साथमा भजन मण्डली र अरु कलाकारहरु । कलाकारमा पनि कोही केटीहरु बाकि सबै केटाहरु । जसमा कोही विष्णु भगवान, कोही नारद, कोही महादेव, कोही हनुमान, कोही कृष्ण बनेका थिए ।

केटाहरु पनि महिलाको पहिरन सारीमा विभिन्न आभुषणले सजिएर मुखमा पनि श्रृंगार पटार गरी आएका थिए बाटोमा नाच्दै । यसरी नाचेर आउनेहरु कुनै निश्चित ठाउँमा रोकेर नाच देखाउने रैछ र तिनीहरुलाई स्थानीयहरुले चामल र पैसा दिने रैछ । यसरी आउने क्रममा विभिन्न स्थानमा भजन मण्डलीले मृत व्यक्तिको गुणगान गर्दै छोडेर गएकोमा दुख ब्यक्त गर्दै भजन गीत गाउँने रहेछ । त्यो दृश्यले मनमा दुखको भाव श्रृजित हुन पुग्यो ।

जात्राको दृश्य कभर गर्ने क्रममा काठमाडौं, भक्तपुर, पाटन, किर्तीपुर आदि ठाउँमा साप्याखनमा घुमें तर द्वाल्खामा जस्तो यसरी मृतलाई सम्झी उसको गुणगानको बखान गर्दै भजन गाएको देखेकी थिएन । अर्को एउटा कुरा पनि नोटिस गरें सेतो धोति लाउनेहरुले हातमा फर्सीको आधा भागलाई कचौरा जस्तो बनाई त्यसमा चामल राखेर हातमा बोकी ल्याएको । हुन त द्वाल्खाको बुग्देउ जात्रा बाहेक अरु संस्कार, संस्कृति र परम्परा मैले हेर्ने अवसर पाएकै थिएन सिधै भन्नु पर्दा द्वाल्खाको परम्परा र संस्कृतिबाट अनभिज्ञ थिए म । त्यसैले पनि द्वाल्खामा जति पनि क्रियाकलाप हुँदै गर्यो र भयो त्यो सब मेरो लागि नौलो अनुभुति हुन पुग्यो । बस म मात्र मुक दर्शकको रुपमा हेर्थे र फोटोको साथै भिडियो खिच्दै संकलन गर्दै गएं ।

यी सब दृश्य कैद गर्दा गर्र्दै दिउँसो भई सकेको थियो । बिहान खाना खाएको हिंड्दा हिंदडै पचिसकेको अवस्था थियो । बजार खुलेको थिएन केही किनेर खान । ब्यागमा पानी थियो त्यही पिउँदै बसें । त्यतिखेर हरीसरको फोन आयो । दुङ्कलटोलमा माझिपा लाखे निकाल्न लाग्यो । मेरो पाइला स्वचालित रुपमा उतैतिर लम्कियो । दुङ्कलटोल टोल चारैतिर घर भएपनि बीचमा अलि खुल्ला थियो । त्यहाँ एक चैत्य पनि छ । चैत्यको अगाडी दुईतल्लाको घर । सुनें माझिपा लाखे तयार हुँदैछ । म प्रतिक्षा गर्न थालें । त्यही बेला एकजना भाइ नजिक आइ मेरो नामले बोलाउन थाल्यो । हेरें मेरो लागि त्यो अनुहार अपरिचित थियो । म अचम्ममा परें । पछि भाइले आफ्नो नाम समीर श्रेष्ठ भन्दै परिचय दिंदै मलाई फेसबुकमा फलो गर्ने र इन्द्रजात्राको अवसरमा पनि आई त्यहाँको जात्रा हेर्ने गरेको र द्वाल्खाको जात्रा कभर गर्न यस्तो बेलामा समेत आउनु भएकोमा खुशी व्यक्त गरे । खुशी त मलाई पनि कम लागेको थिएन । मैले सोचेथें द्वाल्खामा मलाई चिन्ने खासै हुँदैन होला । तर मलाई फेसबुकबाट चिन्ने भेट्नु नै त्यो मेरोलागि खुशीको कुरा थियो । यस्तो खुशी द्वाल्खामा मात्रै होइन अन्य जात्रामा जाँदापनि धेरैले रेखा शाक्य होइन र तपाइ र्? भनि कुरा गर्न आउँदाको त्यो पलले जति नै दौडधुप र भोकले लखतरान हुँदै थकित अवस्थामा पनि मुहारमा ताजापनको मुस्कानले थकान मेटिन्थ्यो । त्यो भाइसंग कुरा गर्दा पनि त्यस्तै अनुभव भयो । त्यहीं शान्ता दाइ र कृष्ण नारायण दाईको साथमा हरिसरलाई पनि भेटें । चियाको लागि वहाँले अनुरोध गर्नु भएको हो तर चिया खाने समयमा माझिपा लाखे निस्केला र मैले खिच्नु पर्ने छुट्ला भन्ने पीरले म भोक लागेपनि वहाँको घर जान सकिन ।

नभन्दै एकैछिनमा मझिपा लाखे पनि तयार भई त्यो खुल्ला ठाउँमा आयो बाजाको साथमा । मझिपा लाखे । कालो केश । रातो मुकुण्डो । हरियो जामा र हातमा निलो रुमाल बाँधेको । लाखेको कम्मरमा लामो लामो डोरी बाँधेको । केही युवाहरु मुखमा मास्क जस्तो रुमालले बाँधेर त्यही लाखेको कम्मरको डोरी समातेर गालो आकारमा बस्यो । बाजाको तालमा लाखे नाच्न थाल्यो । बाजाको ताल र बोल बेग्लै थियो भने नाच्ने तरिका पनि बेग्लै काठमाडौंको भन्दा । जे होस् मलाई रोमान्चित हुन काफी थियो । लाखे नाच्दै गर्दा चारैतिर डोरी समातेकाहरु पनि आफ्नै धुनमा लाखेलाई नाच्न साथ दिंदै थियो त्यति मात्रै होइन त्यही बेला अरु कुश्ले जातिकाले विभिन्न भेषभुषामा संवाद सहितको नाटक देखाउँदै थियो भने माझिहरुले जालोमा माछा पारेको अभिनय गर्ने अर्को टोलीपनि थियो । समग्रमा भन्नु पर्दा त्यहाँको माहोल बडो रमाइलो थियो । हेर्ने भीड अवश्य थिएन तर कोरोनाका कारण अन्यत्र कामका लागि गएका युवाहरु सबै द्वाल्खामा नै भएकोले होला ती युवाहरुले आफ्नो मौलिकपनको नाचको लागि आफूहरुलाई समर्पित गरेकै देखें मैले । ती सब दृश्य कभर गरी माथि सेङमा आएं । त्यहाँ अर्को रौनकता छाएको थियो । भरखरका दुई बालक र बालिकालाई महादेव र पार्वतीको भेषमा सजाएर ल्याएका रहेछन् । ती दुई बालबालिका पनि बाजाको तालमा नाच्न थाले । त्यहाँ पनि हेर्नेहरुको भीड थियो । म पनि त्यो नाच हेर्र्द बसें । त्यतिखेरै कृष्ण नारायण दाइले गम्भीरजीकोमा जान ढिला होला भनि फोन गर्नु भयो । ६ बजेतिर उता पुग्छु भन्दै म कोठामा पुगें । दिनभरीको तलमाथिको दौडाईले जिउ मात्रै होइन मन पनि थकित भइसकेको थियो । तसर्थ एकछिन आराम गरी ६ बजेतिर होटल दोलखा दर्शन पुगें । गम्भीरजींसंग परिचय फेसबुक मार्फत भएको थियो । द्वाल्खा पुग्दा भेट्ने कुरा पहिल्यै तय थियो । सहृदयी द्वाल्खामी वहाँले मलाई विहान साप्याखनको टोलीसंगै आउँदा भेटेको नै पहिलो प्रत्यक्ष भेटघाट थियो । वहाँले हामी दुबैलाई आतिथ्य सत्कार गरि प्रसाद खुवाउनु भयो । वहाँसंगको भेटमा धेरै विषयमा कुराकानी भयो । खाना पश्चात पुनः भेट्ने बाचाका साथ कृष्ण नारायण दाई र म त्यहाँबाट फर्किंएं ।

कोठोमा पुगें । आजको दिन राम्रो जात्रा कभर गर्न पाएकोमा खुशी भएं । तर चिन्ता आज रातको थियो । कतै हिजो जस्तो पूरै रात निंद्रादेव मेरोमा नआउने त होइन ? यहि चिन्तामा थकित तन र मनलाई विश्राम दिन पल्टें । एक्लो म अनि कोठा । मलाई साथदिने कोही थिएन नै । थियो त केवल मेरो मोबाइल र मलाई मनपर्ने गाना । गीत बज्न थाल्यो ओ साथी रे तेरे विना भी क्या जीना…। गाना सुन्दै आँखा चिम्लिएं र कोही कसैको यादमा हराएं ।

अनि के भयो त ? बाकि अंशको लागि प्रतिक्षा गर्नुहोस्

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!