अजय प्रधान,
बाँपीझ्याला, दोलखा । दोलखा भीमेश्वरको शिलामा यही मंसिर ९ गते दिउँसो १ः४३ देखि २ः५४ सम्म पसिना आएको थियो । यसरी पसिना आएपछी देशको राष्ट्र प्रमुखबाट क्षमापूजा गर्ने परम्परा रहि आएको छ ।
यही क्रममा राष्ट्र प्रमुख विद्यादेवी भण्डारी र जनस्तरको तर्फबाट आज मंसिर २७ गते विहानको ७ः३० बजेबाट हवन पूजाबाट शुरु गरिएको त्यसपछी यज्ञ लघुरुद्री पूजा र बलीपूजा सम्पन्न गरि दिउँसो २ः३० मा पूजा सम्पन्न गरिएको छ । यसै गरी १५ जना दोलखा जिल्ला भीत्रका बाह्मणहरुबाट गरिएको उक्त पूजामा प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटी, सुरक्षा निकायका प्रमुख लगाएत दोलखा जिल्लावासी, शुभचिन्तक र भक्तजनहरुको उपस्थिती रहेको थियो ।
पूजा सम्पन्न गरि १५ जना बाह्मण भोजन र प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगाएतका व्यक्तित्वहरुलाई प्रसाद खुवाई विदा गरिएको र अन्य जिल्लावासी, स्थानिय भक्तजन दोलखावासीहरुलाई ४ः३० बजे पछी प्रसाद वितरण गर्ने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ । उक्त जानकारी भीमेश्वर पूजा तथा गुठी व्यवस्थापन समितीका कोषाध्यक्ष एवं गुठीयार सुरेश कुमार श्रेष्ठले दिनु भयो ।

भीमेश्वरको शिलामा पसिना आएकोमा आज राष्ट्रपती विद्या भण्डारी र जनस्तरको तर्फबाट गरिएको क्षमा पूजा गरिएको कारणबाट भीमेश्वर भगवानले दोलखा जिल्लावासी, देश भीत्र र बाहिर बस्नु हुने नेपाली जनता लगाएत विश्वका मानव जातीको रक्षा गर्नेमा स्थानिय वासिन्दाहरुको विश्वास रहेको छ ।
यसै गरी दोलखा जिल्ला कोविड –१९ संकट व्यवस्थापन केन्द्रको २५ गते बसेको बैठकको निर्णय अनुसार यस बर्षको बालाचर्तुदशीको अवसरमा आज २७ गते राती भीमेश्वर मन्दिरको परिसरमा बालिने बत्ति सामाजिक धुरी कायम गरि बाल्ने र भोली पल्ट २८ गते विहान देखि सत्विज छर्ने पर्वमा पनि सामाजिक धुरी कायम गरि पर्व मनाउन दिने निर्णय भए अनुसार सोही अनुसार तयारी रहेको जानकारी समेत दिनु भयो ।