Search

२३ महिना ३३ दिनपछि साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको छ । आधार के हो ?

२३ महिना ३३ दिनपछि साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको छ । आधार के हो ?

बाँपीझ्याला, काठमाण्डौं । विभाजनको २३ महिना ३३ दिनपछि साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको छ । दुई दलका नेताहरुबीच ३१ असारबाट सुरु भएको संवाद र परामर्श २४ मंसिरमा एकतामा परिणत भएको हो । बुधबार बिहान १० बजे साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशीलका अध्यक्ष मिलन पाण्डेबीच पार्टी एकीकरणसम्बन्त्रधी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बुधबारनै दुई पार्टीबीचको एकता घोषणा भर्चुअल माध्यमबाट हुँदैछ ।

०७४ साउनमा साझा र विवेकशीलबीचको एकताबाट विवेकशील साझा जन्मिएको थियो । तर, एकीकरणको १७ महिनामै साझा र विवेकशीलले पुरानै बाटो रोजेका थिए । दोस्रो पटक एक भएपछि आफूलाई फेरि वैकल्पिक शक्तिका रूपमा उभ्याउने विवेकशील साझाका नेताहरुको दाबी छ । यसअघि पनि दुवै दलले आफू नै वैकल्पिक शक्तिका रूपमा उदय हुने घोषणा गरेका थिए ।
साझा पार्टीकी वार्ता समिति संयोजक समीक्षा बाँस्कोटाले विगतमा भएको कमजोरी हटाएर अघि बढ्दा जनविश्वास प्राप्त गर्न सकिने दाबी गरिन् ।

उनका अनुसार वैकल्पिक लोकतान्त्रिक शक्तिको खाँचो महसुस भएका बेला साझा र विवेकशीलबीचको एकता अपरिहार्य थियो । ‘तेस्रो ठूलो वैकल्पिक शक्तिको आवश्यकता अपरिहार्य छ । त्यसलाई पुरा गर्न हामी एक भएका छौँ । अब बलियो शक्तिका रुपमा उठ्छौँ,’ उनले रातोपाटीसँग भनिन् ।

एकताको सहमति


एकीकरणपछि पार्टीको नाम ‘विवेकशील साझा’ प्रस्ताव गरिएको छ । विवेकशील साझाले विगत चुनावमा प्रयोग गरेको झन्डा, चुनाव चिह्न नै कायम हुनेछ । कार्यालय पनि बखुन्डोलमै रहने छ । सामाखुसीस्थित विवेकशीलको कार्यालयलाई चाहिँ प्रदेशहरूको सम्पर्क कार्यालयमा रूपान्तरण गर्ने योजना छ ।

नयाँ पार्टीमा महाधिवेशन नहुन्जेल मूल नेतृत्वमा एक अध्यक्ष र एक संयोजक रहनेछन् । साझा पार्टीका संयोजक मिश्रलाई अध्यक्ष र विवेकशीलका अध्यक्ष मिलन पाण्डे संयोजक रहनेछन् । कार्यकारी अधिकार दुवैलाई हुनेछ । वरीयतामा भने मिश्र पहिलो र पाण्डे दोस्रो हुने प्रस्ताव गरिएको छ ।

एकीकरणपछि दुवै पार्टीका ६५–६५ जना रहने गरी १ सय ३० सदस्यीय केन्द्रीय समिति गठन हुनेछ । केन्द्रीय सचिवालय दुवै पार्टीबाट १३/ १३ जना रही २६ जनाको हुने प्रस्ताव छ । केन्द्रीय समिति बैठकको आह्वान र एजेन्डा तय भने अध्यक्ष र संयोजकको सहमतिमा गरिनेछ । एकीकृत पार्टीको केन्द्रीय समितिबाट अन्तरिम पार्टी सञ्चालन कार्यविधि बनाएर त्यसअनुसार काम अघि बढाउनेसमेत सहमतिको बुँदामा उल्लेख छ ।


कार्यविधि अनुसार नै दुई महिनाभित्र दुवै पार्टी माहतका सबै संरचनालाई पुनर्गठन र समायोजन गर्ने भनिएको छ । यस्तै सम्झौतामा पार्टी एकीकरण भएको ६ महिनाभित्र एकता महाधिवेशन गरिसक्ने भनिएको छ ।

पार्टीको आन्तरिक लोकतन्त्रमा कमजोरी र समिति प्रणालीलाई बुझ्ने र सन्तुलनमा राख्ने विषयमा असमानताले विगतमा पार्टी विभाजन गराएको दुवै दलको निष्कर्ष छ ।
युवाले आफूलाई ऊर्जावान र योग्य सम्झने एवं अर्का थरीले आफूलाई अनुभवी, पाको र राजनीति बुझेको ठान्ने प्रवृत्ति विभाजनको अर्को कारण भएको वार्ता टोलीले तयार पारेको प्रस्तावमा उल्लेख छ ।

विगतको विभाजनको रेखा


एकताको केही महिनामै मिश्र र उज्ज्वल थापाबीच चरम व्यक्तित्व टकराव सुरु भयो । मिश्रको एकलौटी विचार लादेको थापाको बुझाइ थियो ।
थापामा पर्याप्त स्पष्टता र आक्रामकताको अभावले पार्टी संगठन विस्तारमा बाधा खडा भएको मिश्रको मत थियो । मिश्रले पार्टी बलियो बनाउन भ्रातृ संगठनहरू बनाउनुपर्नेमा जोड दिए । तर विवेकशील पक्षले त्यसलाई अस्वीकार ग-यो ।

तर मिश्र रोकिएनन् । मिश्रले अब्दुस मियाँलाई युवा, रिता परियारलाई महिला संगठनको नेतृत्व सुम्पे । आफूसँग कुनै सल्लाह नगरी उनीहरूलाई जिम्मेवारी दिएको भन्दै उज्ज्वल थापा पक्ष क्रुद्ध भयो । अनि सहभागितामूलक लोकतन्त्र भन्ने विचार अवलम्बन गरे पनि आफ्नै संगठनभित्र त्यसको कुनै अभ्यास नगरिएको आरोप विवेकशील पक्षले लगायो । साझा पक्षले माथिबाट पार्टी निर्माण गर्नुपर्ने ध्यान दिएको प्रत्यारोप लगायो ।


तर विवेकशीलहरू अभियानबाट आएकाले अभियानमुखी पार्टी बनाउन चाहन्थे । साझा पक्षधरहरू पहिले संगठन बलियो बनाउनुपर्नेमा जोड दिन्थे । यही बीचमा मिश्रले पनि पार्टीका सबै विभाग भंग गरिदिए ।

जसबाट विवेकशील पक्ष अब झस्कियो । केन्द्रीय विभागको नेतृत्वमा अधिकांश विवेकशील पक्षकाहरू थिए । यो विषयमा दुई पक्षबीच मतभेद खडा भयो । तर मिश्र पक्षले थापा पक्षको कुरा सुन्ने सामर्थ्य राखेन । अनि यही मतभेदले २७ मंसिरमा विभाजनको रेखा कोरेको थियो । तर अब विगतमा भएका गल्ती सच्याएर वैकल्पिक राजनीतिक शक्ति बन्ने खालको योजना र कार्यक्रम तय गरिने विवेकशील दलका महासचिव निर्देशन सिलवालको भनाइ छ । यही मत समीक्षा बाँसकोटाको पनि पाइन्छ ।

कसरी पुगे एकतामा ?


पार्टी एकताका लागि गत फागुन १५ देखि १७ गतेसम्म लुम्बिनीमा सम्पन्न साझा पार्टीको भेलाले मन र विचार मिल्ने पार्टीसँग एकता गर्ने निर्णय लिएको थियो । त्यही निर्णयलाई टेकेर साझाले विवेकशीलसँग पार्टी एकताका लागि अनौपचारिक संवाद थालेको थियो । असारको अन्तिम साता बसेको साझाको केन्द्रीय कमिटीको बैठकले पार्टी एकताका लागि कार्यदल गठन गरेको थियो ।
यता गत वैशाख २१ गतेदेखि २८ गतेसम्म बसेको विवकेशीलको संघीय समिति बैठकले पनि संवाद समिति गठन गरेर एकताका लागि ढोका खोलेको थियो ।

दुई पार्टीबीच एकीकरणका लागि संवाद गर्न विवेकशीलबाट निर्देश सिलवालको संयोजनमा रञ्जु दर्शना र रमेश पौडेल सदस्य रहेको समिति बनाइएको थियो भने साझा पार्टीबाट समीक्षा बाँस्कोटाको संयोजनमा किरण श्रेष्ठ र केशव दाहाल सदस्य भएको समिति बनाइएको थियो ।

त्यसपछि संवाद समितिको निरन्तरको छलफलबाट पार्टी एकताको खाका तयार भएको हो । संवाद समितिले दुई दलबीचको एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’का रूपमा २९ असोजमा साझाका संयोजक मिश्र र विवेकशीलका अध्यक्ष मिलन पाण्डेलाई बुझायो ।

विवेकशीलले साझा पार्टीसँग एकीकरण सम्बन्धी प्रस्तावमाथि मतसंग्रहबाट निर्णय लियो । यही कात्तिक २६ र २७ गते विवेकशीलका नेपालस्थित सदस्यहरूले एसएमएसबाट र प्रवासमा रहेका सदस्यले इमेलबाट साझा पार्टीसँग एकीकरण गर्ने (एस) की नगर्ने (नो) भनी मतदान गरेका थिए । दुईतिहाई बहुमतले साझासँग फेरि एकताको निर्णय अनुमोदन भयो ।

यता मंसिर २२ गते बसेको साझा पार्टीको केन्द्रीय समिति बैठकले विवेकशील नेपाली दलसँग पुनः एकीकरण गर्ने निर्णय लिएको छ । यता विवेकशीलले २३ मंसिरमा साझासँगको एकता लागि १३ सदस्य सचिवालय समिति र ६५ सदस्यीय संघीय समिति खडा गरेको छ ।

संवाद समितिले तयार पारेको एकीकृत प्रतिवेदनका आधारमा आज विवेकशील साझा ब्युतिएको छ ।

जसले गरे एकताको बहिस्कार


दोस्रो पटक साझा र विवेकशील एकतामा बाँधिदा दुवै दलका केही सहकर्मी भने साथ हुने छैनन् । साझाले विवेशीलसँगको एकीकरणका लागि तत्कालीन पार्टी प्रवक्ता डा. सूर्यराज आचार्य र संगठन विभाग प्रमुख नेता मुमाराम खनाल गुमाएको छ ।

२६ असारको सचिवालय बैठकमा साझाको १५ सदस्यीय सचिवालयमा तत्कालीन प्रवक्ता आचार्य र खनालले विवेकशीलसँग एकता गर्ने कुरामा फरक मत राखेका थिए ।
आचार्य र खनालले विवेकशीलसँगको एकताभन्दा पार्टी पुनर्गठनका लागि संयोजकमात्र राखेर पार्टीका सबै समितिहरू भंग गर्ने प्रस्ताव राखेका थिए । तर असार उक्त बैठकले पार्टीका समितिहरू भंग गरेर जान ठिक नहुने र विवेकशीललगायतका दलहरूसँग एकीकरण अगाडि बढाउनु पर्ने निर्णय लियो ।

साझाका संयोजक मिश्रसहित अन्य नेता विवेकशीलसँगको पार्टी एकताको पक्षमा उभिए । अनि २८ असारमा आचार्य र खनाल साझाबाट बाहिरिए ।
पुरानै पार्टीसँग मिलेर जानुको कुनै अर्थ नहुने भन्दै आफूहरू पार्टीको जिम्मेवारीबाट बाहिरिएको उनीहरुको मत थियो ।

२२ असोजमा पनि साझा पार्टीका केन्द्रीय सदस्यद्वय मानवी पौडेल र सिद्धि अर्यालले पार्टीबाट अलग भएको घोषणा गरे । यता विवेकशीलकी उपाध्यक्ष अजिता राईसहित १३ जनाले पनि साझासँग एकता बहिस्कार गरेको अवस्था छ ।

उपाध्यक्ष राईसहित एकीकरणमा सहभागी नहुनेमा कार्यालय व्यवस्थापनतर्फ सचिव संगीता बाटाजु, संघीय समिति सदस्य कर्मा लामा तामाङ, छिरिङ तामाङ, विजयबाबु शिवाकोटी, जेसन वैद्य, शिशिर राई, जमाल अली, आशिष राई, ज्ञानेन्द्र निरौला, साधना थुलुङ्ग राई, शशिविक्रम कार्की र आलोक सुवेदी छन् ।

विगतमा भएका मतभिन्नताका विषयलाई किनारा नलगाइ एकीकरण हुन लागेकाले विवेकशील साझामा सामेल नहुने उनीहरुको तर्क छ । यसमा विषयमा आन्तरिकरुपमा कुरा राखे पनि सुनुवाई नभएको भन्दै प्रेस विज्ञप्ति नै जारी गरेर एकीकरणमा प्रक्रियामा सहभागी नहुने उनीहरुले जनाएका छन् ।

विवेकशील पार्टीका तत्कालीन अध्यक्ष उज्ज्वल थापाले जारी गरेको १८ पेजको आन्तरिक लोकतन्त्रसम्बन्धी विषयलाई बेवास्ता गरेको उनको भनाइ छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!