Search

७ दिनको ‘ह्याकर हन्टिङ’ : साइबर ब्यूरोले यसरी समात्यो लोकसेवाको सर्भरमा छिर्ने ह्याकर

७ दिनको ‘ह्याकर हन्टिङ’ : साइबर ब्यूरोले यसरी समात्यो लोकसेवाको सर्भरमा छिर्ने ह्याकर

बाँपीझ्याला, काठमाण्डौं । लोकसेवा आयोगको सर्भर २० दिनअगाडि ह्याक भएको तथ्य खुलेको छ । लोकसेवा आयोगले साइबर ब्यूरोमा २० दिनअगाडि आफ्नो सर्भर ह्याक भएको उजुरी दिएको साइबर ब्यूरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नविन्द्र अर्यालले बताए ।

‘सर्भर ह्याक गरेको उजुरी लोकसेवा आयोगले पत्रमार्फत २० दिनअगाडि दिएको थियो,’ एसएसपी अर्यालले लोकान्तरसँग भने, ‘यसमा नेपाल प्रहरी, गृहमन्त्रालय लगायतको विषेश चासो थियो ।’

उजुरी आएपछि साइबर ब्यूरोका प्रमुख नविन्द्र अर्याललगायत साइबर अनुसन्धानका अधिकृतहरूको एउटा टोलीले अनुसन्धान शुरू गर्‍यो ।

पहिलो चरणमा उजुरी परे लगत्तै प्राविधिकरूपमा लोकसेवा आयोगको सर्भर कहाँबाट कसरी हुनसक्छ भन्ने अनुसन्धान गरेको अनुसन्धानमा खटिएका अधिकृतले लोकान्तरलाई बताए ।

‘सरकारी सर्भर नै ह्याक भएपछि हामीले के कस्ता ठाउँबाट ह्याक हुनसक्छ भन्ने कुराको अनुसन्धान गर्‍यौं,’ ती अधिकृतले भने, ‘त्यसपछि हामीले दोस्रो चरणको अनुसन्धानमा लाग्यौं ।’

पहिलो चरणमा भइराखेको सूचना अझ अरू नचुहियोस् भनेर लोकसेवाको सर्भरलाई सुरक्षित गर्‍यो । त्यसपछि ब्यूरो ह्याकर खोज्न लागिपर्‍यो अनि नाम दियो ‘ह्याकर हन्ट’ अर्थात् ह्याकर खोजी ।

‘हामीले विभिन्न पाटोका अनुसन्धानपछि हामीले ‘ह्याकर हन्ट’ नाम दिएर ह्याकर खोजीमा लागेका थियौं,’ एसएसपी अर्यालले लोकान्तरसँग भने । नेपाल प्रहरीसँग भएको सीमित स्रोत र साधनलाई प्रयोग गरेर ह्याकर खोजी गर्न दिनरात ब्यूरोको टोली खटिरह्यो ।

७ दिन लगातारको ह्याकर खोजी गर्दा ३ जना ह्याकर पत्ता लगायो । ह्याकर पत्ता त लगायो तर उनीहरूलाई पक्राउ गर्नका लागि आवश्यक प्रमाण पनि जुटाउन पर्ने भएकाले त्यससँगै प्रमाण जुटाएर जिल्ला अदालत काठमाडौंमा पक्राउका लागि अनुमति लियो ।

अदालतले अनुमति दिएपछि कास्की पोखरा महानरपालिका छोरेपाटन बस्ने १७ वर्षीय किशोर र पोखरा घारीपाटन बस्ने अर्का १५ वर्षीय किशोरलाई पक्राउ गर्‍यो । त्यसलगत्तै ललितपुर महालक्ष्मी नगरपालिका– ९ बस्ने २५ वर्षीय विवेक महर्जनलाई पनि पक्राउ गर्‍यो ।

उनीहरूले आफूहरूले ह्याक गरेको पनि स्वीकारेको प्रहरीले जनाएको छ ।

उनीहरूले लोकसेवा आयोगको सर्भर ह्याक गरेर त्यसलाई एसएमएस गेटवे बनाएर नेपालका व्यापारी, कूटनीतिक नियोगका पदाधिकारी, लोकसेवा आयोगका उच्चपदस्थ अधिकारीलगायत ९ हजार ४ सय जनालाई ‘नेपालमा बन्द हुँदैछ’ ‘नेपालमा भोलिबाट कर्फ्यू लाग्ने’ र आपत्तिजनक शब्दहरू प्रयोग गरेर सूचना सम्प्रेषण गरेको एसएसपी अर्यालले बताए ।

यसमा अरू पनि संलग्न हुनसक्ने भएकाले अन्य ह्याकरहरूको पनि खोजी भइरहेको साइबर ब्यूरोले जनाएको छ ।

प्रहरी उनीहरूलाई अनधिकृतरूपमा सरकारी सूचनाका आधिकारिक विद्युतीय माध्यमबाट अनाधिकृत पहुँच पुर्‍याई विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन–२०६३ को परिच्छेद ९ बमोजिमको कसूर गरेको अरोपमा पक्राउ गरेर थप अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ ।

अरूभन्दा अब्बल देखाउन ह्याकिङ

​पक्राउ परेका पोखराका २ जना किशोरले अरू साथीहरूभन्दा आफूहरू अब्बल भएको देखाउनका लागि लोकसेवा आयोगको सर्भर ह्याक गरेको प्रहरीलाई बताएका छन् ।

‘अहिले प्रारम्भिक अनुसन्धानमा कम्प्युटर र सूचनाको दुनियाँमा आफूहरू पनि अब्बल भएको अन्य साथीहरूलाई देखाउनका लागि ह्याकिङ गरेको बताएका छन्, अनुसन्धानमा खटिएका एक प्रहरीले लोकान्तरसँग भने, ‘ललितपुरमा पक्राउ परेका २५ वर्षीय विवेक महर्जनले भने केही बोलेका छैनन् ।’

अधिकांश ह्याकर किशोरावस्थाका

लोकसेवा आयोगको सर्भर ह्याक गर्ने प्रायः किशोरावस्थाका छन् । कास्कीको पोखरा महानगरपालिका छोरेपाटनका १७ वर्षीय र घारीपाटनका १५ वर्षीय किशोर छन् ।

यस्ता सरकारी सर्भरलगायत वेबसाइटहरू ह्याक गर्ने धेरैजसो किशोरहरू हुने एसएसपी अर्यालले बताए ।

‘सूचनाको दुनियाँलाई हेर्ने हो भने विश्वमा अधिकांश १३ वर्षका किशोर–किशोरीले सर्भर ह्याक गरेको देखिन्छ,’ एसएसपी अर्यालले भने, ‘नेपालमा पनि किशोरावस्थाका छन् ।’

सूचना प्रविधिमा विषेश चासो राख्ने किशोरावस्थाका बालबालिकाहरूमा सिक्ने तीव्र इच्छा, आफ्ना साथीभन्दा अब्बल देखिन र कानूनको ज्ञान नहुँदा सरकारी तथा गैरसरकारी सर्भरहरू ह्याक गर्ने गरेको पाइएको एसएसपी अर्यालले बताए ।

एसएसपी अर्यालका अनुसार आजभन्दा २५ वर्षआगाडि इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकको सर्भर ह्याक गर्ने १३ वर्षीय नेपाली किशोर थिए ।

केही समयमा अगाडि गृहमन्त्रालयको सर्भर ह्याक भएको सूचनाबाहिर आएको थियो तर मन्त्रालयले आधिकारिक जानकारी भने गराएको थिएन ।

सूचना प्रविधिको बढ्दो विकाससँगै इन्टरनेटको माध्यमबाट हुने अपराधका घटनाहरू बढिरहेको अवस्थामा ३ जना ह्याकरलाई पक्राउ गरेर सीमित स्रोत र साधनका बावजुद पनि प्रहरीले ह्याकर खोज्न अब्बल भएको प्रमाणित गरेको साइबर ब्यूरोका प्रमुख एसएसपी अर्यालले बताए ।

‘हामीले सीमित स्रोतसाधन र दक्ष जनशक्तिका बीचमा पनि हामी अब्बल छौं भन्ने प्रमाणित गरेका छौं,’ एसएसपी अर्यालले भने, ‘ब्यूरो स्थापना भएको छोटो समयमा गरेको राम्रो काममध्ये लिएका छौं ।’

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!